१८ पुस, रुपन्देही । रुपन्देही व्यापार संघको आयोजनामा बुटवल मण्डपमा सञ्चालित लुम्बिनी एक्स्पो एवम् अन्तर्राष्ट्रिय व्यापार मेलामा जितगढीको नमूना युद्धस्थल दर्शकको पहिलो रोजाइमा परेको छ । प्रदर्शनीस्थलमा छिर्नासाथ हातमा भाला, खुकुरी र तरबार लिएका नेपाली सेनाहरु आधुनिक हतियारधारी बृटिश सेनासँग लडिरहेको नमूना युद्धस्थल देख्न सकिन्छ ।
विक्रम संवत् १८७२ मा आधुनिक हतियारसहित आएका अंग्रेज सेनालाई कर्णेल उजिर सिंह नेतृत्वको नेपाली सेनाले जितगढी किल्लामा परास्त गरेको थियो । त्यही ऐतिहासिक जितगढीको गाथा बुझाउँदै छ, लुम्बिनी एक्स्पोले ।
युद्धस्थलमा रातो पोशाक सहित आधुनिक हतियारधारी अंग्रेज सेनासँग कालो पोशाक लगाएका नेपाली सेना भिडेको देखिन्छ । जितगढी युद्ध स्थलमा नेपाली सेना समेत कालो पोशाकमा हतियारसहित उभिएका छन् ।
यहाँ प्रयोग गरिएका तोप, सेनाको पोशाक र गोली युद्धमै प्रयोग भएको वास्तविक भएको सार्दुल जंग गुल्म हनुमानढोकाका क्याप्टेन वासुदेव भण्डारीले बताए । सार्दुल जंगलाई त्यतिखेरकै सेनाको अंगको रुपमा नेपाली सेनाले मान्दै आएको छ । हनुमानढोकाबाटै वास्तविक पोशाकसहितका सेनाहरु पनि मेलास्थलमा खटिएका छन् ।

नमूना युद्धस्थल सुरक्षित राख्न मुख्यमन्त्रीको आग्रह
पहाडको फेदी तिनाउ नदीको किनारमा अवस्थित जितगढी किल्ला क्षेत्रबाट तत्कालीन कर्णेल उजिरसिंहले अंग्रेज सेनालाई कसरी हराएका थिए भन्ने सन्देश नमूना युद्ध प्रदर्शन गरेर बुझाउन खोजिएको छ । नेपाली महिलाहरु हातमा बच्चा च्यापेर, भाला, तरबारसहित विदेशी फौजसँग लडेको सचित्र प्रदर्शन गरिएको छ ।
मेला शुरु भएकै दिनदेखि नमूना जितगढी युद्धस्थल दर्शकहरुको आकर्षणको केन्द्र बनेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समेत नमूना युद्धस्थल अवलोकन गर्दै यसलाई सुरक्षित राख्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो निकै सकारात्मक कदम हो, नमूनाका रुपमा राखिएको प्रदर्शनले युद्धको इतिहास बुझाउन सजिलो बनाउछ, यसले पर्यटक पनि लोभ्याउँछ ।’

जितगढी किल्लालाई विजयको प्रतिकको रुपमा विकास गर्न प्रदेश सरकारले समेत बजेट छुटाएको छ । बुटवल उपमहानगरले गुरुयोजना बनाएर संरक्षणको काम थालिसकेको छ । सरकारले समेत यसको संरक्षणमा चासो राखेको बेला नमूना युद्धस्थल महोत्सवमा राखेपछि यसकै नमूना जितगढीमै बनाउनुपर्ने सुझाव दिन थालिएको छ ।
भारतीय कामदारले बनाए युद्धस्थल
महोत्सव आयोजक संस्था रुपन्देही व्यापार संघले नेपाली सेनासँग समन्वय र सहकार्य गरेर नमूना युद्धस्थल निर्माण गरेको हो । विश्वले अंग्रेज हारेको क्षेत्र चिन्न आवश्यक रहेकाले पर्यटन प्रवर्द्धन गर्नकै लागि नमूना युद्धस्थल निर्माण गरिएको संका पूर्वअध्यक्ष एवम् पर्यटन पार्कका संयोजक श्रीकृष्ण पोखरेलले बताए ।
अस्थायी संरचनाका रुपमा यसको निर्माण भएको छ । तर, जितगढी किल्लासहित लुम्बिनी र सगरमाथा सहितको पर्यटन पार्क बनाउन आयोजकले १० लाख रुपैयाँ खर्च गरेका छन् । करिव एक महिना लगाएर यो पार्क निर्माण गरिएको हो ।

भारतबाट मजदुर ल्याएर युद्धमा लडेका नेपाली र अंग्रेज सेनाको मूर्ती तयार पारिएको संयोजक पोखरेलले बताए । उनले भने, ‘यो जितगढीको प्रचार मात्रै होइन, यस्तै युद्धस्थल बनाउनुपर्छ भन्ने सन्देश दिनका लागि पनि बनाइएको हो ।’
दुई सय वर्षअघि नेपालले अंग्रेजसँग विभिन्न स्थानमा युद्ध लडेको थियो । कुमाउ-गढवाल (नाहान), मकवानपुर गढी, कोशी-टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग नेपाली फौजको लडाइँ भएको इतिहास छ । यी लडाइँहरुमा नेपाली फौजको नेतृत्व अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा लगायतले गरेका थिए ।
नमूना युद्धस्थलमा तस्विर खिच्ने युवा पुस्ताहरुको भिड नै लाग्ने गरेको छ । नमूना युद्धस्थलसँगै संगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी र अखण्ड दीपको नमूनासमेत बनाइएको छ । मेलास्थल बुटवल मण्डपमा बनाइएको नमूना युद्धस्थलले अवलोकनकर्तालाई जिज्ञासु बनाएको छ ।

यसले बुटवलको जितगढीलाई बुझ्न सघाउ पुर्याएको छ । अंग्रेज हारेको युद्धस्थलको नमूना निकै लोभलाग्दो र आम नागरिकले बुझ्ने गरी बनाइएको छ ।
‘इतिहासको किताबमा पढिएको थियो, आज प्रत्यक्ष रुपमा युद्धस्थल नै देख्न पाइयो,’ बुटवल सुख्खानगरका ७१ वर्षीय दलबहादुर थापाले भने, ‘असाध्यै मन पर्यो, यसले इतिहास उजागर गरेको छ ।’


 
 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4