Comments Add Comment

‘प्रचण्डलाई मुद्दा नलाग्ने, थारुको बच्चालाई जेल हाल्ने ?’

११ पुस, काठमाडौं । राजपा नेता राजेन्द्र महतोले बुधबार संसदको रोस्टमबाट नेकपा अध्यक्ष प्रचण्डतिर हेर्दै प्रश्न तेर्स्याए- ‘प्रचण्डजी, तपाईले त १० वर्ष आन्दोलन गर्नुभो । जनयुद्ध गर्नु भो । हजारौं मान्छे शाहदत भए । सुरक्षा निकाय मारिए । कसलाई मुद्दा लाग्यो ? कोमाथि मुद्दा चलिरहेको छ, को जेलमा छ ?’

सांसद महतोले थपे, ‘अनि रेशम चौधरी जनताबाट निर्वाचितचाहिँ जेलमा बस्नुपर्ने ? यो के हो ? थारु हुँदैमा जेलमा कोच्ने निर्वाचित सांसदलाई ? मधेसी हुँदैमा पेल्दिने ? के यही हो लोकतन्त्र ? यसैका लागि लडेका हौं हामी ?’

विभिन्न कालखण्डमा अधिकारका लागि आफूहरुले पनि मिलेर संघर्ष गरेको महतोले प्रचण्डलाई सम्झाउने प्रयास गरे । उनले भने- ‘विविध कालखण्डमा विविध आन्दोलन गरेको हो हामीले । एक्लै गरेको हो तपाईले ? हामी सबै मिलेर गरेको हो, लोकतन्त्रका लागि, अधिकारका लागि । अनि एक मुलुकमा दुईवटा व्यवहार ? तपाईले आन्दोलन गर्दा देशको प्रधानमन्त्री हुने । अनि त्यो थारुको बच्चाले आन्दोलन गर्दा जेलमा हुने ?’

कैलालीबाट निर्वाचित राजपा सांसद रेशम चौधरीलाई सपथ ग्रहणसमेत गर्न नदिई जेलमा हालेको विषयमा महतोले आपत्ति जनाएका हुन् । निर्वाचित सांसद चौधरीलाई जेलमा कोचेर सदनमा उपस्थित नगराउनु जनताको, जनादेशको अपमान भएको उनले बताए । महतोले भने, ‘यो लोकतन्त्रको अपमान हो । यो अधिवेशनमा जनताबाट निर्वाचित भएका सांसद बस्नुपर्छ कि पर्दैन ? कैलालीबाट निर्वाचित भएका थारुका छोरा रेशम चौधरी संसदमा रहनुपर्छ कि पर्दैन ? किन संसदमा आएनन् ? थारुले आन्दोलन गर्‍यो अधिकारका लागि ? अरे आन्दोलन यहाँ कसले गरेन ?’

कैलाली घटनामा सुरक्षाकर्मीको हत्या भएपछि सोही आरोपमा रेशम चौधरी र अन्य केही थारु नेताहरु अहिलेसम्म जेलमै छन् । राजपा नेता महतोले बुधबार संसदमा बोल्दा यो घटनालाई पटक-पटक माओवादी जनयुद्धसित तुलना गर्न खोजे । प्रचण्डले गरेको आन्दोलनमा सुरक्षाकर्मी मारिँदा कसैले पनि जेलमा बस्नु नपरेको तर रेशम चौधरीलाई जेल हालेर राज्यले भेदभावपूर्ण व्यवहार गरेको महतोको तर्क थियो ।

जेलमा रहेका रेशम चौधरीको पक्षमा लविङ गरिसकेपछि राजपा नेता महतोले संविधान संशोधनको मुद्दा उठाए । मंगलबारमात्रै प्रधानमन्त्री ओलीसँग राजपा नेताहरुको भेट भएको संसदलाई जानकारी दिँदै महतोले अबको सात दिनमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए

‘प्रचण्डजी गम्भीरतापूर्वक सोचौं, दुईवटा व्यवहार हुनै सक्दैन क्या ! तपाईको जनयुद्धमा १०/२० हजार मान्छे मरे । सुरक्षा निकाय मरे, अनि तपाई प्रधानमन्त्री हुनुभो, मन्त्रीहरु छन् । कसैलाई मुद्दा नलाग्ने तर, थारु आन्दोलनमा अपि्रय घटना भयो, केही सुरक्षाकर्मीहरु मारिए, अनि लक्ष्मण थारुलाई जेलमा राखेको छ । सांसद रेशम चौधरीलाई यहाँ चारखालको जेलमा राखेको छ । यो हुन सक्दैन ।’

महतोले अगाडि भने, ‘यो मुलकमा भेदभावले चरम सीमा नाघ्न लागिसक्यो । प्रचण्डजीले बोलिदिनुभयो, सब ठीकठाक छ । कहाँ छ सब ठीकठाक ? सब ठीकठाक छैन । सब ठीकठाक भइसक्यो ? शान्ति भइसक्यो मुलुकमा ? यसरी कसरी शान्ति हुन्छ हौ ? यसरी हुन सक्दैन नि । कुन दिन बिस्फोट भैजान्छ, ठेगान छैन ।’

महतोले संसदमा बोल्दै गर्दा प्रधानमन्त्री केपी ओली उपस्थित थिएनन् । उनी विपक्षी दलका नेता शेरबहादुर देउवाको भाषण सुनिसकेपछि संसदबाट बाहिरिएका थिए । केपी ओली त्यहाँ नभएपछि महतो प्रचण्डतिर खनिए । उनले भने, प्रधानमन्त्री त उठेर गइदिनु भो, मैले भनेको थिएँ, बस्नोस् ।’

महतोले सुरुमा निकैबेर सांसद रेशम चौधरीकै प्रसंग दोहोर्‍याए । उनले भने- ‘यो सरकारलाई हामीले पटक-पटक भन्यौं प्रमाणपत्र दे । निर्वाचन आयोगले घोषणा गरिसक्यो, जनताले चुनाव जिताइसके । तपाई प्रमाणपत्र दिनुहुन्न, उसलाई सपथग्रहण गराउनुहुन्न । देशका गृहमन्त्री जान्छन् र अनसनमा जुस खुवाएर म गर्छु भन्छन् । खोई त ? १० महिना भइसक्यो ।’

‘धम्की दिन खोजेको हैन’ भन्दै महतोले ओली सरकारलाई चेतावनीको भाषामा भने- ‘म त धेरै भन्न चाहन्न । लहरो तान्दा पहरो जान्छ है ! अत्याचारको सीमा, पराकाष्टाको पनि सीमा हुन्छ । मैले यहाँ कुनै चुनौती र धम्की दिन खोजेको हैन, तर, जुन जुन कालखण्डमा जनतामाथि अन्याय र अत्याचार भएको छ, त्यहाँ बिस्फोट भएको छ ।

‘प्रधानमन्त्रीज्यू, सात दिनमा बताउनोस्’

जेलमा रहेका रेशम चौधरीको पक्षमा लविङ गरिसकेपछि राजपा नेता महतोले संविधान संशोधनको मुद्दा उठाए । मंगलबारमात्रै प्रधानमन्त्री ओलीसँग राजपा नेताहरुको भेट भएको संसदलाई जानकारी दिँदै महतोले अबको सात दिनमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

राजपा नेता महतोले भने, ‘संविधान संशोधन कहाँ हरायो ? प्रधानमन्त्रीजीलाई हिजो भेट्यौं । फेरि सात दिनको म्याद ! सात दिनमा बताउने रे । सात दिनमा राम्रोसित बताउनोस् । प्रधानमन्त्रीजी, हामीले उठाएका सवालहरु कसरी समाधान गर्ने हो ? राम्रोसँग बताउनोस् ।’

ओली सरकारलाई राजपाले समर्थन गरेको भएता पनि सरकारले राजपाको मागप्रति बेवास्ता गरेको महतोको गुनासो थियो । उनले भने- ‘एक हातले त ताली बज्दैन नि ।’
आफ्नै सहयात्रीसमेत सरकारमा गएको भन्दै महतोले संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवलाई व्यंग्य गर्न भ्याए । तर, आफ्नो सहयात्रीलाई खोज्दाखेरि नभेटेको महतोले बताए ।

‘कम्युनिस्ट समृद्धि अभियान भन्नोस्’

राजपा नेता महतोले ओली सरकार संघीयता असफल पार्न लागिपरेको आरोपसमेत लगाए । तराई मधेस समृद्धि अभियानका नाममा नेकपाले आफ्ना कार्यकर्ता पोस्ने काम गरिरहेको उनको आरोप छ । महतोले संसदमा भने- ‘तराई मधेस समृद्धि अभियानको नाम बदल्नोस् । तराई मधेस कम्युनिस्ट समृद्धि अभियान बनाउनोस् । कम्युनिस्ट समृद्धि आन्दोलन भन्दिनोस् । उल्टोपुल्टो काम नगर्नोस् ।’

सरकारले मदन भण्डारी राजमार्गका नाममा चुरे विनास गर्न लागेको महतोको आरोप छ । उनले भने- ‘चुरे खत्तम गरेर मधेसलाई मरुभूमि बनाउने ? चुरेलाई नास हुने काम नगर्नोस् ।’

मधेसमा शीतलहर सुरु हुन लागेको भन्दै गरीवगुरुवाहरुको जीवनरक्षाका लागि लाग्न सांसद महतोले सरकारसित आग्रह गरे । उनले भने- ‘मधेसमा शीतलहर सुरु भइसकेको छ । गरीव गुरुवाहरुलाई सरकारले अलिकति व्यवस्था गर्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment