+
+
Shares

कलाकार महंगिदा फिल्म निर्माणमा अप्ठ्यारो

दिप्सन लुइटेल दिप्सन लुइटेल
२०७५ पुष १६ गते १२:०३

नेपाली चलचित्रको निर्माण घटेको छैन । कतिपयले वुझेर होस् या कतिपयले नवुझेरै होस्, यो क्षेत्रमा करोडौ लगानी गरिरहेका छन् । बर्षमा निर्माण हुने सय बढी चलचित्रमा सबै चलचित्र प्रदर्शनमा आउँदैनन भने कतिपय चलचित्र त हलमा लागेको दर्शकले पत्तो पाउँदैनन् । एक वर्षमा मुश्किलले आधी दर्जन चलचित्रले आफ्नो लगानी बचाउँछन् । ती मध्ये पनि एकाध चलचित्रका निर्माताको अनुहारमा पैसा कमाएको खुशी देखिन्छ, अरु त उही फिक्का हाँसो नै हाँस्ने हुन् ।

नेपाली चलचित्रको बजार सानो छ । चलचित्रको व्यापार सिमित घेरामा खुम्चिएको छ । चलचित्रको कथावस्तुको स्तर उकासिएको छैन । महंगा क्यामेरा र महंगा लोकेशनमा खिचेर चलचित्र स्तरिय बन्छ भन्ने भ्रम बढेको छ, कथावस्तुमा ध्यान दिने सोच अझै पनि निर्मातामा आएको छैन । चलचित्रको व्यापार घटिरहँदा चलचित्रमा काम गर्ने कलाकारको पारिश्रमिक निकै चर्को बनिरहेको छ । एक करोड मुश्किलले कमाई गर्ने नेपाली चलचित्रमा एक कलाकारको पारिश्रमिक ४०–५० लाखको हारहारीमा छ । यसले गर्दा चलचित्र निर्माणको लगानी निकै बढिरहेको छ । अहिले दुई करोड भन्दा कम बजेटमा चलचित्र निर्माण गर्न निकै गाह्रो पर्छ ।

यो बर्ष रिलिज भएको चलचित्रमा स्पष्ट नाफामा गएका चलचित्रमा ‘नाई नभन्नु ल ५ र छक्का पन्जा ३’ मात्र हो । ‘रामकहानी, जय भोले, प्रसाद’ लगायतका चलचित्रले मुश्किलले लगानी उठाएका छन् । सिमित कलाकारमा घेरिएको नेपाली चलचित्र उनीहरुकै वरिपरी घुमेको छ । नयाँ कलाकारमा निर्माताले लगानीको जोखिम उठाउन सक्दैनन्, चलेका भनिएका कलाकारको मुल्य सुन भन्दा महंगो छ ।

अहिलेका चल्तीका कलाकार अनमोल केसीको ’कृ’ले पनि आफ्नो लगानी नेपालबाट मात्र सुरक्षित गर्न सकेन । अनमोलले ४० देखि ५० लाख पारिश्रमिक लिएको चर्चा चल्ने गर्दछ । अनमोललाई लिनका लागि निर्माताहरुको तछाडमछाड पनि उस्तै छ । अनमोल केसी बर्षमा एउटा मात्र चलचित्र गर्छन् । त्यस्तै अर्का स्टार नायक प्रदिप खड्का अभिनित चलचित्र ’रोज’ले त हलमा पानी समेत भन्न पाएन । उनी अभिनित अर्को चलचित्र ‘लिलिबिली’को लगानी पनि नेपाली बक्स अफिसमा सुरक्षित छैन ।

अनमोल र प्रदिपको स्टारडममा मात्र होइन, पारिश्रमिकमा पनि प्रतिस्पर्धा देखिएको छ । उनीहरुकै सिको गर्दै अहिले उदाउँदै गरेका कलाकारहरु पल शाहले पनि पारिश्रमिक बढाएको खबर छ । अर्कोतिर, विपिन कार्की, सलिनमान बनियाँ, आर्यन सिग्देल, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा लगायतको पारिश्रमिक पनि कमजोर छैन ।

चलचित्रको बजार हेर्दा के अहिले चलेका भनिएका कलाकारले यति महंगो पारिश्रमिक डिमाण्ड गर्ने समय छ त ?  ५० लाख पारिश्रमिकको कुरा सबै हल्ला मात्र भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए । ‘५० लाख पारिश्रमिक दिनका लागि पहिला बजार पनि हुनुपर्छ । साथमा लगानी बच्ने आधारहरु पनि हुन आवश्यक छ । न नेपाली चलचित्रले राम्रो बजार पाउन सकेको छ । निर्माता डुबिरहेका छन् अनी कहाँबाट कलाकारलाई ५० लाख दिने ? यो सबै हल्ला मात्र हो ।’

नेपाली चलचित्र बजारमा कुनै पनि कलाकारको स्टारडमले लगानी बचाउने सक्ने अवस्था नभएको आकाशले बताए । उनले भने–‘हामीले कलाकारको पारिश्रमिक बढाउने भन्दा पनि कथाबस्तु र प्रस्तुतिमा विशेष ध्यान दिन आवश्यक छ ।’
त्यस्तै, पुराना निर्माता छविराज ओझा कलाकारको पारिश्रमिक बढेका कारण आफूले चलचित्र निर्माण गर्ने आट गर्न नसकेको बताए । उनले भने–‘चलचित्रले पोस्टरको समेत पैसा उठाउन सकेको छैन । कलाकारहरु भने ५० लाख माग्दै हिडेका छन् । कसरी चलचित्र बनाउनु ?’ कलाकारलाई ५० लाख पारिश्रमिक दिन सक्ने चलचित्र बजार बनिनसकेको उनले बताए ।

छविले भने–‘कुनै कलाकारले ५० लाख पारिश्रमिक लिएर चलचित्रको लगानी सुरक्षित हुने ठोकुवा गर्छ भने म लगानी गर्न तयार छु । होइन भने, चलचित्रको बजार खोजेर मात्र पारिश्रमिक माग्नु उचित हुन्छ ।’ निर्देशक तथा कलाकार निश्चल बस्नेत भने यस कुरामा भिन्न मत राख्छन् । उनले कलाकारलाई दिएको रकम पनि लगानी भएको बताए । साथै, उनले निर्माताले कुनै कलाकारमाथि पूर्ण विश्वास गरेर नै यति महंगो पारिश्रमिक दिने गरेको सुनाए । उनी भन्छन्–‘कलाकारलाई कत्ति पारिश्रमिक दिने त्यो निर्माताको हातमा नै हुन्छ । यदि निर्माताले उक्त कलाकारलाई ५० लाख दिदा आफ्नो लगानी उठ्ने देख्छ भने मात्र निर्माता उक्त पैसा दिन तयार हुन्छ, नत्र कहाँ दिन्छ र ?’

निश्चल कलाकारले ५० लाख डिमाण्ड गर्नु वा लिनु नराम्रो नभएको बताउँछन् । ‘सबै कलाकारले ५० लाख मागेका छैनन् र लिएका पनि छैनन् । सिमित कलाकारले आफ्नो स्टारडम देखाउन ५० लाख माग्छ भने त्यो नराम्रो हैन ।’ बस्नेतले भने ।

बस्नेत अहिले चलचित्र निर्देशन भन्दा पनि अभिनयमा व्यस्त छन् । उनले पनि एउटा चलचित्रमा काम गरेको १७ लाखसम्म लिएको चर्चा चलचित्र बजारमा नचलेको होइन । चलचित्र निर्देशक प्रदिप भट्टराई कलाकारको पारिश्रमिक बढ्नाले निर्मातालाई गाह्रो परिरहेको बताउँछन् । कलाकारले नै चलचित्रको बजार बुझेर आफ्नो पारिश्रमिक तय गर्नुपर्ने उनको तर्क छ । उनले अनलाइनखबरसँग भने–‘कलाकारले नै आफ्नो बजारको ब्रान्ड बुझेर आफ्नो पारिश्रमिक तय गर्न आवश्यक छ । हामीले भन्दा पनि यस कुरालाई उहाँहरुले नै बुझ्नु पर्ने हो ।’

तर कलाकारको पारिश्रमिक बढ्नाले चलचित्रको स्तर छुट्टिने उनको बुझाई छ । ‘कलाकारको पारिश्रमिक बढ्नाले दर्शकले चलचित्रको स्तर थाहा पाउँछन् । त्यो राम्रो पक्ष पनि हो ।’ निर्देशक दिनेश राउत ५० लाखको चर्चा हल्ला मात्र भएको तर्क दिन्छन् । उनले भने–‘कलाकारले ५० लाख लियो भन्ने त हल्ला मात्र हो । ५० लाख न यहाँ कसैले दिएको छ, न कसैले लिएको नै छ ।’

पारिश्रमिकको विषयमा कलाकार आफैले वुझेर माग गर्नुपर्ने दिनेशको भनाई छ । ‘कलाकारलाई निर्माताले दिने, नदिने भन्दा पनि कलाकारले नै आफूले लिने समय भएको छ या छैन भन्ने वुझेर डिमाण्ड गर्न आवश्यक छ । उनले अगाडि भने–‘यदि ५० लाख पारिश्रमिक लिएर निर्मातालाई नाफा दिन सक्छ भने त्यती पारिश्रमिक लिनु राम्रो पनि हो ।’

नेपाली चलचित्रको बजार अहिले जुन तरिकाले विस्तार भैरहेको छ, त्यो अनुसारको पारिश्रमिक लिएर कलाकारले काम गर्दा सबैलाई सहज पनि हुन्छ । रोहित अधिकारीले बनाउन लागेको चलचित्रमा कलाकार दिपकराज गिरीले नाफाको ५० प्रतिशत लिएका छन् । ५० लाख वा त्यसको वरिपरीको पारिश्रमिक लिने कलाकारले नाफाको प्रतिशत लिनेतर्फ आफूलाई केन्द्रित गरेर स्तरिय चलचित्र निर्माणमा बल गर्न आवश्यक छ । अहिले नेपाली चलचित्रलाई विश्व बजारमा विस्तार गरेर स्तरिय चलचित्र बनाउन आवश्यक छ । यसका लागि कलाकारले आफू महंगिन भन्दा पनि चलचित्रलाई बिषयवस्तु र मेकिङका आधारमा बलियो बनाउन तर्फ सोच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?