Comments Add Comment

सिटौलाले दिए तेस्रो धार कायमै रहेको सन्देश

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले घरमूलीले घर चलाउन नसके तालाचावी खोस्ने दिन आउने बताएका छन् । पार्टीको अवस्था पनि यो भन्दा फरक नभएको उनले बताए ।

पछिल्लो समय सिटौला समूह वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा मिलेको विश्लेषण भइरहेको बेला सिटौला केन्द्रीय सदस्यहरु गगन थापा र उमाकान्त चौधरीसहित पत्रकारहरुसामू उपस्थित भए र तेस्रो धार कायमै रहेको सन्देश दिएका छन् । १३ औं महाधिवेशनमा सिटौला सभापति लड्दा थापा महामन्त्री र चौधरी कोषाध्यक्ष उठेका थिए । तर तीनै नेता पराजित भएका छन् ।

महाधिवेशनपछि पौडेल र सिटौलाको सम्बन्ध लामो समयसम्म तिक्ततापूर्ण जस्तै रह्यो तर, चुनावमा कांग्रेसले हार व्यहोरेपछि दुबै नेता देउवाविरोधी मोर्चामा आए ।

महासमितिमा विधान संशोधनबारे पनि दुई नेता एउटै मोर्चामा देखिएका थिए । तर, नौं दिनसम्म चलेको महासमिति बैठक समापनमा वरिष्ठ नेता पौडेलले सबै विवाद अन्त्य भएको र देउवासँग इमोशनल अट्याचमेन्ट भएको घोषणा गरे ।

तर, सिटौलाले पार्टी रुपान्तरणको पक्षमा रहेको तेस्रो धार कायमै रहेको सन्देश दिएका छन् । तपाईं त पौडेल समूहमा मिसिनुभयो भनिएको थियो नि भन्ने प्रश्नमा सिटौलाले भने, ‘यहाँ भएको उपस्थितिले आफैं बुझ्नुस् न के भएको छ ।’

देउवा र पौडेल दुबैलाई आफूले नेता मान्न नसकेकाले सभापतिमा उठेको र त्यो बुझाइ अहिले कायमै रहेको उनले बताए । यद्यपि पार्टीको १४ औं महाधिवेशनमा के गर्ने भन्ने महाधिवेशनको मिति घोषणा भएपछि मात्र भन्ने उनले बताए ।

देउवा र पौडेलको ‘लभ’बारे टिप्पणी गर्दै सिटौलाले यो कुनै पनि बेला लस्ट हुन सक्ने बताए ।

केन्द्रस्य सदस्य गगन थापाले नेताहरुले एक भयौं भन्नु राम्रो भएको तर, सहमतिका नाममा विधान उल्लंघन स्वीकार्य नहुने बताए । ‘विधानको सर्बोपरीबाट सहमति खोज्नुपर्छ’ उनले भने, ‘कुरा मिलेन, सबैलाई विधान याद आउँछ, कुरा मिल्यो विधान चाहिँदैन । पार्टीमा पद्धती बसाल्न विधान सर्वोपरी हुजुपर्छ ।’

धर्मबारे वादविवाद नगरौं

नेता सिटौलाले कांग्रेस धर्मबारे धेरै बहस र वादविवाद गर्ने पक्षमा नरहेको बताएका छन् । ‘कांग्रेसले ओनरसिप (अपनत्व) लिएन भने यो संविधान नै रहँदैन’ उनले भने, ‘कुनै पनि नाममा अतिवादले मुलुक द्वन्द्वमा जानसक्छ भन्नेमा कांग्रेस सचेत छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाह, सीके राउत, विप्लव समूहको नाम लिँदै उनले चारैतिर अतिवादी सोचहरु सक्रिय भएकाले कांग्रेसले सचेत निर्णय गरेको बताए ।

नेता थापाले सरकार नै धर्म परिर्वतनको अभियानमा संलग्न भएको भन्दै त्यसविरुद्ध उभिने बताए । ‘धर्मको राजनीति गर्ने विरुद्ध पनि उभिन्छ’ उनले भने ।

कांग्रेस संविधानप्रति प्रतिवद्ध मात्र होइन, संविधान कार्यान्वयनको नेतृत्व गर्ने थापाको दाबी छ ।

प्रचण्डलाई जवाफ : लोकतान्त्रिक सीमामा बस्नुस्

कांग्रेस नेता सिटौलाले ‘कम्युनिस्ट शासन भएको भए ड्यामड्याम गर्न हुन्थ्यो, लोकतान्त्रिक पद्धतिमा छिटो विकास हुँदैन’ प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाए ।

नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्ति कम्युनिस्ट सरकार अधिनायकवादी बाटोमा जाँदैछ भन्ने संकेत भएको भन्दै उनले भने, ‘उहाँले लोकतान्त्रिक सरकारले केही गर्न सक्दैन भन्ने सन्देश दिन खोज्नु भएको छ । यो उहाँको गम्भीर गल्ती हो ।’

उनले लोकतान्त्रिक सीमाको ख्याल गर्न र संविधानभित्रैबाट निकास खोज्न सरकारलाई आग्रह गरे । नेता गगन थापाले भने प्रचण्डको अभिव्यक्ति कम्युनिस्टहरुले डेमोक्रेटिक फ्रेमवर्कमा रहेर काम गर्न सक्दैनन भने प्रमाण भएको बताए ।

जेठभित्र महाधिवेशन गरौं

कांग्रेस नेता सिटौलाले आगामी जेठभित्रै १४ औं महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । यो सम्भव भएको उनको तर्क छ । यसका लागि नेतृत्व तयार नभए तीन महिनाभित्र पार्टीको आन्तरिम संरचना बनाउनुपर्ने उनको प्रस्ताव छ ।

‘चैतसम्म प्रदेशका अन्तरिम संरचनाहरु बनाऔं र राष्ट्रिय जागरण अभियान चलाऔं’ उनले भने ।

विधान संशोधनपछि कांग्रेसमा सभापति कमजोर हुन्छ कि बलियो भन्ने प्रश्नमा नेता सिटौलाले सभापतिले निर्वाचित पदाधिकारीहरुलाई विश्वासमा लिएर काम गर्न सक्नुपर्ने बताए । ‘पार्टी चलाउनु भनेको घर चलाउनु जस्तै हो’ उनले भने, ‘घरमुलीले सबैसँग सरसल्लाह गरेर काम गर्‍यो भने घर राम्ररी चल्छ । तास खेल्दै सम्पत्ति उडाउन थाल्यो भने सदस्यहरुले मुलीलाई नै बाँधेर राख्ने, चावी खोस्ने दिन आउँछ । सबै घरमुलीमा भर पर्छ ।’

यो पनि पढ्नुहोस ओली सरकार बोल्छ, गर्दैन ! विपक्षी बोल्दै बोल्दैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment