Comments Add Comment

नवलपुरमा महोत्सवको धन्दाः एउटा नसकिदै, अर्को तयारी

२३ पुस, नवलपरासी । पूर्वी नवलपरासीमा अहिले महोत्सवको धन्दा नै चलेको छ । मध्यविन्दु उद्योग वाणिज्य संघले अरुणखोलामा आयोजना गरेको महोत्सव । सोमबार सकिएको छ । अहिले अन्य तीन स्थानमा महोत्सवको तयारी गरिएको छ ।

मध्यविन्दु महोत्सव सकिएसँगै दुईवटा व्यापारिक महोत्सव र एउटा पर्वसँग सम्बन्धित सांस्कृतिक महोत्सवको तयारी गरिएको छ ।

महोत्सवको होडबाजी चलिरहँदा मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुली एकै ठाउँमा वर्षेनी महोत्सव गर्नुको साटो आलोपालो महोत्वस गर्ने पक्षमा देखिन्छन् ।

स्थानीय तहको कृषि, उद्योग, व्यापार, पर्यटन आदि प्रबर्द्धन गर्न महोत्सव गरिने भनिए पनि अहिले चल्ने गरेको महोत्सव त्यस्तो नहुने गरेको उनको भनाइ छ ।
डण्डामा थारु कल्याणकारिणी सभा नवलपुरका आयोजनामा यही पुस २७ गतेदेखि माघ ७ गतेसम्म प्रथम माघी (खिचरी) सांस्कृतिक महोत्सव हुँदैछ ।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको थारु कल्याणकारिणी सभा नवलपुरका सभापति रामप्रसाद महतोले बताए ।

एक सय ५० भन्दा बढी स्टल रहने उक्त महोत्सवमा अधिकांश स्टल बुकिङ्ग भएको आयोजकले जनाएको छ ।

थारुको संस्कृति जगेर्ना गर्न र स्थानीय पर्यटनको प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको हो । महोत्सव ११ दिनसम्म चल्ने छ ।

उद्योग वाणिज्य संघले व्यापार प्रबर्द्धनका लागि महोत्सव गर्ने भए पनि आफूले गर्ने महोत्सव भने जातीय पर्व तथा संस्कृतिको जर्गेना र थारु समुदायले गर्न सक्ने पर्यटन प्रबर्द्धनका लागि आयोजना गरिएको सभापति महतोले बताए ।

यो महोत्सव थारुहरुको नयाँ वर्ष माघीको अवसर पारेर गरिन थालिएको छ । थारु समुदायको बाक्लो उपस्थिति रहेको क्षेत्रमा अहिले माघीमा खिचरी तथा खिचरा महोत्सव गर्ने चलन नै बढेको छ ।

माघी (खिचरी) महोत्सवमा बेसीमात्रामा थारु समुदायको कला संस्कृति झल्कने स्टलहरुका साथै थारु समुदायका झाम्टा, लाठी नाच जस्ता नाँचहरु प्रस्तुत गरिने छ ।

थारु कल्याणकारिणी सभा नवलपुरका सभापति महतो आफ्नो महोत्सव सांस्कृतिक महोत्सव भएकोले अन्य महोत्सवसँग दाँजेर नहेरिदिन आग्रह गर्छन् ।

डण्डामा माघ ७ गते महोत्सव सकिएको ठीक १० दिनपछि कावासोती ३ को राममन्दिर नजिकै रहेको खेल मैदानमा माघ १७ देखि पाँचौ नवलपुर महोत्सव सुरु हुँदैछ ।
यो महोत्सव नवलपुर उद्योग वाणिज्य संघले गर्न लागेको हो । महोत्सवका लागि नवलपुर उद्योग वाणिज्य संघ तयारीमा जुटेको छ ।

कावासोती ३ का वडाध्यक्ष अमृत श्रेष्ठले भने धेरै महोत्सव गर्नुको सट्टा सहमतिमा एउटै महोत्सव गर्न सुझाव दिन्छन् ।

अध्यक्ष पोख्रेल पनि एकै पटक धेरै स्थानमा महोत्सव गर्नु भन्दा आलोपालो महोत्सव गर्नु पर्ने पक्षमा देखिन्छन् । त्यसो त नवलपुर उद्योग वाणिज्य संघको वाषिर्क क्यालेण्डरमै यसपटक महोत्सव गर्ने भन्ने तय भएकोले आफूहरु लागि परेको अध्यक्ष पोख्रेल बताउँछन् ।

एउटै सिजनमा धेरै ठाउँमा महोत्सव गर्नु राम्रो नभए पनि यसलाई अन्यथा लिन नहुने उनको तर्क छ ।

नवलपुर उद्योग वाणिज्य संघले गर्ने नवलपुर महोत्सव माघ २९ गतेसम्म चल्ने छ । त्यसको साता दिन वित्दा नवित्दै देवचुली उद्योग वाणिज्य संघले देवचुलीमा दोस्रो देवचुली महोत्सव गर्दैछ ।

देवचुली उद्योग वाणिज्य संघले फाल्गुन ९ देखि २० सम्म दोस्रो देवचुली महोत्सव गर्ने पत्रकार सम्मेलन गरेर नै जानकारी गराएको छ । यो महोत्सव नवलपुरको पछिल्लो समय निक्कै चर्चामा रहेको क्षेत्र शास्वत धामको नजिकै गर्ने भएकोले पनि महोत्सव सोचे जस्तो सफल हुनसक्ने भन्दै आयोजक उत्साही देखिएको छ ।

कतिपय शास्वत धामको नजिक गर्ने महोत्सव महोत्सवको प्रचार नभई शास्वत धामको थप प्रचार हुने भन्दै आलोचना पनि गरेका छन् ।

यद्यपि शाश्वत धाममा आउने दर्शक पनि महोत्सवमा एक पटक भए पनि हेरौं भनेर पस्न सक्ने भएकोले आयोजक उत्साही भएको हो ।

देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा महोत्सव कति भन्दा पनि महोत्सवले स्थानीय क्षेत्रमा रहेको बजार, कृषि, पर्यटन लगायतको प्रबर्द्धन गर्ने भएकोले यसलाई स्वभाविक रुपमा लिनु पर्नेमा जोड दिन्छन् ।

उनले ०७३ मा प्रथम देवचुली महोत्सवबाट पाएको सफलताबाट हौसिएर दोस्रो देवचुली महोत्सव गर्न थालेको बताएका छन् ।

यसअघि गतवर्ष महोत्सव गरेको गैडाकोट उद्योग वाणिज्य संघ भने यस पटक चुपचाप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment