Comments Add Comment

तपाईंको बालबच्चा यतिबेला कहाँ, के गरिरहेका छन् ?

सोच्नुहोस् त, यतिबेला तपाईंका बालबच्चा कहाँ छन् ?

विद्यालयमा । घरमा । खेलमैदानमा । बजारमा । आफन्तकहाँ । घुमघाममा ।

सोच्नुहोस् त, त्यहाँ तपाईंका बालबच्चा के गरिरहेका छन् ?

पढिरहेका । खेलिरहेका । साथीभाईसँग कुरा गरिरहेका । खाइरहेका । झगडा गरिरहेका । रोइरहेका ।

सोच्नुहोस् त, तपाईंका बालबच्चा त्यहाँ, ति अवस्थामा सुरक्षित होलान् ?

यो प्रश्नले तपाईंको मनमा चिसो पस्न सक्छ । च्वास्स घोच्न सक्छ । र, तपाईं घोत्लिनुहुनेछ । मनमनै प्रश्न दोहोर्‍याउनुहुनेछ, ‘साँच्चै मेरो नानी-बाबु यतिबेला के गरिहेका होला ?’

कुनै जोखिमपूर्ण ठाउँमा खेलिरहेको पो होलान् कि, जहाँ चोटपटक लाग्ने भय छ । कुनै साथीभाईसँग झगडा पो गरिरहेका होलान् कि ? कुनै शिक्षक वा साथीभाईको दुर्व्यवहारबाट भयाभित भएर बसिरहेका होलान् कि ? कुनै अपरिचित व्यक्तिको ललाई-फकाईमा भुलिरहेका होलान् कि ? कुनै व्यक्तिले विषालु खानेकुरा ख्वाइरहेका होला कि ? कसैले डर, धम्की दिएर थर्कमान बनाइरहेका होला कि ? कुनै व्यक्तिले यौन दुर्व्यवहार गरिरहेका होला कि ?

तपाईं ठान्नुहोला, ‘त्यस्तो केही छैन । मेरा बालबच्चा त विद्यालयमा छन् । त्यहाँ शिक्षक, साथीभाई सबै छन् । सुरक्षित छन् ।’

तपाईं ठान्नुहोला, ‘डर मान्नुपर्ने छैन । मेरा बालबच्चा त घरमा छन् । घरभित्र सुरक्षित छन् ।’

तपाईं ठान्नुहोला, ‘किन चिन्ता गर्नु ? मेरा बालबच्चा आफन्त वा चिनेजानेका छिमेकीसँग छ । सुरक्षित छन् ।’

तर, बालबालिका आफन्त, चिनेजानेका, नातेदार, छिमेकी, शिक्षक/शिक्षिका, साथीभाईबाट पनि असुरक्षित हुन सक्छन् । पछिल्लो केही यौनजन्य र हिंसात्मक घटनालाई केलाउने हो भने, नतिजा यस्तै देखिन्छ ।

केही समयअघि गंगबुमा एक बालकको अपहरणपछि हत्या भयो । एक अवोध एवं निर्दोष बालकको हत्या कसले गर्‍यो ? चिनेजानेका व्यक्तिले । ति बालकले जसको विश्वास गरेर पछि लागेका थिए, उनैले ज्यान लिए ।

यसअघि काँडाघारीका बालकलाई ललाई-फकाई अपहरण गरियो । अपहरण मात्र होइन, उनको हत्या नै गरियो । कसले ? बालकका घरमा आउजाउ गरिरहने चिनेजानेका व्यक्तिले ।

चिनेजानेका व्यक्ति, जसलाई हामी विश्वास गर्छौं, उनीहरुबाट पनि हाम्रो बालबालिका असुरक्षित छन् । कति बालकालिका आफ्नै शिक्षक/शिक्षिकाबाट दूव्र्यवहारमा परेका छन् । कति आफ्नै सहपाठीबाट । अरुको के कुरा, आफ्नै बुवा, काका, दाजुभाईबाट समेत उनीहरु असुरक्षित हुनसक्छन् ।

बालबालिकामाथि हुने हिंसा, अपहरण, हत्याको घटना केलाउने हो भने, यस्तै उदेगलाग्दो विवरण फेला पर्छ ।

वर्तमान समाजका लागि यो एउटा खतराको घण्टी हो । किनभने समय पहिलेको जस्तो छैन । अहिले समाजमा अनेक किसिमका मानसिक विकार पैदा भइरहेका छन् । अनेकथरी कुण्ठा, महत्वकांक्षा, प्रतिशोध जस्ता मनो-विकारले ग्रस्त हुँदैछ समाज । यस्तो समाजमा अबोध, निरिह बालबालिका असुरक्षित छन् ।

एकातिर बालबालिका अपराधीहरुको निशाना बन्दैछन् । अर्कोतिर आमाबुवाहरु बालबालिकाबाट टाढा छन् । आफ्ना बालबच्चाको हेरचाह गर्ने, कुराकानी गर्ने, खेल्ने, पढ्ने-पढाउने समय छैन आमाबुवासँग । बिहान ओछ्यान छाड्नसाथ विद्यालय पठाएको बच्चा साँझ घर र्फकन्छन् । तर, उनीहरुसँग भलाकुसारी गर्न आमाबुवालाई फुर्सद हुन्न । धेरैजसो आमाबुवा कामकाजी छन् । उनीहरु घर र बालबच्चासँग भन्दा बढी कार्यलय र आफ्ना सहकर्मीसँग बढी समय विताइरहेका छन् । यस्तो अवस्थामा बालबालिका एक्लो हुँदै गएका छन् । बालबालिका कहाँ छन्, के गर्दैछन्, कसरी खेल्छन्, के खेल्छन् ? यसबारे धेरै अभिभावकलाई थाहा नै हुँदैन ।

अँ त, जुनसुकै बेला, जस्तोसुकै अवस्थामा आफ्ना बालबालिका जोखिममा हुनसक्छन् । अब यस जोखिमबाट मुक्त हुन के गर्ने त ?

घरको कोठामा बन्दी बनाएर हुँदैन । कुनै बडीगार्ड जस्तै सुरक्षा गर्ने व्यक्ति खटाएर पनि हुँदैन । आमाबुवा हरक्षण उनीहरुको पछि लागेर पनि हुँदैन । यी विकल्पहरु त्यती संभव हुँदैन । त्यसो भए के गर्ने त ?

यसका लागि बालबच्चालाई सुरक्षाका विधीहरु सिकाउनुपर्छ । वर्तमान अवस्थामा यी कुरा जरुरी छ । बच्चालाई सिकाउनुपर्छ कि, कसरी आफुले आफैलाई सुरक्षित राख्ने ? कुन अवस्थामा सचेत वा सर्तक रहने ? अप्ठ्यारो परिस्थितीमा के गर्ने ?

भलै साना बच्चाहरु यी कुरामा अभ्यस्त हुन गाह्रो होला । कतिपय बच्चाले सुरक्षाका उपायहरु अपनाउन असमर्थ होलान् । यद्यपी यसले केही न केही नतिजा दिन्छ ।

गुड टच, ब्यड टच

बच्चालाई यो कुरामा सर्तक गराउन आवश्यक छ कि, कोही व्यक्तिले उसलाई कस्तो व्यवहार गर्छ ? मान्छेको व्यवहार बाट उनको नियत बुझ्न सकिन्छ । यसको सामान्य विधी भनेको उसले बच्चाको शरीरमा कहाँ, कसरी हात पुर्‍याउँछ ?

खासगरी बालिकाहरुको संवेदनशिल अंगमा स्पर्श गर्ने कुरा नियतवस हुनसक्छ । त्यसकारण अभिभावकले सिकाउनुपर्छ कि, संवेदनशिल अंग कुन हो ? त्यहाँ कसैले छुन खोजेमा कसरी प्रतिकार गर्ने ?

ललाइफकाईमा नलाग्न

बालबालिकालाई स-सानो कुरामा लोभ्याउने र अनुचित लाभ लिने मनासय पनि हुनसक्छ । यसबारे पनि बालकालिकालाई सर्तक गराउनुपर्छ । उनीहरुलाई बताउनुपर्छ कि, कुनैपनि व्यक्तिले विना कारण घुम्न लान्छु भनेमा, कुनै खानेकुरा खान दिएमा सतर्क रहनुपर्छ । आमाबुवाको अनुमति बिना चिनेजानेकै व्यक्तिसँग पनि घुम्न, खेल्न जान हुँदैन ।

कसैले घर बाहिरबाट बोलाए, कुनै पसलमा लगेर खानेकुरा किनिदिए, केही लोभ देखाएर काखमा राखे त्यस्ता व्यवहारबाट बच्नका लागि सचेत गराउनुपर्छ ।

आफ्ना दौतरी वा सहपाठीसँग मात्र खेल्ने

बालबच्चाको आफ्नै सर्कल हुन्छन् । साथीभाई, सहपाठी हुन्छन् । तिनै साथीहरुसँग खेल्न छुट दिनुपर्छ, जो उनीहरुसँग घुलमिल भएका छन् र परिचित छन् । अपरिचित र उनीहरुभन्दा ठूला उमेरका व्यक्तिसँग खेल्न जान दिन हुँदैन । यदि त्यस्ता व्यक्तिले खेल्नका लागि कते लाने वा बोलाउने गर्छ भने सर्तक रहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment