Comments Add Comment

चोलेन्द्रको विधिशास्त्र : अदालत वेद, कुरान वा बाइबलजस्तै !

१८ पुस, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले न्यायाधीशको विवेकमाथि प्रश्न गर्न नमिल्ने बताएका छन् । जबराले अदालत र न्यायाधीशलाई वेद, कुरान वा बाइबलको संज्ञा दिएका छन् ।

बुधबार प्रधानन्यायाधीशको पदभार ग्रहणपछि पत्रकार सम्मेलनमा सहभागी बनेका जबराले भने– ‘हाम्रो बारेमा तपाई किताबै लेख्नुस्, साहित्य लेख्नुस्, कविता लेख्नुस् । तर, विना तथ्य, विना आधार आक्षेप लगाउने काम भविश्यमा नहोस् ।’

प्रधानन्यायाधीश जबराले पत्रकार सम्मेलनमा भने, ‘अदालत र न्यायाधीश यति संवेदनशील विषयवस्तु हो, मुसलमानको कुरानजस्तो हो । हिन्दुको वेदजस्तो हो । इसाइको बाइबलजस्तो हो यो संस्था । सबै नागरिकको आत्मा हो ।’

जबराले पत्रकारहरुसँग भने, ‘तपाईहरुको धर्म र दायित्व यो संस्था बचाउनु हो । यो संस्था बचाउनुभएन भने, यो संस्थाको संरक्षण गर्नुभएन भने, यो संस्थाप्रतिको तपाईहरुको दायित्व भुल्नुभयो भने संविधानले नागरिकले परिकल्पना गरेको स्वतन्त्र न्यायपालिका, निष्पक्ष न्यायपालिका, सक्षम न्यायपालिका र कानूनी शासनको न्यायपालिका प्राप्त गर्न सक्नुहुनेछैन ।’

प्रधानन्यायाधीश चोलेन्द्रले विगतमा गरेका कतिपय फैसलामाथि मिडियामा प्रश्न उठ्दै आएका छन् । मिडियामा मात्रै होइन, संसदीय सुनुवाइका क्रममा पनि जबरामाथि जनप्रतिनिधि र नागरिकस्तरबाटै समेत केही प्रश्नहरु उठे । सायद यिनै प्रश्नहरुतर्फ लक्षित गर्दै राणाले बुधबार प्रशिक्षणकै शैलीमा भने– ‘न्यायाधीशको विवेकमा प्रश्न नगर्नोस् ।’

जबराले मिडियाको भूमिकामाथि आलोचना र असन्तुष्टि प्रकट गर्दै अदालत र न्यायपालिकाबारे लेख्दा सञ्चारमाध्यम तथ्यपरक नभएको आरोपसमेत लगाए । पत्रकारलाई प्रशिक्षणकै शैलीमा उनले भने, ‘दायित्व र कर्तव्य भन्ने कुरा तपाईहरुले बुझ्नुपर्छ, अब भविश्यमा तपाईहरुबाट आशा राख्छु, न्यायालय र न्यायाधीशबारे लेख्दा तथ्यपरक होस् ।’

नवनियुक्त प्रधानन्यायाधीश जबराले न्यायाधीशको विवेकमा प्रश्न नगर्न पत्रकारलाई सम्झाए । उनले भने, ‘न्यायाधीशको विवेकमा तपाईहरुले प्रश्न गर्नुहुँदैन ।’

न्यायाधीशले मिसिलमा रहेका प्रमाणहरुको अधिकतम विवेक प्रयोग गरेर आत्मा प्रयोग गरेर निचोड निकाल्ने बताउँदै जबराले भने, ‘त्यो निचोड सधैं एउटै हुँदैन । एकै किसिमको हुन्छ भन्ने भ्रममा नपर्नुस्, त्यो हुनै सक्दैन । संसारमा कहीँ पनि हुँदैन ।’

फैसला उल्टी न्यायको आत्मा

प्रधानन्यायाधीश जबरामाथि लागेको आरोपमध्ये तल्ला तहका अदालतका फैसला उल्टी हुँदै दोषीले सफाइ पाउँछन् भन्ने पनि रहेको छ । तर, बुधबार पत्रकारले राखेको यसै प्रश्नमा जबराले फैसला उल्टी न्यायको आत्मा भएको दाबी प्रस्तुत गरे ।

अदालतको आदेश र फैसला कम्प्युटरजस्तो नभएको भन्दै जबराले त्यस्तो कल्पना नगर्न आग्रह गरे । ‘तपाईहरु कम्प्युटरमा हाल्दिनुस्, सट्ट हिसाब गरेर निस्किहाल्छ नि । त्यो सम्भावना छैन । संसारमा कहिँ पनि छैन’, उनले भने, ‘उल्टी हुने, सुल्टी हुने, फेरि उल्टी हुने कानूनी प्रक्रिया हो । यो त न्यायको आत्मा हो । यसलाई (न्याय) मरेको छ भन्ने कदापि नठान्नुस् । एउटाले हेरेको अर्कोले हेर्ने, फेरि अर्कोले हेर्ने यो विधिको प्रविधि हो, यो हुनुपर्छ रहिरहन्छ, मुद्दा उल्टीको विषयमा त्यत्रो चिन्ता नगर्नुस् ।’


प्रधानन्यायाधीश जबराले अगाडि भने, ‘तपाईहरुलाई थाहै छ नि, न्यायप्रशासन ऐनले ग्रेडिङ गरेको छ । तल जिल्ला अदालत छ, त्यसभन्दा माथि उच्च अदालत छ, त्यसभन्दा माथि सर्वोच्च अदालत छ ।’

उनले थपे, ‘सर्वोच्च अदालतमा पनि एकल इजलास छ, त्यसपछाडि संयुक्त इजलास, पूर्ण इजलास र संवैधानिक इजलास छ । संवैधानिक इजलासको फैसला मात्र उल्टी हुन सक्दैन । नभएदेखि सबै सबै मुद्दाहरुमा एकचोटि पुनरावेदन गर्ने या मुद्दा दोहोर्‍याउने या पुनरावेदन गर्ने अवस्थाबाट मुद्दा अघि बढ्छ ।’

बुधबार राष्ट्रपतिबाट सपथ ग्रहण गरिसकेपछि प्रधानन्यायाधीशको पदभार ग्रहण गरेर पत्रकार सम्मेलनमा आउँदा प्रधानन्यायाधीश जबराका साथमा सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीबाहेक सबै न्यायाधीश सहभागी थिए । सुरुमा आफ्नो कार्ययोजना सुनाएका जबराले त्यसपछि पत्रकारका प्रश्नहरु सुनेका थिए ।

‘अदालतमा गुटबन्दी छैन’

जबरामाथि सोधिएको एउटा प्रश्न थियो– अदालतमा गुटबन्दी भयो, न्यायाधीशबीच नै मेलमिलाप भएन, यसलाई कसरी अन्त्य गर्नुहुन्छ ?

प्रधानन्यायाधीशले प्रश्नको जवाफ आफ्ना सहकर्मी न्यायाधीशहरुलाई देखाउँदै सुरु गरे । ‘तपाईहरुले आज भिन्न महसुस गर्नुभएको होला, सधैंभरी एक्लो प्रधानन्यायाधीशमात्रै उपस्थित भएर तपाईहरुले उठाउनुभएको प्रश्न र जिज्ञासाको जवाफ दिने गरिएको थियो,’ जबराले भने, ‘आज मैले मेरा सबै अभिन्न न्यायाधीश मित्र र परिषदका अभिन्न मित्र (न्यायपरिषद सदस्य) साथै लिएर आएको छु ।’

यो पनि पढ्नुहोस जोशीलाई प्रधानन्याधीशको सुझाव : अदालतलाई बन्धक नबनाउनुस्

प्रधानन्यायाधीश जबराले थपे, ‘यति चिजले तपाईंहरुलाई महसुस भएको हुनुपर्छ, भविष्यमा अदालत एक परिवार, एक गठ, एक शक्तिका रुपमा अगाडि बढ्छ ।’

जबराले अदालतमा न्यायाधीशबीच हिजो पनि विवाद नभएको र भोलि पनि विवाद नहुने दाबी गरे । उनले भने, ‘हामीबीचमा हिजो पनि विवाद थिएन, तपाईंहरुमा विवाद थियो भन्नेजस्तो भ्रम मैले देखेँ, त्यो कदापि होइन ।’

उनले अगाडि भने, ‘हामीबीच विवाद हिजो पनि थिएन, आज पनि छैन, भोलि त झन् हामी कुनै पनि हालतमा परिदृश्यमा, तपाईहरुको मनमा आउने गरी देखाउने नै छैनौं र देखिने नै छैन ।’

जबराले न्यायाधीशहरु विभिन्न कारण र आधारमा संगठित भएको हुन सक्ने भन्दै त्यो गुटबन्दी नभएको जिकिर गरे । ‘संगठित हुने आधार र कारण, त्यसका नीति नियम र विधि फरक हुन्छ । त्यस आधारबाट तपाईहरुलाई कतै न कतै मनमा हामी आपसमा विवादित थियौं कि भन्ने लागेको हुन सक्छ’ जबराले भने ‘त्यो तपाईहरुले मनबाट हटाइदिनोस् ।’

‘न्यायसम्बन्धी ज्ञान हुनुपर्छ’

प्रधानन्यायाधीश जबराले प्रशिक्षणको शैलीमा पत्रकार सम्मेलनमा प्रस्तुति दिइरहँदा यो पनि भन्न भ्याए कि न्यायलाई बुझ्न न्याय सम्बन्धी ज्ञान र आचरण हुनुपर्छ ।

उनले भने– ‘न्याय बुझ्नका लागि न्यायमा ज्ञान हुनुपर्‍यो । न्यायमा आचरण हुनुपर्‍यो । न्यायमा अध्ययन हुनुपर्छ । त्यसमा कहिले–कहिले फरक पर्‍यो कि भन्ने तपाईहरुलाई लागेको होला ।’

न्यायलाई सबैले आ–आफ्नो तरिकाले बुझ्ने हुँदा पनि समस्या परेको जबराले बताए । ‘न्याय जहिले पनि संविधानबमोजिम, कानूनबमोजिम, प्रतिपादित नजीर र विश्व्यापी मान्य सिद्धान्तका आधारमा हुन्छ, उनले भने, ‘मिसिलमा रहेका सवुत प्रमाणको अधिकतम मूल्यांकन गरेर न्यायमा नजिक पुग्ने दृष्टिकोणबाट न्याय सम्पादन गरिन्छ ।’

न्यायलाई बुझ्ने आ–आफ्नो तरिका हुन्छ र आ–आफ्नो भाव र सोचाइबाट बुझ्ने गरिन्छ भन्ने सोचाइ गलत भएको बताउँदै जबराले भने, ‘न्यायलाई न्यायकै रुपमा बुझ्नुपर्छ ।’

११ बुँदे कार्ययोजना

प्रधानन्यायाधीश जबराले पत्रकार सम्मेलनमा आफ्नो ४ वर्षे कार्ययोजना सुनाए । उनले यो कार्ययोजना आफ्नो मात्रै नभई सबै न्यायाधीशहरुको स्वीकृतिमा ल्याएको सामूहिक योजना भएको पनि बताए ।

जबराको कार्ययोजनामा अदालतमा भएका अनियमितता, भ्रष्टाचार र विचलनको विस्तृत अध्ययन गर्ने, विचौलिया खोजी गर्ने प्रभावकारी उपाय अवलम्बन गर्न एउटा समिति गठन गर्नेसमेत बताइएको छ ।

त्यस्तै न्यायिक काम कारवाहीका क्रममा अनियमितता भएको वा नभएको निरन्तर अनुगमन गर्न सुक्ष्म अनुगमनकर्ता परिचालन गर्ने जबराको कार्ययोजनामा उल्लेख छ ।

पाँच वर्षभन्दा पुराना मुद्दा एक वर्षभित्र र ३ वर्ष नाघेका मुद्दाहरु २ वर्षभित्र फर्छ्योट गर्ने गरी काम गर्ने जबराले प्रतिवद्धता जनाएका छन् ।

त्यसैगरी मुद्दाको चापअनुसार न्यायाधीशहरु थप्न पहल गर्ने, न्यायाधीश सेवा सुविधा समसामयिक बनाउन पहल गर्ने, न्यायाधीश र न्यायपालिकाको कर्मचारीको एकीकृत आवासका लागि पहल गर्ने लगायतका विषय कार्ययोजना समेटिएका छन् ।

न्यायालयबारे पत्रकारले गम्भीर विषय उठाएकाले छानबिन गर्न लागेको पनि जबराले बताए । उनले भने, ‘तपाईहरुले गम्भीर प्रश्न उठाउनुभएको छ, अदालतमा विचलन भयो । भ्रष्टाचार भयो, ढिलासुस्ती भयो । पेशीमा सेटिङ भयो । सेवाग्राहीले गुनासा गरे, यसको वास्तविक सत्य तथ्य तपाईहरुसामू उजागर गर्नुपर्ने हाम्रो कर्तव्य सम्झियौं । यो दायित्व र कर्तव्यबाट अब न्यायपालिका चुक्दैन ।’

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो पनि पढ्नुहोस ‘बर्थ डे’कै दिन वीरसमशेरका पनातिलाई सर्वोच्चको साँचो यो पनि पढ्नुहोस बन्दना गर्छु, ब्ल्याकमेलिङको आरोपबाट उन्मुक्ति पाऊँ: चोलेन्द्रशमशेर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment