Comments Add Comment

‘बर्थ डे’कै दिन वीरसमशेरका पनातिलाई सर्वोच्चको साँचो

२७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको २९ औं प्रधानन्यायाधीशमा चोलेन्द्र समशेर जबरा सिफारिस भएका छन् । आजै चोलेन्द्रको ‘बर्थ डे’ पनि हो । उनी सन् १९५७ डिसेम्बर १३ मा जन्मिएका हुन् ।

संवैधानिक परिषदको बिहीबार बिहान बसेको बैठकले तेस्रो बरियताका न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

अर्को संयोग कस्तो परेको छ भने आम निर्वाचनपछि बहुमतको स्थायी सरकार बनेजस्तै सर्वोच्च अदालतले पनि २७ वर्षपछि पूर्ण कार्यकाल अर्थात् ४ वर्षका लागि प्रधानन्यायाधीश प्राप्त गर्न लागेको छ । ०४८ सालमा प्रधान न्यायाधीश भएका विश्वनाथ उपाध्यायले ४ वर्ष कार्यकाल खाएका थिए । त्यसयता कुनै पनि प्रधान न्यायाधीशले त्यति लामो अवधि पाएका छैनन् । राणा भने ०७९ पुससम्म अर्थात चार वर्ष प्रधान न्यायाधीश हुनेछन् ।

जोशीको गडबडीले एक वर्ष फाइदा !

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रपछिको दोस्रो बरियतामा रहेका न्यायाधीश दीपकराज जोशी यसअघि नै संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्याायाधीशमा अस्वीकृत भइसकेकाले चोलेन्द्र निर्विकल्प भएका हुन् ।
यो पनि पढ्नुहोस प्रधानन्यायाधीशमा चोलेन्द्र सिफारिस

सर्बोच्च अदालतमा प्रधान न्यायाधीश हुने योग्यता अर्थात ३ वर्ष स्थायी न्यायाधीश भएका अरु दाबेदार थिएनन् । न्यायपरिषद सचिवालयले दीपकराज जोशीलाई कैफियतमा राखेर संवैधानिक परिषदलाई दुबै न्यायाधीशको विवरण पठाएको थियो ।

यसपटक राणा नेकपाको दुई तिहाई बहुमत रहेको संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हुँदा प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता शेरवहादुर देउवाले भने दीपकराज जोशीलाई अन्याय भएको बताएका थिए । देउवाकै अनुपस्थितिका कारण संवैधानिक परिषदको बैठक ५ पटक स्थगित भएको थियो ।

अब नेकपाको दुई तिहाई रहेको संसदीय सुनुवाई विशेष समितिबाट पनि अनुमोदन भएमा राणा सर्बोच्च अदालतको २९ औं प्रधान न्यायाधीश हुनेछन् । उनी २७ वर्षपछि सबैभन्दा लामो अवधि प्रधान न्यायाधीश हुने भाग्यमानी पनि हुनेछन् ।

न्यायाधीश नियुक्त हुँदा कांग्रेसको साथ पाएका राणाले प्रधानन्यायाधीश हुने बेला भने कम्युनिस्टको साथ पाएका छन् ।

को हुन् चोलेन्द्र ?

नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र समशेर जबरा राणा प्रधानमन्त्री वीरसमशेरका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर समशेरका पनाति हुन् ।

जंगबहादुर राणा मरेपछि उनका भाइ रणोद्दीप सिंह केही समय श्री ३ महाराज प्रधानमन्त्री भए । तर, धीर समशेरका १७ भाइ छोराको धैर्य टुटेपछि उनीहरुले काका रणोद्दीपको हत्या गरी शासनसत्ता कब्जा गरेका थिए । त्यसपछि जेठा वीर समशेर प्रधानमन्त्री तथा श्री ३ महाराजा भए ।

उनै वीर शमसेरका छोरा इन्द्र समशेरका नाति हुन्– चोलेन्द्र शमसेर जबरा । चोलेन्द्रका पिता युवराज शमसेर राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।

वकालत गर्दागर्दै चोलेन्द्र ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य पनि भए ।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । उनी सन् १९९६ देखि पुनरावेदन अदालत हुँदै न्यायालयमा प्रवेश गरेका हुन् ।

सुकेधारा गणेशगौरी मार्गका स्थायी बासिन्दा राणाले कानूनमा स्नातक (डीएल) सम्म अध्ययन गरेका छन् । उनले सन् २०१३ मा कोरियामा न्यायालयको विकास सम्बन्धी ट्रेनिङसमेत लिएका छन् ।

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्र ०७१ जेठमा सर्बोच्च अदालतको स्थायी न्यायाधीश बनेका हुन् । त्यसबेला संसदीय सुनुवाई समितिमा तत्कालीन एमाले र माओवादीले राणाको विपक्षमा मत दिएका थिए । तर, अहिले उनी नेकपाकै साथ पाएर सिफारिसमा परेका छन् ।
यो पनि पढ्नुहोस चोलेन्द्र शमशेर : नेकपाका लागि बाध्यात्मक प्रधानन्यायाधीश ?

यदि दीपकराज जोशी प्रधान न्यायाधीश हुन पाएका भए राणाको कार्यकाल तीन वर्षको मात्र हुने थियो । तर, जोशी संसदीय सुनुवाइबाट यसअघि नै अस्वीकृत भएर ओमप्रकाश मिश्र करीव चार महिना प्रधानन्यायाधीश हुने अवसर पाएकाले राणालाई थप एक वर्ष न्यायपालिकाको नेतृत्व गर्ने अवसर प्राप्त भएको हो ।

पछिल्लो समय सर्बोच्च अदालतमा बेञ्च सपिङ र स्थायी इजलासको अभ्यास भएको चर्चा चलिरहेको सन्दर्भमा राणाले आफ्नो चार वर्षे कार्यकालमा न्यायपालिकाको बिग्रको छवि सुधार्ने चुनौति विरासतमा पाएका छन् ।

विगतमा कतिपय आदेश र फैसलाका कारण राणा आफैं पनि विवादमुक्त छैनन् । अब उनको असली परीक्षण शुरु हुनेछ । पछिल्लो समय सुशीला कार्कीको महाअभियोग प्रकरणका बेला भावुक भएर निर्णय सुनाएका कारण चर्चा पाएका चोलेन्द्रले अब विगतको छवि सुधार्दै ४ वर्षमा न्यायालयको शीर उठाउँछन् वा परम्परागत पथमै हिँड्छन् ? यो प्रश्नको उत्तरका उनको कार्यकाल पर्खनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment