+
+

त्रिविमा प्राइभेट परीक्षा पनि अब सेमेस्टर प्रणालीमै

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २ गते १८:१६

२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा प्राइभेट परीक्षा पनि सेमेस्टर प्रणालीमा नै सञ्चालन गर्ने तयारी गरेको छ ।

विद्यार्थीले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा फारम भरी परीक्षा दिएर डिग्री हासिल गर्ने प्राइभेट प्रणालीलाई पनि अब सेमेस्टर प्रणालीमा जस्तै ६/६ महिनामा परीक्षा लिने व्यवस्था गर्न लागेको हो । यद्यपि यस विषयमा त्रिविले निर्णय भने गरिसकेको छैन ।

त्रिविमा स्नातकोत्तर तहमा जनप्रशासन (एमपीए) र राजनीतिशास्त्र विषयमा प्राइभेट परीक्षाबाट डिग्री हासिल गर्न पाउने व्यवस्था छ । यी विषयमा विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा फारम भरेर नियमित कक्षाकोठामा नगइ वर्षमा एक पटक परीक्षा दिएर दुई वर्षमा स्नातकोत्तर तह उतीर्ण गर्न पाउने व्यवस्था थियो ।

स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली सुरु भएपछि प्राइभेट परीक्षा बन्द गर्ने त्रिविको तयारी थियो । तर, विद्यार्थी संगठनहरुको दबाबपछि भने प्राइभेटमा पनि सेमेस्टर प्रणालीमा जस्तै ६/६ महिनामा परीक्षा दिने गरी सञ्चालन गर्न लागिएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँ अब पहिलेकोजस्तो प्राइभेट प्रणाली नरहने बताउँछन् । ‘हिजोको प्राइभेट रहन्न, हामीले एनुअल सिष्टमको प्राइभेट नहुने भन्ने निर्णय गरिसकेका छौं, नयाँ निर्णय भने हुन बाँकी छ,’ उनले अनलाइनखबरसँग भने ।

त्रिविले स्नातकोत्तर तहमा प्राइभेट र नियमित विद्यार्थीको भर्ना एकै समयमा लिने र परीक्षा पनि एकै समयमा सञ्चालन गर्ने बताएको छ । ‘उनीहरुको भर्ना हुने प्रक्रिया एउटै हुन्छ, जाँचको प्रक्रिया एउटै हुन्छ,’ उपकुलपति खनियाँले भने, ‘अब कक्षाकोठामा पढ्ने र अनलाइन वा डिस्ट्यान्स मोडका विद्यार्थीमात्र हुन्छन् ।’

यस विषयमा सोमबार पनि त्रिविले विद्यार्थीहरुसँग छलफल गरेको छ । उपकुलपति खनियाँ, रजिष्टार डिल्लीराम उप्रेती, विद्यार्थी कल्याण विभाग प्रमुख गंगाबहादुर थापाले सोमबार विद्यार्थी प्रतिनिधिसँग यस विषयमा छलफल गरेका थिए ।

विद्यार्थीहरुले भने हाल सञ्चालनमा रहेको वाषिर्क प्रणालीअनुसार नै प्राइभेट परीक्षा दिन पाउनुपर्ने बताएका छन् ।

सेमेस्टर प्रणालीमा प्राइभेट परीक्षा लिन त्रिविले तयारी नै नगरेकाले वाषिर्क प्रणालीअनुसार नै सञ्चालन हुनुपर्ने अनेरास्ववियु त्रिवि क्याम्पस कमिटीका अध्यक्ष मदन विष्टले बताए । ‘त्रिविले प्राइभेट प्रणाली नै हटाउन लागेको थियो, हामीले विरोध गरेपछि मात्रै उसले समेस्टर प्रणालीमा गर्ने विकल्प ल्याएको हो, यसका लागि त्रिविसँग कुनै तयारी छैन, त्यसैले त्रिविले सम्पूर्ण तयारी पूरा नगरेसम्म वाषिर्क प्रणालीमै प्राइभेट परीक्षा सञ्चालन हुनुपर्छ,’ उनले भने ।

प्राइभेट परीक्षाबारे देखिएको अन्योलताका कारण त्रिविको परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको आंशिक परीक्षाको फारम खोल्न पनि सकेको छैन । ‘प्राइभेट हटाउने भन्ने निर्देशन थियो, फारम खोल्न आजमात्रै हामीलाई १५ दिन पर्खिन आग्रह भएको छ,’ परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?