+
+
Shares

विद्यार्थीको विदेशिने होड, कहाँ छ उनीहरुको स्वप्न लोक ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २६ गते १९:१७

२६ मंसिर, पोखरा । दीपा अधिकारी कंगारुको देश उड्न आतुर छिन् । खुसीको सीमा बढेको छ । भर्खरै उनको भिसा लाग्यो । साथीभाइ आफन्तलाई लड्डु बाँड्दै भनिरहेकी छन्, ‘म त अस्ट्रेलिया जाने भएँ नि ।’

पोखरामा सँगै प्लस टु पढेकी साथी नर्सिङ पढ्न गएको साल नै अस्ट्रेलिया पुगेर फेसबुकमा फोटो लेखिन्, ‘वाउ अस्ट्रेलिया ।’ दीपा पनि आतुर छिन्, ओपेरा हाउस अघिल्तिर उभिएर सेल्फी खिच्न ।

होटल म्यानेजम्यान्ट पढ्न दीपा अस्ट्रेलिया जान लागेकी हुन् । उनी बल्ल १७ वर्ष लागिन् । ‘पढाइ, पैसा र भविष्य पनि हुने भएपछि जानैपर्‍यो । पछि फर्केर नेपालमै केही गरौंला भन्ने सपना त छँदै छ,’ खुसीको हाँसोसहित दीपा भन्छिन्, ‘साथीभाइ सबै उतै भएपछि आफूलाई पनि चाँडै जान पाए भन्ने हुँदो रहेछ ।’

चिप्लेढुंगामा भेटिएका सुन्दर सुन्दास डेनमार्क जाने योजनामा छन् । पोखराको अमरसिंह माविका यी अब्बल विद्यार्थीले डेनमार्कमा रुलर डेपलभमेन्ट पढ्न जाने प्रक्रिया अगाडि बढाइसकेका छन् । धितालका रवी ढुंगानाले वैदेशिक अध्ययनको गन्तव्य जापानलाई बनाउँदै छन् । ‘अन्तरवार्तामा पनि पास भइसकें, अब छिट्टै भिसा लाग्ने जानकारी मिलेको छ,’ उनले खुसी बाँडे, ‘पढाइ त बाहानामात्रै हो, खास भविष्यको चिन्ताले जानै पर्ने भयो ।’

दीपा, सुन्दर र रवी त उदाहरणमात्रै हुन् । विशेषगरी युरोपियन देश नेपाली युवाहरुका लागि स्वप्नलोक बनिरहेको छ, जहाँ पढाईको बहानामा उनीहरु आफ्ना सपना र करिअरको स्तम्भ गाड्न चाहन्छन् ।

उनीहरुजस्ता सयौं विद्यार्थीको ध्यान यतिबेला अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, डेनमार्क, अमेरिका, वा यस्तै देशहरुतिर छ । जहाँ पढाइसँगै रोजगारीको पनि निश्चितता हुन्छ । त्यसैले उनीहरुको नजर शैक्षिक परामर्श दिने कन्सल्टेन्सीका होडिङबोर्डतिर छन् ।

१० कक्षा पढ्दापढ्दै वैदेशिक सपना

लामाचौरका सुजन क्षेत्री १० कक्षा पढ्दै छन् । उनी बल्ल १४ वर्षका भए । क्षेत्री अहिल्यै राम्रो देश गएर पढ्ने र पैसा तथा करिअर बनाउने सपना बुनिरहेका छन् ।

‘पढ्नका लागि कुन-कुन देशमा कस्तो रहेछ अहिलेदेखि नै बुझौं भनेर आएको हुँ,’ बुधबारदेखि पोखरामा सुरु इक्यान फेयरमा भेटिएका सुजनले भने, ‘देशमा राम्रो वातावरण नै छैन । राम्रो अंक ल्याएर प्लस टुसम्म यहाँ पढ्ने र त्यसपछि पढ्न विदेश जाने हो ।’

पढ्नमा अब्बल सुजनसँगै अरु दुई जना साथी पनि विदेश नै गएर पढ्न योजनामा छन् । ‘वैदेशिक अध्ययनका लागि गएको साथीको बिन्दास जीवन, स्टान्डर्स लाइफस्टाइल र माथि उठिरहेको आर्थिक हैसियतले उनीहरु आकषिर्त हुन्छन्,’ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की अध्यक्ष भुवन क्षेत्री भन्छन् । बाहिर देखिएका यी आकर्षणसँगै गुणस्तरीय पढाइ, सुरक्षित भविष्य र पारिवारिक सुरक्षाकै लागि विद्यार्थीले वैदेशिक अध्ययनको गन्तव्य खोजिरहेको उनी बताउँछन् ।

आफ्ना सपनाहरुलाई चुम्न कुन देश जाने ? के पढ्ने र कति खर्च लाग्छ भन्ने बुझ्न विद्यार्थीहरुलाई कन्सल्टेन्सीले सघाउँछन् । विमानस्थलबाट सुटकेस गुडाउँदै छुट्टकिा लागि नेपाल आएर अस्ट्रेलियातिरको अवस्था र व्यवस्थाको बखानले किशोर-किशोरीलाई मोहित बनाउँछ ।

वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या यसरी बढ्यो कि नयाँ पुस्ताका धेरै विद्यार्थीको दिमागमै अस्ट्रेलिया, न्युजिल्यान्ड, जापानलगायत र युरोपियन देश गएर पढ्ने कुरा सेट हुन्छ । बैदेशिक अध्ययनको मोहकै कारण थुप्रै विद्यार्थी गलत परामर्श र गलत नियतको सिकार पनि भएका छन् । नियम र सरकारी मापदण्डबिपरीत घरपिच्छे खुलेका कन्सल्टेन्सी र पत्रपत्रिकामा आउने फेक विज्ञापनले सुरक्षित भविष्य खोज्दै भौंतारिएका थुप्रै विद्यार्थीको जीवन नै असुरक्षित बनाइदिएको छ ।

विदेशमा केकस्ता विषय अध्ययन गर्न पाइन्छ ? त्यसका लागि योग्यता कति चाहिन्छ ? कुन विषय पढ्न कति खर्च लाग्छ ? ती विषय अध्ययनपछि रोजगारीको अवसर कस्तो छ ? आफूले चाहेजस्तो विषय र शिक्षा कहाँ पढाइन्छ ? कुन विषयका लागि कुन देश उपयुक्त छ ? यी कुरा विदैशिक अध्ययनका लागि जानुअघि बुझ्नै पर्ने कुरा हुन् ।

‘वैदेशिक अध्ययनमा जाँदा सबै कुरा बुझेर मात्र जानुपर्छ, बजारमा प्रलोभनमा पारेर फसाउनेहरुको धन्दा पनि चलिरहेकै छ,’ इक्यान कास्की अध्यक्ष क्षेत्रीले भने, ‘आफूले परामर्श लिन गएको संस्था शिक्षा मन्त्रालयबाट अनुमति पाएको हो कि होइन ? ऊ आफू जान लागेको कलेजको अधिकारिक प्रतिनिधि हो कि होइन भनेर अनिवार्य रुपमा बुझ्न म विद्यार्थी, अभिभावकलाई अनुरोध गर्छु ।’

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार वाषिर्क करिब ३५ हजार नेपाली विद्यार्थीले वैदेशिक शिक्षाका लागि ‘नो अब्जेक्सन लेटर’ लिने गरेका छन् । त्यसमा पनि गण्डकी प्रदेशका विभिन्न जिल्ला र पोखराले ठूलो हिस्सा ओगट्छ । पोखराका वैदेशिक परामर्शदाता कन्सल्टेन्सीमार्फत परामर्श लिएर वैदेशिक अध्ययनमा जाने विद्यार्थी वाषिर्क ५ हजारभन्दा बढी रहेको अनुमान छ ।

गाउँका नपढेका वा कम पढेका युवा खाडी लगायतका मुलुकमा गएर मजदुरी गर्छन् भने र पढेलेखेका र हुनेखानेहरुको चाहना वैदेशिक अध्ययनका लागि यूरोप-अमेरिका जाने हुन्छ । यसरी वैदेशिक अध्ययनको आकर्षण बढ्नुमा अरु पनि थुप्रै कारण छन् ।

इक्यान कास्कीका निवर्तमान अध्यक्ष मीलन तिवारी भन्छन्, ‘नेपालको राजनीतिक अस्थिरता, बन्द हड्तालले बाबुनानीका कलिला दिमागमै नकारात्मक छाप परेको छ । नियमित पढाइ हुँदैन, कहिले पाठ्यक्रम सकिन्छ र कहिले परीक्षा हुन्छ भन्ने नै अन्योल हुन्छ । ग्लोबलाइजेसनको समयमा विश्वभर भिड्न सक्नेे गुणस्तरको शिक्षा पनि नेपालमा उसले भेट्दैन र वैदेशिक अध्ययनमा जाने मानसिकता बनाएर बस्छ ।’

अहिले विद्यार्थीको बढी आकर्षण अष्ट्रेलिया, न्युजिल्यान्ड, युरोपियन देश, जापान, अमेरिका लगायत छन् । त्यहीअनुसार पोखरामा कन्सल्टेन्सी खुलिरहेको इक्यान सचिव रुद्रप्रसाद अर्यालले बताए । ‘आजको आवश्यकता भनेको त विदेशमा नेपाली विद्यार्थीले सिकेको ज्ञान, सिप, प्रविधि, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा लगाउने अवस्थाको सिर्जना गरिनु हो,’ अर्याल बताउँछन् ।

सबै कुरा बुझ्नु आवश्यक

वैदेशिक अध्ययनका लागि गएका विद्यार्थीले धेरै दुख पाएको, भनेको कलेज नपाएको, फि महंगो भइकाृ लगायतका समस्या धेरै नै आउने गर्छन्, खास किन त ? इक्यान कास्की अध्यक्ष क्षेत्री भन्छन्, ‘वैदेशिक अध्ययनमा जानुअघि कुन विश्वविद्यालयमा पढ्न जाने ? त्यहाँको कानुनी प्रावधान केके छन् ? फि कति लाग्ने हो ? विश्वविद्यालय कुन सहरमा छ ? भन्ने कुराको राम्ररी परामर्श लिएर जानुपर्छ ।’

परामर्श दिने भन्दै खुलेका कतिपय कन्सल्टेन्सीले विद्यार्थीलाई प्रलोभनमा पार्ने, ठूलो रकम लिने र परामर्श मात्र नभइ ती कन्सल्टेन्सीले म्यानपावरले जसरी विद्यार्थीलाई विदेश नै पठाउने गुनासो छ नि ? इक्यान कास्की अध्यक्ष क्षेत्री भन्छन्, ‘इक्यान आवद्ध हामी कन्सल्टेन्सीको काम विशुद्ध परामर्श दिने हो । हामीले वैदेशिक अध्ययनमा जानुअघि केके कुरामा ध्यान पुर्‍याउने र गएपछि केके गर्ने भन्ने बुझाउँछौं । हामीले कलेजमा एड्मिसनका लागि भने पहल गछौं । सामान्य सर्भिस चार्जबाहेक बढी रकम हामीले लिँदैन । कसैले लिन्छन्, भने खबरदारी र खोजी गर्नुहोला ।’

वैदेशिक अध्ययनमा जाँदा आधिकारिक परामर्श कन्सल्टेन्सीमार्फत आˆनो रुचिको विषय र देश छानेर प्रोसेसिङदेखि सबै कुरा बुझेर जानुपर्ने उनको भनाई छ । सतप्रतिशत भिसा ग्यारेन्टी हुन्छ भनेर कुनै कन्सल्टयान्सीले आश्वासन दिए सोझै ठगी गर्न खोजिएको बुझ्नुपर्ने क्षेत्री बताउँछन् ।

४ वर्षे अध्ययन कोर्सका लागि जाँदा एक वर्षको शुल्क घरका अभिभावकले तिर्ने र बाँकी ३ वर्षको आफैं कमाएर तिर्नुपर्ने अवस्था धेरैको हुन्छ । वैदेशिक अध्ययनका लागि भनेर जाने अधिकांश विद्यार्थी उतैको नागरिकता लिन प्रयासरत देखिन्छन् ।

फर्केर देशमै काम

वैदेशिक अध्ययनका लागि जानु भनेको पलायन हुनु होइन । यतैको नागरिकता लिएर सबै उतै बस्छन् भन्ने छैन । वैदेशिक अध्ययनका क्रममा गएर केही वर्ष काम गरेपछि त्यहाँ सिकेको सीप र ज्ञान बाँडेका नेपालमा थुप्रै छन् । व्यावसायिक, व्यापारिक, राजनीतिक क्षेत्रमा पनि यस्ता उल्लेख्य व्यक्ति छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि पूर्व अर्थमन्त्री रामशरण महतसम्मले वैदेशिक अध्ययन नै गरेर फर्केका हुन् ।
‘वैदेशिक अध्ययनका लागि जाने सबै उतै पलायन हुन्छन् भन्ने हुँदैन, नेपालमा वैदेशिक अध्ययनबाट फर्केकाहरुले अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएका छन्,’ इक्यान अध्यक्ष भुवनले भने, ‘बरु वैदेशिक अध्ययनसँगै ज्ञान, सीप र दक्षता लिएर फर्किन्छ ।’

देश-विदेशका शिक्षा बुझ्ने थलो

वैदेशिक अध्ययनमा जान चाहने र देशमै पढ्न चाहनेका लागिसमेत लक्षित गर्दै बुधबारदेखि इक्यान फेयर सुरु भएको छ । यो फेयर वैदेशिक अध्ययनमा जान चाहने र यहीँ राम्रो कलेजमा पढ्न चाहनेका लागि बुझ्ने थलो बनिरहेको छ ।

इक्यान कास्कीले पुस २६, २७ र २८ गते पोखरा सभागृहमा पाँचौ बृहत शैक्षिक मेला थालेको हो । इक्यान कास्कीमा आवद्ध व्यावसायिक शैक्षिक परामर्शदाता संस्थादेखि विभिन्न स्वदेशी तथा विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिले मेलामा परामर्श दिइरहेका छन् ।

‘वैदेशिक अध्ययनमा जानेका लागि मात्रै होइन नेपालमै अध्ययन गर्न चाहनेका लागि परामर्श दिने काम फेयरमा भइरहेको छ,’ अध्यक्ष क्षेत्रीले भने, ‘नेपालमै नर्सिङ, एमबीबीएस वा अरु कुनै पढ्छु भन्नेलाई सही परामर्श मिल्ने छ ।’

फेयरमा लोकसेवा आयोगका परीक्षामा सामेल हुने चाहानेका लागि पनि दिइरहेको उनले जानकारी दिए । नेपालमै आइएलटीएस गराउने बि्रटिस काउन्सिल पनि विद्यार्थी अभिभावकले फेयरमै भेट्न सक्ने छन् । बैंकहरुले शैक्षिक कर्जाका विषयमा पनि परामर्श दिन व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?