Comments Add Comment

भावनात्मक रुपमा पूर्वएमालेमा पस्ने प्रचण्डको प्रयास

११ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा बुधबार दुईघण्टा लामो जवाफ सुनेपछि उत्साहित देखिएका पूर्वएमालेहरुको टिप्पणी छ- प्रचण्डले आफ्नो नेतृत्व क्षमता देखाए ।

नेकपाको स्थायी कमिटी बैठकमा पूर्वएमालेका माधव नेपाल र केपी शर्मा ओली गुट टक्कराएका थिए । माधव नेपाल गुटका नेताहरुले सरकार र प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए भने अरुले ओलीको बचाउ ।

पूर्वमाओवादीहरु बीचबीचमा बसेर बोलेकाले प्रचण्डले के भन्लान् भन्ने पूर्वएमालेका दुबै गुटका नेताहरुको चासो थियो ।

पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको बैठकमा प्रचण्डले दुईघण्टा लामो जवाफ दिए । उनले पुराना नेताहरुलाई सम्झिए, सम्मान भाव प्रकट गरे अनि नयाँ पुस्ताका नेताहरु पनि सशक्त रहेको भन्दै प्रशंसा गरे ।

बैठकमा के-के भने प्रचण्डले ?

अध्यक्ष प्रचण्डले स्थायी कमिटीमा भएको छलफल उपलब्धीमूलक भएको बताए । पूर्वएमालेहरु आ-आफ्नो गुटको मानसिकता र रेडिमेट धारणाका साथ बोलेको तथा पूर्वमाओवादीहरु रक्षात्मक र बोल्न हिच्किचाएको जस्तो देखिए पनि पार्टी एकता, संगठन सुदृढीकरणका लागि ऐतिहासिक रुपमा प्रस्तुत भएको दाबी गरे ।

प्रचण्डले बैठकमा आएका आलोचना र सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्ने र यसलाई नै एकताको प्रतिवेदन बनाउने बाचासमेत गरे ।

आफूहरुले एक महिनाभित्र सांगठनिक एकता टुंग्याउन प्रस्ताव गरे पनि नेताहरुले यही बैठकबाट हुनुपर्ने माग राखेको भन्दै प्रचण्डले त्यसमा सहमति जनाएका छन् ।

दुबै कामका लागि गृहकार्य गर्न कार्यदल बनाउने र त्यसका सुझावका आधारमा यही स्थायी कमिटीले निर्णय लिने उनको प्रस्ताव छ ।

सरकारबारे धारणा राख्ने क्रममा प्रचण्डले जनयुद्धकालमा आफूहरुबीच भएको बहस सुनाएका थिए । त्यसबेला पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी चलाउने भन्ने बहस हुने गरेको र अन्ततः सधैं  एउटै निश्कर्षमा पुग्ने गरेको सुनाउँदै उनले भने, ‘पार्टीले बन्दुक चलाउने हो, अहिले बन्दुक भनेको सरकार हो ।’

‘त्यसैले पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी चलाउने होइन’ प्रचण्डले भने ।

सरकारले महत्वपूर्ण नीति र निर्णयहरु लिँदा पार्टीमा छलफल गर्नुपर्ने उनले बताए । साथै सरकारका राम्रा कामको प्रचार गर्ने र कमजोरीहरुलाई सच्याउँदै सामुहिक रुपमा अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए ।

प्रचण्डले जनताको जनवादलाई लिएर भएको बहसलाई पनि सम्बोधन गर्ने प्रयास गरेका छन् । पार्टी एकता नेताहरुको चाहनाले मात्र नभइ नयाँ चरणको वस्तुगत आधारमा भएको भन्दै उनले भने, ‘पछाडि फर्किने पो हो कि भन्ने जुन आशंका पैदा भएको छ । होइन, हामी अगाडि नै बढ्ने हो, बढ्नुपर्छ ।’

विचारमा नै मतभेद भए पार्टीमा अन्तरसंघर्ष तीव्र हुने भन्दै उनले सबै एक ठाउँमा आउनुपर्ने बताए । ‘अध्यक्षले हाम्रो लक्ष्य भनेको समाजवाद हो र हाम्रा सबै कार्यक्रम समाजवाद उन्मुख हुन्छन् भन्नुभएको छ’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने ।

आफूले सधैं नेतृत्वदायी भूमिका खेल्दै आए पनि एकतापछि त्यो अवस्था नरहेको प्रचण्डले स्वीकार गरेका छन् । राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरुले उठाएको असन्तुष्टितर्फ संकेत गर्दै उनले सरकार चलाउने अध्यक्ष नै प्रमुख हो, अर्को अध्यक्ष सहायोगी जस्तो हुँदोरहेछ भनेका छन् ।

‘उहाँले आफ्नो बाध्यता मात्र सुनाउन भएन, असन्तुष्टि पनि राख्नुभएको हो’ एक नेताले भने ।

पूर्वएमालेमा तरंग

तत्कालीन एमाले र माओवादीको एकतापछि ४५ सदस्यीय स्थायी कमिटीको बैठक पहिलोपटक बसेको हो । त्यहाँको बहस नेताहरुकै लागि रुचिपूर्ण थियो ।

पूर्वएमालेहरु आ-आफ्नो ध्रुवमा थिए । तर, प्रचण्डले केपी ओली इतरका समूहका नेताहरु कतिसम्म खुलेर आफ्नो कुरा राख्न सक्छन् भन्ने राम्ररी बुझ्ने मौका पाए । प्रचण्डतिर नजर लगाइरहेका पूर्वएमालेहरुले पनि बुधबार उनको प्रस्तुति हेर्न पाए ।

खासगरी ओली समूहको पेलाइमा रहेका माधव नेपाल गुटका धेरै नेताहरु प्रचण्डले के गर्छन् भनेर हेरिरहेका छन् । स्वयं माधव नेपालले दह्रो खुट्टा नटेकिरहेका बेला उनीहरु प्रचण्ड आफ्नो नभए पनि गुटको नेता नभइदिनुस् भन्ने चाहन्छन् ।

एमालेमा ओली इतर समूहमा रहेका एक नेता भन्छन्, ‘प्रचण्डले फराकिलो दृष्टिकोण र म यो पार्टीको नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास प्रस्तुत गर्नुभएको छ ।’

यद्यपि यो भावनात्मक ढंगले पूर्वएमालेहरुमा पस्ने प्रचण्डको प्रयास मात्र भएको उनीहरुको बुझाइ छ ।

पूर्वमाओवादीका एक नेताले स्थायी कमिटीमा प्रचण्डको प्रस्तुती निकै राम्रो भएको बताए । उनले भने, ‘उहाँले पूर्वएमालेहरुमा राम्रो इम्प्रेसन पार्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment