Comments Add Comment

अब जित्छौं, अनि भन्छौं – केही त गर

'हाम्रो मेहनत र त्याग देखेकै छैनन्'

नेपाली महिला क्रिकेटरहरुले कस्तो अवस्थामा के गरिरहेका छन् भन्ने धेरैले देख्नु भएकै छ । हामीलाई देशको माया छ, त्यसैले पैसासँग किन तुलना गर्नु ? यही दृढ संकल्पले खेल्ने उत्साह दिइरहन्छ ।

होइन भने त कसरी सकिन्छ र ? परिवारले केही नभनी सहयोग गरिरहेको छ, क्रिकेट खेलेर केही नदिँदा पनि चिन्ता नगरी खेल्न हौसला दिएको छ, त्यसैले त देशका लागि खेलिरहन सकेका छौँ ।

खेलहरु नहुँदा, लामो समय यत्तिकै बस्नुपर्दा साह्रै दुःख लाग्छ । के गरौं, कसो गरौं, कहाँ जाउँ जस्तो हुन्छ । कतिबेला त छाड्दिउँ कि जस्तो पनि लाग्छ । छाडेर विदेश गएर सेटल हुने पो हो कि भन्ने सोच पनि बेलाबेला नआउने होइन । म कप्तान भएर पनि त्यस्तो सोच आउँछ भने अरुको अवस्था झन् कस्तो होला त ? कति भन्ने ? कति कराउने ? कसैले सुन्न होइनन् ।

त्यसैले सबै कुरा छाडेर विश्वकपसम्म पुग्ने मेहनतमा छौं । सोचेका छौं, पहिले नतिजा ल्याएर देखाऔं, अनि भनौं- अब त केही गर ।

****

केही दिनअघि थाइल्याण्डमा सकिएको प्रतियोगिताबाट कुरा सुरु गरौं ।

समग्रमा हामी सन्तुष्ट हुने गरी नै ‘थाइल्याण्ड महिला टी-ट्वान्टी स्मास’ क्रिकेट प्रतियोगिता सकिएको मान्नुपर्छ । नेपाली महिला क्रिकेट टिमले खेलेको प्रतियोगिताहरुमा थाइल्याण्ड टुर सम्झनलायक नै रहृयो । फाइनलबाहेक हरेक खेलमा विपक्षीलाई दबावमा राखेर नै जित्यौं ।

फाइनलमा हामीले पाएको १२२ रनको लक्ष्य भेट्नै नसक्ने भन्ने थिएन । हाम्रो ब्याटिङको स्तर हेर्दा हारे पनि ११५ हाराहारीमा रन बनाउनुपर्ने थियो, तर ५१ रनमा नै अलआउट भयौं। त्यसको एउटै कारण हामी मानसिक रुपमा बलियो हुन नसक्नु नै हो ।

टिमले मेहनत र सुधार पनि धेरै नै गरेको हो । आउँदो फेब्रुअरी १८ देखि हुने महिला टी-२० विश्वकपको एसियाली छनोटको तयारीका रुपमा हामी थाइल्याण्डमा प्रतियोगिता खेल्न गएका थियौँ । एसिया छनोटको विजेता बन्न सक्यौं भने टी-ट्वान्टी विश्वकप छनोट खेल्न पाउँछौं ।

हुन त थाइल्याण्डमा हामीले पहिलो उपाधि नै जित्ने सम्भावना पनि थियो । इतिहास रच्ने चाहना हामीमा नभएको पनि होइन । तर हामी १५ महिनादेखि खेलविहीन भएर बसेका थियौं । केही खेलाडीले जस्तो मिल्छ त्यस्तै खेल खेलिरहेको भए पनि धेरैका लागि त त्यही पनि थिएन ।

एक त लामो समयको खाली समय, त्यसमा पनि जम्मा १७ दिनको क्याम्प । त्यसैले हाम्रो तयारी पर्याप्त हुने कुरै भएन । फेरि थाइल्याण्डविरुद्ध खेल्न तयारी मात्र होइन, मानसिक रुपमा नै तयार हुनुपर्छ । एशोसिएट महिला क्रिकेटमा थाइल्याण्ड निकै बलियो टिम हो । उनीहरु लगातार जस्तो खेलहरु खेलिरहेका हुन्छन् । हरेक दिनजस्तो उनीहरुको तयारी हुन्छ ।

