Comments Add Comment

‘तरलता अभावले अझै ४-५ वर्ष पिरोल्छ’

जनक शर्मा पौड्याल ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । बैंकिङ क्षेत्रमा ३ दशक बढी बिताएका उनले सन् १९८४ नविल बैंकको शाखा प्रबन्धक पदबाट यात्रा सुरु गरेका थिए । नविलमा ११ वर्ष बित्दै गर्दा सञ्चालनको तयारीमा रहेको नेपाल इन्डष्ट्रियल एण्ड कमर्सियल बैंक (हाल एनआईसी एसिया) मा राम्रो अवसर आयो । त्यहाँ आधा दशक काम गरेका लक्ष्मी बैंकको स्थापनाकालमै आवद्ध भए ।

व्यवसायी राजेन्द्र खेतान बैंक खोल्न लाइसेन्स लिएर बसेका थिए । बैंक सञ्चालनका लागि नेतृत्व लिन भनेपछि पौड्यालले एनआईसी एसिया छाडे । तर, राष्ट्र बैंकले सीईओका लागि स्नात्तकोत्तर पास गरेको हुनुपर्ने प्रावधान ल्याउन लागेको चर्चा चलेपछि १५ महिने अध्ययन बिदा लिए । लण्डनमा एक वर्षमै एमबीए सकिने भएपछि पौड्याल त्यतै लागे । पढ्दापढ्दै बेलायतको पीआर पाएपछि केही समय उतै काम गरे ।

आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्किएको बताउने पौडेल ०६५ सालमा ग्लोबल आइएमई बैंकमा सहायक महाप्रबन्धक बने । त्यसपछि नायव महाप्रबन्धक, महाप्रबन्धक, नायव प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुँदै गत एक वर्षदेखि सीईओ छन्, पौड्याल । प्रस्तुत छ, नेपालको बैंकिङ क्षेत्रमा देखिएका समस्यासँग केन्द्रित रहेर पौड्यालसँग गरिएको कुराकानीको सम्पादित अंशः

निक्षेपको व्याजदर बढाउन केही बैंकबीच तीव्र प्रतिष्पर्धा देखियो । तर, ग्लोबल आइएमई बैंक चुपचाप बस्यो । यसको अर्थ बैंकमा पर्याप्त तरलता छ भन्ने हो ?

बैंक भनेको लामो समयका लागि सोच्ने संस्था हो । अहिले चाहियो भनेर आक्रामक ढंगले व्याजदर बढाइहाल्नु ठीक हो जस्तो मलाई लाग्दैन । हामी बजारमा अन्य बैंक कसरी अघि बढ्छन्, बजार कता जान्छ ? अध्ययन गरेर मात्र निर्णय गर्छौं । हामीले अरुले जस्तै व्याजदर नबढाउनुको कारण बैंकमा अथाह तरलता छ भन्ने होइन ।

‘व्याजदर आतंक’ भयो, उत्पादनशील क्षेत्रले व्याजको मार थाम्न सक्तैनन् भन्ने कुरा आइरहेको सबैलाई थाहा छ । अर्थतन्त्रलाई कसरी सहयोग गर्न सकिन्छ भनेर हामी व्याजदर बढाउन तत्काल अग्रसर नभएका हौं । व्याज नबढाइ नहुने भयो भने पछि सोच्छौं ।

भनेपछि व्याजदर बढाउने तयारीचाहिँ छ ?

अहिले नै बढाइ हाल्ने सोच छैन । छलफल र बजार अध्ययन गरिराखेका छौं । आजको दिनसम्म ब्याजदर बढाउने भन्ने छैन, भोलि बजारको माग आएछ भने अलग कुरा भयो ।

दशैं अघिसम्मको तथ्यांक हेर्दा तपाईंहरुको पनि कर्जा विस्तार धेरै नै देखिन्छ । व्याजदर बढाउने सोच छैन भन्नुभयो, निक्षेप बढाउने अरु शुत्र छन् कि ?

दशैंअघि सबै बैंकले राम्रै लगानी गरे । अहिले अरुले के गरिरहेका छन् भन्न त सक्दिनँ तर, हामीले कर्जा संकुचन गरेका छौं । स्वच्छ बैंकिङ अभ्यासमा जुन अनुपातमा निक्षेप बढेको छ, त्योभन्दा कम कर्जा लगानी हुनुपर्छ ।

तर यतिबेला बैंकिङ क्षेत्रमा निक्षेपभन्दा कर्जा विस्तार भएको छ । यसबाट समस्या देखिएका छन् । कर्जाको माग अनुसार निक्षेप नआउँदा समस्या हुन्छ । हामीले निक्षेप बढाउन १३२ शाखा र १०४ शाखारहित सेवा विस्तार गरेका छौं । निक्षेप बढाउन नयाँ योजनाहरु पनि ल्याउने सोच बनाएका छौं ।

यतिबेला रेमिट्यान्स राम्रै भित्रिरहेको छ तर, बढी अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ । यसकारण हामीले रेमिट्यान्स भुक्तानी लिन आउनेहरुलाई सम्झाउने गरेका छौं । बैंक खाता छैन भने खोल्न र छ भने आएको रेमिट्यान्स जम्मा गर्न सल्लाह दिइरहेका छौं । कानूनी व्यवस्थाका कारण यसमा हामी ग्राहकलाई सल्लाह मात्र दिन सक्छौं ।

भनेको बेला, भनेको जति रकम झिक्न पाइन्छ भने चाहिएजति मात्र निकाल्ने र उत्पादनशील क्षेत्रमा लगाउँदा राम्रो हुन्छ । यसका लागि ‘रेमिट द सेभिङ’ योजना नै ल्याएका छौं ।

निक्षेपको व्याजदर बढाउँदा बैंकहरुमा भएकै निक्षेप खोसाखोस हुन्छ तर, थप आउँदैन भनिन्छ । व्याजदर बढाएकै भरमा तरलता समस्या समाधान हुन्छ त ?

एउटा बैंकले व्याजदर बढाएपछि बचतकर्ताहरुले अर्को बैंकमा भएको निक्षेप झिकेर त्यो बैंकमा ल्याउँछन् । निक्षेप एउटा बैंकबाट अर्कोमा सर्छ । यसबाट अस्वस्थ प्रतिस्पर्धा हुन्छ ।

अर्को कुरा, हामी धेरै वर्षका लागि कर्जा लगानी गर्छौं तर, निक्षेप छोटो समयका लागि लिन्छौं । निक्षेप छोटो अवधिमा खुम्चिएको छ । यसको प्रमुख कारण अस्वस्थ प्रतिस्पर्धा नै हो । बैंक एक छाकका लागि चल्नु हुँदैन । समस्या एकछाके नीतिमा छ । लामो समयका लागि निक्षेप आउने हो भने अस्वस्थ प्रतिष्पर्धा घट्छ ।

नेपालमा बैंकहरु धेरै भएको महसुस पनि गरिएको छ । ३ वर्षअघि राष्ट्र बैंकले पुँजी वृद्धि योजना ल्याउँदा बैंक संख्या घट्ने अपेक्षा गरिएको थियो । मलेसियामा ३० वटा बैंक रहेका बेला यस्तो योजना ल्याएपछि घटेर ११ मा झरेको थियो । तर, नेपालमा अपेक्षा अनुसार भएन । वाणिज्य बैंकहरु ३२ बाट २८ वटामा झरे ।

अर्को कुरा, गाईले हात्तीको रुप लिए जस्तो भयो । २ अर्ब चुक्ता पुँजी रहेका बैंकहरुले ८ अर्ब पुँजी पुर्‍याए । गाईले १०-१२ महिनामा खाने दाना हात्तीले ३ महिनामै खाइदियो । जसका कारण हरेक त्रैमासमा समस्या देखिन थाल्यो ।

पुँजीवृद्धिका लागि हकप्रद सेयरको प्रयोग गरियो । बजारमा रहेको तरलता सबै हकप्रदले खिच्यो । अब चुक्ता पुँजी १५ अर्ब पुर्‍यायो भने बैंक संख्या घट्छ भन्ने हल्ला पनि चलाइएको छ । त्यसबाट बैंकहरुको पुँजी बढ्छ, कर्जा लगानी क्षमता पनि बढ्ला तर, निक्षेप बढ्दैन ।

चालु आर्थिक वर्षको मौद्रिक नीति आएसँगै तरलता समस्या हट्ने विश्लेषण गरिएको थियो तर, ३ महिना नबित्दै समस्या देखियो । तपाईंले पुँजी वृद्धिको असर भन्नुभयो, यो असरले कहिलेसम्म यस्तो समस्या रहला ?

यसको असर कहिलेसम्म रहला भन्न सकिने आधार छैन । बैंकको लेण्डिङ क्यापासिटी (कर्जा लगानी क्षमता) चारगुणा बढाएपछि निक्षेप पनि चारगुणाले बढ्नुपथ्र्यो तर, त्यसो भएन । चारगुणा निक्षेप वृद्वि कहिले होला भनेर अहिले भन्न सकिने अवस्था छैन ।

तरलता समस्याले यो वर्ष मात्रै होइन, अझै ४-५ वर्ष पिरोल्ने देखेको छु । यो कुरा गत वैशाखदेखि भन्दै आएको हुँ । पहिलो त्रैमासबाट यो समस्या घट्छ भन्ने कुरा आउँदा पनि मैले बढ्छ भनेको थिएँ ।

यो समस्या तत्कालै समाधान हुन्छ भन्न सकिने अवस्था छैन । ग्रीस, आयरल्याण्डजस्ता मुलुक पनि तलरता समस्यामा थिए, पछि त्यो समस्या हट्यो । यसकारण ‘तातै खाऊ, जलि मरु’ भन्ने पक्षमा म छैन । किनभने, चन्द्र-सूर्य रहेसम्म रहने भनेको बैंक हो ।

तर बैंकहरुले संयमता अपनाउन सकेनन् नि !

अरु बैंकले के गरे, मैले भन्न मिल्दैन । ग्लोबल आइएमईको कुरा गर्नुहुन्छ भने मैले सधैं ग्रीन जोन (सामान्य अवस्था) मा राख्ने कोसिस गरेको छु । रेड जोन (खतरा क्षेत्र) मा जान दिनु हुँदैन भन्ने मेरो सोचाइ छ । कर्जा र निक्षेपबीचको अनुपात (सीसीडी रेसियो) लाई सधैं ७८ भन्दा तलै राख्ने कोसिस गरेको छु । राष्ट्र बैंकले भनेको ८० प्रतिशत नजिक पुग्नै नदिने कोसिस गरिरहेको छु । म त भन्छु- सबै बैंकले कर्जा लगानीमा संयमता अपनाउनु पर्छ ।

सीसीडी रेसियो बढाउने कुरा पनि आइरहेको छ होइन ?

अहिले राष्ट्र बैंकले तोकेको ८० प्रतिशत सीसीडी रेसियो बढाउने हो भने केही दिनमै ८५ प्रतिशत पुग्छ । बढीमा बढी एक हप्ता लाग्ला । अनि फेरि ९० गर्ने ? यसकारण सीसीडी रेसियो बढाउनुपर्छ भन्ने पक्षमा म छैन । यसमा सबभन्दा राम्रो कुरा संयम् नै हो ।

उसो भए बैंक संख्या घटाउँदा लगानीयोग्य रकमको समस्या समाधान हुन्छ त ?

बैंकको संख्या घटाउँदैमा तत्कालै यो समस्या समाधान हुन सक्दैन । मानौं, अहिलेका २८ बैंकलाई एउटा बैंक बनाइयो । २८ वटा हुँदा कर्जा लगानी क्षमता जति थियो, एउटा हुँदा पनि हुने त्यति नै हो ।

बैंकको पुँजी वृद्धि गर्दा हकप्रद सेयर दिनु हुँदैन । जस्तो, ग्लोबल आइएमईले एक रुपैयाँ हकप्रद सेयर नदिई १० वटा संस्था मर्जर गरेर पुँजी पुर्‍यायो । सबैले यसैगरी पुँजी पुर्‍याएको भए यस्तो समस्या धेरै देखिने थिएन ।

बैंकहरुले पैसा भएर पनि राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गरेका छैनन् । बरु ‘पेनाल्टी’ तिर्न तयार हुन्छन्, कृषिलगायतका क्षेत्रमा लगानी गर्न अग्रसर हुँदैनन् । किन होला ?

केन्द्रमा बसेर यो कुरा गर्दा हामीलाई सहज लाग्छ तर, वास्तबिकता फरक छ । हिमाली भेगमा लगानी गर्ने सम्भावना होला तर, बिजुली, सडक आदि छैन । स्रोत छ तर, सुविधा छैन । हामीले धितो लिनुपर्ने हुन्छ । एक जनाको निक्षेप लिएर अर्काेलाई कर्जा लगानी गर्दा निक्षेपको सुरक्षातर्फ पनि ध्यान दिनु पर्‍यो ।

बैंकलाई लगानी नडुब्ने आधार चाहिन्छ । दुईवटा गाई पाल्ने, थोरै खेती गर्ने किसानलाई राष्ट्र बैंकले भनेअनुसारको लगानी गर्न गाह्रो देखेको छु ।

हामीले उत्पादनशील क्षेत्रमै लगानी बढाउनुपर्छ भन्ने मेरो धारणा हो । औद्योगिक तथा हाइड्रोपावरलगायतका क्षेत्रमा ठूला आयोजनाहरु छन् । कृषि क्षेत्रमा ठुल्ठूला फार्महरु नभएको कारण थोरै लगानी गरेर तोकिए अनुसार पुर्‍याउन गाह्रो छ ।
ग्लोबल आइएमई बैंकमा लगानीयोग्य पुँजीको अवस्था कस्तो छ ?

हाम्रोमा समस्या छैन । यतिबेला सीसीडी रेसियो ७८ प्रतिशतको हाराहारीमा छ । म सधैं ग्रीन जोनमा बस्ने कोसिस गर्छु । ७८ प्रतिशतमा बस्दा मैले २ अर्ब कम लगानी गर्नुपर्छ । र पनि म संयमित भएर ७८ मै बस्छु ।

स्थानीय तहहरुमा शाखा खोल्ने कवोल गर्नुभएको थियो । कति शाखा सञ्चालनमा ल्याउनु भयो, कति ल्याउन बाँकी छ ?

हाम्रो भागमा १७ वटा स्थानीय तह परेका थिए । तीमध्ये १६ वटामा गत आर्थिक वर्षमै शाखा खोलिसक्यौं । संखुवासभाको किमाथांकामा चाहिँ भौगोलिक विकटता कारण खोल्न सकेनौं । वर्षातमा जानै सकेनौं । स्थानीयले हेलिकप्टरबाट सामान लगिदिन्छौं पनि भन्नुभएको थियो तर, सामान मात्रै लगेर नहुने भयो । यो हिउँदमा त्यहाँ पनि शाखा संचालनमा ल्याउँछौं ।

यी त भए कवोल गरेका कुरा । यसबाहेक पनि हामी १५-२० वटा स्थानीय तहमा शाखा खोल्ने छौं ।

तपाईंहरुले जति शाखारहित सेवा विस्तार गर्नुभयो, त्यो अनुपातमा शाखा खोल्न सक्नुभएको छैन, किन ?

पछिल्लो समय तुलनात्मक हिसाबले हामीले जति शाखा खोल्यौं, त्यो भन्दा धेरै शाखारहित सेवा सञ्चालनमा ल्याएको अवश्य हो । ग्रामीण भेगमा शाखा खोल्न गाह्रो छ तर, कुनै एजेन्टमार्फत् शाखारहित सेवा सञ्चालनमा ल्याउन सहज हुन्छ ।

देशको भौगोलिक अवस्थाका कारण पनि हामीले शाखारहित सेवालाई प्राथमिकता दिएका हौं । शुरुमा शाखारहित सेवा थाले पनि ग्राहक संख्यामा वृद्वि भएसँगै स्तरोन्नति गरेर शाखाको रुपमा विकसित गर्ने गरेका छौं ।

चालु आवको दोस्रो त्रैमासको पनि दुई महिना सकिनै लागेको छ, बैंकको प्रगति कस्तो आउला ?

पहिलोभन्दा दोस्रो त्रैमासमा राम्रो सुधार हुने मेरो प्रक्षेपण छ । गत सालको तुलनामा यस वर्षको पहिलो त्रैमासिक रिपोर्ट पनि राम्रो आयो । खुद मूनाफा पनि ५३ प्रतिशत बढाएका छौं । अन्य सूचकमा पनि राम्रै सुधार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment