
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दुईवटा वाइडबडी जहाजको इन्जिन मर्मतको लागि गोप्य वार्ता गरे।
- उनीहरूले अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया सुरु नगरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरे र एनडीए पनि गरेका हुन्।
- स्रोतका अनुसार यो प्रक्रियालाई अपारदर्शी बनाइनुका साथै कानूनी र पारदर्शी प्रक्रिया पालना नगरिएको आशंका छ।
२२ असार, काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दुईवटा वाइडबडी जहाजको इन्जिन पूर्ण मर्मत (ओभरहल)मा गम्भीर आर्थिक चलखेल गरेको खुलेको छ । आगामी वर्ष २०२६ को जुलाई तथा अगस्टमा एयरबस ३३० मोडलका दुई वाइडबडी जहाजको चारवटा इन्जिन मर्मत (ओभरहल) गर्नुपर्ने छ ।
त्यसरी इन्जिन ओभरहल गर्न खुला प्रतिस्पर्धा गराउनुपर्नेमा अधिकारीले टेन्डरको प्रक्रिया सुरु नै नगरी एउटा कम्पनीलाई काम दिनेगरी गोप्य वार्ता गरेको खुलेको हो ।
एयरलाइन्सको कन्टिन्युयिङ एयरवर्दिनेस म्यानेजमेन्ट डिमार्टमेन्ट (सीएएमडी)ले जहाज मर्मत गर्न टेन्डर आह्वान गर्नका लागि प्रस्तावपत्र (आरएफपी)का शर्तहरू अहिले तयार गरिरहेको छ । विभागले आरएफपीको शर्तहरू तय गरेपछि बल्ल टेन्डर प्रक्रिया सुरु हुन्छ ।
तर, कार्यकारी अध्यक्ष अधिकारीले भने गत २९ अप्रिल २०२५ अर्थात् १६ वैशाखमा आफै सिंगापुर गई जहाज मर्मत गर्ने सम्भावित कम्पनीमध्ये एक रोल्स रोयससँग इन्जिन मर्मतको काम सोझै दिनका लागि वार्ता गरेको खुलेको हो ।
रोल्स रोयससँगको वार्ताको सम्पूर्ण विवरण गोप्य राख्नुपर्ने खालको सम्झौता (नन डिस्क्लोजर एग्रिमेन्ट– एनडीए) समेत उनले गरेको खुलेको हो ।
नेपाल वायुसेवा निगमसँग अहिले दुईवटा ‘ए३३०’ वाइडबडी जहाज छन् । त्यसमध्ये पहिलो जहाज १४ असार २०७५ मा काठमाडौंमा अवतरण भएको थियो भने दोस्रो जहाज १० साउन २०७५ मा यहाँ आइपुगेको थियो ।
निगम स्रोतका अनुसार ६ हजार साइकल (काठमाडौंबाट कुनै गन्तव्यमा गएर पुनः काठमाडौंमा फर्कने दोहोरो) उडान गरेपछि जहाजहरूको इन्जिनको बृहत मर्मत (ओभरहल) गर्नुपर्ने हुन्छ । यी जहाजमध्ये ‘नाइनएन–एएलवाई’ कल साइनको जहाजले ४८०६ साइकल उडान गरिसकेको छ भने ‘नाइनएन–एएलजी’ कल साइनको जहाजले ४७ सय ९ साइकल उडान गरेको छ ।
यसअनुसार ‘नाइनएन–एएलवाई’ जहाजको इन्जिन आगामी २०२६ को जुलाई महिनामा ओभरहलका लागि पठाउनुपर्ने हुनसक्छ । त्यस्तै, दोस्रो जहाजका इन्जिन सोही सालको अगस्ट महिनामा ओभरहलमा पठाउनुपर्ने निगम स्रोतले जानकारी दियो ।
यी जहाजमा बेलायती कम्पनी रोल्स रोयसका ‘आरबी टु डबल वान ट्रेन्ट डबल सेभेन टुबी’ मोडलका इन्जिन फिट गरिएको छ ।
एउटा जहाजमा दुईवटा यस्तो इन्जिन हुन्छ । तिनको ओभरहलका लागि कम्तीमा पनि प्रतिइञ्जिन १ करोड २० लाख अमेरिकी डलर खर्च हुने अनुमान रहेको निगम स्रोत बताउँछ ।
‘सामान्य भाषामा भन्दा यो गाडीको इन्जिन खोलेर मर्मत गरेजस्तै हो । त्यसो हुँदा ठ्याक्कै कति खर्च आउँछ भन्ने कुरा इन्जिनको अवस्था कस्तो छ, कति सामान फेर्नुपर्ने हुन्छ भन्नेले निर्धारण गर्छ, तर न्यूनतम पनि १ करोड २० लाख डलर अर्थात् करिब १ अर्ब ६४ करोड रुपैयाँ खर्च हुनसक्छ,’ स्रोतको भनाइ छ ।
यस हिसाबले चार वटा इन्जिनको ओभरहल गर्नका लागि करिब सात अर्ब रुपैयाँ खर्च हुन्छ ।
यति ठूलो खरिदको काम गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने सार्वजनिक खरिद ऐन, नियमावली एवम् नेपाल वायुसेवा निगम आर्थिक कार्यविधिमा स्पष्ट व्यवस्था छ ।
निगमले १० लाख रुपैयाँभन्दा बढीको मालसामान, सेवा वा कुनै निर्माण कार्य गराउँदा बोलपत्रको माध्यमद्वारा खरिद गर्नु पर्नेछ भन्ने स्पष्ट व्यवस्था निगमको आर्थिक विनियमावली, २०६५ को विनियम १०७ मा छ ।
साथै, सोही विनियममा सार्वजनिक निकायको माग अनुरूपको मालसामान वा निर्माण कार्य प्रतिस्पर्धात्मक मूल्यमा नेपाल राज्यभित्रका एकभन्दा बढी निर्माण व्यवसायी वा आपूर्तिकर्ताबाट प्राप्त नहुने भएमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र गर्नुपर्ने व्यवस्था छ ।
ठूला निर्माण कार्य गर्न वा उच्च मूल्यका माल सामान खरिद गर्न वा निगमले उचित ठानेका अन्य खरिद गर्न वा बीमा गर्न योग्य बोलपत्रदाताको पहिचान गर्न बोलपत्र आह्वान गर्नुअघि पूर्व योग्यता सम्बन्धी कागजात तयार गरी पूर्व योग्यता निर्धारणको लागि प्रस्ताव पेस गर्न सार्वजनिक रूपमा आह्वान गर्नुपर्ने व्यवस्था पनि आर्थिक विनियमावलीमा छ ।
तर, निगम कार्यकारी अध्यक्ष अधिकारीले यो प्रक्रिया नै सुरु नगरी गत २३ फेब्रुअरी २०२५ (११ फागुन)मा रोल्स रोयस कम्पनीका सिभिल एरोस्पेस हेर्ने प्रेसिडेन्ट रब वाट्सनलाई इमेल गरी सिंगापुरमा मिटिङका लागि अनुरोध गरेका थिए ।
इन्जिनको ओभरहल गर्ने विषय निगमको इन्जिनियरिङ विभागको कार्यक्षेत्रमा पर्नेमा विभागका कसैलाई पनि जानकारी नदिई अधिकारीले आफ्ना पीए तथा उपनिर्देशक नारायण पौडेललाई आफ्नो तर्फबाट इमेल लेख्न लगाएका थिए ।
सो इमेलमा आगामी वर्ष आफ्ना दुईवटा ए–३३० जहाजको इन्जिन ओभरहल गर्नुपर्ने तालिका रहेकाले त्यस विषयमा रोल्स रोयसको टिमसँग अत्यन्तै जरुरी छलफल सिंगापुरमा गर्नुपर्ने भएकाले समय मागिएको थियो ।
त्यसको दुई सातासम्म पनि रोल्स रोयसले इमेलको वास्ता नगरेपछि पौडेलले पुनः फलोअप इमेल लेख्दै ‘हामी तपाईंको टिमबाट यसबारे जवाफ पाउन ब्यग्र प्रतीक्षा गरिरहेका छौं’ भनेका थिए ।
त्यसपछि मात्रै रोल्स रोयसले जवाफ पठाई उनीहरूबीच मिटिङ तय भएको देखिन्छ । तर, त्यससँगै इन्जिन ओभरहलको विषयमा भएको बैठक तथा त्यस सम्बन्धी कारोबारका विवरणहरू गोप्य राख्नुपर्ने गरी नन डिस्क्लोजर एग्रिमेन्ट (एनडीए) पनि भएको देखिन्छ ।
दुई कम्पनीबीच कुनै गोप्य सूचना आदान प्रदान गर्नुपहिले, कुनै व्यावसायिक वार्ता वा सम्झौता गर्नुअघि वा संयुक्त रूपमा कुनै काम वा व्यापार गर्नुअघि त्यसको वार्ताका क्रममा एनडीए गर्ने प्रचलन छ ।
कुनै वार्ता थाल्नुअघि, ड्यु डेलिजेन्सको प्रक्रियामा वा दुई पक्षहरूले कुनै व्यवसाय संयुक्त रूपमा थाल्नुअघि यस्तो सम्झौता गर्ने गरिन्छ ।
सामान्यतथा वार्तामा भएका कुरा वा डिलहरू बाहिर नजाउन् भनेर यस्तो सम्झौता गर्ने गरिएको हो ।
तर, नेपाल एयरलाइन्सले रोल्स रोयस कम्पनीसँग इन्जिन ओभरहलका लागि भन्दै बैठक गर्नु र त्यस क्रममा एनडीएसमेत गर्नुले गम्भीर प्रश्न खडा गरेको जानकार स्रोत बताउँछ ।
‘जहाजको इन्जिन ओभरहल गर्ने विषयमा सबैभन्दा पहिला खरिद योजना बनाउने, त्यसपछि स्पेसिफिकेसन निर्धारण गर्ने, यो सेवा दिने कम्पनीहरूको योग्यता निर्धारण गर्ने, प्रस्तावपत्रको आरएफपी बनाउने र अन्तर्राष्ट्रिय बोलपत्रमा जानुपर्ने हो,’ एक जानकार स्रोतले भन्यो ।
स्रोतले थप्यो, ‘त्यो केही पनि नगरी कार्यकारी अध्यक्ष अधिकारीले कम्तीमा पनि डेढ वर्षपछि ओभरहल गर्नुपर्ने इन्जिनका विषयमा रोल्स रोयससँग गोप्य वार्ता गरी काम थाले, यसको अर्थ उनी यो प्रक्रियालाई अपारदर्शी रूपमा अघि बढाउँदै छन् भन्ने हो । नत्र अहिल्यै रोल्स रोयससँग वार्ता गर्नुपर्ने र एनडीए गर्नुपर्ने आवश्यकता नै थिएन ।’
रोल्स रोयस इन्जिन निर्माण तथा मर्मत गर्ने कम्पनी हो । इन्जिनको मर्मत तथा ओभरहल गर्नका लागि विश्वका विभिन्न देशमा उसका सब्सिडियारी तथा संयुक्त लगानीका कम्पनी छन् ।
कार्यकारी अध्यक्ष अधिकारीले जहाज मर्मत तथा ओभरहल गर्ने कामका लागि जिम्मेवार इन्जिनियरिङ विभागबाट काम सुरु गर्नुपर्नेमा त्यसलाई बाइपास गरेर आफैं रोल्स रोयससँग गोप्य वार्ताको पहल गरेका थिए ।
रोल्स रोयससँगको सुरुको इमेल आदानप्रदान गर्दा उनले आफ्नै कार्यालयमार्फत गरेका थिए भने रोल्स रोयसका कर्मचारीसँग सिंगापुरमा वार्ता गर्न जाँदा मात्रै सीएएमडीका कर्मचारीलाई लगे ।
सिंगापुरमा वार्ताका लागि उनीसहितको टोली २७ अप्रिलमा मलेसिया उडेको थियो । २९ अप्रिलमा उनको टोली र रोल्स रोयसका कर्मचारीबीच वार्ता भएको थियो । त्यसको एक सातापछि ८ मे मा मात्रै उनी नेपाल फर्किएका थिए ।
वार्ताका लागि गएको टोलीमा अधिकारीसहित वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, मार्केटिङ विभागका निर्देशक टंकनिधि दाहाल, सीएएमडीका उपनिर्देशक ज्ञानबहादुर कुँवर सहभागी थिए । जहाजको ओभरहलमा मार्केटिङ विभागको कुनै भूमिका हुँदैन तर उनले सो विभागका निर्देशक दाहाललाई टोलीमा राखेर लगेका थिए ।
त्यसले पनि कार्यकारी निर्देशक अधिकारीको चिन्ता इन्जिनको समयमै र कम मूल्यमा ओभरहल गर्ने नभई वित्तीय लाभ लिने देखिएको निगम स्रोत बताउँछ ।
सिंगापुरमा बैठकका अतिरिक्त अन्य काम पनि भएकाले आफ्नो टोलीले एक साता लामो भ्रमण गरेको कार्यकारी अध्यक्ष अधिकारीले बताए ।
तपाईंले पहिले खरिद योजना बनाउनेलगायतका प्रक्रिया सुरु गर्नुपर्नेमा सुरुमै रोल्स रोयससँग किन वार्ता गर्नुभएको भन्ने प्रश्नमा उनले इन्जिन बनाउने कम्पनी भएकाले उसँग केही कुरा बुझ्न वार्ता गरेको दाबी गरे ।
जबकि, रोल्स रोयसले इन्जिन बनाउने मात्रै होइन, मर्मत र ओभरहललगायत काम पनि गर्छ । इन्जिन मर्मत गर्न उसले आफ्ना विभिन्न सब्सिडियरी मात्रै होइन, संयुक्त लगानीका कम्पनी पनि खोलेको छ ।
इन्जिनको ओभरहल गर्ने प्राविधिक विषयमा कुरा गर्न जाँदा मार्केटिङ विभागका निर्देशक दाहाल र अधिवक्ता पन्तलाई किन लिएर गएको भन्ने प्रश्नमा उनले कानूनी रूपमा बलियो हुन त्यसो गरेको बताए । इन्जिन बनाउने कम्पनीसँग सोझै वार्ता गरेर पनि ओभरहल गर्न सकिने उनको दाबी थियो ।
प्रतिक्रिया 4