थाइल्याण्डविरुद्ध फाइनल खेल्नुअघि हाम्रा केही खेलाडीमा डर देखिएको थियो । टिममा एक खेलाडी डरायो भने पनि नतिजा राम्रो नआउन सक्छ । त्यो दिनको हाम्रो कमजोरी नै त्यही डर हो ।

सेमिफाइनलसम्म खेलाडीहरुसँग कुरा गर्दा सबै ठीक थियो, सबै जना विश्वस्त थियौं । फाइनलमा ‘ओहो फाइनल !’ भन्ने दबावले नराम्रो काम गर्‍यो ।

प्राय खेलाडीका लागि त्यत्तिको प्रतियोगितामा पहिलो फाइनल थियो । त्यो मौकालाई कसरी व्यवस्थापन गर्ने भन्ने गाह्रै भएको हो । सेमिफाइनलसम्म सबैलाई दबाएको हामी फाइनलमा आफैं दबियौं । ‘स्किल’ र ‘टेक्निक’ हेर्ने हो भने हामी कम थिएनौं । तर, मानसिक रुपमा हामी कमजोर देखियौं ।

****

थाइल्याण्ड जानुअघि हामीले भनेका थियौं, ब्याटिङमा कमजोरी छ, त्यसमा सुधारका लागि काम गरेका छौं । त्यो देखिएको पनि हो ।

फाइनलमा हामीले पाएको १२२ रनको लक्ष्य भेट्नै नसक्ने भन्ने थिएन । हाम्रो ब्याटिङको स्तर हेर्दा हारे पनि ११५ हाराहारीमा रन बनाउनुपर्ने थियो, तर ५१ रनमा नै अलआउट भयौं। त्यसको एउटै कारण हामी मानसिक रुपमा बलियो हुन नसक्नु नै हो । कस्तो टिमसँग कसरी प्रस्तुत हुने भनेर हामीले बुझेकै रहेनछौं ।

म अहिले पनि भन्छु, ठूलो लक्ष्य भनेर डराउनुपर्ने कुनै कारण थिएन । त्यो ब्याटिङ विकेट नै थियो । बल स्वीङसम्म भएको थिएन । टिममा रहेका नयाँ खेलाडीहरुले पनि एकदमै राम्रो गरेका थिए । खेलाडी छनोट गर्दा खेल क्षमता र फिटनेसलाई ध्यान दिएका थियौं । त्यसैले फिल्डिङ पनि राम्रो थियो ।

जुनियरहरुलाई पनि फाइनलअघि नै डेब्यू गराइएको थियो । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो भन्ने डर देखिएको थिएन । ‘लक’ नै भन्नुपर्छ, पहिलो दोस्रो खेलहरु हामीले तुलनात्मक रुपमा अलि कमजोर टिमसँग नै खेल्न पाएका थियौं । त्यसले हाम्रो मनोबल बढाउन सघाएको थियो ।

कस्तो परिस्थितिमा के कसरी खेल्नुपर्छ भन्ने अरुको खेल हेर्दा पनि बुझिन्छ । मैले अहिले महिला बिग ब्यासलाई फलो गरिरहेकी छु ।

ए भगवान ! सिड्नी सिक्सर्सबाट अस्टे्रलियाकै एलिस पेरीले खेल हेर्दा दङ्ग पर्छु । कुनै पनि पुरुष खेलाडीले पनि त्यसरी खेल्न सकेको छैन होला । बिग ब्यासमै हार्नै लागेको खेल जितेको देखेका छौँ, जितिसकेको खेल हारेको देखेका छौँ, बराबरी भएर सुपर ओभरमा पुगेको छ । जुनसुकै बेला जेसुकै हुनसक्छ । तर, यो सबै जान्दा जान्दै पनि हामी फाइनलमा चुक्यौं । शायद यसले हामी सबैलाई एउटा पाठ भने सिकाएको छ ।

****

खेलहरु नै नहुँदा, लामो समय यत्तिकै बस्नुपर्दा साह्रै नै दुःख लाग्छ । के गरौं, कसो गरौं, कहाँ जाउँ जस्तो हुन्छ । कतिबेला त छाडदिउँ कि जस्तो पनि हुन्छ । विदेश गएर सेटल होउँ कि भन्नेसम्म सोचिन्छ ।

म कप्तान भएर पनि त्यस्तो सोच आउँछ भने अरुको अवस्था कस्तो छ होला त ? तर अब आफूले एउटा जिम्मेवारी लिइसकेको भएर कसरी त्यसलाई अगाडि बढाउने भन्ने सोच्नै पर्छ । यसैले नेपालमा मात्र होइन, भारतमा, बंगलादेशमा गएर भए पनि मिलेसम्म खेलहरु खेल्ने प्रयास गरिरहेका हुन्छौँ । सिनियर, जुनियर सबै जनालाई खेल्ने अवसर मिलोस् भन्ने सोचिरहेका हुन्छौं ।

यत्तिकै बसिराख्यौं भने त केही कुरा जित्न सक्दैनौं । जबसम्म हामीले आफ्नोतर्फबाट पनि केही गर्दैनौं, तब त केही नै हुँदैन । हामीले यत्रो वर्ष यो छैन, त्यो छैन भनेर कराउँदा के भयो त ? सुन्नुपर्नेहरुले सुनेनन् ।

हाम्रो देश नै नतिजामा आधारित छ । जब केही उपाधि जितिन्छ, तब मात्र ओहो ! भन्ने हुन्छ । नतिजा आएन भने कति मेहनत, त्याग गरेका छ, हेरिन्न । त्यही भएर यसपटक प्रतियोगिताबारे जानकारी आइसक्दा पनि कसैलाई केही भनेनौं । आफैं-आफैंमा कुराकानी गर्‍यौं र मेहनत गरिराख्यौं ।

‘ओइ, ल है प्रतियोगिता आउँदैछ, क्याम्प होला भनेर पर्खेर नबस, जहाँजहाँ छौ तयारी गर’ भनेर आपसमा कुराकानी गर्‍यौं ।

जिममा ध्यान दिएर फिट भएर बस्ने, स्किलमा काम गर्ने गरिराख्दा प्रतियोगिताका लागि हुने क्याम्प नै कुर्नु पर्दैन । आफैं अभ्यास नगर्नेहरुलाई टिममा फर्कन गाह्रो हुन्छ । हुन त खेल नै हुँदैन के अभ्यास गर्नु भनेर वाक्क पनि लाग्छ होला । आफ्नो जीवन बाँच्न पुग्ने कमाइ छैन, खेल कहिले हुन्छ भन्ने पनि कुनै टुंगो छैन । यस्तो अवस्थामा परिवारले पनि चुपचाप कति सहयोग गरोस् ?

त्यही भएर यसपटक ४० जना खेलाडी खोज्न पनि असाध्यै सकस भयो । धेरैजस्तो खेलाडी त क्याम्पका लागि आउँदै आएनन् । लाग्दो हो, अभ्यास गरेको छैन, फिट छैन यत्तिकै खेल्छु भनेर गएर पो के गर्ने ? कति जना त मेरो अब कमाउने समय भयो, नेपालमा खेलेर हुँदैन भनेर विदेश हिँडे ।

पहिलेको टिम र अहिलेको टिम नै हेर्नुस्, धेरै पुराना खेलाडीहरु छन् । क्याम्पको लागि आउने अनुहारहरु पनि प्रायः पुरानै हुन्छन् । केही पनि त भएको छैन, अनि नयाँ खेलाडी कसरी क्रिकेटमा लाग्छन् त ? आएका केही नयाँ पनि यही वर्ष मात्र आएका हुन् । यसैले सिनियर खेलाडीमध्ये पाँच जनाले पनि क्रिकेट छाड्यो भने नेपालमा महिला क्रिकेट शून्य जस्तो हुन्छ ।

****

कहिले कहिले सुरुवातका दिनहरुमा फर्किएर सोचिरहेकी हुन्छु । मैले क्रिकेट सुरु गर्दा भर्खर भर्खर महिलाले क्रिकेट खेल्न थालेको बेला थियो । झापामा हाम्रो घरछेउमा एउटा सानो मैदान थियो । दाइहरु त्यतै मैदानमा खेलिरहनु भएको हुन्थ्यो । म घरको बाल्कुनीमा उभिएर हेरिरहेको हुन्थेँ ।

कहिले त, ए भगवान ! किन मैले क्रिकेटलाई रोजेछु । कुनै एउटा पेशामा लागेको भए केही कमाउँथे होला जस्तो पनि लाग्छ । तर, आफ्नै मनले भन्छ, म त देशका लागि खेलिरहेको छु, पैसासँग पनि कहीँ तुलना हुन्छ र ?

अहिले सम्झदा अचम्म लाग्छ, प्राय मेरा दिन दाइहरु खेलेको हेरेरै बित्थ्यो । एकदिन मेरो दाइले ‘तँ पनि खेल्न हिँड्’ भनेर लैजानुभयो । त्यही बेलादेखि बलिङ सुरु भयो । दाइहरुले विस्तारै बाजी थापेर खेलिने खेलहरुमा पनि सहभागी गराउन थाल्नुभयो । त्यस्तो खेलमा मैले बलिङ मात्रै गर्न पाउँथें । बलिङ सकिएपछि बाहिर आएर बस्थें । त्यसरी नै मेरो क्रिकेट बढ्दै गयो ।

दाइसँगै भएकाले केटाहरुसँग मिसिएर खेल्न पनि अप्ठ्यारो भएन । उनीहरु सबैजनाले राम्रो व्यवहार गर्थे । नभए त प्राय गाउँमा केटाहरुसँगै मिसिएर खेल्नु परकै कुरा हो । म दाइसँगै जान्थें, दाइसँगै फर्कन्थें । त्यो बेला म गएपछि एकजना अर्को केटी साथी पनि आएकी थिइन् । उनी अहिले खेल्दिनन् । मेरो दाइले पनि क्षेत्रीयस्तरको खेलहरु खेले पनि निरन्तरता दिनु भएन ।

म भने मेची क्रिकेट एकेडेमीमा सिक्न पनि जान थालेँ । पछि मिलन क्रिकेट एकेडेमीमा पनि सिकेँ । विद्यालयमा हुँदा दुईवटा प्रतियोगिता टेनिस बलले खेल्न पाएकी थिएँ ।

****

१५ वर्षको हुँदा पहिलोपटक पूर्वाञ्चल टिमबाट राष्ट्रिय प्रतियोगिता खेलेकी थिएँ । हाम्रो पहिलो खेल नेपालगञ्जसँग पर्‍यो । त्यतिखेर नेपालगञ्ज असाध्यै राम्रो टिम मानिन्थ्यो, जसमा आठ जना त राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी थिए । मैले चिनेको नेरी थापा पनि त्यही टिममा हुनुहुन्थ्यो । त्यो खेलमा मैले ६ विकेट लिएँ । हामी फाइनलसम्म पनि पुगेका थियौं । उत्कृष्ट बलरको उपाधि पाएँ । त्यही प्रतियोगिताले मेरो राष्ट्रिय टिममा प्रवेश गर्ने बाटो खुल्यो ।

सन् २००९ मा मलेसियामा भएको एसीसी महिला टी-२० च्याम्पियनसिप प्रतियोगितामा राष्ट्रिय टिमबाट खेलें । रितु कनोजिया कप्तान हुनुहुन्थ्यो । त्यो प्रतियोगितामा हामी तेस्रो भएका थियौं । हङकङसँग सेमिफाइनलमा ७ विकेटले हारेपछि तेस्रो स्थानको प्लेअफमा चीनलाई ७३ रनले हराएका थियौं ।

त्यो बेलादेखि अहिलेसम्म आइपुग्दा नेपाली टिममा धेरै परिवर्तन भइसक्यो । त्यो बेला ब्याटिङ, बलिङभन्दा अरु केही हुँदैन थियो । फिटनेसबारे थाहै थिएन । अहिले त धेरै कुरामा विचार गर्न थालेका छौं । अनुभवले पनि परिपक्व बनाउँदै लगेको छ । कस्तो अवस्थामा के गर्ने भन्ने बुझेका छौं । पहिले एक्लैको लागि सोचे पुग्थ्यो, अहिले टिमको लागि सोच्न थालेकी छु ।

सन् २०१२ को महिला टी-२० एसिया कपदेखि म राष्ट्रिय टिमको कप्तान बनेँ । त्यसअघि नेरी थापा कप्तान हुनुहुन्थ्यो । प्रतियोगितामा बंगलादेश, श्रीलंका जस्ता टिमसँग खेल्दा राम्रो अनुभव भएको थियो ।

****

टिममा कप्तानको भूमिका निर्बाह गर्न धेरै अप्ठ्यारो हुन्छ । पूरै टिमलाई मिलाउने जिम्मेवारी अवश्य पनि सहज छैन । सबैको सोचाइ फरक हुन्छ, उनीहरु सबैको भावनालाई समेटेर चल्न सक्नुपर्‍यो, सबैको समस्या बुझ्नुपर्‍यो । टिमले मलाई समर्थन नगरेसम्म त कप्तान एक्लैले केही गर्नै सक्दैन । त्यही भएर टिमको खुशी नै मेरो खुशी हो, चाहे त्यसका लागि मेरो खुशी नै त्याग्नु किन नपरोस् ।

अझ राष्ट्रको इज्जत र नाम बोकेर हिँडेपछि त्यसको उचाइ पनि ठूलै हुन्छ । हाम्रो सानो गल्तीले देशको शीर निहुरिनसक्छ । हामीले जित्दा सिंगो देशले जित्छ, अनि हार्दा नेपालले हार्‍यो भनिन्छ । रुबिना या अरु कसैले हार्‍यो भन्ने त हुँदैन । त्यसैले त्यो जिम्मेवारीले गर्व पनि महसुस हुन्छ र केही दबाव पनि । मसँग सिंगो देश जोडिएको छ भन्ने सोचले सजग बनाइराख्छ ।

****

हुन त अहिलेसम्म महिला क्रिकेटरहरुको व्यक्तिगत जीवन अझै पनि संघर्षपूर्ण छ, खेलेर बाँच्न निकै कठिन छ । तर, देशको माया छ, पैसासँग किन तुलना गर्नु भनेर खेलिरहेका छौं । होइन भने त कसरी सकिन्छ र ? हाम्रो परिवारले पनि केही नभनी चुपचाप सहयोग गरिरहेको छ, क्रिकेट खेलर केही नदिँदा पनि निरन्तर हौसला दिएको छ, त्यसैले त खेलिरहन पाएका छौं ।

भर्खर भर्खर खेल्न थाल्दादेखि अहिलेसम्म घरमा आएका मानिसहरुले पनि तिम्री छोरीले राम्रो खेल्छिन् भनेर तारिफ गरिदिएका हुन्छन्, त्यसले परिवारलाई खुशी दिएको छ । सानोमा मैले खेल्न थाल्दा एकजना काका आएर मलाई एकेडेमीमा पठाउन घरमा कर लगाएका थिए । मेरो ठाउँमा मलाई हौसला दिने मान्छेहरु धेरै हुनुहुन्छ । यदि उहाँहरुले मेरो परिवारसँग ‘तिम्रो छोरीले के खेलेको त्यस्तो, त्यसरी पनि हुन्छ’ भनेर नकारात्मक कुरा गरिदिएको भए  यति सहज हुने थिएन । आफैंलाई पनि मैले खेलेर राम्रो काम गरेकी छु भन्ने आत्मबल त भइरहनु पर्छ ।

मलाई त परिवारले भनेको छ, ‘तेरो काम खेल्ने हो, अरु कुरा नसोची खेलिराख’ । तर, कहिलेकाहीँ क्रिकेट नरोजेको भए हुन्थ्यो कि भनेर मनमा कुरा खेल्छ । कहिले त, ए भगवान ! किन मैले क्रिकेटलाई रोजेछु । कुनै एउटा पेशामा लागेको भए केही कमाउँथे होला जस्तो पनि लाग्छ । तर, आफ्नै मनले भन्छ, म त देशका लागि खेलिरहेको छु, पैसासँग पनि कहीँ तुलना हुन्छ र ?

हामी खेलाडीहरुप्रति देशको पनि न कर्तव्य होला नि ! यो कुरा सम्झाउँदा सम्झाउँदै १२ वर्ष बितिसक्यो । त्यसैले भन्न पनि छाडेका छौँ । जितेर देखाउँछौँ भनेर एकसुरमा मेहनत गरिराखेका छौँ ।

यत्रो वर्ष त खेलिहालें, अब नेपाललाई महिला विश्वकपमा छनोट गराएर मात्रै छाड्छु भन्ने लक्ष्य राखेकी छु ।

साथीहरु पनि दिदी अब के गर्ने ? जित्नै पर्ने भयो भनिरहेका हुन्छन् । जो खेलाडीलाई सोध्नुस्, सबैको चाहना अब जितेर देखाउनैपर्छ भन्ने छ । यहाँ नजितेसम्म केही हुँदैन भन्ने हामीले बुझेका छौँ ।

सिधै विश्वकपमा लैजान्छौं भन्ने पनि होइन । अगाडि आएका हरेक खेलमा राम्रो गर्दै जाने हो । जुनसुकै स्तरमा भए पनि हाम्रा लागि हरेक खेलमा खेलको महत्व उति नै रहन्छ । खेलमा केन्दि्रत भएर नै खेल्नुपर्छ । हामी जतिसक्दो स्वतन्त्र भएर धैर्यता बनाइराख्न सक्छौं, तब खेल राम्रो हुन्छ ।

अब महिला टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिताको तयारीका लागि पनि हामी त्यसरी नै तयार रहनुपर्छ । त्यसका लागि केके गर्ने भनेर पनि सोचिरहेका छौँ । कुराकानी भइसक्यो, त्यसलाई व्यवहारमा उतार्न बाँकी छ । पुरुष यू-१९, यू-१६ टिमसँग अभ्यास खेलहरु खेल्ने कि भन्ने कुराहरु पनि भइरहेका छन् । हेरौं के हुन्छ ?

प्रशिक्षक बिनोद दासले पनि कसरी जाने के गर्ने भनेर सोचिरहनु भएको छ । हामी सबै खेलाडी पनि त्यसमा नै फोकस हुन्छौं ।

****

पुरुष टिमको हालत पनि केही वर्ष पहिलेसम्म यस्तै थियो । उनीहरुले कडा मेहनत गरे नतिजा ल्याएर देखाए, अनि केही गर्नुपर्छ भन्ने भयो ।

पछिल्लो समय हामीलाई खट्किने कुरा के हो भने पुरुष टिमका लागि यति धेरै फ्रेन्चाइज प्रतियोगिता हुँदा महिला टिमका लागि किन एउटै पनि हुँदैन । हामी पनि यही देशमा बस्छौँ, यहीँको लागि क्रिकेट खेल्छौँ ।

पुरुष टिमका लागि २५ लाखको पुरस्कार राखेर प्रतियोगिता गरेजस्तो, खेलाडीलाई महँगो रकम हालेर किनेजस्तो नगरे पनि हामीलाई खेल्ने वातावरण मात्र बनाए दिए हुन्थ्यो जस्लो लाग्छ । महिला क्रिकेटरहरुले पनि केही गर्ने प्रयास गरेका छन्, केही सहयोग गरौँ भनेर कसैले सोचनन् ।

नेपालको क्रिकेट अगाडि बढोस् भनेर प्रतियोगिताहरु गरिरहनु भएको छ भने महिला क्रिकेट सुधार नहुँदा पनि हुन्छ ? यसमा दुईटा कुरा छ, कि तपाईँहरुलाई हामीमाथि विश्वास छैन कि तपाईँलाई इच्छा छैन । होइन भने अहिले हामीले ल्याएका नतिजाले पनि घरेलु क्रिकेट खेल्न लायक छौं भन्ने देखिएको छैन र ? हामीले नियमित क्रिकेट खेल्न पायौं भने अन्तर्राष्ट्रिय स्तरमा नजिता ल्याउन ठूलो मदत गर्छ । अहिले हाम्रा लागि पैसा होइन, खेल भइदिए मात्र हुन्छ ।

एक वर्ष मात्र राम्ररी हेरिदिने हो भने विश्वकपमा जान हाम्रा लागि पर्याप्त हुन्छ । सोच्नुस् न १७ दिनको अभ्यासले त अर्को टिमलाई भारि पर्छ भने वर्षभर खेल्ने वातावरण भयो भने के होला ?

****

अब अन्त्यमा मैले भन्नै पर्ने केही कुरा छ । हामीलाई धेरैले वेवास्ता गर्दा पनि दर्शकले असाध्यै माया गर्नु भएको छ, सञ्चार माध्यमले पनि साथ दिएको छ । थाइल्याण्डमै भएको प्रतियोगितालाई हेर्दा पनि दर्शकले धेरै समर्थन गर्नुभयो । पहिला यस्तो हुँदैनथ्यो । अहिले त हरेक ब्याट्सम्यान, हरेक बलरलाई पछ्याइरहनु भएको थियो । यो ब्याट्सम्यान आयो, यति रन बनायो, यस्तो भयो भन्ने हरेक स्थितिको जानकारी राखिरहेका थिए । त्यसले हामीलाई हेरिरहने पनि कोही त छ भन्ने हौसला मिल्छ ।

यस्तै साथ दिइरहनुहोला । आज भएन, भोलि नहोला । तर छिटै त्यो एक दिन आउनेछ, जब हामी सबैलाई धेरै खुशी दिने छौं ।

प्रस्तुति – ऋग्वेद शर्मा

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को २० औँ श्रृङ्खलामा यो हप्ता राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment