Comments Add Comment

सेयर लगानीकर्ताको आन्दोलन तुहियो, अनशनकारी घर फर्किए

५ पुस, काठमाडौं । पूँजीबजार लगानीकर्ताहरुको एउटा समुहले विभिन्न माग राखेर सुरु गरेको आन्दोलन बीचमै तुहिएको छ । तीन दिनदेखि आमरण अनसनमा बसेका दुई लगानीकर्ताले बिहीबार अनसन तोडेका छन् ।

लगानीकर्ताद्वय हरि ढकाल र तिलक कोइराला आमरण अनसनमा थिए । आफूहरुको माग पूरा हुन नसक्ने निश्कर्ष निकाल्दै उनीहरुले अनसन तोडेका हुन् । शुरुमा नेप्से कार्यालय घेराउबाट शुरु भएको लगानीकर्ताहरुको आन्दोलन रिले अनसन हुँदै आमरण अनसनसम्म पुगेको थियो ।

किन भयो आन्दोलन ?

अनलाइन कारोबार प्रणाली भित्र्याइने चर्चा चलेयता पुँजी बजारका लगानीकर्ताहरुमा खुसीयाली नै छाएको थियो । तिहारको बिदा हुनु एक दिन अघिमात्रै अर्थमन्त्री डा. युवराज खतिवडाले पाँचतारे होटलमा भव्य समारोहकाबीच उद्घाटन गरेको अनलाइन कारोबार प्रणालीले सेयर बजारमा धेरै सुधार हुने अपेक्षा गरिएको थियो ।

तर सेयर बजार सुधार हुनुको साटो लगातार ओरालो लाग्न थाल्यो । यसबाट निरुत्साहित लगानीकर्ताहरु अनलाइन कारोबार प्रणालीमा पनि समस्या आएपछि झन् आक्रोशित भए र नियमनकारी निकायसँग गुनासो गरे ।

पुँजी बजारका क्षेत्रमा काम गर्ने ३ वटा संघहरु नेपाल सरकारको निकायमा औपचारिक दर्ता भएर काम गरिरहेको छ भने अन्य केहि समूहहरुले पनि लगानीकर्ताको हितका विषयमा आवाज उठाउदै आएको छ ।

लगानीकर्ताहरुका यी सबै संघ–संगठनहरु पूँजी बजार सुधारका विषयमा सधै सँगै थिए । एकपटक ४ वटा पुँजी बजारका संघ, संगठनको संयुक्त आयोजनामा नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउसमेत गरिएको थियो ।

त्यसपछि लगानीकर्ताहरुको एउटा समूहले सेयर बजार सुधार र विस्तारका लागि भन्दै नयाँ अभियान सुरु गरे । दबाब समूह नाम दिएर उनीहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरे । अघिल्लो आइतबारदेखि उनीहरुले नेप्से कार्यालय अगाडी रिले अनसन थालेका थिए ।

रिले अनसनबाट आफ्ना माग पुरा नहुने निश्कर्ष निकाल्दै उनीहरुले सोमबारबाट आमरण अनसन नै शुरु गर्ने निर्णय गरे । लगानीकर्ताहरुको नेतृत्व गर्दै दबाब समूहका संयोजक समेत रहेका ढकाल र अर्का लगानीकर्ता कोइराला आमरण अनसनमा बस्न राजी भए । दुई जना आमरण अनसनमा बसे भने अन्यले बाहिरबाट सहयोग गरिरहेका थिए ।

कसरी तुहियो आन्दोलन ?

शुरुमा अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा सहितका करिब दर्जन माग अघि सारेर गरिएको आन्दोलन आफ्नै सहयात्रीहरुका कारण तुहिएको बताउँछन् दबाब समूहका सदस्य नयन बास्तोला । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका पौडेल लगायतले समेत सहयोग नगरेको बास्तोलाको गुनासो छ ।

उनले भने, ‘अम्बिका पौडेल लगायतले सहयोग नगरेको महसुस भएको छ, अर्कोतर्फ सरकारी अधिकारीहरु गएर गेम खेले ।’

आन्दोलनमा सहभागी अन्य लगानीकर्ताहरुको गुनासो पनि यस्तै छ । ठूला लगानीकर्ताहरु र संघका नेताहरुले असहयोग गरेको उनीहरु बताउँछन् ।

लगानीकर्ताहरुको संघ धेरै भएको विषय पनि बेलाबेलामा चर्चामा आउँछ । सबै संघ एक हुन नसके पनि कार्यगत एकता गर्ने विषयमा सबै एकै लाइनमा थिए । नेप्से कार्यालय घेराउसम्म सँगै देखिएका लगानीकर्ताहरु रिले अनसनसम्म आइपुग्दा दुई भागमा विभाजित भए ।

‘एउटा सरकार पक्ष र हामी प्रतिपक्ष जस्तो भइयो’ आन्दोलनमा सहभागी एक लगानीकर्ताले भने, ‘हामी लगानीकर्ताको हितको विषयमा ज्यान गुमाउन तयार थियौ, तर ठूला भनिएका संघका नेताहरु अनसनस्थलसम्म आउने कष्ट गर्नु भएन ।’

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्की, पूर्व अर्थराज्यमन्त्री उदयसमसेर राणा, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले अनसन स्थलमै गएर ऐक्यवद्धता जनाएका थिए । राजपा नेपाल, राप्रपा, नेपाली कांग्रेस (वीपी) लगायतले प्रेस विज्ञप्ती निकालेरै समर्थन जनाएका थिए ।

आमरण अनसन तोडिए पनि पुँजी बजार सुधार र विस्तारका लागि सक्रियता भने कम नहुने दबाब समूहका सदस्य बास्तोलाले बताए । नेपाल पुँजी बजार संघका महासचिवसमेत रहेका बास्तोलाले भने, ‘हाम्रो माग सुनुवाई नहुने निश्कर्ष निकालेर आमरण अनसन स्थगित गरेका छौं, तर हाम्रा दबाबका कार्यक्रमहरु भने रोकिने छैनन् ।

किन गएनन् नेताहरु अनसनस्थलमा ?

आन्दोलनमा सहभागी लगानीकर्ताहरुको समूहले नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ लगायतमा आवद्ध आफ्ना नेताहरु आउने अपेक्षा गरेको थियो । तर यी संघ, संगठनका ठूला नेताहरुहरु किन अनसन स्थलसम्म पुगेनन् त ?

इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका पौडेल भन्छन्, ‘हुलहुज्जत र विधि प्रक्रिया विपरित गतिविधि हुन सक्ने कारणले म जान सकिनँ ।’

अध्यक्ष पौडेलले लगानीकर्ताहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको तर एजेण्डाहरु टेवलमा बसेर टुग्याउँ भन्दा पनि एउटा समुहले नमानेको गुनासो गरे ।

‘पहिले टेबलमा बसेर छलफल गरौं, त्यसपछि पनि माग पुरा भएन भने सोचौंला भन्दा भन्दा उहाँहरुले मान्नुभएन,’ पौडलले भने, ‘उहाँहरुप्रति मेरो सद्भाव भने छँदैछ ।’

नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलको भनाई पनि पौडेलको जस्तै छ । आन्दोलनमा समर्थन जनाएका केहि व्यक्तिहरु असभ्य भएको उनले बताइन् । यद्यपि, आफूले लगानीकर्ताको आन्दोलनलाई भने पूर्ण सहयोग गरेको उनको भनाई छ ।

‘हाम्रो संघले पनि अर्थमन्त्रीको राजीनामा बाहेक अरु सबै विषयमा समर्थन जनाएको थियो,’ उनले भनिन्, ‘म कालोपट्टी बाधेर अनसनस्थल पनि पुगेको थिएँ, तर केही साथीहरुले राधा पोखरेलको खुट्टा भाँच्नुपर्छ भन्ने जस्ता तुच्छ शब्द प्रयोग गरेको सुनियो, त्यसले खल्लो लाग्यो । आफू अनसन स्थलमा जान नपाए पनि आफ्ना पदाधिकारीहरु भने गइरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment