Comments Add Comment

यो हो ट्राफिक जामको समस्याबाट मुक्ति दिलाउने प्रणाली

१५ पुस, काठमाडौं । हामी सबै प्राय: ट्राफिक जाममा फसेका छौं । ट्राफिक लाइट कतिबेला बदलिन्छ र अगाडि बढ्न पाइएला भनेर हामी व्यग्र प्रतिक्षामा हुन्छौं । एकैछिन जाममा रोकिनुपर्दा पनि दिक्क लाग्छ । कहिलेकाहिँ त घण्टौंसम्म लामो लाइनमा बस्नुपर्दाको पीडाको हामी कल्पना पनि गर्न सक्दैनौं ।

तर रमाइलो कुरा के छ भने ट्राफिक जाम हाम्रो जिन्दगीको अटुट हिस्सा जस्तै बनिसकेको छ । सडकमा गाडीहरुको भिड दिनहुँ बढ्दै गइरहेको छ । ट्राफिक जाम हटाउने प्रविधि पनि पूर्णसफल भएका छैनन् । कहिले वर्षा, कहिले दुर्घटना र कहिले विनाकुनै कारण पनि हामीहरु जाममा फस्दै आएका छौं ।

एक अनुमानका अनुसार सन् २०१५ मा विश्वभर १.३ अर्ब गाडीहरु थिए । विकासशील देशमा गाडीहरुको बिक्रीको हिसाबलाई हेर्ने हो भने सन् २०४० सम्म विश्वभर करिब दुई अर्ब गाडीहरु सडकमा हुनेछन् ।

नयाँ सडक, बाइपास र फ्लाइओभर बने पनि यी गाडीहरुलाई रफ्तारमा गुड्न पर्याप्त स्थान हुनेछैन । अर्थात् आगामी दिनमा ट्राफिक जामको समस्या झनै बढ्ने छ ।

जामबाट मुक्ति पाउनका लागि मानिसहरु स्मार्ट मेशिनको प्रतिक्षामा छन् । उनीहरुलाई लाग्छ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को मद्दतबाट हामीले ट्राफिक जामबाट राहत पाउन सक्छौं ।

बेंगलुरुको मनिटरिङ सिस्टम

केही व्यक्तिहरु आफै चल्ने गाडीहरुको हरेक समस्याको समाधान मान्छन् । किनभने रोबोटबाट चल्ने खालका गाडीहरुले ट्राफिक नियम उल्लंघन गर्दैनन् । लेन अनुशासनको पालना गर्दछन् र अप्ठ्यारो परिस्थितिमा छिटो निर्णय लिन्छन् । तर अहिले सडकमा ‘सेल्फ ड्राइभिङ कार’ देखिन कमसेकम दुई दशक लाग्ने छ ।

तर, आगामी दुई दशकको योजना बनाउनेहरुलाई नै दिनहुँ बढ्दो गाडीहरुको भिड छिचोल्नुपर्ने छ । अब यस्तो सिस्टमको विकास गर्नुपर्ने छ जसबाट जामको तत्काल समाधान होस् ।

बैंगलुरुमा व्यस्त समयको क्रममा ट्राफिकको गति औसत चार किलोमिटर प्रतिघण्टा हुन्छ । यर्थात् यसको गति कछुवाको चाल जस्तै हुन्छ । यो जामबाट मुक्ति पाउनका लागि सिमेन्स कम्पनीले एक मनिटरिङ सिस्टमको विकास गरेको छ । यो सिस्टमले ट्राफिक क्यामराको मद्दतबाट जाममा नजर राख्छ । कुनै पनि सकडमा गाडीको चापलाई हेरेर जाम हुनुभन्दा पहिल्यै यसले जामको पूर्वानुमान गर्छ । त्यसपछि ट्राफिक लाइटलाई यसरी बल्ने र निभ्ने बनाइन्छ कि सडकमा जाम नै हुँदैन ।

 

ट्राफिक सिस्टममा यसरी काम गर्नका लागि धेरै तथ्यांकको आवश्यकता पर्छ । सीसीटीभी क्यामरादेखि लिएर कारमा जडान गरिएका नेविगेशन सिस्टमसम्म धेरै आँकडाहरु आवश्यक पर्छ । त्यसैले धेरै क्यामराहरु सडकमा लगाइएको छ ताकि गाडीहरुको चापको पूर्वानुमान गर्न सकियोस् ।

आर्टिफिसियल इन्टेलिजेन्सको सहयोग

अमेरिकाको मिशिगन युनिभर्सिटीका प्रोफेसर गेबोर ओरोस्ज भन्छन्, न्यूटनको समयदेखि नै मानिसहरु गणितको मोडलको मद्दतबाट आफ्ना समस्याको समाधान खोज्न थाले । यदि हामीसँग तथ्यांक छ भने हामी धेरै चुनौतिहरुलाई पार लगाउन सक्छौं । यो कुरा ट्राफिक जाममा पनि लागु हुन्छ ।

त्यसैले आज आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतबाट ट्राफिक जाम कम गर्ने कोशिस भइरहेको छ । लण्डनको प्रसिद्ध एलन तुरिग इन्सटिच्युट र टोयोटा मोबिलिटी फाउन्डेस मिलेर हालै नयाँ प्रोजेक्ट सुरु गरेका छन् । यसको उद्देश्य ट्राफिक म्यानेजमेन्ट सिस्टमलाई राम्रो बनाउने हो । र, जाम हुनुभन्दा अगाडि नै त्यसको भविष्यवाणी गरेर जामबाट मुक्ति पाइयोस् ।

टोयोटा फाउन्डेसनका अनुसन्धान प्रमुख विलियम शर्निकाफ भन्छन्, ‘चलाख मेसिनले हाम्रो भविष्यवाणीको क्षमता बढाउन सक्छ । शहरका म्यानेजरहरु यसको मद्दतबाट छिटो निर्णय लिन सक्छन् र ट्राफिक संकेत बत्ती र गाडीहरुको रुट बदलेर जाम पर्नबाट मानिसहरुलाई जोगाउन सक्छन् ।

अमेरिकाको पिटर्सबर्ग शहरमा यस्तै खालको ट्राफिक म्यानेजमेन्ट सिस्टम सन् २०१२ देखि नै प्रयोगमा आइरहेको छ । कार्नेगी मेलान युनिभर्सिटीले विकास गरेको यो सिस्टमको मद्दतबाट सडकमा निगरानी गरिन्छ । आवश्यक परेमा रुट परिवर्तन वा ट्राफिक सिग्नल बदलेर जाम हुनबाट जोगाइन्छ । दावी गरिन्छ कि यसबाट पिटसबर्गमा ट्राफिक जाममा ४० प्रतिशत कमी आएको छ र गाडीबाट हुने प्रदुषण पनि २५ प्रतिशतसम्म घटेको छ ।

यस सिस्टमलाई काम गर्नका लागि भिडियो फिड चाहिन्छ । यो भनेको सडकको लाइभ तस्वीर हो जसले सरट्र्याकलाई अनुमान गर्न मद्दत गर्दछ र कहाँ जाम हुँदैछ भनेर पूर्वानुमान लगाउँछ । त्यसैगरी ट्राफिक रुट परिवर्तनको लागि दिशानिर्देश गर्दछ ।

सिमेन्स मोबिलिटी कम्पनीले आफ्नो कम्प्युटर नेटवर्कको सहयोगमा धेरै शहरहरुलाई ट्राफिक जामबाट मुक्ति दिलाउने काम गर्दै आएको छ ।

इन्टेलिजेन्स ट्राफिक सिस्टमका प्रमुख मार्कस श्लिट भन्छन्, ‘विश्वका धेरै ठाउँहरुमा हाम्रो सिस्टमले काम गरिरहेको छ र यसलाई अझ राम्रो बनाउन रात–दिन कोशिस जारी छ । पछि ट्राफिक सिस्टम यति धेरै पेचिलो हुनेवाला छ कि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सिस्टम विना व्यवस्थापन गर्न सकिँदैन । तथ्यांकको सहयोगमा हामी ट्राफिक जामको स्थिति पत्ता लगाएर त्यसको निकास पनि निकाल्न सक्ने छौं ।’

जर्मनीको हेजेन शहरमा आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतबाट ट्राफिक लाइट कन्ट्रोल गरिन्छ । यसका चौराहामा गाडीहरुलाई हरियो बत्तीको पर्खाइमा थोरै समय मात्र खर्चिनुपर्छ ।

यसैगरी आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग केबल गाडिहरुमा मात्र हुँदैन । पोर्चुगलको राजधानी लिस्बोनमा इलेक्ट्रिक बाइकमा पनि यसको प्रयोग भइरहेको छ । शहरमा हुने जामको वास्तविक तस्वीरको मद्दतबाट यहाँको प्रणालीले जानकारी दिन्छ कि कुन ठाउँमा इलेक्ट्रिक बाइकहरुको माग बढ्नेवाला छ र कहाँनेर चार्जिङ स्टेशनको बढी आवश्यकता छ । यसबाट इलेक्ट्रिक बाइकको उपस्थिति जनाउने कम्पनीलाई पनि सहयोग पुग्ने छ । मानिसहरुको आवश्यकताको हिसाबले यो बाइक तुरुन्त उपलब्ध हुन्छ ।

तर, कयौंपटक मेशिनले दिने निर्णय काम नलाग्न सक्छ । किनभने उसले दिने निर्देशन मानिसहरुले पालना नगर्न सक्छन् । यदि आर्टिफिसियल इन्टेलिजेन्सले पटक–पटक रुट परिवर्तन गरेमा मानिसहरुलाई झर्को लाग्नसक्छ, किनभने मानिसले सोच्छ– म हिँड्ने रुट पटक–पटक किन परिवर्तन गराइन्छ ?

तर, आर्टिफिसियल इन्टेलिजेन्सको फायदा धेरै छ । ट्राफिक कन्ट्रोल गर्नेदेखि मानव बस्ती भएका क्षेत्रमा गाडीबाट हुने प्रदुषण रोक्न र पार्किङका लागि सही ठाउँबारे जानकारी दिनका लागि यसको प्रयोग भइरहेको छ ।

जानकारहरु भन्दछन्– मेशिनको काम मानिसलाई दिनहुँ गर्दै आएको एकै प्रकारको कामबाट छुटकारा दिलाउनु हो ताकि ऊ जिन्दगीमा अझै राम्रो काम गर्नका लागि समय निकाल्न सकोस् ।

जस्तो मिल्टन केन्समा सेक्योरिटी क्यामराको मद्दतबाट ट्राफिक जाम नियन्त्रण गरिन्छ । यसबाट मानिसहरको धेरै समय बचत हुन्छ । ट्राफिक जामको विषयमा यहाँको सिस्टमको भविष्यवाणी ८० प्रतिशत सत्य मिल्छ ।

त्यसैले ट्राफिक म्यानेजमेन्टका लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले हाम्रो जिन्दगीलाई थोरै भए पनि गति र थोरै भए पनि सुखानुभूति दिलाउने छ ।

(बीबीसीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment