९ पुस, काठमाडौं । एक वर्षको अवधिमा २ सय ८४ अंकले सेयर बजार ओरालो लागेको छ । आर्थिक वर्ष २०७४/७५ को प्रथम चौमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सेयर बजार २ सय ८४ अंकले ओरालो लागेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार नेप्से सूचकांक वार्षिक बिन्दुगत आधारमा १९.१ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा १२०५ बिन्दुमा सीमित भएको छ । २०७४ कात्तिक मसान्तमा उक्त सूचकांक १२.५ प्रतिशतले ह्रास भई १४८९.१ बिन्दु कायम भएको थियो । २०७५ असार मसान्तमा भने नेप्से सूचकांक १२१२.४ बिन्दु कायम भएको थियो ।
यसैगरी धितोपत्र बजार पुँजीकरण वार्षिक बिन्दुगत आधारमा १५.७ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा रु. १४५६ अर्ब ९५ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । बजार पूँजीकरण २०७४ कात्तिक मसान्तमा ८.६ प्रतिशतले ह्रास भएको थियो ।
समीक्षा अवधिको बजार पुँजीकरणको कुल ग्रार्हस्थ्य उत्पादनसँगको अनुपात ४७.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६५.४ प्रतिशत रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ कात्तिक मसान्तमा १९८ रहेको छ ।
प्रतिक्रिया 4