Comments Add Comment

जलवायु सम्मेलन : हिमालमा हिउँ सुक्यो, तराइमा इनारबाट पानी आएन

१७ पुस, सिन्धुपाल्चोक । जलवायु सम्मेलनका सहभागीहरुले जलवायु परिवर्तनको असर नेपालमा देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । ‘हिमालमा हिउँ कम हुँदै गएको छ, तापक्रम बढ्दै गएको छ’, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले भने ।

सोमबारदेखि मेलम्ची नगरपालिकाको गुफाडाँडामा सुरु भएको सम्मेलनमा पहाडी र हिमाली क्षेत्रका प्रतिनिधिहरुले हिमालमा हिउँ कम हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए भने तराइ क्षेत्रका प्रतिनिधिहरुले जलवायु परिर्वतनको असरले भूमिगत पानीका स्रोत सुक्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले तराइमा डिप बोरिङबाट पानीको उपभोग गर्दै आए पनि अहिले सुक्दै गएको बताए ।

चिसो मौसममा पनि तापक्रम बढ्दै गएको र यो जलवायु परिर्वतनको कारण यस्तो भएको विज्ञहरुले सम्मेलनमा बताएका थिए । सिन्धुपाल्चोक जस्ता जिल्लाहरुमा पछिल्लो केहीवर्ष यतादेखि ० दशमलव ३ डिग्रीका दरले तापक्रम बढ्दै गएको विज्ञहरुले बताएका थिए ।

हरेक ३०/३० वर्षमा हुने जलवायु परिर्वतन अहिले प्रत्येक दुई, दुईवर्षमा नै हुने गरेको काठमाडौ विश्वद्यालयका प्राध्यापक रमेश मास्केले बताए । प्रकृतिलाई हामीचाहिदैन तर हामीलाई प्रकृति चाहिन्छ त्यसैले पनि जलवायु अनुकुलताका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । ‘विज्ञहरुले पहिरो जान्छ भनेका थिए, तर हामी सचेत हुन सकेनौं’ उनले भने । सम्मेलनमा विज्ञहरुले अब स्थानीयतहहरुले नवीकरणीय ऊर्जामा लाग्नुपर्ने बताएका थिए ।

जलवायु परिर्वतनबाट नेपाल चौथो जोखिम राष्ट्रको सूचीमा परेको त्रिभुवन विश्वविद्यालयका डा. प्रमोदकुमार झाले जानकारी दिए । यसको न्युनीकरण र अनुकुलताको लागि वन क्षेत्रको विकास र संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । अब सबै प्रदेशहरुमा जलवायु परिर्वतन अनुसन्धान केन्द्र स्थापना हुनुपर्नेमा सम्मेलनमा सहभागी विज्ञहरुले जोड दिएका थिए ।

सम्मेलनमा जलवायु क्षेत्रका विज्ञहरुले हिजो ११ र आज ११ गरी विभिन्न २२ वटा कार्यपत्रहरु पेश गरेका थिए । कार्यपत्रमा सहभागीहरुले दिएको सुझावका आधारमा १० बुँदे घोषणा पत्र जारी गरिएको जिल्ला समन्वय समिति सिन्धुुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

१० बुँदे घोषणापत्र जारी

१० बुँदे सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्दै राष्ट्रिय जलवायु सम्मेलन सकिएको छ । सम्मेलनले हरेक स्थानीय तहमा जलवायु मापन केन्द्र स्थापना गर्नेलगायतका १० बुँदे घोषणापत्र जारी गरेको हो ।

७५ जिल्ला समन्वय समितिका प्रतिनिधि, जलवायु विज्ञ, जिल्लाका स्थानीय तहका प्रमुखलगायत सहभागी सम्मेलनले सम्मेलनले जलवायु अनुकुलका योजनाबनाउनपहलगर्न सरकारसँग माग गरेको छ ।

घोषणा पत्रजारी गर्दै जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दासल सम्मेलनले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको ध्यान खिचेको दावी गरिन् ।

यस्तो छ १० बुँदे घोषणा पत्र

१.जलवायु परिवर्तन तथा यसले पारेको असरबारे वैज्ञानिक खोज तथा अनुसन्धानलाई प्रोत्साहन गर्दैै जनचेतना अभिवृद्धिमा जोड दिने ।

२. जलवायु परिवर्तन र यसको प्रभावका बारेमा विस्तृत वैज्ञानिक तथ्य तथा वास्तविकताको पहिचानका लागि हरेक गाउँपालिका र नगरपालिकामा जलवायुमापन केन्द्र स्थापनाको लागि पहल गर्ने ।

३. जलवायु परिवर्तन र यसले मानव जीवनमा पारेका नकारात्मक असरहरुको सन्दर्भमा उक्त समस्या र असर उपर भरपर्दाे जानकारी र सूचनालगायत क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन हरेक जिल्ला समन्वय समितिले समन्वयकारी भूमिकाको लागि पहल गर्ने ।

४. समुदायमा आधारित जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रमको तर्जुमा तथा त्यसको प्रभावकारी कार्यान्वयनमा राष्ट्रिय, प्रादेशिक तथा स्थानीय सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाको समन्वयकारी भूमिकालाई जोड दिने ।

५. जलवायु परिवर्तन तथा वातावरणीय अनुकुलन प्रविधि विकास र उपयोग तथा आवश्यक जनशक्तिको क्षमता अभिवृद्धि गर्न विशेष कार्य योजना निमार्ण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न सबै तहको सरकारसँग जिल्ला समन्वय समितिले सहकार्य गर्ने ।

६. जलवायु उत्पन्न जोखिम तथा प्राकृतिक प्रकोपको न्यूनीकरणको लागि स्थानीय अनुकुलन योजना निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने तथा स्थानीय तहमा नीति कार्यान्वयनको लागि आवश्यक कानुनी व्यवस्था लागू गर्न जोड दिने ।

७. जलवायु परिवर्तन सम्बन्धी महासन्धीको केन्द्रविन्दुमा स्थानीय वासिन्दा रहेकाले वातावरणीय तथा जलवायु परिवर्तनका मुद्दाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पैरवी गर्दा स्थानीय समस्या तथा गरिएका समाधानका प्रयासलाई जोड दिने ।

८. राष्ट्रिय, प्रादेशिक र स्थानीय रणनीति, नीति तथा योजनाहरू बनाउँदा जलवायु परिवर्तनलाई विशेष जोड दिदै जलवायु कोषको व्यवस्था गर्ने र कार्यान्वयनमा पारदर्शिता ल्याउने ।

९. वातावरणलाई विगारेर हैन श्रृङ्गारेर गरिनु पर्छ भन्ने मूलमन्त्रलाई आत्मसात गरी जलवायु मैत्रीविकासलाई प्रबद्र्धन गर्ने ।

१०.जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघिय खाका महासन्धीको सम्मेलन (UNFCCC Climate Change Conference) पूर्व नेपालको तयारीको रुपमा राष्ट्रिय जलवायु सम्मेलनको निरन्तर आयोजना गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment