Comments Add Comment

मौनता नै शशांकको बलियो हतियार !

१ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवासमा दिवाभोजको निम्तो मान्न कांग्रेस नेता अर्जुननरसिंह केसी, रामशरण महत, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल र जीवन परियार लगायतका नेता १२ मंसिरमा टोखा पुगे । अम्बा पिटेर खाए । ठट्टा गरे । त्यसपछि अनौपचारिक छलफल सुरु भयो ।

सम्वादकै क्रममा नेताहरुले रोजाइ अनुसार खाना लिए । शशांक निवासमा झण्डै दुई घन्टासम्म चलेको अनौपचारिक कुराकानीका क्रममा महामन्त्री कोइरालाले एक शब्द बोलेनन् । उनी कहिले पान परागको खोलले दात कोट्याइरहन्थे त कहिले टोलाइरहन्थे ।

आफ्नै निम्तोमा आएका नेताहरुलाई न उनले औपचारिक स्वागत गरे, न छुट्ने बेलामा धन्यवाद नै दिए ।

डा. शशांक कोइराला नेपाली कांग्रेसका निर्वाचित महामन्त्री हुन् ।पार्टीमा सँधै मौन बस्छन् । तर, जब सार्वजनिक मञ्च पाउँछन्, धार्मिक कार्यक्रमहरुमा पुग्छन्, नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, यसबारे जमनत संग्रह गर्नुपर्छ भन्न छुटाउँदैनन् ।

मंसिर २४ मा पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको गुटको बैठकमा पनि उनले नेताहरुलाई सुनिमात्र रहे । आफूले एक शब्द केही बोलेनन् ।

तर, त्यही दिन चितवनमा महायज्ञमा गएर शशांकले भने, ‘मेरो व्यक्तिगत चाहना भनेको हिन्दु राष्ट्र हुनुपर्छ ।’

कांग्रेसको केन्द्रीय कार्यसमितिमा हिन्दु राष्ट्रलाई लिएर नेताहरुले बाझाबाझ गर्दा पनि महामन्त्री शशांक मौन बसे । पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले बनाएको राजनीतिक प्रस्तावमाथि छलफल गर्दा पनि उनले धर्मबारे मुख खोलेनन् । बरु अन्य नेताहरुले यसबारेमा बोले । केन्द्रीय कार्यसमिति बैठकमा शंकर भण्डारी र फर्मुल्लाह मन्सुरबीच जहारी नै चल्यो ।

डा. शशांक कोइराला नेपाली कांग्रेसका निर्वाचित महामन्त्री हुन् । तर, पार्टीमा सँधै मौन बस्छन् । संसदमा पनि बोल्दैनन् । तर, जब सार्वजनिक मञ्च पाउँछन्, धार्मिक कार्यक्रमहरुमा पुग्छन्, नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, यसबारे जमनत संग्रह गर्नुपर्छ भन्न छुटाउँदैनन् ।

शशांकलाई नजिकबाट नियालिरहेका नेताहरुले यसलाई ‘स्मार्ट मूभ’ का रुपमा विश्लेषण गरेका छन् ।

‘हिन्दु राष्ट्र’बारे दोहोरो व्यवहार

धर्म निरपेक्षताबारे महामन्त्री शशांकको लाइन के हो भन्ने प्रश्नमा उनी निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘हाम्रो महामन्त्री धर्मबारे बाहिर बोल्नुहुन्छ, पार्टीमा केही भन्नुहुन्न ।’

यसबारे धेरै प्रश्न उठ्यो भने उनले भन्ने गरेका छन्, ‘अहिल्यै भनेको होइन । आउँदो दिनमा राजनीतिक स्थिरता भएपछि धर्मनिरपेक्षता कि हिन्दु धर्म भनेर जनमत संग्रह हुनुपर्छ ।’

तर, अधिकांश ठाउँमा हिन्दु राष्ट्र राख्ने कि नराख्ने जनमत संग्रह मात्र गर्नुपर्छ भन्छन् कोइराला ।

कांग्रेस नेताहरुका अनुसार यो उनको सुविचारित अभिव्यक्ति हो । किनभने आम जनतामा मात्र होइन, कांग्रेसमा पनि हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मत राख्ने नेता कार्यकर्ताको संख्या ठूलो छ । त्यसैले सार्वजनिक मञ्चमा उनी हिन्दु राष्ट्रबारे बोलिरहन्छन् ।

तर, पार्टीमा औपचारिक प्रस्ताव राख्दैनन् । किनकि धर्म निरपेक्ष संविधान आफ्नै नेतृत्वमा बनाएको गर्व गर्ने कांग्रेस अहिले चाहेर पनि हिन्दु राष्ट्रको पक्षमा उभिन सक्दैन । महामन्त्री कोइराला पराजित हुने प्रस्ताव पार्टी लैजान चाहँदैनन् ।

देउवाबारे पनि उस्तै दोधार

धर्मबारे मात्र होइन, महामन्त्री शशांक पार्टी सभापति शेरबहादुर देउवासँगको सम्बन्धमा पनि मौन छन् ।

आम चुनावमा कांग्रेसले व्यहोरेको नराम्रो हारपछि धेरै नेताले सभापति शेरबहादुर देउवामाथि प्रश्न उठाए । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहले आरोपै आरोपले भरिएको लिखित प्रस्ताव नै केन्द्रीय कार्यसमितिमा दर्ता गराएका छन् तर, एउटै गुटमा रहेका शशांक चुइँक्क बोलेका छैनन् ।

डा. शशांकको मौनतामाथि गुटका केही नेताहरुले प्रश्न पनि उठाए । उनी पार्टी सभापतिसँग मिलेको आशंका गरे । त्यसपछि रामचन्द्र पौडेल गुटको भेला-बैठकमा सक्रियतापूर्वक सहभागिता जनाएका उनले आफ्नो मौनता भने तोडेका छैनन् ।

यसले देउवा समूहको नजरमा पौडेल समूहका नेताहरु ‘विरोधी’ बन्दा पनि महामन्त्री शशांक बचेका छन् । ‘झट्ट हेर्दा उनी किन बोल्दैनन् भन्ने परेको छ । तर, पार्टीमा मौनता नै उनको शक्ति जस्तो बनेको छ’ एक नेताले भने ।

महासमिति बैठक बन्दैछ परीक्षा

कांग्रेस नेताहरुका अनुसार महामन्त्री शशांकको मौनता लामो समय टिक्न सक्ने अवस्था टर्दै गएको छ ।

संसदीय दलको चुनावमा आफूलाई भोट नदिएको दाबी गर्दै पौडेल समूहका नेता प्रकाशमान सिंहले महामन्त्री कोइरालामाथि लगातार प्रश्न उठाउँदै आएका छन् । देउवा गुट छाडेर पौडेल समूहमा फर्किएका अर्नुननरसिंह केसी र तेस्रो गुट चलाउने प्रयासमा रहेका कृष्ण सिटौला पनि उनीसँग सन्तुष्ट छैन ।

पौडेल-सिटौला समूहका नेताहरु महासमिति बैठकमा सभापति देउवालाई कर्नरमा पार्ने प्रयासमा छन् । यसमा महामन्त्रीले कस्तो भूमिका निभाउँछन् भन्ने चासो छ ।

एक केन्द्रीय सदस्य भन्छन्, ‘यदि शशांक फेरि पनि मौन बसे भने तिनै नेताहरु शंशाक बाहेकलाई समूहको नेता मान्ने अवस्थामा पुग्न सक्छन्, जुन उनका लागि घातक हुन्छ ।’

किनभने, यस्तो अवस्थामा आसन्न महाधिवेशनमा देउवासँग भिड्ने पात्र खोज्दा शशांकलाई पौडेल-सिटौला समूहले अस्वीकार गरे परिस्थिति उनको अनुकूल नहुन सक्छ ।

तर, शशांकले मौनता तोडे भने देउवालाई हराउने सर्तमा उनकै नेतृत्वमा टिम तयार नहोला भन्न सकिन्न । पौडेल र सिटौला समूहले चाहे पनि नचाहे पनि कांग्रेसमा अझै पनि कोइराला मोह जबरजस्त छ, झन ‘वीपीको अधुरो सपना पूरा गर्न सभापति हुन्छु’ भन्दा देउवालाई हराउन सक्ने बलियो पात्र शशांक नै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment