Comments Add Comment

त्यो १६ सेकेण्डले देशलाई जिताउन चुकेँ

म विद्यालय जान थालेदेखि परिवारले मेरा लागि सपना देखिदियो, स्टार्फ नर्स बनाउने । तर, उहाँहरुको त्यो सपनामा म मिसिन सकिनँ ।

मेरा लागि जिन्दगीको बाटो भनौँ या सपना कराते सिक्न थालेदेखि नै देखियो । विद्यालयमा पढेका किताबभन्दा डोजोमा सिकेका काँता, कुमुतेले मन हर्‍यो । सहभागीता जनाउन थालेको पहिलो प्रतियोगितादेखि नै उपाधि जित्न थालेँ । गुरुहरुको सहयोग र स्याबासी पाएँ । पहिलो अन्तर्राष्ट्रिय सहभागितामा पनि खालि हात फर्कनु परेन । देशको लागि जितेको मेडलले खेलाडी हुँ भन्ने भावना बलियो बनाइदियो । त्यसले नै आफ्ना लागि मात्र होइन देशका लागि सोच्न सक्ने भएँ ।

१२ वर्षे कराते यात्रामा देशभित्रका उपलब्धी धेरै नै भए पनि अन्तर्राष्ट्रिय स्तरमा केही देखाउन सक्ने अवसर गएको एसियाली खेलकुदमा देखिएको थियो । त्यो बेला इन्डोनेसियामा मैले सक्नेसम्मको जोड लगाएकी पनि हुँ । ‘गर या मर’को खेल हो भन्ने सम्झेर मरेरै खेलेकी थिएँ । पछाडि नहटी गएको गयै गरेँ ।

पदकविहीन भइरहँदा सबै नेपालीको अन्तिम आश जस्तो भएको थियो कराते । तर, दुई वटा देशलाई हराएर पनि अन्तिममा मेडलबाट हार्नुपर्दा धेरै नै दुःख लाग्यो ।

खेल भइरहँदा बेलाबेला त्यहीँ माथि राखिएको नेपालको झण्डामा आँखा पुग्थ्यो । त्यही झण्डा सम्झिएर खेलेँ । लड्दा लड्दै हारेपछि देश सम्झिएर मन कटक्क भयो ।

कहाँ चुकेँ, कहाँ चुकेँ भन्ने लागिरहृयो । एक मनले सोचेँ, सबै कुरा आफैंले गरेर मात्र पनि नहुने रहेछ । कतै त भाग्य पनि चाहिने रहेछ … !

****

इन्डोनेसियासम्म पुग्नु अगाडि मेरो करातेको यात्रा लामो छ । कुनै बेला तौल घटाउन भनेर डोजो गएकी म सिक्दासिक्दै राष्ट्रिय खेलाडी बनेकी हुँ ।

म दुई वर्षकी हुँदा बुबाहरु नुवाकोटबाट काठमाडौं आउनुभएको हो । यसैले यतै हुर्किएँ । सुरुमा त खेलमा त्यस्तो रुची थिएन । स्कूलमा हुँदा साथीहरु कराते खेल्न गइरहेको देख्थेँ । सात कक्षा पढ्ने बेलाको कुरा हो, साथीहरु कतिपय बेला त खाजा खाने छुट्टीमै प्रतियोगितामा जान तौल जाँच्नु छ भनेर जाने गर्थे ।

विद्यार्थीको त्यत्रो समूहमा एक दुई जना खेल्नु छ भनेर छिटो घर जाँदा कस्तो होला भन्ने खुलदुली लागिरहन्थ्यो । सन् २००६ को कुरा हो, म पनि साथीहरुसँगै बालाजु डोजोमा कराते सिक्न जान थालेँ । त्यो समयमा अलि मोटी थिएँ । त्यसैले कराते सिक्न जाँदा दुब्लाइन्छ भन्नेबाहेक अरु केही लक्ष्य थिएन । त्यहाँ अभ्यास गर्दागर्दै विस्तारै प्रतियोगिताहरु पनि खेल्न थालेँ । सुरुमा भ्याली च्याम्पियनसिप नै खेलेँ । भ्याली च्याम्पियनसिपको पहिलो सहभागितामा नै म तेस्रो भएकी थिएँ ।

खेलेर केही हुँदैन बरु केही नगरी राम्ररी पढ्छु भन्ने सोचेँ । एसएलसीपछि त सबै छाडेर स्टार्फ नर्सको तयारी कक्षामा पनि जान थालेकी थिएँ

जुनियर लेभलमा खेलिरहँदा ध्रुव विक्रम मल्ल गुरुले मैले राम्रो गरेको भनेर तह बढाइदिनुहुन्थ्यो । सिकाएको कुरा छिटो टिप्ने, मेहनत गर्ने भनेर राम्रो मान्नुहुन्थ्यो । त्यसले प्रतियोगिताहरुमा पनि पठाइरहनु हुन्थ्यो । म पनि कुनै न कुनै मेडल जितेर आउँथेँ । अझै मेहनत गर्दै जाउ भनेर गुरुले हौसला दिनुहुन्थ्यो । ड्रेसहरु सित्तैमा दिने, शुल्कहरु नलिने गरेर गुरुले धेरै सहयोग गर्नुभएको हो । हौसला मिलोस् र अझै राम्रो खेलोस् भनेर गुरुले दिनुभएको ग्राह्यताले नै म खेलमा लाग्न सकेँ ।

त्यहीअनुसार मेहनत पनि गर्दै गएँ । राष्ट्रिय प्रतियोगिताहरुमा लगातार जस्तो जितेँ । त्यही उपलब्धीहरुले गर्दा गएको पाँच वर्षदेखि सशस्त्र प्रहरीको एपीएफ क्लबमा आबद्ध भएर खेल्न पाइरहेकी छु ।

****

सुरुका दिनमा घरबाट खेलमा सहयोग थिएन । मेरो दुईजना दाइ हुनुहुन्छ । म कान्छी छोरी । त्यही भएर ममीबाबाले खेलमा ध्यान नदिइ पढाइमा मन लगाएर केही गरोस् भन्ने सोच्नुहुन्थ्यो । खेल मन पराउनुहुन्नथ्यो । बाबाले त स्टाफ नर्स भइदियोस् भन्ने सोच्नुभएको थियो । स्टार्फ नर्स पढ्नुपर्छ भनिरहनुहुन्थ्यो ।

ममी, बाबा, दाइहरुले सधैँजसो नखेल, राम्ररी पढ भनेर सम्झाइरहनु हुन्थ्यो । शायद हाम्रो परिवारबाट खेलकुदमा कोही पनि नभएकाले होला शायद, कति खेल-खेल भनेर गाली पनि गर्नुभयो । तर, खेलमा ध्यान दिन थालेपछि पढाइमा मध्यम मात्रै थिएँ । परिवारको चाहना विपरीत गएर खेलमा लाग्न एकदमै गाह्रो भएको थियो । त्यसमा पनि बिहान अभ्यास, दिनभर विद्यालय र बेलुका फेरि अभ्यासमा जानुपर्थ्यो । विद्यालयमा दिएको गृहकार्य गर्ने समयसमेत मिलाउन कठीन हुन्थ्यो ।

अभ्यास गर्न जाने ठाउँ घरबाट ४५ मिनेटको दुरीमा थियो । अहिले जस्तो सवारी साधन पनि सहज थिएन । हिँड्दै जाने, हिँड्दै आउने र अभ्यास गर्ने गर्दा धेरै थाकिन्थ्यो । त्यसमाथि घरमा आएर पनि काममा सघाउँथे । ती दिनहरु संघर्षका दिन नै हुन् ।

बाबाले सधैँ अब स्टार्फ नर्स बन्नुपर्छ छोरी, खेल्न नजाऊ । खेलेर केही हुँदैन भन्नुहुन्थ्यो । एक मनले त हो कि जस्तो नि ठान्यो । किनभने सबै कुरा बुझ्ने उमेर थिएन । खेलेर केही हुँदैन बरु केही नगरी राम्ररी पढ्छु भन्ने सोचेँ । एसएलसीपछि त सबै छाडेर स्टार्फ नर्सको तयारी कक्षामा पनि जान थालेकी थिएँ ।

त्यही बेला फेरि प्रतियोगिता आयो भन्ने सुनेपछि आफूलाई रोक्नै सकिनँ । शायद कराते मेरा लागि एउटा नशा जस्तो भइसकेको थियो । मोडिएको बाटो फेरि करातेतिरै आयो । राष्ट्रिय स्तरमा जितेपछि भने मेरो भविश्य कराते नै हो भनेर अगाडि बढेँ ।

जे होस्, त्यो बेलाको दुःखले अहिले यो ठाउँमा आइपुग्न सकेकी छु खुशी लाग्छ । परिवारमा पनि खुसी छ । इष्टमित्रले पनि ममीबाबासँग छोरीले राम्रो काम गरेकी छे भनिदिँदा उहाँहरुलाई खुशी मिलेको छ । छरछिमेकमा पनि मेरो कुरा हुन्छ, यसले पनि बाबाममीलाई खुसी दिएको छ । पढाइलाई पनि निरन्तरता दिइरहेकी छु । व्यवस्थापनमा स्नातक सकाएँ । सानो दाइ र म पहिलेदेखि सँगै पढ्ने भएकाले विद्यालयमा छुटेको कुराहरु उहाँले सिकाइदिनु हुन्थ्यो । त्यसले पढाइमा पछि पर्नु परेन ।

****

मैले कराते खेल्न थालेको तीन वर्षपछि दक्षिण एसियाली खेलकुदको लागि छनोटका रुपमा राष्ट्रिय प्रतियोगिता भएको थियो । त्यसमा मध्यमाञ्चलबाट सहभागी भएँ । त्यो नै मेरो पहिलो राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय सहभागिताको ढोका बन्यो । त्यहाँ जितेर दक्षिण एसियाली खेलकुदको लागि बंगलादेश जाने टोलीमा परेँ ।

सन् २०१० मा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुदको कराते ५० केजी तौल समूहको खेलमा म दोस्रो भएँ । फाइनलमा पाकिस्तानी खेलाडीसँग हार्न पुगेँ । जे होस्, पहिलो अन्तर्राष्ट्रिय सहभागिता राम्रै रहृयो । तौल कम गर्छु भनेर कराते सिक्न गएकी म अन्तर्राष्ट्रिय सहभागितासम्म पुगेकी थिएँ ।

मेडल ल्याउन सकेँ । त्यहाँबाट मेरो खेलले अर्कै मोड लियो । लगातार विदेशमा नेपालको नाम लिएर खेल्न पाएँ, देशका लागि केही गर्न पाएँ । त्यही बेलादेखि नियमित रुपमा राष्ट्रिय टिममा परिरहेको छु । राष्ट्रिय टिममा ८ वर्ष कराते खेलिसकेँ ।

बंगलादेश जाने बेलामा मलाई साग गेमबारे खासै थाहा थिएन भन्दा पनि हुन्छ । रजत पदक जित्दा पनि त्यति ठूलो हो भन्ने लागेको थिएन । तर, ‘अब म देशको खेलाडी भएँ, यो उचाइलाई जोगाएर अघि बढ्नुपर्छ’ भन्ने लागेको थियो । सजिलै यसलाई जोगाउन सक्दिनँ भन्ने बुझेँ र निरन्तर मेहनत गरिरहेँ ।

बंगलादेशको एउटा रमाइलो सम्झना छ, जुन आज तपाईहरुलाई शेयर गर्छु । मैले रजत पदक जितेको भोलिपल्ट दाइहरुले स्वर्ण पदक जित्नुभएको थियो । अघिल्लो दिन मैले पाएको हाइहाइ सकियो ! त्यसपछि स्वर्ण पदक जित्न नसकेकोमा रुन मन लाग्यो । होटलको कोठामा गएर रोएँ पनि । यो घटनाले स्वर्ण पदकको महत्व बुझायो । अब जसरी पनि स्वर्ण पदक जित्नसक्नुपर्छ भन्ने लाग्यो । मैले केही नियममा मैले ध्यान दिएको भए मैले जित्न सक्थेँ भन्ने लाग्यो । तिम्रो उमेर छ, अझै राम्रो गर्न सक्छौ भनेर सबैले सम्झाउनु भयो । नेपालमा आएपछि सबैतिर सम्मान पाउँदा केही राहत मिल्यो ।

अब मेरो लक्ष्य भनेको दक्षिण एसियाली खेलमा स्वर्ण पदक जितेर इतिहास बनाउने हो । पहिला दोस्रो हुँदा जस्तो नमजा लागेको थियो, त्यो बिर्साएर स्वर्ण जित्ने मेहनतमा लागि पनि रहेकी छु । २०१६ मा भारतमा भएको सागमा कराते राखिएन । अब २०१९ मा नेपालमै हुने कुरा छ । त्यसमा भने स्वर्ण जित्ने गरी नै लागिपरिरहेकी छु ।

अन्तर्राष्ट्रिय अन्य सहभागितामा पनि मिलेसम्म गइरहेकी हुन्छु । अनुभव लिनुपर्छ भन्ने लाग्छ । हामीले जति खेल्न पायौँ, त्यति नै खेल राम्रो हुँदै जाने हो । त्यसैले मिल्नेसम्म सबै प्रतियोगितामा सहभागिता जनाइरहेकी छु । हंगेरीमा भएको विश्व सितेरियो च्याम्पियनसिपमा स्वर्ण पदक जितेँ, हङकङमा भएको सितेरियो च्याम्पियनसिपमा कांस्य पदक जितेँ । गत वर्ष अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेँ ।

****

दुईवटा एसियाली खेलकुदमा पनि सहभागी भएँ । पहिलो २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुद त सहभागिता मात्रै भयो । अनुभवबाहेक उपलब्धी केही भएन । अहिले सम्झँदा त्यो बेला आफू अलि आलोकाचो नै थिएँ जस्तो लाग्छ ।

त्यो १६ सेकेण्ड रोक्न सकेको भए … जस्तो अहिलेसम्म लागिरहन्छ । दुई मिनेटको अवधिमा मैले जितिरहँदा पनि त्यो अन्तिम १६ सेकेण्डमा सम्हालिन सकिनँ भनेर पछुतो लाग्छ

यही वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा पनि सहभागी भएँ । मेरो लागि कहिल्यै बिर्सन नसक्ने पलहरु इन्डोनेसियामा आयो । त्यहाँ राम्रो खेल देखाउन सकेँ भन्ने लाग्छ । क्वार्टरफाइनलसम्म पुगेकी थिएँ । दुईवटा देशलाई भए पनि हराउन सकेँ ।

त्यसबेला एउटा आश थियो । नेपाली खेलाडी सबैजना हारिरहेको भनेर समाचारहरु पनि आइरहेको थियो । जितको आश करातेमा मात्र बाँकी छ भन्ने नेपाली सञ्चार माध्यमका समाचार त्यहाँ पनि हामीले पढेका थियौँ । त्यसमा पनि मेरो खेल अन्तिममा नै थियो । मैले राम्रो खेल्छु भनेर मेहनत पनि गरेकी थिएँ ।

खेल अगाडि नै हामी आफ्नो विपक्षी को छ, कस्तो छ भनेर हेर्छौं । त्यस्तोमा विपक्षीको राम्रो र्‍याङकिङ देखेपछि अलिकति डर हुने रहेछ । इन्डोनेसियामा त्यस्तै भयो कि जस्तो पनि लाग्छ ।

यसो हेर्‍यो, हामीभन्दा राम्रा छन् जस्तो लाग्छ । खेलस्तरदेखि खानपिन सबै उनीहरुकै राम्रो । महिनामा २/३ वटा खेलहरु खेलिरहेका हुन्छन् । हामीले राम्ररी प्रतियोगिता खेल्न पाएका पनि हुँदैनौँ । चार वर्षमा आउने एसियाली खेलकुदमा पनि अनेक विवाद हुन्छ । त्यसले हामीले पर्याप्त म्याच एक्पोजर पाएका हुन्नौं । अलिकति तल परेको हो कि जस्तो लाग्ने कारण त्यही हो ।

जापानको खेलाडी नम्बर वानमा नै थियो । त्यहीसँग पर्छु कि जस्तो डर लागिरहेको थियो । धन्न पहिलो फाइटमा त्योसँग परिनँ ।

सुरुमा मकाउलाई सजिलैसँग हराएँ । चाइनिज ताइपेइसँग दोस्रो खेल पर्‍यो । अन्तिम १६ सेकेण्डमा पुगेपछि खेल गुमाउन पुगेँ । त्यो १६ सेकेण्ड रोक्न सकेको भए … जस्तो अहिलेसम्म लागिरहन्छ । दुई मिनेटको अवधिमा मैले जितिरहँदा पनि त्यो अन्तिम १६ सेकेण्डमा सम्हालिन सकिनँ भनेर पछुतो लाग्छ ।

पछि उनैले स्वर्ण पदक जितिन् । उनै फाइनलमा पुगेकाले मैले अर्को फाइट पनि पाएकी थिएँ । जसमा लाओसको खेलाडीलाई हराएँ । त्यसपछि पहिलेदेखि डर लागेको जापानकै खेलाडीसँग परेँ । जित्न सकेकी भए मेडल पाउने थिएँ, तर सकिनँ ।

सक्नेसम्मको जोड लगाएकी हुँ । ‘गर या मर’को खेल हो भन्ने सम्झेर खेलेकी थिएँ । म पछाडि नहटी गएको गयै गरेँ । सबै नेपालीको अन्तिम आश जस्तो भएको थियो । हार्नुपर्दा धेरै दुःख लाग्यो ।

मलाई अहिले पनि याद छ, खेल हुँदा पनि बेलाबेला माथि राखिएको नेपालको झण्डामा आँखा पुग्यो । त्यही झण्डा सम्झिएर पनि खेलेकी थिएँ । तर, हार्नु पर्दा मन कटक्क खायो । कहाँ चुकेँ, कहाँ चुकेँ भन्ने भयो । सबै कुरा आफैँले गरेर मात्र पनि नहुने रहेछ । भाग्य पनि चाहिने रहेछ जस्तो लाग्यो ।

नेपाल आएपछि धेरैले राम्रो खेल्यौं भनेर हौसला दिनुभयो । यत्तिको खेल्नु भनेको राम्रै हो । अर्को पटक अझै राम्रो हुन्छ भन्ने कुराले सान्त्वना मिल्यो । तर पनि त्यो पल फेरि पनि फर्किएर आउँदैन जस्तो महसुश हुने रहेछ । सम्झिँदा पनि दुःख लाग्छ । …जित्न सक्ने थिएँ भनेर थकथक लागिरहन्छ ।

****

पहिलो एसियाली सहभागितामा कोरिया गएर आएपछि मैले आफ्नै खर्चले धान्ने जति अन्तर्राष्ट्रिय खेलमा पनि सहभागिता जनाउँदै आएकी थिएँ । सरकारले लगानी गरेर पठाएन भनेर यसै बसिरहृयो भने आफ्नै खेल झनै कमजोर हुन्छ भनेर आफूले सक्ने गरेँ ।

हाम्रो तयारी भनेको घोटिएर गरिने अभ्यास नै हो । खानपानदेखि अन्य कुरा त मिलाउन असाध्यै अप्ठ्यारो हुन्छ । खाने कुरा एकदम सोचेर खानै सक्दैनौँ । आर्थिक रुपमा पनि डाक्टरले भनेजसरी डाइट खान सक्दैनौँ । किनकि उनीहरुले भनेको समय र खानेकुरा हुनका लागि हामीलाई भइरहेको सुविधा र तयारीले पुग्दै पुग्दैन

जर्मन, अस्ट्रेलिया, थाइल्याण्डमा खेल्न गएँ । इन्डोनेसिया जानुअघि २० दिनको क्याम्पको लागि जापान लगिएको थियो । त्यहाँ धेरै कुरा बुझ्न पाएँ । जापानमा कराते निकै राम्रो छ । त्यहाँ विश्व विजेताहरुलाई हेर्न पाइयो । उनीहरुसँग सिक्न पाइयो । त्यसले गर्दा पनि धेरै कुरा थाहा भएको थियो ।

खेलमा अनुभव र अभ्यास नै हो । त्यसैले कुनै प्रतियोगितामा जानुभन्दा २० दिन अघि क्याम्प राख्नुभन्दा कसरी अलि लामो समय खेलमा जोड्न सकिन्छ भनेर सोच्नैपर्छ ।

कम्तिमा पाँच महिनाको तयारी र एउटा मिसन हुनुपर्छ जस्तो लाग्छ । हामीले अन्तर्राष्ट्रिय खेलहरुमा सहभागी हुन पाउने र अभ्यासमा समय दिन पाउने हो भने कुन देशका खेलाडीभन्दा कम छौँ र ?

तर, आर्थिक रुपले आफ्नै लगानीमा धेरै पटक विदेशमा खेल्न जान सकिँदैन । वर्षमा एक/दुई पटक जान्छौँ, खेल्छौँ । यहाँ आएपछि माहोल नै अर्को हुन्छ । देशमा खेलको माहोल राम्रो बनाउन सकेका छैनौँ जस्तो लाग्छ । गएको आठ वर्षदेखि निरन्तर राष्ट्रिय टिममा छु । गुरुहरुले भन्नुभएका कुराहरु राम्ररी पछ्याइरहेको छु । अहिलेसम्म निरन्तर राष्ट्रिय च्याम्पियन हुन सकेकी छु । गुरुहरुले अरुको अगाडि उदाहरण दिएर ‘ऊ जस्तो हुनुपर्छ’ भन्नुहुन्छ । त्यसले पनि खुशी लाग्छ । अहो म पनि अरुको लागि उदाहरण बन्न सकेछु, मबाट अरुले सिक्न सक्ने रहेछन्, मैले अझै मेहनत गर्नुपर्छ जस्तो लाग्छ ।

तर, अब राष्ट्रिय स्तरमा मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा नै उपाधि जित्ने मन छ । इतिहास रच्ने एउटा मेडल जित्छु भनेर लागिरहेकी छु । त्यसपछि मात्रै खेलाडीबाट सन्यास लिन्छु । मलाई थाहा छ, सधैँ खेलिरहन सकिँदैन । नयाँ पुस्तालाई पनि अवसर दिनुपर्छ । तर, सन्यास लिनु अगाडि दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेर अपुरो लक्ष्य पुरा गर्ने मन छ ।

****

अहिले आठौँ राष्ट्रिय खेलकुदको तयारीका लागि क्लोज क्याम्प पनि भइरहेको छ । क्याम्पमा नबस्दा पनि बिहान र बेलुका नियमित अभ्यास गर्थें । दिउँसो दुई वटा विद्यालयमा कराते सिकाउन जाँदा पनि सिकाउने सँगै आफूले नयाँ कुरा सिक्ने अवसर मिल्छ ।

आठौँ राष्ट्रिय खेलकुद र १३ औँ दक्षिण एसियाली खेलकुदका लागि राम्ररी नै तयारी गर्नुपर्ने छ । हाम्रो तयारी भनेको घोटिएर गरिने अभ्यास नै हो । खानपानदेखि अन्य कुरा त मिलाउन असाध्यै अप्ठ्यारो हुन्छ । खाने कुरा एकदम सोचेर खानै सक्दैनौँ । आर्थिक रुपमा पनि डाक्टरले भनेजसरी डाइट खान सक्दैनौँ । किनकि उनीहरुले भनेको समय र खानेकुरा हुनका लागि हामीलाई भइरहेको सुविधा र तयारीले पुग्दै पुग्दैन ।

त्यस्तो वातावरण कहाँ छ र ? बिहान अभ्यास गर्छौं र घरमा गएर दिनभर सामान्य खानेकुरा खान्छौँ । खाजा पनि मःम, चाउमिन नै हुन्छ । मैले तौल सन्तुलनमा राख्नुपर्ने हुनाले बेलुका भने खाना खाँदिन । फलफूलहरु खान्छु । पर्याप्त रुपमा डाइटहरु खानुपर्छ भन्ने थाहा भएर पनि खान भने सकेका छैनौँ ।

पहिले अलि मोटी थिएँ, ५५ केजी तौल समूहमा खेल्थेँ । तर हाइट राम्रो नभएकाले आफ्नो तौल समूहमा खेल्नेहरु अग्ला अग्ला हुन्थे । आफू होचो अरु अग्लो हुँदा खेल्न अप्ठ्यारो हुन्थ्यो । ५० केजी तौल समूहमा खेल्नका लागि तौल घटाएको छु । आफ्नो उचाइसँग मिल्दो भएपछि हान्न, लडाउन सजिलो हुन्छ ।

****

बाबाले भनेजस्तै स्टार्फ नर्स भएकी भए यत्तिका उपलब्धी र सम्मान पाउँथे होला त ? अँह ! यो होइन कि नर्स पेशा सम्मानित छैन । तर, करातेमा लागेर मैले आफ्नो रुचिको खेल खेल्न पाएकी छु । खेलाडीको रुपमा देशको प्रतिनिधित्व गर्न पाएकी छु । सबैले माया र सम्मान दिनुभएको छ । यो मलाई पर्याप्त छ ।

परिवारबाट असाध्यै सहयोग छ । आफन्तहरुले दशैँको टीका लगाइदिँदा पनि देशको लागि मेडल जित्नु भनेर आर्शिवाद दिन्छन् । यो सबै कुराले निकै खुशी मिल्छ । मान, सम्मान र बाँच्न पुग्ने पैसा भए भइहाल्यो नि, योभन्दा बढी के चाहिन्छ र हैन ?

प्रस्तुति: ऋग्वेद शर्मा
तस्वीर/भिडियोः शंकर गिरी

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को १८ औँ श्रृङ्खलामा यो हप्ता राष्ट्रिय कराते खेलाडी अनु अधिकारीको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment