Comments Add Comment

अन्नपूर्ण पदयात्राको अनुभूतिः पैसाको मूल्य

म जीवनको एक रसताबाट वाक्क भइसकेको थिएँ । विचार बग्न सकेको थिएन । सिर्जना बाँझिँदै गएकी थिई । सपनाले पनि निहुँ खोज्न थालेकी थिई । प्रायः मेरो मनोदशालाई क्षतविक्षत पार्नेगरी देखा पर्थी । शरीर पनि धोका दिने तयारीमा थियो । नैराश्य र शिथिलताले जीवन घिसारिन थालेपछि मनलाई आवश्यकभन्दा अनावश्यक सोचाइले आवासगृह बनाएका थिए ।

‘यो रमाइलो संसारमा स्वस्थ रहेर दीर्घ जीवन बाँचौंला भनेको, बेलैमा गइन्छ कि क्या हो !’ मनमन डर लाग्न थालेको थियो । यो उकुसमुकुसबाट उन्मुक्तिको उपाय खोज्दाखोज्दै एकदिन चिन्तनको कुनै चरबाट आशाको सानो प्रकाश छिर्‍यो र एउटा सुझ उत्पन्न भयो- ‘जीवन निरस हुन लाग्यो भने आफू बाँचेको परिवेश बदल्नू । नयाँ ठाउँमा जानु, नयाँ मान्छे भेट्नु, नयाँ दृश्य देख्नु, नयाँ कुरा सुन्नु र नवानुभूति गर्नू ।’

मैले कुनै पहाडी क्षेत्रतिर केही दिन पैदलयात्रा गर्ने विचार गरेँ- प्रकृति र मानव जीवन नियालुँ, आनन्द लिऊँ, ज्ञान पनि बटुलूँ । त्यसैबेला दिवाकर बरालले हिमाली क्षेत्रमा पैदल यात्रा गर्ने प्रस्ताव गरे ।

नेपालका हिमाल आरोहण गर्न संसारभरका मान्छे आउँछन् । मैले भने आफ्नै देशको हिमालमा पाइला राखेको छैन । जिन्दगी पेट पाल्नैमा ठिक्क भयो, सधैँ व्यस्त । फुर्सद मिल्ला र हिडौँला भनेको मिल्दै मिलेन । बन्धनका बन्धन । ‘जेसुकै होस्’ भनेर बाहिर ननिस्के जीवन यहीँ कुहुने भयो ।

सम्झेँ-म मरेको भए मेरो के बित्थ्यो ? बाँचुञ्जेल जे पनि बित्छ, मरेपछि केही पनि बित्दैन । मनमा वर्षौदेखि सञ्चित रहर पूरा गर्न मैले आफू मरेको कल्पना गरेँ अनि सबै कामलाई चटक्क बिर्सेर अन्नपूर्ण परिक्रमा गर्न हिँडेँ । यात्राका साथी थिए- दिवाकर, दयासागर बराल र हेमन्त जीसी ।

हिमाली दृष्य मेरा लागि नयाँ कुरा थिएन । मेरो जन्म नै झलमल्ल हिमाल देखिने गाउँ काफलडाँडामा भएको हो । उत्तरतिर हेर्दा उत्तर-दक्षिण लम्बिएर लम्पसार सुतेकोे फाँटमा कुशल कलाकारले कोरेको चित्रझैँ नागबेली आँधीखोला देखिन्थ्यो । फाँटमाथि हरिया पहाडको उत्तर शिरमा पूर्व-पश्चिम फैलिएको हिमश्रृङ्खला ‘ए हिमाल’ ! भनेर बोलाउँदा ‘हजूर’ भन्ला झैँगरी खडा थियो ।

मैले चारै वर्षमा चिनेको थिएँ-त्यो माछापुछ्रे, त्यो धौलागिरी, त्यो अन्नपूर्ण भनेर । अन्नको रासझैँ चुलिएको हुन्थ्यो, अन्नपूर्ण । कुनै वर्ष त्यो राम्ररी चुलिएको देखिएन भने हजूरआमा ‘यो वर्ष अनिकाल पर्ने भयो’ भनेर चिन्ता गर्थिन् ।

जतिबेला दिनका दिन ती डाँडा र हिमश्रृङ्खला हेर्न पाइन्थ्यो त्यति बेला मलाई त्यसको कुनै महत्व थिएन । यति बेला हेरिरहन पाइदैन र निकै महत्वबोध भएको छ ।

अन्नपूर्ण पदयात्रामा डाँडैडाँडा हिँड्न पाइएला भन्ने लागेको थियो, तर यो त प्रायः खोँचैखोँचको यात्रा रहेछ, भिन्नै रसको, भिन्नै सौन्दर्यको । बाटो तय भएको थियो- काठमाडौँ-वेशीसहर-बाहुनडाँडा-चामे-होम्दे-मनाङ-खाङसार-तिलिचो बेस क्याम्प-याकखर्क-थोराङपास बेस क्याम्प-मुक्तिनाथ-बेनी-पोखरा-काठमाडौँ ।

चामे पुगुञ्जेल खुब फुर्तिलो थियो तन पनि, मन पनि । चामेमा नुहाउनु नै मेरो महाभूल भै दियो । नुहाउन तातो पानी छ भनेर साँझ ज्यान भिजाएर साबुन लगाइहालेँ, तातो पानी आएन । ठण्डा पानीले साबुन पखाल्दा चिसिएको ज्यान तात्दै तातेन । त्यहीँबाट झस्केको मन खुल्दै खुलेन ।

मनाङमा जौको ढिँडो खान पाउँदा साथीहरू गद्गद् थिए, बडा स्वाद मानी मानी थपी थपी खाए । आफूलाई भने त्यसमा कुनै स्वाद थिएन । ज्यान स्वस्थ भए पो स्वाद आउँथ्यो ! मन कता हो कता बरालिईरहेको थियो । राति सुत्दा दुस्वप्न र दिउँसो हिँड्दा बस्दा दुशङ्काहरूले मनलाई निरन्तर घायल बनाइरहेका थिए । म साथीहरूसित हिँडिरहेको थिइन, घिसारिइरहेको थिएँ । साथीहरू अर्को पटक सगरमाथा चढ्ने हो कि जस्तो कुरा गर्थे । आफूलाई यही यात्रा पार लगाउन मुस्किल परिसक्यो ।

खाङ्सारबाट तिलिचो बेसक्याम्पतिर जाँदाको बाटोबाट खसियो भने लास उठाएर लैजाने पनि कोही हुँदैन भन्ने मनमा लागिरहृयो । एकदम ठाडो भीर, पाइला अड्याउनै मुस्किल साँघुरो गेग्र्र्‍याने बाटो ! तल कहाँ हो कहाँ ! म त्यहाँबाट खसेको भए साथीहरू त्यत्तिकै छोडेर रुँदै फर्कन थिए । ती खसेका भए पनि मैले त्यो भन्दा बढी केही गर्न सक्दिनथेँ । पछि थाहा पाएँ- साथीहरुले पनि त्यस्तै सोचेका रहेछन् ।

अपरान्ह तीन बजेतिर तिलिचो बेसक्याम्पमा पुगियो । त्यही दिन तिलिचो पुगेर फर्कन सम्भव थिएन । घाम पनि नलागेको हुँदा चिसो उधुम थियो । क्याम्पमा रहेको एउटा मात्र होटलमा झोला बिसाउँने ठाउँ पनि खाली थिएन । त्यहाबाट विदेशीहरू नहिँडेका भए हामीले वासै नपाउँने थियौं ।

बेसक्याम्पमा राति ठूलो हिमपात भयो । गोरेटो भन्न नसुहाउने डोबहरुमा हिउँ चुलिएपछि बाटोको नामोनिशान रहेन । राम्ररी घाम लाग्यो भने हिउँ पग्लन्छ र तिलिचो जान सकिन्छ भनेर भोलिपल्ट दिनभर बेसक्याम्पमा पट्यार लाग्दो प्रतीक्षा गरेर बसियो । अर्को बिहान उठ्दा त हिजो दिउँसो सम्मुखमा उभिएको गेग्र्र्‍याने पहाड हिमपर्वतमा बदलिएको रहेछ, के को तिलिचो जानु !

तिलिचो यात्रा रद्द गरेर फर्केपछि याकखर्कको होटलमा बास बसियो । त्यहाँ पनि साँझदेखि रातैभरि हिउँ परिराख्यो । बिहान आँगन, छानो जताततै हिवैँहिउँ भरिएको थियो । हामी खाना खाएर हिँड्ने विचारमा थियौँ, होटलका मालिक लामा दाइले ‘छिटो हिँडिहाल’ भने । हिउँ पग्लन थालेपछि बाटो बढी चिप्लो हुने, पहिरो खस्ने हुँदो रहेछ । त्यसकारण, बाटो काटिहाल्न र तीन-चार घण्टामा थोराङ फेदी पुगेर खाना खाने सुझाव उनले दिए । विशुद्व व्यापारी ठानेको त यिनी यात्रीको हित चिताउने मानवीय विवेक भएका सेवक पो रहेछन् !

थोराङको उपल्लो बेसक्याम्पतिरको हिडाइ अहिलेसम्मको पदयात्रामा सबभन्दा कठिन भयो मलाई । पुग्ने बेलाको ठाडो उकालोमा दुई पाइला सारेपछि घुँडा फतक्कै गल्ने र थचक्क बसौँझैँ भइहाल्ने । शरीरमा अक्सिजन कमी भएपछि घुँडा गल्दो रहेछ क्यारे । तर, हिउँमाथि कहाँ बस्ने ? तिर्खाले घाँटी सुकेको छ, साथमा पानी छैन । अनि हिउँ कोट्यायो खायो, जबकि शरीरले ताप मागिरहेको छ ।

तीनैजना साथी अगाडि गइसके । मान्छे खेद्नु अगाडि लागेर भन्छन् नि त !

साँझतिर बेसक्याम्पमा पुगियो । रातभरिमा पनि ज्यान तातेन ।

बिहान थोराङपासतिर हिडियो । के को हिँड्नु नि ! उकालो त चार पाइला पनि चाल्न सकिएन । आठ दिन हिँडिसकेको बाटोतिर फर्कन पनि सकिँदैन, अगाडि बढ्न पनि सकिँदैन । लेक लागेको बेला ओरालो झर्नुपर्छ भन्छन्, आफू भने अझै उचाइतिर लाग्नु छ । साथीहरूले मेरालागि घोडाको बन्दोबस्त गरिदिए । हिमपातको बेला घोडा पनि चिप्लिन्छ रे ! लडे लडियोस्, अरू उपाय नै छैन ।

मुस्ताङतिर र्झन थोराङपा त चढ्नै पर्‍यो । उकालोमा घोडामाथि मुस्किलले धानिइरहेको छु, ठण्डीले ठक्ठकी काम्दै । घोँडा डोर्‍याउनेले ‘राम्ररी समाऊ, लडिएला’ भनिरहेको छ । ठण्डीले हातका सबै औँला काला भएका छन्, राम्ररी समाउन सकिरहेको छैन । हात के पुरा शरीर हिउँ पल्टेर अररो भएको छ । बीचतिर पुगेपछि हावाले टाउको टोप उडाएर भिरैभिर लग्यो, को जाओस् समाउन !

थोराङ्पास पुगेपछि मलाई घोडाबाट ओर्लन भनियो । म आफै काठी समातेर ओर्लन सक्ने अवस्थामा थिइन । घोडा डोर्‍याउनेले मेरो अवस्था बुझेनन् वा बुझ पचाए । सहारा दिएनन् । झर्ने क्रममा लडेर हिउँमा बजारिएँ । मुस्किलले उठेर भाडा बुझाएँ, घोडावाला फर्किए ।

त्यहाँ न मोबाइल चल्ने न कोही परिचित भेटिने । साथमा खाने कुरा पनि थिएन । म असहजताको पराकाष्ठामा पुगेँ । मृत्यु अघिल्तिरै आयो । मन कहालियो । नजिकै एउटा कटेरो देखेँ । भित्र पसेर तातो पानीको याचना गरेँ । उनले प्रेमादरपूर्वक चिया बनाइदिए । दुई गिलास चिया खाएपछि मेरो प्राण जाग्यो ।

हिमालको चिसो थेग्ने खालको कपडा किनिएन छ । पञ्जा, टोपी, ज्याकेट, ट्राउजर, जुत्ता, मोजा सबै कमजोर परेछन् । पानी तातो रहने अलि ठूलो थर्मस हुनु पथ्र्यो । एउटा के के न केको सानो भाँडो लिएर हिडिएछ । हाम्रा वस्त्रहरू हिमपात नहुँने मौसमका लागि थिए, भै दियो बेमौसमी हिमपात । ‘श्यालको सिकारमा सिंहको सर्जाम’ भन्ने त सुनेकै हो, ध्यान दिइएन छ । धोखा पाएपछि उखानको अर्थ खुल्यो ।

त्यस्तो ठाउँमा पुगेको मैले सम्झनाका लागि प्रशस्त फोटो खिचेको हुनुपथ्र्यो । मष्तिष्कमा पूर्ण रुपमा नैराश्यको घोडा दौडेपछि सौन्दर्यबोध नहुँदो रहेछ । मनमा अनुराग रहेन भने फोटो किन चाहियो ? मैले आफ्नो उत्साहमा कमै फोटो खिचेँ । प्रस्तुत फोटाहरू हेमन्तजीले खिचेका हुन् । कहिल्यै नचढेको उचाइमा चढेर कहिल्यै नदेखेको फराकिलो भूगोल देख्ने रहरले यात्रारत मान्छे त्यो उचाइमा त पुग्यो, तर त्यसको रसास्वादन गर्नै पाएन !

थोराङपास ओर्लिसकेपछि कसैले मलाई ‘यो एक करोड रुपैयाँ लिन्छौ कि एक कप चिया ?’ भनेर सोधेको भए प्रश्न भुइँमा खसिनसक्दै जवाफ दिनेथिएँ- ‘चिया ।’ करोड होइन, अर्ब, खर्ब दिने भएपनि त्यही एक कप चिया रोज्ने थिएँ । किनभने, एक कप चियाले तत्क्षण दिने ताप र तागत कुनै पनि परिमाणको पैसाले दिन सक्ने थिएन ।

चियाका गिलाँस समातेपछिका केही क्षणमै काला भएका मेरा हातका औँलाहरू राता भएर आए । आँतमा उर्जा पुगेपछि मन पनि बलियो भएर होला बाँच्ने आस पनि जाग्यो ।

निर्जनमा पैसाको मूल्य छैन । किन्ने वस्तु पाइएन भने सहरमै पनि पैसाको मूल्य छैन । मूल्य त उपभोग्य वस्तुमा छ । पैसा आफैंमा बेकामको चिज हो । न खान मिल्छ न लाउन । न ओड्न मिल्छ न ओछ्याउन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment