
२८ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले आधुनिक लोकतन्त्रको विकल्प नभएको दाबी गरेका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि सबै राजनीतिक दलहरूले आफ्नो ठाउँबाट महत्त्वपूर्ण भुमिका खेल्न जरुरी रहेको बताए ।
राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गर्नेकुरा मुलुकमा रहेका राजनीतिक दलहरूको नै भएकाले जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको आवाजलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने काम राजनीतिक दलहरूको नै रहेको उनले बताए ।
‘वास्वतमा राजनीतिक शक्तिबाट यो मुलुकलाई परिवर्तन गरेर राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गरेर विभिन्न बाटो हुँदै आएका विभिन्न राजनीतिक दलहरू नै यसका महत्वपूर्ण मेरुदण्ड हुन्,’ सभामुख घिमिरेले भने, ‘ती मेरुदण्डहरूले जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको आवाजलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने माध्यम उनीहरूको संसद् हो । संसदको माध्यमबाट यि सबै कामहरू गर्दछन् । आफूलाई करेक्शन पनि गर्नुपर्छ ।’
राजनीतिक दलहरूले आफ्नो सिद्धान्त र सिद्धान्तमा आधारित कार्यक्रम कार्यान्वयन गर्न संसदमा प्रभावकारी भूमिका खेल्न जरुरी रहेको पनि बताए ।
‘आधुनिक लोकतन्त्रको विकल्प मलाई लाग्छ केही छैन तर यो भइरहेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि खेल्नुपर्ने भूमिका खेल्ने कोशिसहरू राजनीतिक दल बाहेक अरु के हुनसक्छ ? राजनीति, धार्मिक संघसंस्थाहरू, अन्य सामाजिक प्रभावकारी संघसंस्थाहरू, वा विभिन्न खालका विगतका केही धार्मिक राजतन्त्र, परम्परागत राजतन्त्र भएका मुलुकहरू यिनीहरूका शक्तिहरू होइनन्,’ सभामुख घिमिरेले भने ।
सभामुख घिमिरेले राजनीतिक दलहरू जनताप्रति उत्तरदायी हुनुपर्ने पनि बताए ।
प्रतिक्रिया 4