Comments Add Comment

टेलिकमका नयाँ एमडीको योजना : महसुल घटाउँछु, नाफा बढाउँछु !

२५ पुस, काठमाडौं । नेपाल टेलिकममा नवनियुक्त प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ०५९ सालमा टेलिकममा सातौं तहको इन्जिनियरका रुपमा प्रवेश गरेका थिए । १६ वर्षपछि अहिले नेतृत्वमा पुगेका छन् ।

अधिकारी सेवामा प्रवेश गर्दा नेपाली बजारमा नेपाल टेलिकमको एकाधिकार जस्तै थियो । अहिले अवस्था बदलिएको छ । टेलिफोन र इन्टरनेट सेवामा निजी सेवा प्रदायक कम्पनीहरुले टेलिकमलाई टक्कर दिइरहेका छन् । सरकारी स्वामित्वको नेपाल टेलिकमको सेवा प्रवाह भने कमजोर हुँदै गएको गुनासो बढ्दो छ ।

सरकारी कम्पनीले अपेक्षित नाफा आर्जन गरिरहेको छैन । यो अवस्थामा खुला प्रतिस्पर्धाबाट आफ्ना ‘सिनियर’हरुलाई पाखा लगाउँदै प्रवन्ध निर्देशक बनेका अधिकारीसँग चुनौती नै चुनौतीका चाङ छन् । एकातिर निजी प्रतिस्पर्धी कम्पनीहरु छन्, अर्कोतर्फ आफ्नै संस्थाभित्र संरचनागत सुधारहरु गर्नुपर्ने छ ।

नेपाल टेलिकमका यिनै समस्याहरुको सन्दर्भमा नयाँ एमडी अधिकारीसँग अनलाइनखबरकर्मी रविन्द्र घिमिरेले गरेको कुराकानी–

अनुभव र विगतको कार्यसम्पादनका आधारमा कतिपयले नेपाल टेलिकममा तपाईको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएका छन् । कति आत्मविश्वासका साथ आउनुभएको छ ?

अनुभव र आत्मविश्वास नभई त यो जिम्मेवारी सम्हाल्न गाह्रो छ । मेरो विज्ञता र अनुभव टेलिकमको सबै क्षेत्रमा छ । फिक्स्ड लाइन, मोबिलिटी, ब्रोड ब्यान्ड सबैमा । अन्तर्राष्ट्रिय बिजनेस, आन्तरिक बिजनेश लगायतमा पनि ।

विदेशी कम्पनीहरुसँग सेमिनारहरुमा सहभागी हुँदा विश्वब्यापी प्रविधिक ‘ट्रेन्ड’ कस्तो छ, त्यसका अवसर र असरहरु के कस्ता छन् भनेर अध्ययन गर्ने मौका पनि पाएको छु । विभिन्न देशका योजनाहरु कसरी लागू भएका छन् भन्ने अध्ययन गरेको छु । टेलिकमलाई व्यवसायिक रुपमा कसरी ‘ड्राइभ’ गर्नुपर्छ भन्ने सबै ज्ञान मसंग ज्ञान छ ।

तर, बजारमा नेपाल टेलिकमको साख पहिले जस्तो छैन । आफ्नो कार्यकालमा कमजोरीका कुन–कुन पक्ष सुधार्न बढी जोड दिने सोच छ ?

हामी अब ग्राहकहरुको चाहनामै केन्द्रित हुन्छौं । ग्राहकको चाहना अहिले भ्वाइस कलभन्दा डाटामा बढी छ । फिक्स्ड लाइनभन्दा मोबिलिटीमा छ । फिक्स्ड लाइन भएकाहरुको पनि रुची भ्वाइस मात्र हैन, टेलिभिजनको छ । अन्तरराष्ट्रिय ‘ट्रेन्ड’ पनि त्यही हो । त्यो भएका हुनाले हामी त्यो ‘सेगमेन्ट’मा धेरै सुधार गर्न चाहन्छौं ।

त्यसका लागि मोबइल ब्रोडब्याण्डलाई देशब्यापी बनाउन खोज्दैछौं । हामीसँग गुणस्तरीय क्षमताका टुजी÷थ्रीजी परियोजना छन् । थ्रीजी परियोजनालाई स्तरोन्नति गरेर डुअल क्यारियरमा अपग्रेड गर्छौं । त्यसलगत्तै स्पीड उच्च हुन्छ । टुजी मात्रै चल्ने टावर भएको ठाउँमा थ्रीजी अपग्रेड गर्छौं । त्यसले डाटाको माग पूर्ति हुन्छ ।

प्रविधिको क्षत्रमा भएको क्रान्तिअनुसारको नयाँ–नयाँ फिचरहरुलाई प्रयोगमा ल्याउँछौं । थ्रीजीमै पनि उपभोक्ताको सन्तुिष्ट दर बढाउँदै लग्छौं । अहिले ग्राहकलाई कुन प्रविधिमा डाटा चलाउँदैछु भन्ने हैन, फेसबुक कत्तिको सजिलोसँग चल्छ, युट्युब कति छिटो चल्छ भन्नेमा चासो छ । हामी ‘युजर एक्सपिरयन्स’ले महत्व पाउनेगरी अगाडी बढ्छौं । फोरजी परियोजनालाई पनि द्रुत गतिमा अघि बढाउँछौं ।

देशव्यापी बनाउनुपर्ने फोर–जी परियोजना २ वर्ष ढिला भयो । निजी सेवा प्रदायक आक्रामकरुपमा आइरहँदा टेलिकम पछि परिरहेको छ । अब यो कसरी अघि बढ्छ ?

फोरजी आयोजना एक वर्षमा सम्पन्न गर्नु भनेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट निर्देशन आएको छ । आयोजनालाई एक वर्षभित्रै सम्पन्न गर्ने हिसाबले कार्ययोजना बनाइरहेका छौं । त्यसपछि सबै ठाउँमा उच्च गुणस्तरको मोवाइल ब्रोडब्याण्ड पुग्छ ।

हामी कभरेज, नेटवर्क क्षमता र गुणस्तरमा पनि राम्रो हुन्छौं । त्यो हुने बित्तिकै व्यवसायिक रुपमा अगाडि हुन्छौं । देशलाई समृद्ध बनाउने नेपाल सरकारको उद्देश्य छ । त्यो उद्देश्यमा टेकिलम क्षेत्रबाट सहयोग पुर्‍याउँछौंं ।

मूल कुरा भनेको कनेक्टिभिटी हो । ग्राहकसम्म, स्कुलसम्म, अफिसम्म, अस्पतालसम्म कनेक्टिभिटी पुगेपछि हरेक सेवा प्रवाह राम्रो हुन्छ । सरकारले, कर्पोरेट हाउसहरुले र हामीले पनि राम्रो सेवा दिन सक्छौं ।

भारतमा ‘रिलायन्स जीओ’ले डाटा सेवामा क्रान्ति नै गर्‍यो । सस्तोमा सेवा दिएर पनि बजारमा उचाइ लियो । यस्तो कुरामा नेपाल टेलिकमले कहिल्यै ध्यान दिएन । यसबारे के सोच छ ?

हाम्रो पहिलो योजना त फोरजीलाई सम्पन्न गर्ने नै हो । थ्रिजीलाई अपग्रेड गर्ने हो । अब नेटवर्क दिएर मात्रै हुँदैन, कन्टेन्ट दिनुपर्ने छ ।

जीओले भारतमा ग्राहकलाई एकदमै सस्तोमा इन्टरनेट दिएको भन्छ । तर, अरुसँग तुलना गर्नुभयो भने प्रति ग्राहकले तिर्ने महसुल जीओको बढी छ । किन त्यसो गरेको छ भने उसले महसुलको रणनीति नै त्यसरी बनाएको छ । कनेक्टिभिटीमा धेरै खर्च गरेको छैन । तर, कन्टेन्टका अधारमा चार्जिङ गरेको छ । कन्टेन्ट धेरै दिएको छ ।

हामी अहिले कन्टेन्ट मार्केटमा कमजोर छौं । अब त्यसमा ध्यान दिन्छौं । बिस्तारै लोकल कन्टेन्ट र इन्टरनेशनल कन्टेन्ट व्यवस्थापन गर्छौं । त्यसका लागि हामीसँग बलियो नेटवर्क हुनुपर्छ ।

कन्टेन्ट बनाएर मात्रै पनि भएन । नेटवर्क सुधारेपछि कन्टेन्ट बढाउने, मूल्य अभिवृद्धि सेवा प्रदायक (भ्यास प्रोभाइडर) ल्याउने, कर्पोरट हाउसमा छिर्ने र सरकारी क्षेत्रलाई पनि सेवाहरु वितरण गर्ने हो । निजी क्षेत्रले दिइरहेको कुरा हामी पनि दिँदै जान्छौं । अप्रतिस्पर्धी खालका नयाँ बिजनेश र उच्चतम् खर्च गर्न सक्ने ग्राहकसँग पनि जान्छौं ।

नेपाल टेलिकममा कर्मचारीको उत्पादकत्व कमजोर छ । जागिर खाने तर काम नगर्ने प्रवृत्ति मौलाएको भनिन्छ । यो अवस्था चिर्न सहज छ र ?

टेलिकमलाई नाफामा लैजान सञ्चालन प्रभावकारिता बढाउनैपर्छ । हामी आईटी कम्पनी भएपनि हाम्रो अपरेशन सिस्टम परम्परागत खालका छन् । त्यसलाई हामी डिजटल बनाउन चाहन्छौं । त्यसै रणनीतिमार्फत सञ्चालन प्रभावकारिता बढाउँछौं । मानव संशाधनको व्यवस्थापन पनि मूल सवाल नै हो ।

हामी आईटी पूर्वाधार र संरचना बनाउँछौं । त्यसले कर्मचारीलाई कामप्रति जाँगरिलो बनाउँछ ।

सेवा प्रवाहमा गुणस्तर नआएसम्म माथि जान सकिन । त्यसका लागि मानवीय जनशक्तिले मात्र पुग्दैन अब । आईटी पूर्वाधार र प्रणाली चाहिन्छ । हामी सेवालाई आईटीसँग जोडेर अघि बढाउँछौं ।

टेलिकमको सेवा झुर भयो भन्दै धेरै ग्राहक निजी क्षेत्रका सेवा प्रदायककहाँ जान थालिसके नि ?

हाम्रो नेटवर्कमा केही समस्याहरु रहे । सार्वजनिक खरिद ऐन अनुसार उपकरणहरु किन्दा पछि विभिन्न प्रश्न उढाईने भएकाले कर्मचारीहरु सशंकित भए । त्यसले गर्दा कतिपय अवस्थामा सस्तो सामानहरु आए ।

कम्पनी ऐनको प्रावधान अनुसार खरिद प्रक्रियालाई अलि व्यवसायिक बनाउन एउटा कार्यविधि बनाएका छौं । त्यस अनुसार अब गुणस्तरीय सामान किन्न सक्छौं । त्यो भएपछि गुणस्तरको समस्याहरु हट्दै जान्छन् ।

कहिले सिस्टमले त्यतिकै काम नगर्ने र कहिलकाँही सफ्टवेयरमै समस्या आउने हुन्छ । अब यसमा स्तरोन्नतीको काम गरिनेछ । त्यसपछि सेवाको गुणस्तर माथि जान्छ, ग्राहकलाई हाम्रो विकल्प नमिल्ने अवस्था बन्छ ।

टेलिकम अहिलेसम्म नम्बर १ कम्पनी नै छ । तर, निजीहरु बजारमा अझ आक्रमक बनिरहेका छन् । टेलिकम चाही पुरानै ढर्रामा छ । चुनौतीको यो अन्तिम अवस्थामा नेतृत्व सम्हाल्दा कतिको दबाब महसुस भएको छ ?

हो, हाम्रो बजार साँघुरो छ । बजारमा नयाँ सेवा प्रदायक आउने भनेको अरुको सेवाग्राही खोस्ने गरी नै हो । सबैको उद्देश्य त्यही हुन्छ ।

यो स्थितिमा नेपालीहरुको विशिष्ट बानी के छ भने सरकारी कम्पनीको सेवा भएसम्म निजीमा नजाने । त्यसमाथि निजी सेवा प्रदायकमा ज्यादै थोरै मात्र नेपालीको लगानी छ, सबैजसो विदेशीको छ ।

नेपाल टेलिकममा ९२ प्रतिशत नेपाल सरकारको सेयर छ । बाँकी नेपालीहरुकै छ । पूर्णतः नेपालीहरुको लगानी भएको कम्पनी भएकाले सेवा गुणस्तरीय हुनासाथ सबै ग्राहक टेलिकममै आउँछन् । अरु तिर जान नदिने उपाय भनेको सेवामा गुणस्तर नै हो । त्यो काम हामी गर्छौं । ग्राहकको चाहना अनुसारका प्याकेजहरु ल्याउँछौं ।

टेलिकमका सर्भिस प्याकेजहरु पनि महंगो भएको गुनासो सुनिन्छ नि ?

हाम्रो भ्वाइस र डाटा प्याकेज निकै सस्तो छ । तर, त्यसमा मार्केटिङ कमजोर भयो । नबोल्नेको बास्मति चामल बिकेन । तर, अब सेवाको बजारीकरणमा ध्यान दिन्छौं ।

टेलिकमको नेतृत्व तहले जहिल्यै ‘सरकारी कम्पनी भएकाले निजीको जस्तो सजिलो छैन’ भनेको सुनियो । तपाईंलाई पनि सोचे अनुरुप काम गर्न सक्दिन कि भन्ने लागेको छैन ?

सरकारी कम्पनीले झन धेरै गर्न सक्छ, किनभने सिंगो सरकार साथमा हुन्छ । हामीमा इमान्दारी चाहीँ हुनुपर्‍यो । ग्राहक र सरकारलाई कसरी राम्रो सेवा दिन सकिन्छ भन्नेमा ध्यान पुर्‍याउनुपर्‍यो ।

त्यसो भए अहिलेसम्म काम नगर्न बाहना मात्रै बनाइँदै आएको थियो त ?

हामीलाई के चिज चाँहि बाध्यात्मक छ भने सबै काम टेण्डरमै गर्नुपर्छ । त्यसमा समस्या के हुन्छ भने प्रक्रियामा एउटा कम्पनीले टेन्डर पाउँछ, अर्को कम्पनीले उजुरी हालिदिन्छ । अनि त्यसमा विभिन्न निकायबाट सोधनी हुन थाल्छ ।

त्यसमाथि ग्लोबल टेण्डरको समय नै ४५ दिनको हुन्छ । मूल्यांकनको समय चाही आफैं घटाउन सकिन्छ । अब हामी ४५ दिन बाहेककको समय घटाउनेतिर लाग्छौं, पारदर्शी भएर काम गर्छौं ।

मूल्यांकन कानुनसम्मत हुँदा प्रश्न उठ्छ जस्तो मलाई लाग्दैन । त्यसैले सम्बन्धित निकायहरुसँग छलफल गरेर यस्ता प्रक्रिया छिटो सक्ने सोच छ । मुख्यतः समय लिने समस्या हटाउँछौं ।

हाम्रो अर्को समस्या योजना कार्यान्वयनमा छ । एक वर्षको आयोजना पुरा गर्न दुई–तीन वर्ष लाग्ने अवस्था भयो । त्यसलाई अब कार्यतालिका बनाएर हटाउँछौं । राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कारवाही गछौं ।

कर्मचारीको कार्यसम्पादनलाई आईटीसँग इन्टरलिंक गछौं । त्यसबाट स्वतः मूल्यांकन हुन्छ । एक महिनामा आफूले गरेको काम कम्प्युटर र एप्समा आयो भने त्यसलाई उसले आफ्नो सहकर्मीको कामसँग दाँज्छ । आईटीले त पूर्वाग्राह पनि राख्दैन ।

टेलिकमभित्र राजनीति छ, गुटबन्दी छ । तपाइँले भनेजस्तो प्रविधि प्रयोगबाट यो समस्या हटाउन सम्भव होला ?

यहाँ राजनीतिक आस्थाका आधारमा युनियनहरु बनेका छन् । कर्मचारीहरुले युनियनभन्दा बाहेकबाट गुटबन्दी गरेजस्तो लाग्दैन । युनियनका लागि किन फुर्सद मिलिहरेको छ भने काम नपाएर । अब हामी प्रविधि जोडेर काम देखाई दिन्छौं । प्रविधिले कामको साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक मूल्यांकन पनि गर्‍यो भने काम छोडेर अरु कुरामा चासो लेलान् जस्तो लाग्दैन ।

टेलिकमले रणनीतिक साझेदार भित्र्याउने योजना पनि अघि सारेको थियो । यसबारे तपाइँले के सोच बनाउनुभएको छ ?

यो नेपाल सरकारको कुरा हो । एउटा प्रक्रियामा गएको पनि छ । हामीले डीडीए प्रतिवेदन सञ्चार मन्त्रालयमा पठाइसकेका छौं । सञ्चारबाट सायद अर्थसम्म पुग्यो होला । यसमा सरकारले लिन्छ ।

वर्तमान परिस्थितिमा कम्पनीलाई कसरी व्यवसायिक बनाउने, कसरी नयाँ प्रविधि भित्र्याउने, कसरी नयाँ–नयाँ सेवा दिने र नाफा कमाउने भन्ने मेरो विषय हो ।

नयाँ–नयाँ सेवा दिने भन्नुभयो । टेलिकम अझै परम्परागत एडीएसएल प्रविधिमै छ । ‘फाइबर टु दि होम’ (एफटीटीएच)मा जाने घोषणा भयो, काम भएन । एडीएसएललाई कति दिन माया गर्ने हो ?

एफटीटीएचका उपकरणहरु किन्ने प्रक्रियामा गएका छौं । त्यो आएपछि फिक्स्ड लाइन विज्ञ बनिसकेका हाम्रा फिल्ड अफिसहरुले एडीएसएललाई एफटीटीएचमा अपग्रेड गर्न थाल्ने छन् ।

एडीएसएलका ग्राहकलाई फाइबरमा रुपान्तरण गर्ने र अरुलाई पनि यसमा आकर्षित गर्ने काम पनि गर्दैछौं ।

टेलिकमको विगतको कार्यशैलीका कारण तपाईंले भनेका योजनाहरुलाई ग्राहकले पत्याइहाल्ने अवस्था छैन । कसरी आश्वास्त पार्नुहुन्छ ?

ग्राहकले प्रविधि परिवर्तनसँगै ठूलो अपेक्षा गरिरहनु भएको हुन्छ । हामी आफ्नो देशको सामाजिक–आर्थिक धरातललाई नहेरी विकसित राष्ट्रसँग तुलना गर्नतिर लाग्छौं । युरोपमा यस्तो छ, अमेरिकामा यस्तो छ भन्छौं ।

तर, हामीले हाम्रो खर्च गर्ने क्षमता, भौगोलिक विविधतालाई बिर्सन हुदैन । हामीसँग नेटवर्क विस्तार र सेवा प्रवाहमा चुनौती छ । र पनि, म के विश्वस्त गराउँछु भने हिमाल, पहाड, तराई, गाउँ, शहर सबैतिर परिवर्तन महसुस हुने गरी सेवा दिन्छौं । सस्तोमा नयाँ र गुणस्तरीय सेवा दिनेमा लाग्छु । महसुल घटाएर नाफा बढाउने हिसाबले काम गर्छु ।

यसमा केही समय अवश्य लाग्छ । हामी एउटा लक्ष्य बनाएर काम गर्दैछौं । अब ढुक्क हुनुस्, ग्राहकलाई परिवर्तन भएको महसुस हुने गरी नै काम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment