Comments Add Comment

फुटबल विकासमा जुटेकाे पाकिस्तान

१३ पुस काठमाडौं । जाडो मौसमको पारिलो घाममा साना खेलाडीहरु फुटबल अभ्यासमा मग्न थिए । छेवैमा बसेर उनीहरुको हौसला बढाइरहेका थिए स्पेनिस प्रशिक्षक ।

प्रशिक्षक भनिरहेका थिए, ‘राम्रो … अझै … ठीक छ ।’

यो एउटा फुटबल एकेडेमीभित्रको दृश्य हो, जुन स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँगको सहयोगमा मड्रिडभन्दा ४ हजार माइल यता पाकिस्तान लाहोरमा रहेको छ ।

अभ्यासमा व्यस्त साना खेलाडीहरु मध्ये एक हुन्, १२ वर्षका हम्माद जिया । एउटा कच्चा प्रतिभा जो राम्रा प्रशिक्षकसँग धेरै कुरा सिकिरहेका छन् । हम्माद एकेडेमीमा आएका पहिलो खेलाडी पनि हुन् । हम्माद जस्तै १६ वर्षका लेफ्ट विंगर सुभान, १५ वर्षका फरवार्ड वारिश पनि मेहनत गरिरहेका छन् । उनीहरुसँगै छिन्, १० वर्षकी मिडफिल्डर फिजा पनि । जो एकेडेमीमा रहेका केटी प्रशिक्षार्थीमध्ये राम्रो खेल्छिन् ।

१० पटक स्पेनिस फुटबल च्याम्पियन बनेको एथ्लेटिको मड्रिडले पहिलोपटक पाकिस्तानमा फुटबल एकेडेमी खोल्नुको रहस्य के होला त ?

हम्माद र उनका साथीहरुको कथाले यो प्रश्नको उत्तर दिन्छ ।

लियोनल मेस्सी र पोउल पोग्वाका प्रशंसक हम्माद अहिले एकेडेमीमा सिकिरहेको कुराले निकै खुशी छन् । घर गएपछि आफूले सिकेको नयाँ कुरा चार वर्षका भाइ लकमानलाई समेत सुनाउँछन् । ‘एकदमै राम्रो भइरहेको छ । म फरवार्डको रुपमा खेलिरहेको छु । अभ्यासमा राम्रो गरिरहेको छु । हामीलाई बेसिक स्किलहरु सिकाइरहनु भएको छ । उहाँहरु निकै राम्ररी सिकाउनुहुन्छ,’ उनले भने ।

बोलिरहँदा हम्मादले उज्यालो अनुहार बनाएर उनका बुबातिर हेरे । हम्मादका बुबा जिया उर रहमान पाकिस्तान प्रहरीमा जागिर खान्छन् । उनैले छोरामा रहेको प्रतिभालाई चिनेका थिए । ‘म सानो हुँदा फुटबलर बन्ने इच्छा थियो । तर, मेरो अभिभावकबाट त्यस्तो कुनै सहयोग हुँदैन थियो’ रहमानले भने, ‘त्यही इच्छा मनभित्र अहिलेसम्म पनि छ । यस्तो इच्छा मर्दैन रहेछ । त्यसैले अहिले छोरामार्फत त्यो इच्छा पूरा गरिरहेको छु । उसलाई पनि फुटबलमा रहर छ ।’

‘पहिले त मैले छोरालाई पौडी प्रशिक्षणमा राखेेको थिएँ । लाग्थ्यो, माइकल फ्लेप्स हुनेछ । केही समयपछि थाहा पाएँ उसलाई पौडीमा मन छैन रहेछ । फुटबलमा सुरुदेखि नै उसलाई मन छ ।’

‘स्कूल टिमबाट उसले खेलेको खेल देखेर नै कुनै एकेडेमीमा राखिदिनुपर्छ भन्ने कुरा भएको थियो । हामीले उसलाई फुटबलर बनाउनै पर्दैन, ऊ फुटबलर भइसकेको छ ।’

१२ वर्षका हम्माद जिया (बाँया) र १० वर्षकी फिजा

त्यही फुटबलको इच्छाले हम्माद लाहोरको सुमातस स्पोर्ट्स एकेडेमीमा आएका थिए । जुन आधिकारिक रुपमा जनवरीदेखि एथ्लेटिको मड्रिडको एकेडेमीको रुपमा चिनिँदै छ । ‘जन्मेदेखि नै मेरो एउटा मात्रै मृर्गौला थियो । मेरो शरीरमा जुनसुकै बेला तलमाथि हुन सक्छ । यस्तोमा हम्मादलाई देखेर मलाई खुशी लागिरहेको हुन्छ,’ रहमानले भने, ‘हाम्रो इच्छा छ, हम्माद स्पेनमा लिग खेल्न सकोस् र पाकिस्तान राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेलहरु खेलोस् ।’

हम्मादका बुबाले भनेजस्तै एथ्लेटिको मड्रिडको योजना पनि तीनदेखि पाँच वर्षमा पाकिस्तानको उमेर समूहको राष्ट्रिय टिमका लागि खेलाडीहरु तयार गर्ने छ । उनीहरु एकदिन पाकिस्तानको राष्ट्रिय टिमबाट खेल्न सकुन् भन्ने छ ।

पाकिस्तानमा यस्तो फुटबल सपनाको सुरुवात पाकिस्तानी उद्योगी मोहम्मद अत्ता तानसिर र उनका काकाका छोरा ओमेर शेखले गरेका हुन् । उनीहरु दुवै फुटबल मन पराउँछन् । जसले गर्दा पाकिस्तानमा खेलाडीहरु निस्किउन् भनेर नयाँ कामको थालनी गरे । फुटबलको स्तर बढाउने र खेलाडी उत्पादन गर्ने उनीहरुको लक्ष्य छ ।

पहिले त उनीहरुले यसका लागि रियल मड्रिडमा पहल गरेका थिए । उनीहरुको योजनामा रियल मड्रिडले भने चासो दिएन । कतिसम्म भने उनीहरुका योजना सुनेर रियल मड्रिडका कति मानिसहरु हाँसेर उडाउँथे । उनीहरुले त्यो समयका मुख्य प्रशिक्षक जिनेदिने जिदानलाई भेट्नसम्म दिएका थिए, तर कुरा अगाडि बढेन ।

हुन त एथ्लेटिको मड्रिडसँगको कुराकानीमा पनि सुरुमा केही द्विविधाहरु आएका थिए । तर बारम्बारको भेटबाट र बैठकपछि एथ्लेटिको मड्रिड भने उनीहरुको कुरामा राजी भयो । अत्ता र ओमेरको सुमातस स्पोर्ट्स एकेडेमीमा पहिले नै एक सयभन्दा बढी प्रशिक्षार्थीहरु आइसकेका थिए । अब एथ्लेटिको मड्रिडको नामसँग जोडिएर बढ्दा यसमा अझै थप हुँदै जाने नै छ । उनीहरुले कराँची र इस्लामाबादमा पनि एकेडेमी बढाउने सोचिरहेका छन् ।

‘मेरो मुख्य योजना नै तल्लो तहदेखि पाकिस्तानमा फुटबलको विकास गर्ने नै हो र एकदिन राम्रो फुटबल हुने देशको रुपमा चिनाउने हो’ अत्ताले भने, ‘त्यहाँसम्म पुग्ने बाटो सजिलो पनि छैन र छोटो पनि छैन । अहिले हेर्दा म अलि बढी नै आशावादी भएको जस्तो लाग्न सक्छ । अहिले त हामीले सम्भावना भएका प्रतिभाको खोजी मात्रै गरिरहेका हौँ ।’

एथ्लेटिको मड्रिडले अहिले आफ्नो ब्राण्डसँगै दुई जना प्रशिक्षक पनि पठाएको छ । ड्यानियल लिमोन्स र जेभियर भिसेआ दुई जना प्रशिक्षक सेप्टेम्बरदेखि लाहोरमा नै छन् । उनीहरु बिहान नयाँ आएका पाकिस्तानकै प्रशिक्षकहरुलाई सिकाउँछन्, प्रतिभाको खोजीमा स्थानीय विद्यालयमा जान्छन् र दिउँसो फेरि एकेडेमीका प्रशिक्षार्थीहरुलाई सिकाउँछन् ।

‘हामी स्पेनमा भएका बेला यहाँको बारेमा जे सोच्थ्यौँ त्यो फरक थियो । अहिले यहाँ नै बस्न थालेपछि निकै भिन्नता पाएका छौँ । उनीहरुको जीवनको गति, धर्मप्रतिको सोच, उनीहरुको ध्यानको मध्यविन्दु सबै फरक छ’ प्रशिक्षक लिमोन्सले भने, ‘सबै कुराका बीच यो सम्भावनाहरुको देश हो । यहाँका मानिसहरु असाध्यै दयालु छन् । उनीहरु मद्धत गर्न अघि सरिहाल्छन् । उनीहरु हरेक कुरामा विकसित हुन चाहन्छन् पनि । केही सिक्न चाहन्छन् । यसैले यहाँ हाम्रो अनुभव राम्रो भइरहेको छ ।’

लिमोन्स र भिसेआले छानेका पाकिस्तानी प्रशिक्षकमध्ये एक हुन्, २५ वर्षका वासिम सेहजाद ।

सहेजाद गोजाल हुन्जा उपत्यकाका हुन्, जुन पाकिस्तान-चीन सीमाको गिलगित बाल्टिस्तान नजिक पर्छ । सिभिल इन्जिनियरिङ पढेका उनको फुटबल रहर हो । एथ्लेटिको मड्रिड आउने र प्रशिक्षण दिने सुनेपछि उनी ५ सय माइलको यात्रा गरेर ट्रायल दिन लाहोर आएका थिए ।

‘म फुटबलसँग जोडिन पाएकोले खुशी छु । यो मौकाले गर्दा फुटबलमा स्थापित हुन सक्छु जस्तो लागेको छ । म र मेरो परिवारको आर्थिक स्तरका लागि पनि यो महत्वपूर्ण हुन्छ जस्तो लाग्छ’ उनले भने ।
युवा फुटबलहरुको खोजी र यतिका सहयोगले एथ्लेटिको मड्रिडलाई भने के फाइदा हुन्छ त ?

बार्सिलोना र रियल मड्रिडले लिइरहेको एसियाली फुटबल बजारमा एथ्लेटिको आगमनमा यसले सहयोग गर्नेछ । अहिलेको समयमा दक्षिण एसिया स्पेनिस क्लबका लागि ठूलो बजार हो । यही क्षेत्रमा जारी सिजनको सुरुबाट फेसबुकले ला लिगाका ३ सय ८० खेल नै प्रत्यक्ष प्रसारण गर्ने अधिकार पनि लिएको थियो । पाकिस्तानसँगै नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तानका झण्डै ३ सय ४८ मिलियन प्रयोगकर्तामाझ ला लिगा पुगिरहेको छ ।

‘फुटबलमा एसियामा निकै धेरै समर्थक छन् । यही बजार हाम्रा क्लबहरुका लागि पनि आकर्षणको केन्द्र बनिरहेको छ । ला लिगा पछ्याउनेहरु पनि पछिल्लो समय निकै बढेका छन्,’ भारतमा ला लिगाका मेनेजर रहेका जोसे एन्टोनियो काचजाले भने ।

‘यही क्षेत्रबाट कोही खेलाडी निकट भविष्यमा नै ला लिगामा पुग्छन् भन्ने आशा बढेको छ’ उनले भने ।

यो सबैमा एथ्लेटिको एकेडेमीमार्फत नै साँस्कृतिक आदानप्रदान पनि सुरु भइसकेको छ । ‘हामी उर्दु सिक्ने प्रयासमा छौँ, अनि प्रशिक्षार्थीहरु स्पेनिस सिकिरहेका छन्,’ प्रशिक्षक लिमोन्सले सुनाए ।

(बीबीसीमा प्रकाशित तुसदिक दिनको लेखको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment