Comments Add Comment

बडिविल्डिङमा नेपाललाई ऐतिहासिक सफलता, महेश्वर बने विश्वविजेता

१ पुस, काठमाडौं । थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो ।

मानन्धरको समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा थिए । उनीहरुबाट टप ५ को छनोट गरिएको थियो । टप ५ मा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर थिए । शनिबार लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए ।

भारतका जयप्रकाशले दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो भने सिंगापुरका खेलाडी तेस्रो भएका थिए । थाइल्यान्ड चौंथो र उज्बेकिस्तान पाचौं भए ।

३५ वर्षका महर्जनले यसअघि भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए । उनी नेपालमा हुने बडिबिल्डिङ प्रतियोगिता धर्मश्रीको १३ औं संस्करणका विजेता हुन् भने यसपालिको धर्मश्रीमा पनि ७५ केजी समूहमा उनले स्वर्ण जितेका थिए ।

थाइल्यान्डमा १४ डिसेम्बरबाट सुरु भएको ‘१० औं विश्व बडीविल्डिङ फिजिक स्पोर्टस च्याम्पियनसीप’ मा नेपालबाट मानन्धसहित दुई खेलाडीले भाग लिएका थिए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा १७० सेन्टिमिटर उचाई समुहमा बिमल श्रेष्ठले भाग लिएका थिए । उनी ७ राष्ट्रको समुहमा चौंथो भए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा सुगठित शरीरका साथसाथै खेलाडीको समग्र लुक्स र हाउभाउ पनि हेरिन्छ । एक प्रकारले यसलाई ‘ह्यान्डसम प्रतियोगिता’ पनि भन्न सकिन्छ ।

एसियन च्याम्पियनसीपमा गोल्ड मेडल जितेको आधारमा एसोसिएशनले थाइल्यान्डमा महर्जनलाई पठाउने निर्णय गरेको थियो । यसका लागि ६ महिनादेखि उनले तयारी गरिरहेका थिए ।

बडी बिल्डिङको तयारी भनेको जिम गर्ने मात्र होइन । यसमा खानपानमा नियन्त्रण सबैभन्दा प्रमुख कुरा हो । महर्जनले ६ महिना अगाडिदेखि नून खान छोडेका थिए । नूनले तौल बढाउने र डिहाइड्रेसनसमेत हुने गरेकाले प्रतियोगिताभन्दा धेरै अगाडिदेखि नून खान नहुने नेपाल बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएशनका उपाध्यक्ष दिनेश राजभण्डारी बताउँछन् ।

महर्जनले भात खान त निकै अगाडिदेखि छाडेका थिए । यस्तै चिल्लो–पिरो पनि बारेका थिए । उनी दैनिक ३० वटा अन्डा (सेतो भाग मात्र) खान्थे भने एक किलो कुखुराको ब्रेस्ट खान्थे । दैनिक ८ घन्टा जिम गर्थे ।

राजभण्डारीका अनुसार प्रतियोगिताको केही दिन अगाडिदेखि खेलाडीहरुले सामान्य पानीसमेत पिउँदैनन् । उनीहरु ब्याट्रीमा हालिने डिस्टिल्ड वाटर मात्र पिउँछन् । महर्जनले पनि यसै गरेका थिए ।

उपेक्षित शारीरिक सुगठन

शारीरिक सुगठन अर्थात् बडीबिल्डिङलाई नेपालमा उपेक्षित नै छ । बडीबिल्डिङ एसोसियसन नेपाल खेलकुद परिषदमा दर्ता भए पनि परिषदले यो खेललाई प्रबद्र्धन गर्न खासै चासो नदिएको राजभण्डारी बताउँछन् ।

‘हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा हामी आफैंले स्रोत जुटाएर पठाउनुपर्छ,’ उनले भने, ‘परिषदले गर्ने सहयोग नोमिनल (पचास हजारदेखि एक लाख) मात्र हुन्छ ।’

थाइल्याण्डको प्रतियोगितामा पठाउँदा त परिषदले अहिलेसम्म एक पैसा पनि नदिएको उनले बताए ।

‘दुई खेलाडीलाई तयार पार्नदेखि प्रतियोगितामा सहभागी गराउनसम्म ६–७ लाख रुपैयाँ खर्च भएको छ, तर परिषदबाट एक पैसा पाएका छैनौं,’ राजभण्डारीले भने । परिषदका सदस्यसचिव शोकमा रहेकाले पैसाको विषयमा निर्णय हुन नसकेको उनले जानकारी पाएका छन् ।

प्रतियोगिताको आयोजकले कुनै खर्च नव्यहोर्ने उनी बताउँछन् । आतेजाते टिकट, होटलमा बस्ने खाने सबै एसोसिएसनले नै गरेको उनको भनाई छ । ६ दिन होटलमा खान बस्नका लागि ७ सय २० डलर आयोजकलाई बुझाइएको उनले जानकारी दिए ।

प्रतियोगितामा बिजेताले कुनै नगद पुरस्कार पाउँदैनन् ।

‘राष्ट्रलाई विश्वसामु चिनाउने बाहेक यसमा हाम्रो अर्को कुनै स्वार्थ छैन,’ उनले भने ।

यो प्रतियोगितामा भाग लिन खेलाडीहरु पठाउँदा संघले राष्ट्रिय खेलकुद परिषदलाई जानकारी गराएको थियो । तर, परिषदका प्रतिनिधि भने गएका थिएनन् ।

को हुन् महर्जन ?

काठमाडौंको छाउनीमा घर भएका महर्जन लामो समयदेखि शारीरिक सुगठनमा छन् । सामान्य किसान परिवारमा जन्मेका उनी सानोमा ख्याउटे थिए । कक्षा नौमा पढ्दा नरदेवीको यूनिभर्सल जिमबाट उनले शारीरिक व्यायाम सुरु गरेका थिए । तर उनलाई घरबाट सहयोग थिएन । खासगरी आमाले यो क्षेत्र मन पराएकी थिइनन् ।

२००५ मा उनले पहिलोपटक दशौं धर्मश्रीमा भाग लिएर पाचौं भएका थिए । परिवारको आर्थिक स्थिति कमजोर भएकाले उनले बाहिर काम पनि गरिरहेका थिए ।

त्यसपछि उनले मिस्टर हिमालयमा भाग लिए र सेकेन्ड पोजिसनमा आए । अहिलेसम्म २४/२५ वटा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका मानन्धरले १८ वटा गोल्ड मेडल जितेका छन् ।

२०११ मा भियतनाममा आयोजित ४७ औं एसियन च्याम्पियनसीप उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । त्यसमा उनी ११ जनामा सातौं भए । १३ औं धर्मश्रीमा सर्वोत्कृष्ट उनको चर्चा बढेको थियो ।

परिवारको दायित्वले गर्दा महर्जन दुईपटक विदेशिए । पहिलोपटक साउदी अरब गएर उनले फिटनेस जिममा डेढ वर्ष काम गरे । बाबु बिरामी भएपछ नेपाल आए । तर, परिवार पाल्न गाह्रो भएपछि ५–६ महिनापछि दुबई गए । त्यहाँ होटलमा फिटनेस डिपार्टमेन्टमा असिस्टेन्ट फिटनेस म्यानेजरका रुपमा साढे तीन वर्ष काम गरे । केही पैसा कमाएर उनी फर्के ।

अहिले चाहिँ उनी साथीहरुसँग मिलेर जिम सेन्टर सञ्चालन गरिरहेका छन् । अहिले उनको आर्थिक अवस्था केही राम्रो छ ।

महेश्वर २५ तारिखमा थाइल्यान्डबाट नेपाल फर्केपछि नगर परिक्रमा गराउने तयारी एसोसिएशनले गरेको छ । साथै उनलाई नगद पुरस्कार दिने विषयमा पनि छलफल भइरहेको राजभण्डारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment