Comments Add Comment

एक इनिङले चम्किएका अलराउण्डर !

… त्यो दिन क्यानडाविरुद्धको खेल जितेपछि राति सोमपाल कामी र म होटलको कोठामा सुतिरहेका थियौँ । सोमपाल मेरो रुम पार्टनर । हामी कहिल्यै बेडमा सुत्दैनौँ । भुइँमा नै ओछ्यान लगाएर सुत्छौँ ।

रातको एक बजिसकेको थियो । अरु बेला भएको भए मस्त निद्रामा हुन्थ्यौँ । त्यो रात भने छट्पटाइरहेका थियौँ तर, त्यो खुशीको छट्पटाहट थियो ।

सोमपालले मलाई ‘करण’ भनेर बोलायो । अनि सोध्यो – निद्रा लागेको छैन ?

मैले ‘छैन’ भनेर एक शब्दमा जवाफ दिएँ ।

उसले भन्यो – मलाई पनि लागेको छैन यार । कसरी भयो यो सबै ? साँच्चै त हो नि ? सपना त होइन नि ?

… त्यो दिन जे भएको थियो त्यो सम्झँदा सोमपालले सोधेको प्रश्न एकदमै ठीक थियो ।

पाँचौ बलमा जबरजस्त सट खेलेँ । छक्का लाग्यो । अब जितबाट दुई रन मात्र टाढा । अर्को बल वाइड भयो । खेल बराबरीमा पुग्यो ।अन्तिम बलमा एक रन निकाल्यौँ र जित्यौँ पनि ।

दुई वर्षअघि नै खेलेको डिभिजन टू फेरि खेलिरहेका हामी अर्को स्तरमा उक्लिएका थियौँ । त्यो पनि एकदमै नाटकीय र अविस्मरणीय जितका साथ । र, त्यो जितमा आफूले योगदान दिन पाउँदा लाग्ने आत्मरति त छँदैछ ।

अहिले पनि क्रिकेटको कुरा गर्दा धेरैले ‘डिभिजन टू’ मा क्यानाडाविरुद्ध मैले गरेको ब्याटिङकै प्रसङ्ग झिक्छन् । अहिले क्रिकेट वेबसाइट क्रिकइन्फोले गरेको भोटिङमा पनि मेरो त्यो इनिङ परेको छ ।

आफ्नै लागि पनि त्यो बिर्सनै नसक्ने इनिङ थियो ।

मलाई लाग्छ, वर्षौँदेखिको पर्खाइ र मिहिनेतको नतिजा नामिबियामा पोखिएको हो । अन्यथा एउटा बलरले अन्तिममा ब्याटिङ गर्न आएर खेल जिताउने अवसर दुर्लभ नै हुन्छ । त्यही खेलले मलाई विशुद्द बलरबाट अलराउण्डरका रुपमा चिनायो ।

२०१८ को फेब्रुअरीमा नामिबियामा भएको डिभिजन टू क्रिकेट मेरो लागि मात्र नभएर नेपाली क्रिकेटकै लागि टर्निङ प्वाइन्ट बन्यो । त्यहीँबाट नेपाली क्रिकेट अहिले माथि पुगिसक्यो । अब अझै माथि लैजानु छ ।

****

हाम्रो लागि मुख्य चुनौती नै डिभिजन टू थियो । त्यसले नेपाली क्रिकेटको भविष्य कता लैजाने भन्ने निक्यौल गथ्र्यो । कति सिनियर खेलाडीहरुको त त्यो अन्तिम अवसर हो जस्तो लाग्थ्यो ।

प्रतियोगिताको सुरुवातमा मेरो खेल राम्रो हुन सकेको थिएन । औसत मात्रै भइरहेको थियो । प्रतियोगिता जित्न औसत प्रदर्शनले पुग्दैन भन्ने मैले बुझेको थिएँ । प्रदर्शन नसुधारे अर्को खेलमा टिमबाट बाहिर हुन्छु कि भनेर मनमा कस्तो-कस्तो भइरहेको थियो । डर लागिरहेको जस्तो ।

तीन खेलपछि पारस दाइ मेरो कोठामा आउनुभयो र सोध्नुभयो, ‘के भइरहेको छ ?’

मैले भनेँ – ठीकै छ दाइ, प्रयास गरिराखेको छु ।

दाइले भन्नुभयो – ‘टेन्सन’ नलिउ, तिमीले राम्रो गरिरहेको छौ, तिमी नै खेल्छौ । अझै राम्रो गर्न सक्छौ ।

पारस दाइले त्यसो भनेपछि मनमा हौसला बढ्यो । खुशी पनि लाग्यो । पारस दाइको त्यही कुराले त्यसपछिको खेलमा मैले राम्रो खेल्न सकेँ भन्ने लाग्छ ।

हरेक खेलमा ब्याटिङको पालो कहिले आउँछ कि भनेर कुरिरहेको हुन्छु । क्यानडासँगको खेलमा पुग्नुअघि हामी केन्यासँग झण्डै हारिसकेका थियौँ ।

केन्यासँगको खेलमा पनि हामीलाई अन्तिम ६ बलमा ६ रन चाहिएको थियो । हाम्रो ६ विकेट नै गएको थियो । पहिलो बलमा रोहित पौडेलले दुई रन बनायो । दोस्रोमा एक रन लियो । त्यसपछि सोमपालले पनि एक रन लियो । चौथो बलमा रोहित रन आउट भयो । उसले ४६ बलमा ४७ रन बनाएको थियो ।

अब ननस्ट्राइकमा म आएको थिएँ । हामीलाई दुई बलमा दुई रन चाहिएको थियो । सोमपाल स्ट्राइकमा थियो । मैले सोमपाललाई जसरी पनि दौडनु पर्छ है भनेको थिएँ तर, पाँचौ बल डट भयो ।

म दौडेर पिचको आधाजस्तो पुगिसकेको थिएँ, सोमपालले नो… नो भन्यो । म फर्किएँ ।

सोमपालले के गरेको होला जस्तो लाग्यो । दौडन पाएको भए बराबरी त हुन्थ्यो भन्ने लागेको थियो । अब अन्तिम बल डट भयो भने के होला जस्तो लागेको थियो ।
सोमपालले अन्तिम बलमा नआत्तिइकन सट हान्यो र हामीले दुई रन पूरा गर्‍यौँ । बाल-बाल खेल जितियो ।

सुपर ओभरमा भने मैले ब्याटिङ गर्न पाउँछु जस्तो लागेकै थिएन । प्याडहरु सबै निकालेर बसिसकेको थिएँ ।कप्तान र कोचले मलाई नै पठाउने भनेपछि अचम्ममा पनि परेँ ।

त्यसपछि हाम्रो खेल क्यानडासँग थियो ।

क्यानडासँग खेल्दा अघिल्ला खेलहरुमा भन्दा दबाव बढेको थियो । क्यानडाले पहिले ब्याटिङ गरेर १ सय ९४ रन बनायो । मैले ८ ओभर बलिङ गर्दा ४० रन खर्चेर मात्र १ विकेट लिएको थिएँ ।

हाम्रो ब्याटिङ सोचेजस्तो राम्रो भइरहेको थिएन । ४२ औँ ओभरको चौथो बलमा बसन्त रेग्मी दाइ आउट हुनुभयो । म क्रिजमा आएँ । हामीलाई अब ४८ बलमा ५१ रन चाहिएको थियो ।

आरिफलाई स्ट्राइक दिनु, सम्हालिएर खेल्नु भनेर मलाई पठाइएको थियो तर, ४३ औँ ओभरको पहिलो बलमै आरिफ आउट भयो । ला, आरिफ नै आउट भयो अब के गर्ने जस्तो लागेको थियो ।

अन्तिम विकेटका रुपमा सन्दिप लामिछाने आए । असाध्यै टेन्सन भएको थियो । सन्दिपलाई रन हान भन्न पनि मिलेन । जे गर्नु छ मैले नै गर्नुपर्छ भन्ने लाग्यो । आˆनो लागि अवसर छ भन्ने पनि सोचेँ ।

आरिफ आउट भएपछि त्यो ओभरमा सन्दिपले बाँकी पाँच बल नै डट खेल्यो । अब ४२ बलमा ५१ रन चाहिएको थियो । मैले सन्दिपलाई भने, तिमी सम्हालिएर खेल, म हिट हान्छु ।

अब म स्ट्राइकमा थिएँ । ४४ औँ ओभरको तीन बल त डट भयो । चौथो बलमा चौका हानेँ । त्यसपछि डट र अर्को बल वाइड भयो । अन्तिम बलमा छक्का लाग्यो । अनि मेरो आँट बढ्यो ।

सन्दिपले असाध्यै राम्ररी साथ दिइरहेको थियो । ४५ औँ ओभरको दोस्रो बलमा सन्दिपको ब्याटमा एज लागेर किपरले झन्नै क्याच लिएको थियो ।

सन्दिप स्ट्राइकमा हुँदा आउट होला कि भन्ने डर लाग्थ्यो । स्टम्पको माथिबाट बल गइरहेको थियो । मनमनै भुत्भुताइरहेको हुन्थेँ, ‘हे भगवान, आउट नहोस् ।’

डराइडराइ खेलेर अन्तिम ओभरसम्म पुगियो । ४९ औँ ओभरको अन्तिम बलमा एक रन निकाल्न सकेको भएर स्ट्राइकमा म नै थिएँ ।

अब ६ बलमा ८ रन चाहिएको थियो । राम्रो बलिङ गरिरहेका सेसिल परभेज बलिङमा थिए । लगातार चार बल डट भयो । अब दुई बलमा ८ रन । यो निकै कठिन अवस्था हो तर, त्यतिबेला किन हो किन, म आत्मविश्वासले भरिएको थिएँ । अन्तिम दुई बल बाँकी हुँदासम्म पनि बाउन्ड्री हान्न सक्छु लागिरहेको थियो । त्यो भिडियो अहिले युट्युबमा हेर्दा भने हातखुट्टा काम्छ ।

त्यतिबेला भने पटक्कै डर लागेको थिएन ।

पाँचौ बलमा जबरजस्त सट खेलेँ । छक्का लाग्यो । अब जितबाट दुई रन मात्र टाढा । अर्को बल वाइड भयो । खेल बराबरीमा पुग्यो । अब त मनमा पूरै हौसला आइसकेको थियो । अन्तिम बलमा एक रन निकाल्यौँ र जित्यौँ पनि ।

पहिलोपटक त्यस्तो योगदान गरेर नेपाललाई जिताएको थिएँ । त्यो बेलाको खुसी शब्दमा बयान गर्न सक्दिनँ । प्रशिक्षक, कप्तान, सबै खेलाडीहरुको अनुहारमा त्यो जितको महत्व देखिरहेको थिएँ ।

जितपछि मलाई टिमका साथीहरुले बोकेरै उचाले । मेरो पनि खुशीको सिमा थिएन । आफ्नो क्रिकेट करिअरमै सबैभन्दा ठूलो खुशीको क्षण थियो त्यो ।

****

क्रिकेट खेल्न सुरु गरेदेखि अलराउण्डर बन्ने सोचिरहेको हुन्थेँ । बलिङ र ब्याटिङ दुवै गर्नुपर्छ भन्ने लाग्थ्यो । अहिले त सबैले मेरो ब्याटिङमा आशा गर्न थालेका छन् । त्यही अनुसार मेहनत पनि गरिरहेको छु ।

टिममा ६ जनाभन्दा बढी ब्याट्सम्यान हुन्छन् । म बलरकै रुपमा टिममा परे पनि ब्याटिङमा योगदान गर्न इच्छुक हुन्छु । अभ्यासको बेला अलिकति मिलेको समयमा ब्याटिङमा ध्यान दिन्छु । यो मेरो लागि ‘प्लस प्वाइन्ट’ हो । अहिले म जुन स्तरमा छु, त्यसले त पुग्दैन, अझ राम्रो गर्नै पर्छ ।

पहिले त ब्याटिङमा धेरै समय दिँदैन थिएँ । बाहिरबाट आएका ब्याटिङ प्रशिक्षकसँग कुरा गर्दा पनि उनीहरुले मेरो स्तरमा यत्तिको अभ्यासले अझै नपुग्ने बताएका थिए । त्यसले थप मेहनत गर्न प्रेरित हुन्थेँ ।

हालैको एभरेस्ट प्रिमियर लिगमा हाम्रो टिम विराटनगर वारियर्सको एउटा खेल सुपर ओभरसम्म पुग्यो, जहाँ मैले नै ब्याटिङ गरेर जिताउन पनि पाएँ । त्यस्तो अवस्थामा मलाई खुशी लाग्छ । सुपर ओभरमा भने मैले ब्याटिङ गर्न पाउँछु जस्तो लागेकै थिएन । प्याडहरु सबै निकालेर बसिसकेको थिएँ ।

कप्तान र कोचले मलाई नै पठाउने भनेपछि अचम्ममा पनि परेँ । पारस दाइ र म गएका थियौँ । स्पीनर आए पारस दाइ स्ट्राइकमा बस्ने र मिडियम प्रेसर आए म बस्ने भनेर गएका थियौँ ।

हुन त क्रिकेटमा कुनै भर हुँदैन । १० बलमा २ रन चाहिने बेला पनि हारेका छौँ । २ बलमा १० रन चाहिँदा पनि हानेका छौँ । जे होस् सकारात्मक भएर राम्रो क्रिकेट खेल्नु नै सबैभन्दा राम्रो हो ।

तिमीले सकेसम्म अन्तिम ओभरसम्म खेल्नुपर्छ, खेल जिताउन सक्छौ भनेर प्रशिक्षकहरुले पनि भन्नुहुन्छ । मलाई पनि अब त अन्तिमसम्म खेल लैजान पाए छक्का हानेर पनि जिताउन सक्छु भन्ने लाग्छ । मौकामा चौका हान्नुपर्छ भन्छन्, मलाई पनि मौकामा छक्का हान्न मनपर्छ ।

****

मेरो क्रिकेट भारतबाट सुरु भएको हो । बागलुङमा जन्मिए पनि सानोमै बुबाआमा भारत जानुभएको हो । त्यसैले भारतमा नै हुर्किएँ र क्रिकेट त्यहीँ नै सुरु भयो । सानोमा त टेनिस बलले नै खेलेेको हो । म तीन कक्षामा पढ्ने बेलातिर ठूलो दाइ हरेक आइतबार क्रिकेट खेल्न गएको मलाई याद छ । म पनि दाइसँग खेलेको हेर्न जान्थेँ । त्यहाँ हेरेर पनि धेरै कुरा सिक्थेँ ।

घरमा दाइहरुसँग खेल्दै बस्थेँ । सानो बेलामा खेलेको देख्दा त ममी बाबाले पनि रमाइलो नै मान्नुभयो । ठूलो हुँदै गएपछि भने खेल्ने कुरालाई त्यति रुचाउनु हुँदैनथ्यो । जिम्मेवारी बढ्दै जान थालेपछि खेलेर मात्रै हुँदैन भन्ने थियो । त्यसपछि क्रिकेटमा मात्रै समय खर्च नगर भन्नुहुन्थ्यो ।

बिहान खेल्न निस्केकोसाँझसम्म पनि खेल्दै बस्थेँ । कहिलेकाहीँ अलि टाढा खेल्न जाँदा त भोलिपल्ट मात्रै घर र्फकन्थेँ । घरमा पनि नआई रातदिन क्रिकेट भनेपछि आमाबाबालाई चिन्ता पर्ने नै भयो ।

म १८ वर्षको हुँदा माइला दाइ र जेठो दाइ दुवै मलेसिया जानुभयो । त्यसपछि मैले घरमा अलि बढी समय देओस् भन्ने हुन्थ्यो । म भने खेलेरै हिँडिरहेको थिएँ । क्रिकेट कसरी छाड्ने भइरहेको थियो ।

साथीहरु पनि सबै क्रिकेट खेल्ने नै थिए । उनीहरु म नगएको बेला घरमा नै बोलाउन आइहाल्थे । साथीहरुले आएपछि भो भन्नै नसकिने । क्रिकेटको पछि दौडँदा घरमा गाली खान थालियो । क्रिकेटमा भविश्य छैन भन्ने कुरा हुन्थ्यो । आमाबाबाले पनि दिक्क भएर ‘भारतमा नबस्, नेपाल गएर पासपोर्ट बनाएर दाइहरु भएकै ठाउँमा काम गर्न जाऊ’ भन्नुभयो ।

त्यसैले म पासपोर्ट बनाउन नेपाल आएँ । बागलुङ गएर पासपोर्ट बनाएँ ।

****

बागलुङ सिगानामा रहेको धौलागिरी कलेजमा केटाहरु क्रिकेट खेलिरहेका थिए । गाउँमा पनि क्रिकेट खेल्ने मान्छे रहेछन् भनेर खुशी लाग्यो ।

आफूलाई पनि खेलौँ खेलौँ लाग्यो । मिल्छ भने म पनि खेल्छु भनेर सँगै गएकी बहिनीलाई सोधिदिन भनेँ । बहिनीले उनीहरुसँग सोधेपछि मलाई पनि खेल्न दिए । त्यहाँ खेल्न पाउँदा खुशी लाग्यो ।

मैले खेलेको देखेपछि उनीहरुले कहाँ बस्छौ, के गर्छौ भनेर सोधे । म अहिले त पोखरा बस्छु तर, बस्ने भारतमा हो । नेपालमा क्रिकेट खेल्न आएको भनिदिएँ ।

त्यहीँ एक जना दाइले पोखरा गएर पुरानो खेलाडी दिपेश खत्रीलाई भेट, उसको क्लब पनि छ, केही होला भनेर सल्लाह दिए ।

त्यतिबेला नै बागलुङमा कलेजस्तरीय प्रतियोगिता भइरहेको थियो । उनीहरुले पनि कसरी कसरी मलाई कलेजको टिममा मिसाए । त्यहाँ खेलेँ र पोखरा गएर दिपेश दाइसँग फेसबुकमा कुरा गरेँ ।

म भारतबाट क्रिकेट खेल्न आएको भनेँ । दिपेश दाइले एउटा मैदानमा बोलाउनुभयो ।

भेटेपछि तिमी के गर्छौ ? भनेर सोध्नुभयो । मैले ब्याटिङ, बलिङ दुईवटै गर्छु भनेँ ।

दाइले बलिङ गर्न लगाउनुभो । उहाँलाई राम्रो लागेछ । स्पीड पनि थियो, मिलाएर नै गरेको थिएँ ।

राम्रो गर्‍यौ भन्नुभयो ।

त्यो समय पोखरामा पनि क्रिकेट खासै थिएन । कुनै प्रतियोगिता हुन लाग्यो र छनोटमा बोलायो भने मात्रै खेलाडीहरु आउँथे । नभए टेनिस बलले खेल्दै बस्थ्यौँ । दुई तीन महिना त्यसरी नै बित्यो ।

त्यसपछि क्षेत्रीय छनोट भयो । दिपेश दाइले छनोटमा लैजानुभयो । जंगी गुरुङ भन्ने प्रशिक्षक हुनुहुन्थ्यो । नेटमा बलिङ गर्दा मलाई डर लागेको थियो । म पहिलो बल फाल्दा नै खुट्टा अल्झिएर लडेँ । उठेर अर्को बल फालेँ । ब्याटिङ पनि देखाएँ । सबै जनाले राम्रै गरेको छौ भनेर क्याम्पमा राखे । टिममा छनोट पनि भएँ ।

त्यही बेला मनोज कटुवाल र जगत (टमाटा) गुरु पोखरा आउनुभएको थियो । क्षेत्रीय प्रतियोगिताको अन्तिम खेलमा हामी आर्मीसँग हारेर बाहिरिएका थियौँ । पछि काठमाडौंमा हुने क्लोज क्याम्पको लागि मनोज गुरुले फोन गरेर बोलाउनुभयो । त्यसपछि नै म पहिलोपटक काठमाडौं आएँ ।

****

काठमाडौं कस्तो छ ? कहाँ हो ? केही थाहा थिएन । नाइट बस चढेँ । बिहान काठमाडौं आएपछि मनोज सरलाई फोन गरेँ । उहाँले सुन्धारामा लगेर होटलमा राख्नुभयो र क्लोज क्याम्पमा नेटमा बलिङ गर्न बोलाउनुभयो । त्यो बेला पारस खड्का, बिनोद भण्डारी, ज्ञानेन्द्र मल्ल दाइहरुलाई बलिङ गरेँ ।

पहिलोपटक धनगढीमा ५० ओभरको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट पनि हुन लागेको थियो । शरद भेषावकर दाइको टिम पञ्चकन्या तेजमा म पनि छानिएँ । हामीले टुर्नामेन्ट जित्यौँ पनि ।

त्यो प्रतियोगितापछि लगातार क्याम्पमा रहेर अभ्यास गरेँ । २०१४ को जनवरीमा नेपालमा आएको थिएँ, २०१५ को जनवरीमा राष्ट्रिय टिममा नै छानिएँ । नामिबियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को लागि टिममा परेको थिएँ ।

राष्ट्रिय टिममा पर्नुअघि आरिफ शेख र म भारत बैंगलोरमा रहेको जस्ट क्रिकेट एकेडेमीमा एक हप्ता अभ्यास गर्न गएका थियौँ । त्यो नै औपचारिक रुपमा मैले क्रिकेट सिकेको पहिलो पटक हो । त्यहाँ धेरै कुरा सिक्न पाएँ । त्यसले पनि राष्ट्रिय टिममा छानिन सहयोग गरेको हो जस्तो लाग्छ ।

त्यसअघि २०१४ को नोभेम्बरमा अभ्यासको लागि थ्री डे म्याच खेल्न हामीलाई श्रीलंका लगिएको थियो । पहिलो खेल हामीले हारेका थियौँ भने दोस्रो खेल बराबरी भएको थियो । दुवै खेलमा मैले पनि खेल्न पाएको थिएँ ।

त्यसपछि डिभिजन टू खेल्न हामी नामिबिया गयौँ । पहिलोपटक राष्ट्रिय टिमबाट खेल्न पाउँदा असाध्यै खुशी लागेको थियो । विदेश जान भनेर नेपाल आएको म आˆनो देशको प्रतिनिधित्व गर्ने भएँ ।

****

राष्ट्रिय टिमबाट डेब्यू प्रतियोगिता २०१५ को डिभिजन टू थियो । पहिलो खेलमा युगाण्डाविरुद्ध खेल्ने मौका पाएँ । ७ ओभर बलिङ गर्दा २७ रन खर्चिएको थिएँ । १ सय ४६ को लक्ष्य पछ्याएका हामी दुई रनले हारेका थियौँ । अन्तिममा ब्याटिङ गर्न आएको म ५ बलमा ५ रन बनाएर नटआउट थिएँ ।

दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हामीले दुई विकेटले हरायौँ । ७ ओभर बलिङ गर्दा मैले १० रन मात्रै खाएको थिएँ तर, विकेट भने आएको थिएन । पहिलो दुई खेलसम्म विकेट नआउँदा नरमाइलो लागिरहेको थियो । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले अलिअलि नर्भस पनि थिएँ ।

त्यतिबेला पनि मेरो रुम पार्टनर सोमपाल नै थियो । उसलाई मैले भनेको थिएँ, सोम विकेट नै पाएको छैन यार । उसले ‘मैले पनि डेब्यूमा विकेट पाएको थिइनँ’ भनेर मलाई सान्त्वना दियो ।

तेस्रो खेलमा क्यानडाविरुद्ध बल्ल बलिङ चम्कियो । हामीले क्यानडालाई १ सय १४ रनमा अलआउट गर्दा मैले १० ओभरमा २६ रन दिएर ५ विकेट लिएँ । त्यसपछि नामिबियालाई पनि हामीले ३ विकेटले जित्यौँ । त्यसमा ६ ओभर बलिङ गर्दा मैले १२ रन दिएर ३ विकेट लिएको थिएँ ।

केन्यासँग भने हामी ५ विकेटले हारेका थियौँ । मैले ६ ओभरमा ३४ रन दिएर एक विकेट लिएको थिएँ । तेस्रो स्थानको लागि भएको प्ले अफमा हामीले केन्यासँगै खेल्नुपर्ने भयो, जसमा हामी फेरि १५ रनले हार्‍यौ. ।

डिभिजन टूमा राम्रै खेलेर पनि हामी अगाडि बढ्न सकेनौँ । चौँथो स्थानमा रहेकाले डिभिजन थ्रीमा घटुवा त भएन तर, माथि जान सकेनौँ । व्यक्तिगतरुपमा मैले राम्रै गरेँ भन्ने लागेको थियो । नराम्रो खेलेर टिमबाट बाहिर परियो भने कमब्याक गर्न असाध्यै मुस्किल हुन्छ भन्ने बुझेको थिएँ ।

****

नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय खेल्ने बेला टिममा हुन्छु कि हुँदिन भनेर एकदमै डर लागिरहेको थियो ।

नयाँ खेलाडी पनि थिए र पुरानाहरु पनि थिए । यतिका खेल खेलिसक्दा पनि कसरी गर्ने, के गर्ने भन्ने तनाव भइरहेको थियो । पहिलो एकदिवसीय भएकाले सबै कुरा आइरहेको होला जस्तो लाग्छ ।

सबैभन्दा खुशी एकदिवसीय क्याप पाउँदा नै लाग्यो । तर, पहिलो एकदिवसीय म्याच हामीले हार्‍यौं । नेदरल्याण्ड्सलाई ४८ औँ ओभरमा अल आउट गरेका थियौँ । मैले ७ ओभर बलिङ गर्दा ३८ रन दिएर एक विकेट लिएको थिएँ । ब्याटिङ सोचजस्तो भएन र हामी ५५ रनले हारेका थियौँ ।

दोस्रो एकदिवसीयमा म खेलेको थिइनँ तर हामीले एकदिवसीय खेलेको दोस्रो खेलमा नै जित दर्ता हुँदा उत्तिकै खुशी लागेको थियो । नेदरल्याण्ड्सलाई एक रनले हराएका थियौँ । कति देशले एकदिवसीय खेलेको वर्षौंपछि पहिलो जित निकाल्छन् । हामीले दोस्रो खेलमा नै जितेका थियौँ ।

****

राष्ट्रिय टिममा हुँदा पनि घरबाट फोन आइरहेको हुन्थ्यो । के चलिरा’छ ? के छ ? भविश्य छ कि छैन ? अनेक प्रश्न सोध्नुहुन्थ्यो । म ‘राम्रै छ, राम्रै भइरहेको छ’ भन्थेँ । ‘गाह्रो भइरहेको छ भने छाड र अरु ठाउँमा सोच, जागिर गर’ भन्नुहुन्थ्यो । ‘होइन म ठीक छु, राम्रो खेलिरहेको छु’ भन्थेँ ।

मैले क्रिकेट खेल्नेबाहेक अरु केही गर्न सक्छु कि सक्दिन भन्ने पनि थाहा छैन । गएको तीन वर्षमा क्रिकेटमा नै लागिरहेको छु । अहिले त घरेलु क्रिकेट प्रतियोगिताहरुले पनि सजिलो भइरहेको छ ।

इपीएल, डीपीएल, पीपीएल जस्ता प्रतियोगिताबाट धेरथोर पैसा आइरहेको छ । बाँच्नका लागि चाहिने मुख्य कुरा त पैसा नै हो । राष्ट्रिय टिमबाट त गएको दुई वर्षदेखि तलब पनि पाएको छैन ।

क्याम्प हुनेबाहेक अरु बेला अभ्यास कसरी गर्ने, कहाँ जाने, खेलमा कसरी ध्यान दिने सबै आफैले विचार गर्नुपरेको छ । सबै खेलाडी मिलेर अगाडि बढिरहेका छौँ । पारस दाइले नै धेरै हौसला दिइरहनु भएको हुन्छ । कप्तानको सपोर्टले गर्दा नै म यहाँ छु, हाम्रो क्रिकेट यहाँ छ ।

ममीबाबा अहिले खुशी हुनुहुन्छ । ‘मेरो आर्शिवाद सधैँ तँसँग छ । राम्रो गर’ भनेर ममीले सधैँ भनिरहनु भएको हुन्छ ।

भारतमा क्रिकेट हेर्दा पनि यिनीहरुसँग खेल्न पाए हुन्थ्यो भन्ने थियो । भारतमा देखेको सपना नेपालमा आएर पूरा भयो । मैले जे कुरा सोचेको थिएँ, त्यो हुन सक्छ भन्ने कुरा नेपालले नै सिकाएको हो । केही नहुँदा पनि क्रिकेटमा लागिरहन्छु भनेर सोचेको थिएँ । जुन स्तरमा भए पनि क्रिकेट खेलिरहन्छु भन्ने थियो । अहिले त राष्ट्रिय टिमबाट खेल्न पाइरहेको छु ।

****

क्रिकेट खेल्न कतिसम्म रमाइलो लाग्छ भने अहिले पनि पोखरामा हुँदा साथीहरुसँग टेनिस बलले नै भए पनि खेल्न जान्छु । त्यहाँ कति साथीहरुले भन्छन्, ‘तेरो लेभल माथि पुगिसक्यो, यसरी नखेल ।’

मलाई भने त्यसमा पनि रमाइलो लाग्छ । म भन्छु, ‘मलाई आउँछ नै क्रिकेट, योबाहेक म के गरौँ ?’

फुर्सदको समय धेरै हुँदैन । समय मिलेसम्म साथीहरुसँग घुम्न जान्छु । पहिलेदेखि नै मुस्ताङ जान धेरै मन लागेको थियो, योपटक त्यो पूरा भयो । साथीहरुसँग गएको महिना मुस्ताङ पुगेर आएँ, रमाइलो रहेछ ।

मेरो गाउँ बाग्लुङ जाँदा होस् या पोखरा, काठमाडौं सबैतिर रमाइलो लाग्छ । बाग्लुङमा हुने क्रिकेट प्रतियोगिता पनि तीन पटक खेलिसकेको छु । त्यहाँ पनि क्रिकेट समर्थकहरु धेरै छन् । त्यहाँ जाँदा मलाई सम्मान पनि गर्नुभयो । सबै कुरा क्रिकेटले भइरहेको छ । सकारात्मक हुँदै गइरहेको छ ।

भारतमा सानो छन्दा खेलेका साथीहरुसँग बेलाबेला कुरा भइरहेको हुन्छ । त्यहाँको पुरानो दिनहरु पनि याद हुन्छ ।

मैले खेलेको खेलहरु उनीहरु पनि हेरिरहेका हुन्छन् । मेरै फोटो पठाएर सोध्छन्, ‘यो को हो ?’ त्यस्तो देख्दा मलाई खुशी लाग्छ । उनीहरुले अहिले पनि क्रिकेटकै कारण मलाई सम्झिरहेका छन् ।

पोखरा प्रिमियर लिगको बेला बाबा पनि खेल हेर्न आउनुभएको थियो । भारतमा अरुले खेलेको क्रिकेट त उहाँले पहिलेदेखि नै हेर्नुभएको हो । मेरो खेल भने हेर्न पाउनुभएको थिएन । त्यो पीपीएलमा पूरा भयो ।

****

यसो कहिलेकाहीँ सोच्छु, ‘मलाई क्रिकेटबाहेक के आउँछ त ?’ सम्झँदै जान्छु, अरु त केही आउँछ जस्तो लाग्दैन । हो पनि, बुझ्ने भएदेखि अहिलेसम्म मैले जानेको यही क्रिकेट नै हो

एउटा अर्को कुरा पनि सुनाउँछु । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँगको खेलअघिको कुरा हो, मेरो एपेन्डिक्सको अप्रेसन भएको थियो । त्यसले गर्दा मैले खेल्न पाइनँ । त्यो बेला डाक्टरलाई मैले सोधेको थिएँ, ‘अप्रेसन एक दिन ढिलो गर्दा हुँदैन ?’

डाक्टरले, ‘हुँदैन । यो त थाहा हुने वित्तिकै गर्नुपर्छ’ भनेका थिए ।

त्यो खेल त छुट्यो तर, त्यसपछि म खेल्न सक्छु कि सक्दिन भन्ने डर थियो । खै क्रिकेट बुझेका हुन् कि नबुझेका हुन्, कति मान्छेले अब तँ कहिल्यै खेल्न सक्दैनसे पनि भनिदिएका थिए । ब्याटिङ गरिस् भने पनि बलिङ त गर्न सक्दैनन् भन्थे । तर, त्यस्तो पनि होइन रहेछ, म अहिले पनि खेलिरहेको छु ।

विदेशमा खेल्न जाँदा पनि नेपाली समर्थकहरु आएको देख्दा खुशी लाग्छ । नेदरल्याण्ड्समा जाँदा त त्यहाँको समर्थकभन्दा धेरै हाम्रो समर्थक थिए । तीन हजारभन्दा बढी नेपाली समर्थक देखेपछि नेदरल्याण्ड्सकै खेलाडीले भनेका थिए, ‘हाम्रो क्रिकेट हेर्न यत्तिका मान्छे कहिल्यै पनि आएका छैनन् ।’

उनीहरुले नै त्यसो भन्दा हामीलाई धेरै रमाइलो लागेको थियो । नेपाली टिम नै त्यस्तो होला, जो जुन ठाउँमा जाँदा पनि समर्थकविहीन हुनुपरेको छैन । समर्थक देखेर धेरै नै हौसला आउँछ । कसैले ‘नेपालबाट हुँ’ भनिदिँदा मात्र पनि खुशी लाग्छ । अझ त्यसमा पनि नेपालको झण्डा बोकेर आएका समर्थकले नेपाल… नेपाल… भनेर कराउँदा हामी एकदमै उत्साहित हुन्छौँ ।

पछिल्लो खेलाडी मात्रै होइन, समर्थकले पनि नेपाली क्रिकेटलाई अगाडि बढाएका छन्, उनीहरकै मायाले हामी अगाडि बढेका छौं ।

****

क्रिकेटका सपनाहरु पूरा हुँदै गइरहेका पनि छन् । लर्डस् मैदान टिभीमा हेर्दा कति राम्रो मैदान हो भन्ने लाग्थ्यो । त्यहाँ खेल्न पनि पाइयो । एउटा सपना पूरा भयो । अब त त्यहाँ अझै धेरै नै खेल्नुपर्छ, त्यस्तै राम्रा अरु मैदानमा पनि हामीले खेल्नुपर्छ । अझै मेहनत गरेर खेल्न सकिन्छ जस्तो लाग्छ ।

मुख्य त क्रिकेट संघ नै नहुनुले धेरै कुरा बिगि्ररहेको छ । समयमा तलब पनि भएन भने खेलाडीहरु तनावमा रहन्छन् ।

नेपाल टेस्ट क्रिकेटसम्म पुग्न सक्छ भन्ने विश्वास खेलाडीहरुमा छ तर, त्यही अनुसार योजना र काम गर्नुपर्छ । हामीले एकदिवसीय मान्यता पाएका छौं, अब लगातार खेल्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

यसो कहिलेकाहीँ सोच्छु, ‘मलाई क्रिकेटबाहेक के आउँछ त ?’ सम्झँदै जान्छु, अरु त केही आउँछ जस्तो लाग्दैन । हो पनि, बुझ्ने भएदेखि अहिलेसम्म मैले जानेको यही क्रिकेट नै हो ।

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को १७ औँ श्रृङ्खलामा यो हप्ता राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर करण केसीको कथा प्रस्तुत गरिएको हो ।)

प्रस्तुतीः ऋग्वेद शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment