Comments Add Comment

सुगतरत्नले शेरबहादुरलाई सम्झाउने ! सांसद भन्छन्– विमानको सिट थर्ड क्लास !

१२ पुस, काठमाडौं । नेपाल वायु सेवा निगमले खरीद गरेका दुईवटा वाइडबडी विमानबारे विहीबार सिंहदरबार र पुतलीसडकमा बेग्लाबेग्लै बहस भयो । महालेखा प्रतिवेदनले विमान खरिदमा अनियमिता औंल्याएपछि सुरु भएको यो बहस अब साँघुरिँदै र सघन बन्दै जान थालेको छ ।

संसदको हिउँदे अधिवेशन सुरु भएकै दिन बुधबार विपक्षी दलका नेता शेरबहादुर देउवाले वाइडबडी प्रकरणमा छानविन गरिनुपर्ने आवाज सदनबाटै उठाइसकेपछि अब यो बहस थप तातो बनेको हो । ओली सरकारले भने विमान खरिद प्रकरणको न त राम्रोसँग बचाउ गर्न सकेको छ, न छानविन नै । संसदीय समितिमा यसबारे छलफल र बैठकहरु भइरहे पनि कुनै निचोड निस्किएको छैन ।

त्यसो त वाइडबढी खरिदको चक्करमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसमेत विवादमा परिसकेका छन् । भलै विमानको भुक्तानी महालेखापरीक्षकलाई सोधेर गरिएको बताएका अधिकारीले आफ्नो भनाइ विवादमा पर्नासाथ बोली फिर्ता लिएको सांसदहरुलाई बताएका छन् ।

विमान खरिद प्रकरणको विषयमा छानविन गर्न गठित सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले विहीबार पनि सिंहदरबारमा छलफलको आयोजना ग¥यो । उता पुतलीसडकमा ऋषि धमलाको रिपोर्टर्स क्लबमा पुगेर निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले सांसदहरु र दलका नेताहरुले कुरै नबुझेको जिकिर गरे ।

विमान खरिदमा भूमिका खेलेका निगमका महाप्रवधक कंसाकारले भने अहिलेसम्म विमान खरीद प्रकरणमा कुनै गडबडी नभएको जिकिर गर्दै एक्लै प्रतिवाद गरिरहेका छन् । संसदीय समितिमा दिएको जवाफमा चित्त नबुझेर उनी कहिले पत्रपत्रिकामा लेख लेख्छन् त कहिले रिपोर्टस क्लबसम्म पुगेर दलका नेता एवं जनप्रतिनिधिहरुलाई हाँक दिन्छन् ।

बिहीबार कंशाकारले रिपोर्टस क्लबमा पुगेर पत्रकार सम्मेलन गरे । उनले वाइडबडीमा कुनै अनियमितता नभएको दाबी गरे । कंसाकारले शेरबहादुर देउवा र बाबुराम भट्टराईले कुरै नबुझी संसदमा बोलेको भन्नसमेत भ्याए ।

देउवा र डा. भट्टराईले बुधबार संसद अधिवेशनलाई सम्वोधन गर्दा वाइड बडी खरिदमा घोटाला भएको हुन सक्ने भन्दै छानविन हुनुपर्ने बताएका थिए । तर, कंसाकारले यसबारेमा शेरबहादुर देउवालाई भेटेर सम्झाउने बताए ।

यो पनि पढ्नुहोस वाइडबडीबारे देउवा र बाबुरामले नबुझी बोले : सुगतरत्न

संसदीय उपसमितिमा तयार भयो १० बुँदे आरोप

यसैवीच विमान खरिद प्रकरणको विषयमा छानविन गर्न गठित सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले छानविन प्रतिवेदनलाई अन्तिम रुप दिने गरी तयारी तीब्र बनाएको छ । छानविनका लागि समितिले दिएको समयसीमा सकिन केही दिनमात्रै बाँकी रहेकाले उपसमितिले तयारी तीब्र बनाएको हो ।

‘उपसमितिले काम शुरु गरेको आज ११ दिन भयो’ लेखा समितिका सचिव रोजनाथ पाण्डेले भने ‘छलफल तीव्र बनाइएको छ, प्रतिवेदन ३÷४ दिनभित्रैमा आउँछ ।’

बिहीबारमात्रै पनि उपसमितिले महालेखा परीक्षकका अधिकारीहरुलाई बोलाएर छलफलसमेत गरेको छ । उपमहालेखा परीक्षकसहितका पदाधिकारीहरुसँगको छलफलपछि उपसमितिले विमान खरिद प्रकरणमा अनियमितता भएको ठहर गरेको हो ।

विमान खरिद प्रकरणका विषयमा के–के विषयमा अनियमितता भए भनेर बुँदागतरुपमै प्रतिवेदनमा लेख्नेसमेत उपसमितिले तयारी गरेको छ । लेखा समितिका सचिव पाण्डेले उपसमितिका सदस्यहरुलाई अनियमितता भएका केही आधारहरु वाचन गरेका सुनाएका थिए ।

सचिव पाण्डेले सुनाएका सबै बुँदाहरुमा सांसदहरुले समर्थन जनाएका छन् । यद्यपि, यी बुँदाहरुमा केही घटबड भने हुन सक्ने उपसमिति संयोजक राजेन्द्र केसीले बताए । ‘अहिले नै तयार भइसकेको होइन, हामी अझै छलफल गर्छौं’– संयोजक केसीले भने । उनले यसबारे थप छलफल गर्न शुक्रबार पुनः उपसमितिको बैठक बस्ने जानकारी दिए ।

उपसमितिले विमान खरिद प्रकरणमा भएको अनियमितताका विषयमा तयार पारेका बुँदाहरु यस्ता छन्–

१. ठूलो छुट हुने व्यवस्था भए पनि विमान खरिदमा छुट नभएको ।

२. एयरबस कम्पनीले जहाजको पैसा पाएको उल्लेख गरे पनि कति रकम पाएको भन्ने नखुलाएको ।

३. लामो दूरीका लागि उडाउने भनेर जहाज ल्याउने भनिए पनि कम क्षमताको ल्याइएको ।

४. बैना वापतको रकम दिनुपर्ने समयभन्दा पहिला नै भुक्तानी दिइएको ।

५. भारवहन क्षमता कम हुँदा मूल्य बढ्नुपर्नेमा मूल्य झन घटेको ।

६. डेलिभरी समयमा नदिएका कारण निगमलाई ठूलो घाटा लागेको । तर, समयमा नदिँदा क्षतिपूर्ति माग गर्नुपर्ने भए पनि त्यस विषयमा कुरा नउठेको ।

७. जहाज हेर्न जाने बहानामा असान्दर्भिक व्यक्तिहरुलाई अनावश्यक तरिकाले विदेश भ्रमण गराएको ।

८. ल्याइएको जहाज १३० टन क्षमताको भनेर उल्लेख गरिएको । तर, १४२ टन क्षमताको भनेर कागज बनाउन सकिने र त्यसका लागि ठूलो रकम खर्च गर्नुपर्ने कुरा निगमबाटै आएको । १४२ टन क्षमताको जहाज त्यही रकममा ल्याउन सकिनेमा नल्याएर अहिले पुनः खर्च गर्न खोजेको ।

९. प्रस्ताव पत्रमा एउटा र सम्झौता पत्रमा अर्को कुरा लेखिएको ।

१०. महालेखा परीक्षकको कार्यालयले अनियमितता भएको भनिसकेपछि पनि भुक्तानी दिएको ।

सांसद भन्छन्– विमानको सिट लोकल बसको जस्तो !

निगमले भित्र्याएको वाइडवडी विमानको गुणस्तरसमेत नराम्रो रहेको सांसदहरुले बताएका छन् । विमान हेर्न आफूहरु गएको जानकारी दिँदै सांसदहरुले विमानको गुणस्तर लोकल बसको जस्तै भएको प्रतिक्रिया दिए ।

सांसद प्रेम आलेले वाइडबडी विमानको सिट नेपालको लोकस बसको जस्तै भएको बताए । ‘विमान हेरियो तर यस्तो लाग्यो कि यो यति महंगो विमान होइन’ उपसमिति बैठकमा बोल्दै उनले भने, ‘विमानको सिट लोकल बसको जस्तै छ ।’

आर्थिक अनियमितता गरेर विमानको सिट उत्कृष्ट र राम्रो नबनाएको हुन सक्नेसमेत सांसद आलेले आंशका गरे । आलेले मोवाइलमा तस्वीर देखाउँदै विमानको प्लेटसमेत कोरिएर थोत्रोजस्तो देखिएको बताए ।

उपसमितिकै सदस्य अर्की सांसद धर्मशीला चापागाईंले पनि सिट राम्रो नभएको बताइन् । ‘यति महंगो खर्च गरेर ल्याएको जहाजको सिटको गुणस्तर ठीक छैन’ चापागाईंले बैठकमा भनिन् ।

सांसदहरुले १२ टन क्षमता घटाउँदा मूल्य पनि घट्नुपर्नेमा अझ बढेको भन्दै व्यापक आर्थिक अनियमितता भएको बताए ।

कानुन विपरीत हुँदाहुँदै पनि भुक्तानी दिनुमा मन्त्रालय नै दोषी भएको भन्दै मन्त्रालयका अधिकारीहरुलाई समेत कारबाही हुनुपर्ने सांसदहरुले माग राखेका छन् । जहाज खरिद गरेको बाहेक अन्य रकमसमेत खर्च गरेर दुरुपयोग भएको समेत उपसमितिमा कुरा उठेको छ ।

अप्राविधिक मान्छेहरुलाई जहाज हेर्ने बहानामा विदेश भ्रमण गराएर व्यापक अनियमितता गरेको सांसहरुले बताएका छन् ।

मन्त्री अधिकारीको आलोचना

विहीबारको उपसमिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारीको समेत आलोचना भयो । वाइडबडी विमान भित्र्याउनुअघि महालेखा परीक्षकसँग छलफल गरेर वहाँले नै ल्याउनु भनेपछि ल्याएको भनेर मन्त्रीले झूठा कुरा गरेको भन्दै सांसदहरुले आलोचना गरे ।

महालेखा परीक्षक टंकमणि शर्माले मन्त्रीसँग यस विषयमा कुरै नभएको र मन्त्रीले झूठो आरोप लगाएको बताएपछि मन्त्री अधिकारीले सांसदहरुसँग आफूले बोलेको कुरा फिर्ता लिएको समेत बैठकमा सांसदहरुले जानकारी दिए ।

‘मन्त्रीले त्यस्तो हावा कुरा गर्न नहुने हो’ उपसमिति संयोजक केसीले भने, ‘तर सजिलै वहाँले मैले फिर्ता लिएँ भन्दै हिजो हिँड्नुभयो ।’

बिहीबारको बैठकमा सत्तारुढ दलकै सांसद प्रेम आलेले मन्त्री अधिकारी गैरजिम्मेवाररुपमा त्यसरी प्रस्तुत हुन नहुने बताए ।

त्यस्तै सांसद धर्मशीला चापागाईंले पनि मन्त्रीको भनाइ जिम्मेवार नरहेको बताइन् । निगमलाई जहाज बेच्नकै लागि हाइफ्लाई एक्स कम्पनी दर्ता गरिएको र एयरबसले त्यो कम्पनीलाई दिएको एक घण्टामा नै निगमलाई बेचेको भन्दै आनियमितताको आधार यही हुन सक्ने सांसद चापागाईंले बताइन् ।

निगमलाई जहाज बेचेपछि पुनः कम्पनी बन्द भएको बताउँदै उनले भनिन्, ‘किनेको एक घण्टामै बेच्ने ? एक घण्टाका लागि बिचौलिया प्रयोग भएको छ, यसबाटै बुझ्नुपर्छ ।’ सांसद चापागाईंले विनाकारण निगमका कर्मचारीहरुको जिम्मेवारी साटफेर गरेको भन्दै त्यसमा पनि नियत खराब रहेको बताइन् ।

कंसाकारको भिडियो उपसमितिमा ‘भाइरल’

उपसमिति बैठकभित्र नेपाल वायु सेवा निगमका महाप्रवन्धक कंशाकारले बोलेको एउटा भिडियो उपसमितिको बैठकमा ‘भाइरल’ भयो । नेकपाकै एक सांसदले मोवाइलमा कंशाकारले बोलेको भिडियो देखाए ।

त्यसपछि सबै सांसदहरुले उक्त भिडियो मज्जाले हेरे । भिडियोमा कंशाकारले आफूले पारदर्शी काम गरे सरकारमा भएका ठूला मान्छे आफूसँग रिसाउने भन्दै सरकारका ठूला मान्छेहरुकै कारण आफू अपारदर्शी भएको जस्तो वयान भिडियोमा देख्न सकिन्छ ।

कंशाकारले भिडियोमा भनेका छन्, ‘सरकारी अफिसमा म पारदर्शी भएँ भने सरकारमा भएका ठूलाठूला मान्छे सबै मसँग रिसाउँछन् ।’

यो भिडियो हेरेपछि सांसदहरुले यसमा ठूला माछाको समेत संलग्नता रहेको आंशका गरेका छन् ।

तर, सुगतरत्न कंसाकारले भने आफूले बोलेको भिडियो अर्कै प्रशंगको भएको दाबी गरेका छन् । सरकारमा बसेका ठूला मान्छेका लागि आफू अपारदर्शी बनेको भन्नुभएको छ नि ? भन्ने प्रश्नमा कंसाकारले रिपोर्टस क्लबबाट भने, ‘मलाई त्यो याद छैन, कुनै प्रशंगमा भनेको हुन सक्ला । तर, यो प्रसंगमा भनेको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment