Comments Add Comment

मेस्सीसँग २५ प्रश्न : हार्‍यो भने छोराले सोध्छ – किन हारियो ?

१२ पुस, काठमाडौं । स्पेनिस क्लब बार्सिलोना क्रिसमसको बिदामा ला लिगाको शीर्षमा र च्याम्पियन्स लिगको अन्तिम १६ मा रहेर सुखद अवस्थामा छ । जसमा फरवार्ड लियोनल मेस्सीको भूमिका उत्कृष्ट छ ।

केही समय आराममा रहेका मेस्सीले फुटबललाई माया गर्ने भए पनि आफ्नो लागि परिवारभन्दा ठूलो केही नरहेको बताएका छन् ।

पाँच पटक बालोन डिओर र पाँच पटक नै गोल्डेन बुट्स जितिसकेका मेस्सीले फुटबलमा यत्ति धेरै गर्न सक्छु भन्ने विश्वास पहिले आफूमा नरहेको पनि बताएका छन् । फुटबल, परिवार, क्रिष्टियानो रोनाल्डो, बालोन डि’ओर आदिमा आधारित रहेर स्पेनिस पत्रिका मार्काले मेस्सीसँग अन्तर्वार्ता गरेको छ ।

फेरि एकपटक गोल्डेन बुट । गोल्डेन बुट नै पाँचौं भइसक्यो, यति धेरै उपाधि जितेर अब त पुग्यो जस्तो लाग्दैन ?

आफूले केही गरेको कुरामा मान्यता मिल्न यो एउटा राम्रो अवसर हो । मेरा लागि मात्र होइन, सबैका लागि । यो पुरस्कारहरु मैले पाए पनि पूरै टिमका लागि नै हो, र पटक पटक जित्न पाउँदा मलाई खुशी लाग्छ ।

पाँचौ गोल्डेन बुट्स, पाँचै बालोन डिओर, अब बाँकी भनेको पाँचौँ च्याम्पियन्स लिग हो ?

त्यसो भएदेखि त राम्रो हुने थियो । हामीले यो सिजनको सुरुवातमा भनेजस्तै च्याम्पियन्स लिग सधैँ नै विशेष हुन्छ । च्याम्पियन्स लिग हरेक पटक जित्ने इच्छा त हुन्छ नै । यसपटक पनि हामीलाई जित्न मन छ ।

तपाईंको जीवनको यो समयमा, फुटबल नै मुख्य प्राथमिकतामा छ या परिवार ?

जबदेखि मेरो सन्तान भए, प्राथमिकतामा सधैँ परिवार नै छ । यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो जस्तो पनि लाग्छ । पक्कै पनि मलाई फुटबल मन पर्छ र त्यसैका लागि बाँचिरहेको छु । तर, परिवार सबैभन्दा माथि छ ।

अझै सन्तानको चाहनामा हुनुहुन्छ ?

मेरो तेस्रो सन्तान सिरो अहिले बल्ल हुर्कदै छ । हामी एउटा छोरी होस् भन्ने त सोचिरहेका छौं तर त्यसबारे सोच्न अहिले हतार हुने छ ।

तपाईंलाई बेला बेला आफ्ना छोराहरु माटेओ र थियागोलाई पनि क्याम्प नाउमा फुटबल हेर्न लगिरहनुभएको हुन्छ । फुटबल हेर्दा तपाईंसँग उनीहरु के कुरा गर्छन् ?

उनीहरु दुवैलाई फुटबल मन पर्छ । थियागोले अलि राम्ररी नै बुझ्छ । अलि ठूलो पनि भयो । उसले त खेलका बारेमा सबै कुरा गरिरहेको हुन्छ । खेल हेर्दा मजाले खेलमा नै डुब्छ ।

के ऊ आफ्नो बुवाले यस्तो गर्नुपर्छ भनेर पनि भन्छ ?

हो हो, …. मैले कतिपटक छोराको आलोचना व्यहोरेको छु । ऊ बार्सिलोनाका खेलहरु हेर्छ । ला लिगा र च्याम्पियन्स लिगमा पनि ध्यान दिइरहेको हुन्छ । फुटबल उसलाई मन पनि पर्छ । प्रश्नहरु सोध्छ, चित्त नबुझेको कुरा भन्छ ।

बार्सिलोनाले हारेको बेला तपाईं घरमा गएर फुटबलको कुरा गर्नुहुन्न भन्छन्, त्यस्तै हो ?

पहिले त हो । अहिले त्यस्तो छैन । नराम्रो खेलेको कुरा र हारेको बेला अलि अप्ठ्यारो त भइनै हाल्छ । तर, घरमा पुगेपछि पनि ठूलो छोराले हामीले के नपुगेर हारेको ? किन त्यस्तो भयो ? भनेर प्रश्न सोधिहाल्छ । त्यसैले अहिले घरमा हार्दा पनि कुरा हुन्छ ।

अब अलि फरक कुरा गरौं । तपाईंको बार्सिलोना टिममेट गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनालाई विश्वकपमा जर्मन टिममा दोस्रो रोजाइँमा राखियो र घाइते रहेका म्यानुअल नियोरलाई गोलपोस्ट दिइयो । त्यसमा केही अन्याय भएको हो ?

हुन त त्यो अलि अचम्म लाग्दै कुरा हो । मार्कको गएको वर्ष निकै राम्रो भएको थियो । जे होस्, त्यो उनीहरुकै निर्णय हो ।

अब तपाईंलाई विशेष के चाहिन्छ, लिरोए सानेजस्ता टिममेट कि पेप गार्डिओला जस्ता प्रशिक्षक ?

राम्रा खेलाडीसँग टिममा रहेर खेल्नु त सधैँ उत्कृष्ट नै हुन्छ । यो प्रश्न अलि कठिन नै हो । तरपनि फेरि गार्डिओलासँग नै रहेर खेल्न मन छ । विश्वमा उत्कृष्ट प्रशिक्षकमध्ये उनी एक हुन् ।

अहिले नेदरल्याण्डका डे लाइट र डे जङ बार्सिलोना ल्याउने जस्ता चर्चा चलिरहन्छन् । उनीहरुको खेल हेर्नुभएको छ ? बार्सिलोनामा मिसिन मिल्ने खेलाडी हुन् जस्तो लाग्छ ?

उनीहरुले फुटबल खेल्न सुरु गर्दादेखि नै हाम्रो शैलीसँग मिल्ने नै छन् । बललाई खेलाउने उनीहरुको तरिका हाम्रो जस्तै छ । उनीहरु राम्रा खेलाडी हुन् । युवा पनि छन् ।

पूरा हुन नसक्ने केही सपना छन् ? जुन तपाईंले सोच्नुभएको छ तर, हुँदैन जस्तो लाग्छ ?

असम्भव भन्ने कुरा त केही पनि छैन । सोचेको कुरा पाउनका लागि धेरै मेहनत गर्ने र जस्तो परिस्थितिमा पनि हार नमान्ने गर्नुपर्छ । मेहनत र लगनशीलता, कुनै कुरा पर हुँदैन ।

केही समय अघि तपाईंले पेनाल्टी हान्न अलि मेहनत गर्नुपर्ने छ भन्नुभएको थियो । कसरी मेहनत गरिरहनुभएको छ ? गोलकिपरहरुको भिडियोहरु हेर्दै केही तयारी गर्नुहुन्छ ?

अभ्यास पनि गर्छु र हेर्छु पनि । अहिले हामी हरेक कुरामा ख्याल गर्छौं । फल, पेनाल्टी र पूरा खेलमा विचार गरिन्छ । हरेक कुराको विश्लेषण गरिन्छ, कुनै मौका नजाओस् जस्तो लाग्छ ।

तपाईले फ्रिकिक हान्ने बेला बल जब मैदानमा मिलाउनुहुन्छ, आधा त गोल नै भइसक्यो जस्तो लाग्छ । जे होस्, पेनाल्टी र फ्रिकिकमा धेरै फरक छ जस्तो लाग्छ ?

फरक छ नि । फ्रिकिकमा बार हुन्छ र दूरी पनि अलि भिन्न हुन्छ । फ्रिकमा पेनाल्टीमा जस्तो प्रेसर पनि हुँदैन । दुवै भिन्न खाले किक हुन् । पेनाल्टी हान्ने बेला गोलकिपरलाई भन्दा हान्नेलाई प्रेसर हुन्छ भने फ्रिकिकमा गोलकिपरलाई प्रेसर हुन्छ ।

गएको सिजन बार्सिलोनाको डिफेन्स राम्रो भएको थियो । यो सिजन किन बिग्रिरहेको हो ?

यो वर्ष हामीले फेरि ४–३–३ को फर्मेसनमा खेलिरहेका छौँ । गएको वर्ष हामीले चार/चार खेलाडीको दुई लाइन बनाएका थियौँ । जसले गर्दा निकै कम स्पेस छाडिन्थ्यो ।

अहिले हामीले पोसेसन राम्रो बनाएका छौँ र पहिलेभन्दा राम्रो खेलेका छौँ जस्तो पनि लाग्छ । तर, डिफेन्समा अलि कमजोरी भइरहेको छ जसले गर्दा विपक्षीले ठाउँ पाएका छन् । पछिल्ला केही खेलमा भने त्यसमा पनि सुधार भएको छ । अझ सुधार हुँदै जाला भन्ने लाग्छ ।

युवा टिमबाट आएका खेलाडीको स्तर देख्दा कस्तो लाग्छ ?

उनीहरुले आश्चर्यचकित नै बनाएका छन् । हामीसँग अभ्यास पनि गरिरहेका छन् । उनीहरु निकै राम्रो छन् । क्लबले पनि उनीहरुको क्षमता बढाउन काम गरिरहेको छ । ठूलो टिमसँग जोडेर लैजाँदा उनीहरुमा विकास पनि छिटो हुन्छ, त्यो राम्रो अभ्यास हो ।

फेरि कुनै समय बार्सिलोना टिममा बार्सा एकेडेमीकै ११ खेलाडीलाई खेलिरहेको हेर्न पाइएला ? के लाग्छ ?

त्यस्तो हुन अलि कठीन नै हुन्छ । युवा टिमका कुनै पनि खेलाडी प्रमुख टिममा पर्न नसक्ने भन्ने होइन तर पनि एकैपटक सबै खेलिरहन सहज हुँदैन । भविष्यमा हुन पनि सक्छ । तर, त्यसका लागि समय लाग्छ ।

सर्जियो बुस्केट्सले केही समय अगाडि युवा टिमलाई मुख्य टिममा आउन हतारो हुन्छ तर त्यसका लागि मेहनत भने पर्याप्त गर्दैनन् भनेका थिए । तपाइँलाई पनि त्यस्तै लाग्छ ?

हामी फुटबलमा आएको समय र अहिलेको समय एउटै छैन । हामीले अहिलेको समयमा भएका परिवर्तनलाई पनि स्वीकार्न सक्नुपर्छ । अहिलेका खेलाडीसँग अवसरहरु पनि धेरै आइरहेका हुन्छन् । कतिपय त प्रलोभनहरु पनि हुन्छन् । त्यसमा विचार गरेर अगाडि बढ्नुपर्छ ।

यो सिजन जोडि अल्वाको स्थानमा कसलाई खेलाउने भन्ने समस्या छ । स्यामुअल उमटिटी अझै समस्यामा छन् । राफिन्हा पनि घाइते छन् । बार्सिलोनाको रोजाइ खुम्चिँदै गएको हो ? जनवरी ट्रान्सफरमा त्यसमा केही फेरिएला ?

यो त प्रशिक्षक र क्लबले भन्ने कुरा भयो । मलाई लागेको कुरा भन्नुपर्दा, हामीसँग निकै राम्रा खेलाडीको समूह छ । अनि एकेडेमीमा पनि हामीसँग मिसिएर खेल्न सक्ने निकै राम्रो खेलाडीहरु छन् ।

आन्द्रेस इनिस्टाको कत्तिको याद आउँछ ?

एकदमै । मैदानमा र मैदानबाहिर पनि । हामीले धेरै वर्ष सँगै खेल्यौँ । धेरै कुराहरु सम्झनामा छन् । अभ्यासका बेला, मैदानमा र मैदानबाहिर पनि धेरै समय सँगै बिताएका छौँ ।

पहिले भन्दा ला लिगामा प्रतिस्पर्धा बढ्दै गएको हो ? ला लिगाको सम्भावना मुख्य तीन क्लबभन्दा बाहिर पनि पुगेको हो ?

आजभोलि कुनै पनि क्लबविरुद्ध सहज छैन । लिग निकै प्रतिस्पर्धात्मक छ, जित्न सजिलो छैन । प्रतिस्पर्धात्मक हुँदैन भनेर लालिगालाई भनिए पनि पहिले पनि प्रतिस्पर्धा नै नहुने भन्ने होइन । तीन क्लब मुख्य प्रतिस्पर्धामा हुने कुरा पनि सत्य हो । अहिले भने फेरिएको हामी सबैले देखेका छौँ । समर्थकका लागि पनि यो राम्रो कुरा हो ।

यसवर्ष बालोन डि’ओरको वरियतामा पाँचौँ नम्बरमा हुँदा कस्तो लाग्यो ?

नढाँटी मनदेखि भन्ने हो भने पहिलेदेखि नै यस्तो कुराहरुलाई म धेरै वास्ता गर्दिन । जे होस्, त्यो ठूलो उपाधि हो । मैले जित्दिनँ भन्ने थाहा थियो त्यसैले धेरै आश्चर्यमा परिनँ ।

च्याम्पियन्स लिगमा बार्सिलोनाले राम्रो गरिरहेको छ, यो वर्ष केही भिन्न हौसला मिलिरहेको हो ?

यो वर्ष मात्र होइन, हरेक वर्ष च्याम्पियन्स लिग जित्ने इच्छा हुन्छ नै । च्याम्पियन्स लिग भिन्न नै हुन्छ । मैले खेलेकोमा सबैभन्दा मनपर्ने प्रतिस्पर्धा पनि च्याम्पियन्स लिग नै हो । हरेकलाई त्यो चाहना पनि हुन्छ ।

उसमान डेम्बलेले च्याम्पियन्स लिगमा टोटनह्यामलाई हानेको गोल त अति नै राम्रो थियो । उनले सोचेजस्तो गरिरहेका छन् ? मैदानबाहिर उनले अझै परिपक्वता देखाउनुपर्ने हो ?

मैदानमा उनी असाध्यै राम्रा छन् । उनको खेल चकित पार्ने खालकै छ । अब बाँकी कुरा उनमा नै निर्भर गर्छ । विश्वमा अहिले उनलाई आफूले चाहेको गर्ने अवसर मिलिरहेको छ । जुन सबै खेलाडीलाई हुँदैन । उनी अझै उत्कृष्ट बन्न सक्छन् । अर्कोतर्फ हेर्दा, उनी युवा नै छन् ।

नयाँ क्लब, नयाँ शहरमा आफूलाई मिलाउन खोजिरहेका छन् । उनले मैदानबाहिर के गर्छन् भन्ने कुरा धेरै गर्नु राम्रो होइन । उसलाई आफ्नो तरिकामा छाडिदिनु पनि पर्छ । जसले गर्दा उनी शान्त हुन्छन् र खेलमा ध्यान दिन्छन् । हामी पनि उनलाई जसरी हुन्छ सहयोग गर्नुपर्छ भनेर गरिरहेका छौँ ।

यो सिजन रियल मड्रिडले क्रिष्टियानो रोनाल्डोलाई धेरै नै याद गरिरहेको देखेर आश्चर्य लाग्यो ?

मैले सिजनको सुरुमा नै पनि भनिसकेँ, रियल मड्रिड उत्कृष्ट टिम हो । विश्वकै राम्रामध्येको एक क्लब । जसमा निकै उत्कृष्ट खेलाडीहरु छन् । तर, क्रिष्टियानोलाई त जसले पनि सम्झिनै हाल्छन् नि । क्रिष्टियानो धेरै गोल पनि गर्छन् र टिमका लागि अरु धेरै कुरामा सहयोग गर्छन् त्यसैले मड्रिडले उनलाई सम्झिरहेको देखेर आश्चर्य लाग्दैन ।

क्रिष्टियानो रोनाल्डोसँग जोडेर गरिने प्रतिस्पर्धा कस्तो लाग्छ ?

हामी एउटै लिगमा हुँदा आफ्नो टिमको लागि जित्नका लागि गरिने मेहनत निकै राम्रो थियो । एकदमै स्वस्थ प्रतिस्पर्धा, जसमा हामी दुवै अझै सुधार गर्न चाहन्थ्यौँ । क्रिष्टियानोसँग गरिने प्रतिस्पर्धा र तुलना समर्थकका हिसाबले मनदेखि दिइएको स्वस्थ प्रतिक्रिया हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment