Comments Add Comment

‘स्वीटजरल्याण्ड’ जस्तै सिन्धुपाल्चोक !

८ पुस, सिन्धुपाल्चोक । हाम्रा नेताहरुले नेपाललाई ‘स्वीटजरल्याण्ड’ बनाउने भाषण गरेको धेरै भयो । काठमाडौंमा चलिरहेको राजनीतिक डिस्कोर्ष सुन्दा नेपाल ‘स्वीटजरल्याण्ड’ जस्तै बन्ने आशा तत्कालै गर्न सकिँदैन । तर, अहिले नै सिन्धुपाल्चोकका भूकम्पपीडित बस्तीमा बनेका नयाँ विद्यालयमा पुग्ने हो भनेचाहिँ स्वीटजरल्याण्डकै झल्को आउन थालेको छ ।

अहिले सिन्धुपाल्चोकको मेलम्ची एवं हेलम्बु क्षेत्रमा पुग्दा नयाँ र आकर्षक विद्यालय भवनहरु देख्न पाइन्छन् । तीन वर्ष पहिलेजस्तो विद्यार्थीहरु छाप्रा पढिरहेका भेटिँदैनन् । गाउँघरमा वालवालिकाका मुहार फेरिएको महसुस गर्न सकिन्छ । उनीहरु फुरुङ्ग बनेका छन् । रमाएका छन् ।

भूकम्पबाट सिन्धुपाल्चोक जिल्लाको औपचारिक क्षति मूल्यांकन अनुसार यस जिल्लामा मात्रै ३ हजार कक्षा कोठासहित ८९ प्रतिशतभन्दा बढी शैक्षिक पूर्वाधारहरुमा नष्ट भएका थिए । अहिले ती विद्यालयहरु नयाँ स्वरुपमा उठेका छन् ।

सिन्धुपाल्चोकका विद्यालयहरुले स्वीटजरल्याण्डको झल्को दिनुको एउटा महत्वपूर्ण कारण के हो भने यहाँका विद्यालयहरुको निर्माणमा डिजाइनदेखि लिएर लगानीसम्म स्वीटजरल्याण्डकै संस्थाले काम गरेका छन् ।

स्वीटजरल्याण्डमा विद्यायललाई ‘ब्लु स्कुल’ को अवधारणा अनुसार समग्रतामा बनाइँदोरहेछ । यो मान्यता अनुसार विद्यालर्थीहरुका लागि विद्यालय भवनमात्र भएर पुग्दोरहेन छ । वालवालिका पढ्ने विद्यालय र कक्षा कोठाहरु त राम्रो हुनुपर्छ नै, साथै उनीहरुलाई स्वस्थ खानेपानीको सुविधा हुनुपर्‍यो । खेल मैदान र खेल सामाग्री हुनुपर्‍यो । लाइब्रेरी पनि अनिवार्यरुपमा हुनै पर्‍यो ।

त्यसैगरी विद्यालय छेउमा तरकारी फूलको बगैंचा पनि हुनुपर्‍यो । कितावमा मात्रै नभएर करेसाबारीमा पनि काम गर्न विद्यार्थीले सिक्नुपर्‍यो । विद्यार्थीले स्कुलमा सरसफाइ र सभ्यता पनि सिक्नुपर्‍यो र परिवार एवं समाजमा पनि त्यसको ‘अप्लाई’ गर्नुपर्‍यो ।

विद्यालयमा प्राथमिक औषधोपचारको सुविधा पनि हुनुपर्‍यो । छात्राहरु रजस्वला हुँदा प्याड लगायतका सामाग्री पनि विद्यालयमै पाइनुपर्‍यो ।

यसरी समग्रमा विद्यालयको वातावरण स्वस्छ, स्वस्थ र शान्त भएपछि बल्ल विद्यालयहरु विद्यालयजस्तै मानिँदारहेछन् स्वीटजरल्याण्डमा ।

अहिले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रका विद्यालयहरु यसैगरी समग्रतामा निर्माण गरिएका छन् ।

स्वीस संस्थाले विद्यालय भवन मात्रै बनाइदिएको छैन, पुस्तकालय, खानेपानी र अन्य विषयमा पनि सहयोग गरेको छ । भौतिक पूर्वाधारका साथै समाजिक सभ्यताका कुराहरु पनि सिकाएको छ विद्यार्थी र स्थानीयवासीलाई ।

भूकम्पबाट ढलेका विद्यालयहरु पुनस्र्थापनामा देखिएको यो नयाँ प्रयोगलाई कार्यान्वयन गर्दै जाने हो भने अब सिन्धुपाल्चोकको अनुहारमा स्वीटजरल्याण्ड देखिनु असम्भव कुरा रहेन ।

विद्यालयदेखि र सभ्यता र सरसफाइ सिकेका विद्यार्थीहरु अबको केही वर्षपछि यो देशका सभ्य नागरिक बन्नेमा कुनै शंका गरिरहनुपर्ने ठाउँ छैन ।

त्यो खण्डहर सिन्धुपाल्चोक

काठमाडौं उपत्यकाबाट उत्तरपूर्बतर्फ २५४२ वर्ग किलोमिटर क्षेत्रफल भएको जिल्ला हो सिन्धुपाल्चोक । यस जिल्लाको जनसंख्या २ लाख ८७ हजार ७ सय ९८ रहेको छ ।

०७२ बैशाख १२ गते आएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पले बढी असर पारेका नेपालका ३१ जिल्लामध्ये सिन्धुपाल्चोक बढी क्षति भएको जिल्लामा पर्छ । भूकम्प प्रभावित ३१ जिल्लामध्ये सिन्धुपाल्चोकसहित १४ वटा जिल्लाहरु अत्यन्तै प्रभावित भएका थिए ।


भूकम्पमा परेर सिन्धुपाल्चोकमा मात्रै ३ हजार ४ सय २५ जनाको मृत्यु भएको थियो भने ८५९ जना घाइते भएका थिए । भूकम्पबाट यस जिल्लामा ६३ हजार ८ सय ८५ घरहरु ध्वस्त भए । २ हजार ७ सय ५१ वटा संघसंस्था तथा कार्यालयका भवनहरु भत्किए ।

भूकम्पपछिको भयाभह अवस्थाको समयदेखि नै सिन्धुपाल्चोकमा स्वीटजरल्याण्डका दाताहरुले सहयोगको काम गर्न थाले । यही क्रममा पुनर्निर्माण प्राधिकरणसँगको सहकार्यमा हेलम्बु, मेलम्ची क्षेत्रमा नयाँ विद्यालय भवनहरु निर्माण भए । कतिपय विद्यालयहरु अझै बनिरहेका छन् । नयाँ विद्यालय भवनहरु बनेपछि वालवालिकाले भूकम्पको पीडा विस्तारै भुल्न थालेका छन् ।

स्वीस संस्था ‘हेल्भेटास स्वीस इन्टरकोअपरेशन’ का साथमा यो जिल्लामा विभिन्न किसिमका राहत तथा पुनस्र्थापनामा हातेमालो गर्न ‘कारितास स्वीट्जरल्याण्ड’ पनि यस जिल्लामा आइपुग्यो । भूकम्पपश्चात तत्काल हेल्भेटास र कारितास स्वीट्जरल्यान्ड लगायत आइसीआरसी, नेपाल रेडक्रस, केयर नेपाल, अक्सफार्म, वर्ल्ड भिजन लगायत स्थानीय गैरसरकारी संस्थाहरुले सिन्धुपाल्चोक जिल्लाका क्षतविक्षत विद्यालयलाई सहयोग गरे ।


सरकारी तथा गैरसरकारी संस्थाहरुले नेपाल सरकारसँगको समन्वयमा विद्यालयको स्थायी पुनःनिर्माण गर्ने कार्य प्रारम्भ गरे । विद्यालयमा स्वच्छता तथा सरसफाई, विपद जोखिम न्यूनीकरण, विद्यार्थी उपस्थिति दरमा बृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नका लागि टुकी संघ सुनकोशी, महिला आत्मनिर्भरता केन्द्र तथा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च लगायतका स्थानीय साझेदार संस्थाहरुसँग सहकार्य भयो ।

विभिन्न तहमा भएको छलफलपछि परियोजनाले कार्यक्रम शुरुवात गर्नका लागि आधारभूत मापदण्डहरु निर्माण गर्‍यो । शिक्षा विभाग तथा जिल्ला शिक्षा कार्यालयको समन्वयमा विभिन्न संघसंस्थाबीचको छलफलबाट पुनःनिर्माणका कामको थालनी गरियो ।

प्रारम्भमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण तथा शहरी विकास तथा भवन निर्माण विभागका स्वीकृतिमा विद्यालय भवनको डिजाइन तयार भयो । विद्यालय भवन निर्माणको शुरुवात सँगसँगै विद्यालय खानेपानी कार्यक्रम पनि शुरुवात भयो ।

खण्डहरमाथि नयाँ सभ्यता

अहिले सुविधासम्पन्न विद्यालय भवनमा पानीको सुविधा प्राप्त भएको छ । महिला पुरुष तथा अपांग मैत्री व्यवस्थित चर्पी बनेका छन् । हातखुट्टा धुनका लागि सुविधा हुने धाराहरु निर्माण भएका छन् । केही भवनहरु अझै निर्माणाधीन देख्न सकिन्छ । विभिन्न विद्यालयहरुमा तालिमका क्रममा चर्पीबाट निस्कने फोहोरको उचित व्यवस्थापनका उपायहरु शिक्षक तथा व्यवस्थापन समितिहरुलाई उपलब्ध गराइएको छ । कक्षा ८ देखि माथि पढाइ हुने विद्यालयहरुमा ९ देखि १२ बर्षका बालिकाहरुको महिनावारी शुरु हुने प्राकृतिक प्रकृया भएको कारण महिनावारीका क्रममा सुरक्षित हुनुपर्ने स्वास्थ्यका कुराहरुको जानकारीहरु विद्यालय तहमा नै भइरहेका छन् । यसका लागि चाहिने आवश्यक संरचनाहरु पनि निर्माण भइरहेका छन् ।


विभिन्न समयमा भएको सहयोगलाई हेर्ने हो भने तथा विश्वब्यापी शहश्राब्दी विकास लक्ष तथा दीगो विकासको लक्षहरु अनुसार अहिले सुरक्षित खानेपानीको उपलब्धता हुनुपर्छ भन्ने पक्षमा वकालत गरिँदै छ ।
विद्यालयमा उपलब्ध पानीका प्रदुषित मुहानहरुका बारेमा जानकारी गराई विद्यालयमा प्रशोधन गर्ने सामाग्रीहरु उपलब्ध गराइएका छन् ।

साथै स्थानीय बजारसँग सम्बन्ध बनाएर दिगो प्रयोगको सुनिश्चतता गर्ने काम पनि भएका छन् । विद्यालय वरपरको वातावरण स्वच्छ रहनुपर्छ भनेर विद्यालय वरपर सफा राख्ने क्रियाकलापबारे छलफल भएका छन् ।

विद्यार्थीलगायत स्थानीय अभिभावकहरुले यससँग सम्बन्धित जानकारी सहजरुपमा पाई घर तथा समाजमा कार्यान्वयन गर्न थालेका छन् ।

स्वच्छतासम्बन्धी आवश्यक कुराहरुलाई सबै विद्यालयमा पाठ्यक्रमभित्र पार्दै लैजाने कार्यक्रमहरु पनि गाउँपालिका तथा नगरपालिका शिक्षा स्रोतकेन्द्रसँग समन्वयमा भइ रहेको छ । विद्यालयमा तरकारी बगैंचाको स्थापना र अभ्यास विद्यालयहरुमा भइरहेका छन् ।


कुनै पनि प्रणाली या भवन दिगो प्रयोगका निम्ति निरन्तर सम्भार तथा मर्मतको आवश्यकता हुन्छ । नेपालमा हालसम्म रहेका विभिन्न सामुदायिक भवनहरु तथा खानेपानीको उचित मर्मतसम्हार नभएका कारण नै समयमै बिग्रिएर काम नदिने अवस्थामा पुगेको देखिन्छ । यसैलाई मध्यनजर गरी प्रत्येक पुननिर्माण गरिएको विद्यालयहरुमा मर्मतसम्हार योजना निर्माण गरी मर्मत सम्भारको आवश्यकताबारे स्थानीयलाई बुझाइएको छ ।

विद्यालय र विद्यालयसँग सम्बन्धित विभिन्न संरचनामा आएको समस्या तथा टुटफुट भए यसै कोषलाई उच्चतम् प्रयोग गर्न सकिने अवस्था बनाई मर्मत सम्भार कोषको स्थापना भएको छ । दुईजना व्यवस्थापन समितिका सदस्यलाई अनिवार्य मर्मत सम्भार तालिममा सहभागी गराई साना-साना समस्याहरु निराकरण गर्न सक्ने अवस्था सिर्जना गरिएको छ ।

यसै कार्यक्रमबाट प्रभावित भएर हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिकाले दैविक प्रकोप तथा मर्मत सम्भार कोषको स्थापनामा जोड दिइरहेको छ । पालिकाभित्र भइरहेको पुन:स्थापनाका क्रियाकलापहरुको सम्बन्धित पालिकाका विभिन्न तहहरुबाट अनुगमन गर्ने कामहरु निरन्तर रहेको देखिन्छ ।

यसरी निर्माण भएका संरचनाको दिगो तथा भरपुर प्रयोगका लागि सम्बन्धित विद्यालय तथा पालिकाहरुले कार्ययोजनाहरु बनाउँदै कार्यान्वयन गर्नसके सम्बन्धित विद्यालय तथा पालिकाहरु भूकम्प पुन:स्थापना सँगसँगै राम्रो नमूना बन्न सक्ने प्रशस्त सम्भावना देखिन्छ ।

विद्यालय पुनर्निर्माणका क्रममा खिचिएका थप तस्वीर

(माथिका तस्वीरहरु विद्यालय पुनर्निर्माणमा खटिएका धनकुटा निवासी इन्जिनियर हेमन्त चेम्जोङले खिचेका हुन् । -सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment