Comments Add Comment

जाडोमा व्यायाम गर्दै हुनुहुन्छ ? फोक्सोको ख्याल गर्नुहोस्

२६ मंसिर, काठमाडौं । के तपाई मंसिर–पुसको जाडो मौसममा एकाबिहानै घर बाहिर निस्केर शारीरिक व्यायाम गर्दै हुनुहुन्छ ? त्यसो गर्दै हुनुहुन्छ भने चिकित्सकको सुझाव छ– फोक्सोमा हुन सक्ने संक्रमणबाट बच्नुहोस् ।

विज्ञहरुका अनुसार जाडो मौसममा वायुमा प्रदुषणको मात्रा धेरै हुने गर्छ । अझ, काठमाडौंको धुलोका कणमा भाइरस तथा ब्याक्टेरिया पनि धेरै हुने गर्छ, जसले गर्दा भाइरल संक्रमणका कारण मानिसहरुमा रुघाखोकी, ज्वरो, निमोनियालगायतको संक्रमण बढ्ने गर्छ ।

धुलोको कण श्वासनली हुँदै, फोक्सोमा पुगेमा फोक्सोसम्बन्धी एलर्जी हुनुका साथै छालासम्बन्धी समस्या तथा आँखा चिलाउने समस्या देखा पर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

यस्तो संक्रमणबाट बच्न बिहानको समयमा व्यायामका लागि निस्कनुअघि एन ९३, ९५ वा ९९ मास्क अनिवार्यरुपमा प्रयोग गर्नुपर्छ । अन्य प्रकारका सर्जिकल मास्कहरुले पीएम २.५ भन्दा मुनिका धुलोका सुक्ष्म कणहरुलाई फिल्टर गर्न सक्दैनन्, जसले गर्दा पीएम २.५ भन्दा साना धुलोको कण श्वासनली हुँदै फोक्सोमा छिरेर फोक्सोसम्बन्धी विभिन्न संक्रमण हुने चिकित्सकको भनाइ छ ।
यो पनि पढ्नुहोस बिहानको यूएन पार्कः साँघुरिँदैछ उपत्यकाको फोक्सो

त्रिवि शिक्षण अस्पतालका उप–प्राध्यापक एवं पल्मोनोलोजी एण्ड क्रिटिकल केयर, मेडिसिन विभागका छाती रोग विशेषज्ञ डा. निरज बम भन्छन्– ‘अघिल्ला वर्षहरुमा फोक्सोको संक्रमण सेप्टेम्बर, अक्टोबरमा मात्रै धेरै हुने गर्थ्र्यो । तर, बढ्दो प्रदुषण तथा चिसोका कारण हिजोआज यो समस्या लिएर अस्पताल आउने विरामीको संख्या उल्लेख्य देखिएको छ ।’

यस्ता बिरामीहरुमा रुघाखोकी, दम, ब्रोन्कोलाइटिस, ब्रोनकाइटिस, दमका साथै श्वास प्रश्वास सम्बन्धी समस्या धेरै हुने गरेको डा. बम बताउँछन् । चिसोकै कारण पछिल्लो समय निमोनियाको समस्या भएर अस्पताल आउने विरामीको संख्या पनि उल्लेख्य रहेको उनको भनाइ छ ।

डा. बमका अनुसार वायु प्रदुषण तथा चिसोका कारण हुने यस्ता समस्याबाट बच्नका लागि विहानीको समयमा व्यायाम गर्दा विशेष सावधानी अपनाउनुपर्छ । यस्तो संक्रमणबाट बच्न बिहान घाम झुल्केपछि मात्रै व्यायाम गर्न उचित हुने उनको सुझाव छ ।

डा. बमका अनुसार बालबालिका तथा वृद्धवृद्धामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुमा छातीमा संक्रमणको जोखिम बढी हुन्छ । त्यस्तै मधुमेह र मिर्गौलाका बिरामी, क्यान्सरका विरामी, अत्यधीक मात्रामा धुमपान, मद्यपान गर्नेहरुमा पनि निमोनिया लगायतका संक्रमणको जोखिम उच्च हुने उनी बताउँछन् ।

यस्तो संक्रमणबाट बच्नका लागि के गर्ने त ? डा. बमको सुझाव छ–

–न्यानो कपडा लगाउने ।

–स्वच्छ तथा स्वास्थ्यवद्र्धक खानेकुरा खाने ।

–चिसोबाट जोगिने

–मर्निङ्ग वाक गर्नै परेमा खुला चौर तथा स्वच्छ वातावरण भएको ठाउँमा जाने ।

सकेसम्म घाम लागेपछि मर्निङ्गवाकमा निस्कने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment