+
+
Shares

बैंकसँग ऋण माग्नुस्, नदिए उजुर गर्नुस् : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ५ गते १८:०८

५ पुस, पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संस्थाबाट ऋण नपाए उजुरी गर्न आग्रह गरेका छन् । बिहीबार पोखरामा लेखनाथ महोत्सवको उद्घाटन गर्दै उनले युवालाई उत्पादनमा जोड्न सस्तो दरमा ऋण दिने भन्दै बैंकले नदिए उजुर गर्न आग्रह गरेका हुन् ।

‘पूँजीगत रुपमा युवालाई उत्पादनमा जोड्ने हो । यसका लागि सस्तो ब्याज अनुदानमा ऋण दिने कुरा गरेको छु । सस्तो ब्याजदरमा ऋण पाउनु भएन भने उजुरी गर्ने ठाउँ पनि हुन्छ,’ अर्थमन्त्री भने, ‘प्रविधिमा जोड्ने, उद्यमशीलताको विकास गर्ने काम पनि हामीले गरिराखेका छौं ।’

अर्थमन्त्री खतिवडाले सरकारले ल्याएको स्किमसँग जोडिन युवालाई आग्रह गरे । ‘नजिकको बैंक तथा वित्तिय संस्थामा गएर ऋण लिनुहोस् । महिला उद्यमीका लागि पनि सरकारले व्यवस्था गरेको छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘अध्ययन प्रमाणपत्र धितो राखेर लिन चाहनुहुन्छ भने पनि सरकारले त्यसको व्यवस्था गरिसकेको छ ।’ उच्च प्राविधिक शिक्षा पढ्न चाहनेलाई बैंकिङ सुविधा सरकारले दिने उनको भनाइ छ ।

‘महोत्सवमा आमाहरुमात्रै देखें, सायद लोग्ने मान्छे वा छोराहरु विदेश होलान्,’ अर्थमन्त्री खतिवडाले भने, ‘हामीले कुनै पनि युवा पलायन हुन नदिने खालको रोजगारमूलक स्मिक ल्याइसकेका छौं ।’

पोखरा आउने सडकको स्तरोन्नति गर्ने प्रक्रिया सरकारले अगाडि बढाएको बताए । कमसेकम ४ लेनको डेडिकेटेड र २ लेनको सर्भिससहितको ६ लेनको सडक स्तरोन्नति गर्न दातृ निकायसँग सम्झौता गर्ने प्रक्रिया अगाडि बढिसकेको पनि जानकारी गराए ।

१० वर्षमा ५० लाख पर्यटक

अर्थमन्त्री खतिवडाले पर्यटनका माध्यमबाट धेरैभन्दा धेरै युवालाई रोजगारी मिल्ने बताए । २०२० सम्म २० लाख पर्यटक ल्याउने सरकारी लक्ष्य सुनाउँदै अर्थमन्त्री खतिवडाले, २०१८ भित्रै १२ लाख पर्यटक भित्रिसक्ने बताए ।

‘एउटा पर्यटकले कम्तीमा २ जनालाई रोजगारी दिन सक्छ भन्ने अनुमान गर्ने हो भने पनि धेरै मान्छेले यहाँ रोजगारी पाउँछन्,’ उनले भने, ‘हामीले १० वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने भनेका छौं । यति पर्यटक नेपाल आउँदा धेरै युवालाई परिचालन गर्न सक्छौं ।’

धेरैभन्दा धेरै पर्यटक भित्र्याउन ठूला होटल, विमानस्थल, स्तरीय सडक छिटोभन्दा छिटो बनाउनुपर्ने उनको भनाइ थियो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम छिटो सिध्याउनु छ । लुम्बिनी एयरपोर्ट चाँडो सक्नु छ, निजगढा विमानस्थल छिट्टै बनाउनु छ, बाह्य उडान बढाउनु छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘नेपाल बस्दा पर्यटकले नेपाली सामाग्री, खाद्यान्न नै प्रयोग गर्न सक्ने वातावरण गरायौं भने धेरै युवा जोडिन्छन् ।’

वित्तिय संस्था संयमित हुनुपर्‍यो 

पूँजी बजार र ब्याजदरमा हुने उतारचढावले अहिले धेरैलाई चिन्ता बढेको अर्थमन्त्री खतिवडाले बताए । यसको अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाइसकेको र त्यसको आधारमा कार्यान्वयन गर्ने अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

‘ब्याजदर धेरै भइदिँदा ठूला आयोजनामा लगानी गर्ने हतोत्साही हुन सक्छन् । महंगो ब्याजदरबाट परियोजना निर्माण हुन सक्दैन,’ उनले भने, ‘त्यसैले हामीले बैंक तथा वित्तिय संस्थालाई संयमित हुनुस् भनेका छौं ।’ दीर्घकालीन विकासको व्याजदरलाई व्यवस्थित सीमाभित्र राख्न निर्देशित गरिसकेको खतिवडाले बताए ।

बैंकबाट कर्जा लिएर लगानी गर्नेहरुलाई ब्याज बढेका कारण, अथवा अलिकथि सेयरको भाउ बढ्दा समस्या परेको गुनासो आएको उनको भनाइ थियो । ‘त्यो अवस्थामा पूँजीबजार पनि हतोत्साही नहुने गरी बैंकहरुले आफ्नो काम गरुन् । आफ्नो ब्याजदर र कर्जा नीति परिमार्जन गरुन् भनेर हामीले निर्देशित गरिसकेका छौं,’ खतिवडाले भने ।

देशको स्थिति सुधार भइरहेको छ

अहिले एकथरीले देशको आर्थिक स्थिति खस्क्यो, विकास भएन भने पनि धेरै विकास र सुधार भइरहेको अर्थमन्त्री खतिवडाले बताएका छन् । नेपालको इतिहासमा पहिलो चोटी ७ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर हासिल गर्ने बाटोमा सरकार लागेको उनको भनाइ थियो ।

‘अन्तर्राष्ट्रिय संस्थाहरु जसजसले नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशतभन्दा माथि जानै सक्दैन भन्थे, उनीहरुले पनि घटीमा पनि ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेका छन्,’ अर्थमन्त्रीले भने, ‘हामीले ७ प्रतिशतभन्दा माथिको स्थिति परिकल्पना गरिराखेका छौं ।’

देशमा अहिले औद्योगिक कच्चा पदार्थको आयात ४० प्रतिशत बढेको खतिवडाले बताए । ‘यो आयात आर्थिक क्रियाकलाप बढेका कारण भएको हो । लगानी बढेर हो । विद्युत आयोजना छिटो हुन थालेर हो,’ अर्थमन्त्री खतिवडाले भने, ‘आर्थिक क्रियाकलाप विस्तार हुँदै जाँदा कर्जाको पनि खपत बढ्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?