Comments Add Comment

पूर्वसांसद कोइरालाकै शैलीमा झापाका अर्का नेता गायब !

६ पुस, झापा । बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय, काँकरभिट्टालाई एउटा सूचना आयो– ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता दीपक भण्डारी सम्पर्कविहीन भए ।’

देशभर बलात्कार, अपहरण, हत्या जस्ता जघन्य अपराधको ग्राफ बढिरहेका बेला आएको यो सूचनाले प्रहरी अधिकारीहरु झस्किए । निर्मला पन्त हत्या प्रकरणमा पीडित परिवारको सूचनामाथि नजरअन्दाज गर्दा प्रहरीकोे साख गिरेको ताजै छ । त्यसैले जिल्ला प्रहरी कार्यालय झापाले एउटा विशेष टोली नै भण्डारीको खोजीमा खटायो ।

मेचीनगरस्थित घरबाट बिहानविना सूचना निस्किएका नेता भण्डारी बेपत्ता भएका थिए । उनी एमालेका पूर्वनगर अध्यक्षसमेत हुन् ।

‘एक्कासी नेता हराएको सूचना आएपछि हामीले तत्काल खोजी तीब्र पारेका थियौं’, टोलीका एक सदस्यले भने, ‘तर, केही पत्ता लागेन ।’ रातभर प्रहरीले अनुसन्धान गर्‍यो । कुनै उपलब्धी हात लागेन ।

भण्डारीको माबाइल, घडीलगायत सबै घरमै थियो । बिहीबार भने प्रहरीले गलितो सुराक हात पार्‍यो, काँकरभिट्टाको सीमा क्षेत्रमा राखिएको सीसी टीभी फुटेजमा भण्डारी देखिए ।

भिडियोमा उनी एक्लै लुरुलुरु हिँड्दै सीमा पारि पुगेको देखिन्छ । अनुसन्धान अधिकारीहरुले फुटेजको विश्लेषण गरे । भण्डारी कुनै हतारोमा थिएनन् । न त कोही उनको साथमा थियो । जसले घटना सोचेजस्तो गम्भीर नभएको संकेत गथ्र्यो ।

तर, मान्छे नभेटिउञ्जेलसम्म नजरअन्दाज गरिहाल्न पनि मिलेन ।

‘सीसी टीभीको विश्लेषणले जे संकेत गरे पनि हामी गम्भीर भएर अनुसन्धान गरिरहेका छौं’, अनुसन्धानमा खटिएका एक कनिष्ठ अधिकारीले अनलाइनखबरसँग भने, ‘भारतमा उनी जान सक्ने सम्भावित ठाउँमा खोजी जारी राखेका छौं ।’

यति मात्र होइन, सीमा क्षेत्रका पसले र अन्य व्यक्तिहरुसँग सोधपुछ गर्दै जाँदा दिउँसो उनलाई त्यहाँ देख्ने मानिसहरु पनि भेटिए । उनीहरुले भण्डारीसँग गफ पनि गरेको सुनाए ।

अनुसन्धानका क्रममा भण्डारीको लेनदेनसम्बन्धी समस्या पनि देखिएको छ ।

झापाली नेताका पुरानै प्रवृत्ति !


सीसी टीभी फुटेजमा एक्लै हिँडेर सीमा कटेको देखेपछि प्रहरी एक कदम ब्याक भने पक्कै भएको छ । तर, यो मान्न अधिकारीहरु तयार छैनन् ।

अहिले अनुसन्धान अधिकारीहरुले दुई वर्षअघिको एउटा प्रकरण स्मरण गर्न थालेका छन् ।

०७३ साल कात्तिक पहिलो साता ०७० को चुनावमा झापा–१ बाट निर्वाचित तत्कालीन एमाले सांसद रविन कोइराला पनि भण्डारीकै शैलीमा गायब भएका थिए ।

झापाका एक सञ्चारकर्मीले त्यसबेला फेसबुकमा एउटा स्टाटस राखेका थिए, ‘जस्ट सूचना मात्र । झापा क्षेत्र १ का नेकपा एमालेबाट निर्वाचित सांसद रविन कोइराला हिजो शुक्रबारदेखि सम्पर्क बाहिर हुनुहुन्छ । स्रोतका अनुसार उहाँ भारतको नक्सलवाडीबाट सम्पर्क बाहिर हुनुभएको हो । उहाँ आफ्नै कारण कतै जानुभएको हो या अन्य कारण खुलेको छैन । परिवार र प्रहरी अनि शुभचिन्तकले खोजी सुरु गरेका छन् ।’

साथमा उनले कोइरालासँग अन्तरवार्ता लिँदै गरेको एउटा तस्वीर पनि हालेका थिए । त्यो सूचना क्षणभरमै भाइरल भयो । प्रहरीमाथि पनि दबाव पर्‍यो ।

त्यसबेला झापामा शैलेस थापा क्षेत्री एसपी थिए । हाल उनी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा डीआईजी छन् ।

ब्याचका उत्कृष्ट अधिकृत मानिने क्षेत्री आफूले नेतृत्व गरेको जिल्लाबाट सांसद् हराएपछि आत्तिए । यतिसम्म कि तत्काल उनी आफैं इलाका प्रहरी कार्यालय, काँकरभिट्टा पुगे । गम्भीरतापूर्वक अनुसन्धान थालियो ।

कोइरालाले काठमाडौं जाने तयारीका साथ प्लेन टिकट काटेको पनि खुल्यो । तर, टिकट पोस्टपोन्ड गरेर उनी सिलगुढी गएको देखियो । त्यसबेलासम्म जिल्लामा अनेकथरि हल्ला फैलिसकेका थिए ।

कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी चनाखो थियो । प्रहरी निरीक्षकको नेतृत्वको एउटा टोली भारततिर गयो । यद्यपि, कुनै सुराक हात लागेको थिएन ।

कोइराला भने यो प्रकरणले सनसनी मच्चाएको भोलिपल्टै फ्याट्टै फेसबुकमा झुल्किए । म्यासेज गर्ने जतिलाई उनले सामान्य जवाफ दिए– ‘सिलगढीमा छु, भोलि फर्किन्छु ।’

त्यसपछि प्रहरीसँग पनि उनको सम्पर्क भयो । र, अनुसन्धानको फाइल बन्द भयो ।

अहिले भण्डारी गायब प्रकरणको मोडस अपरान्डी (एमओ) पनि कोइरालाको घटनासँग मिल्दोजुल्दो छ ।

अहिलेसम्म न त फिरौती माग्दै कुनै फोन आएको छ, न त अन्य कुनै माग नै राखिएको छ । आखिर भण्डारी कहाँ छन् त ?

प्रहरी भन्छ, ‘हामीले अहिले यो घटनालाई फरक कोणबाट अनुसन्धान गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment