Comments Add Comment

अड्कियो मेलम्चीको पानी, ठेकदारबाट फेरि धोका !

२ पुस, काठमाडौं । मेलम्चीको पानीले सडक पखाल्ने उपत्याबासीको सपनामा फेरि एकपटक तुषारापात भएको छ । कामै नसकी भाग्न आँटेका ८ जना इटालियन ठेकेदारलाई सोमबार सरकारले पक्राउ गर्न त भ्यायो । तर, मेलम्चीको पानी कहिले उपत्यकामा झर्छ भन्नेचाहिँ फेरि अनिश्चित बनेको छ ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौतामा हस्ताक्षर गरेपछि इटालियन कम्पनीका तत्कालीन प्रतिनिधिले भनेका थिए, ‘सीएमसीले विश्वभर जति पनि काम गरेको छ, सबै पूरा गरेको छ, हामीले कुनै पनि काम अधुरो छाडेका छैनौं ।’

सन् २०१३ मा यो सम्झौता गर्दा मन्त्रालयको सचिव रहेका किशोर थापा भन्छन्, ‘त्यो सुनेपछि हामी अलि ढुक्क भएका थियौं ।’

थापाका अनुसार झन सीएमसीले नै तनहु“ जलविद्युतको ठेक्का पाएपछि घाटा–नाफा जे भए पनि उसले मेलम्चीको काम सक्ने भयो भन्ने लागेको थियो । तर, सोमबार सीएमसीले मेलम्चीबाट हात झिकेको छ ।

सीएमसी वित्तीय संकटमा परेपछि उसका प्रतिनिधिहरु मेलम्चीको बा“की काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर सोमबार मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा पुगेका थिए । तर, त्यसपघि नै सीएमसीका कामदारहरु भाग्न खोजेको सुइँको पाएको सरकारले प्रहरीको सहयोगमा ८ जनालाई पक्राउ गरिसकेको थियो ।

ठेकदारको धोका : पुरानै नियति

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४८ को चुनाव प्रचारका क्रममा मेलञ्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्ने दाबी गरेका थिए । ०४१ सालबाटै अध्ययन सुरु भएको भएपनि भट्टराईको भाषण पनि मेलम्चीलाई काठमाडौंमा पानीको अभाव टार्ने ‘अचूक उपाय’ का रुपमा लिन थालियो ।

तर, मेलम्चीको पानी अझै आएको छैन, सीएमसीको पछिल्लो कदमले थप अन्योल सिर्जना गरेको छ ।

यस्तो छ मेलम्चीको कथा

मेलम्चीले धोका खाएको योपहिलो पटक भने होइन । कहिले दातृ निकायले हात झिक्छ त कहिले ठेकदारले हात झिक्छ । कहिले स्थानीयका नाममा भएको आन्दोलन र राजनीतिका कारण मेलञ्ची तीन दशकमा पनि बन्न सकेको छैन ।

आयोजनाको सम्भाव्यता अध्ययन ०४१ तिरकै भए पनि ०५२ सालमा पहिलोपटक मेलम्ची खानेपानी लिमिटेड स्थापना गरेर काम थालिएको थियो । यसलाई जिम्मा थियो, लगानीकर्ता खोज्ने । तर, कम्पनीमार्फत काम नहुने देखेपछि ०५५ मा विकास समितिमा लगियो ।

एसियाली विकास बैंक (एडीबी) लगायतका दातृ निकायसँग ०५७ सालमा ऋण सम्झौता पनि भयो । त्यसबेला ०६४ सालमै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, त्यसअनुसार काम नै सुरु भएन । एक वर्षपछि नै एडीबीले आयोजना सम्भाब्य नभएको भन्दै हात झिक्ने धम्की दियो । ०६१ सालसम्म आइपुग्दा नोर्डिक र सिडा मेलम्चीमा लगानी गर्ने सम्झौताबाट पन्छिए ।

विकास साझेदारसँग ०६३ तिर सरकारको मनमुटाव भयो । खानेपानी संस्थानले उपत्यकाको खानेपानी व्यवस्थापन गर्न नसक्ने भन्दै बेलायती कम्पनी ल्याउने एडीबीको जोडबलका कारण विवाद चर्किएको थियो । तत्कालीन अर्थमन्त्री रामशरण महतले एडीबीको प्रस्तावलाई समर्थन गरे भने तत्कालीन भौतिक पूर्वाधारमन्त्री हिसिला यमीले त्यसको विपक्षमा अडान लिइन् ।

पछि समाधानका रुपमा उपत्यका खानेपानी बोर्ड गठन गरेर त्यसअन्तर्गत केयूकेएल स्थापना गर्ने र त्यसले नै उपत्यकाको खानेपानी व्यवस्थापन गर्ने मोडेल बन्यो । यो समझदारीपछि एडीबीकै लगानीमा मेलम्चीको काम अघि बढ्यो ।

यही क्रममा चिनियाँ कम्पनी सीआरसीसीले ०६५ सालमा ठेक्का पायो । त्यसबेला ०७० सालसम्म काम सक्ने लक्ष्य लिइएको थियो । तर, चिनियाँ कम्पनीको काम निकै सुस्त रह्यो । म्याद सकिन एक वर्ष मात्रै बाँकी हुँदा पनि ८ किलोमिटर मात्रै सुरुङ खनेपछि सरकारले एकतर्फी रुपमा ठेक्का तोड्ने घोषणा ग¥यो । यसले आयोजना निमार्ण थप अनिश्चित भयो ।

नयाँ ठेक्काका लागि सरकारले ठूलै मेहनत गर्नुप¥यो । जे होस्, ०७० सालमा इटालियन कम्पनी सीएमसी बाँकी सुरुङ खन्न तयार भयो र ०७३ मा काम सक्नुपर्ने गरी सम्झौता पनि भयो ।

तर, ०७२ वैशाख को भूकम्प र भारतले लगाएको नाकाकान्दीका कारण आयोजना प्रभावित भयो । त्यसपछि इटालियन कम्पनीले विभिन्न बाहानामा काम अल्झायो र थप भेरिएसन मागिरह्यो ।

दाबी गरेजति रकम दिन नेपाल सरकार तयार नभएपछि इटालियन कम्पनीले अन्तरराष्ट्रिय ठेक्काको विवाद सुनुवाइ हुने अदालत (अर्बिटेशन कोर्ट) मा मुद्दा पु¥यायो । तर, यो विवाद नटुंगिँदै सीएमसी टाट पल्टियो ।

अब सीएमसीले मेलम्चीको बाँकी काम नगर्ने घोषणा गरेपछि आयोजना थप अनिश्चित भएको छ ।

अझै के के काम बाँकी छन् ?

सीएमसीले हात उठाउनुअघि सुरुङकै काम गरिरहेको थियो । यद्यपि यो निकै कम मात्र बाँकी छ । आयोजनाका अधिकारीहरुका अनुसार तीव्र गतिमा काम गरेको भए कम्तिमा एक सय दिनमा मात्र मेलम्चीको काम सक्ने अवस्था थियो ।

अझै सुरुङ र ड्याम साइटमै काम धेरै बा“की छन् । सुरुङभित्र सर्फेस फिनिसिङ सकिएको छ । सतहमा लाइनिङ (क्रंक्रिट ढलानसहित फिनिसिङ) को काम ६० मिटरको मात्रै बा“की छ ।

सुरुङमार्गमा भेन्टिलेसन राख्ने काम भइरहेको थियो । एक ठाउ“मा ४ इन्चको प्वाल पारेर त्यसलाई ठूलो पार्ने काम भइसेकको थियो तर, अन्य ठाउ“मा काम नगर्दै ठेकदारले काम छाडेको छ ।

सुरुङमार्गमा पानी हालेपछि हावा बाहिर जान सक्ने गरी ‘एयर भेन्ट’ राख्नुपर्छ । तीन ठाउ“मा यस्ता एयर भेन्ट बनाउनै बा“की छ । त्यसका लागि सुरुङबाट माथिल्लो भागमा प्वाल पार्नुपर्छ र भेन्टिलेसनको संरचना तयार गर्नुपर्छ ।

गेट लगाएर अडिट टनेलहरु थुन्ने काम बा“की नै छन् । फिनिसिङको काम सकिएपछि अडिट टनेलहरु थुन्ने काम सुरु हुने अवस्था थियो । भेन्टिलेसन र अडिट टनेल थुन्न चाहिने सबै उपकरण र सामानहरु भने आइसकेको आयोजनाले जनाएको छ ।

मेल्चीको पानी थपेर हाल्ने मुहानमा एउटा अस्थायी ड्याम निर्माण गर्न पनि बा“की नै छ । आयोजनाको सुरुङभित्र अनलाइन मनिटरिङ गर्न सीसी क्यामेरा जडान पनि गर्नुपर्छ ।

सुरुङभित्रका सबै काम सकिएपछि पनि टेस्टिङ कमिसनिङ (सुरुङको निर्माणको गुणस्तर र त्रुटीको परीक्षण)का लागि अर्को एक महिना जति समय लाग्छ । यदि यो टेस्टिङमा केही गम्भीर समस्या देखिए त्यसको पनि मर्मत गर्नुपर्ने हुन्छ । यो सबै काम सकाएपछि सुरुङमार्गमा पानी हाल्न सकिन्छ ।

सुन्दरीजलमा झरेको पानी घर–घरमा पु¥याउन गर्नुपर्ने काम भने अर्को ठेकदारले गरिरहेको छ ।

अब के हुन्छ ?

सीएमसी भागेपछि अब के गर्ने ? सरकारले निर्णय गर्न बाँकी छ । पूर्वसचिव किशोर थापा भने ठेकदार भागे पनि विदेशी कन्सलट्यान्ट नेपाल सरकार र एडीबीको सम्पर्कमै रहेकाले बाँकी काम अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्छन् ।

थापाले अनलाइनखबरसँग भने, ‘विदेशी कन्सलट्यान्टसँग कुराकानी गरेर सीएमसीका लोकल कन्ट्राक्टरमार्फत काम गराउन सकिन्छ । यो आयोजनालाई जसरी पनि पूरा गर्नुपर्छ ।’

यसका लागि आयोजनास्तरबाट पहल नपुगे खानेपानी मन्त्रालय र सरकारले आफैंले पनि अग्रसरता देखाउनुपर्ने पूर्वसचिव थापाको सुझाव छ ।

यो पनि पढ्नुहोस मेलम्ची छोडेको इटालियन ठेकदारको घोषणा, सरकारले पत्र बुझेन यो पनि पढ्नुहोस इटाली भाग्न खोज्ने मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment