Comments Add Comment

खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि नियन्त्रणमै 

३ माघ, काठमाडौं । नेपालमा समग्र मूल्यवृद्धि दर नियन्त्रणमा रहेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्म वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो । मूल्यवृद्धि ५ प्रतिशतभित्र सीमित रहनुलाई राम्रो मानिन्छ ।

खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर सीमान्त रुपले मात्र बढेको कारण समग्र उपभोक्ता मूल्यवृद्धि दर अघिल्लो वर्षको तुलनामा न्यून भएको राष्ट्र बैंकले जनाएको छ ।

मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मूल्यवृद्धि दर २.८ प्रतिशत रहेको थियो । २०७४ मंसिरको तुलनामा तरकारी, दाल तथा दलहन र चिनी तथा चिनीजन्य पदार्थ उप-समूहका वस्तुहरूको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून भएको राष्ट्रबैंकले जनाएको छ ।

समीक्षा अवधिमा गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर ६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो ।

यो समूह अन्तर्गत घरायसी सेवा तथा उपयोगिता, यातायात, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणलगायतका उप-समूहका वस्तु तथा सेवाहरूको मूल्य वृद्धि भएकोले समग्र गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर बढ्न गएको हो ।

गत मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.१ प्रतिशत, पहाडमा ३.८ प्रतिशत, काठमाडौं उपत्यकामा ३.७ प्रतिशत र तराईमा ३.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि दर क्रमशः ५.५ प्रतिशत, ४.८ प्रतिशत, ३.४ प्रतिशत र ४.३ प्रतिशत रहेको थियो ।

मंसिर महिनामा नेपालको वाषिर्क बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ३.७ प्रतिशत रहँदा भारतको २.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.२ प्रतिशत र भारतको ५.२ प्रतिशत रहेको थियो ।

गत मंसिर महिनामा वाषिर्क बिन्दुगत थोक मुद्रास्फीति ७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति १.८ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातुहरू, यातायातका उपकरण तथा पार्टस्, गैर-खाद्य पदार्थलगायतका वस्तुहरूको मूल्य वृद्धि भएकोले समग्र थोक मुद्रास्फीति बढ्न गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment