Comments Add Comment

नेताहरुलाई प्रचण्डको जवाफ : केपी ओलीसँग असमझदारी बढाउन चाहन्नँ

११ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री केपी शर्मा ओलीसँग असमझदारी बढाउने पक्षमा नरहेको बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले द्विअध्यक्षत्मक प्रणाली नौलो भएको र यसलाई मिलाएर लैजानुपर्ने बताए । अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई सघाउनु आफ्नो जिम्मेवारी भएको भन्दै उनले भने, ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ तर, म प्रधानमन्त्रीसँग असमझदारी बनाएर जान चाहन्नँ ।’

उनले लामो समय बैठक बस्न नसकेकोमा नैतिक जिम्मेवारी लिने र आगामी दिनमा सच्याउने बताएका छन् ।

पार्टी एकता गर्दा धम्की आयो

अध्यक्ष प्रचण्डले पार्टी एकता नगर्न आफूलाई पदको प्रलोभनदेखि धम्कीसम्म आएको सुनाएका थिए । सुरुमा पदको प्रलोभन देखाएको र स्वीकार नगरेपछि शान्ति प्रक्रियाका बाँकी कामलाई देखाएर धम्की आएको उनले बताए । तर, आफू त्यसबाट माथि उठेर एकता गर्न तयार भएको भन्दै प्रचण्डले पार्टीमा अहिले आन्तरिक एकता आवश्यक भएको बताएका छन् ।

कार्यदल बनाउने प्रस्ताव

एक नेताका अनुसार प्रचण्डले कार्यदल बनाएर पुस मसान्तसम्म पार्टी एकताका बाँकी काम सक्ने प्रस्ताव राखेका छन् । माघ र फागुन भने जागरण अभियान चलाउने उनको प्रस्ताव थियो ।

अर्का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिने कार्यक्रम छ । स्थायी कमिटी बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment