Comments Add Comment

नेपाललाई सिरिज जित्ने अवसर, कमजोर छैन युएई

युवा खेलाडीले कस्तो गर्लान् ?

१० माघ, काठमाडौं । एकदिवसीय मान्यता पाएको झण्डै एक वर्षमा नेपालले दोस्रो सिरिज भोलिबाट यूएईविरुद्ध खेल्दैछ ।

१ चैत ०७४ मा नेपालले एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाएको थियो । त्यसबेला जिम्बाब्वेमा सम्पन्न आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाई र नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेसँगै नेपालले एक दिवसीय मान्यता पाएको थियो ।

एकदिवसीय मान्यता पाएपछि नेपालले साउनमा नेदरल्याण्डसँग दुई एकदिवसीय म्याचको सिरिज खेलेको थियो । पहिलो खेल गुमाएको नेपालले दोस्रो जित्दै पहिलो ओडीआई सिरिज ड्र गर्‍यो ।

१० महिनामा दोस्रो सिरिज

नेपालले शुक्रबारदेखि युएईसँग तीन एकदिवसीय र तीन टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न लागेको हो । युएईसँगको सिरिजपछि नेपाल एकदिवसीय र टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा आउनेछ ।

घरेलु संरचना लथालिङ्ग भएपनि आफ्नै बलबुताले नेपाललाई एकदिवसीय मान्यता दिलाएका खेलाडीहरु यो पटक शतप्रतिशत नतिजा निकालेर एकदिवसीय र टी-२० सिरिज जित्न चाहन्छ । युएई प्रस्थान गर्नुअघि कप्तान पारस खड्काले भनेका थिए, ‘अर्को एउटा खेल खेल्ने वित्तिकै नेपाल एकदिवसीय वरियतामा आउने हुँदा हाम्रो लागि यो सिरिज निकै महत्वपूर्ण छ ।’

नेपाली टिम कस्तो ?

नेपाली क्रिकेट टिम कतिको सन्तुलित टिम हो ? यो प्रश्नले सधैँ सताइरहन्छ । विशेषगरी नेपाली क्रिकेटको सबल पक्ष बलिङलाई मानिन्छ । बलिङले थेगेको भन्नेहरु पनि कम छैनन् ।

कप्तान पारस खड्का यसलाई मान्न तयार छैनन् । यो स्तरमा कुनै एक कुरामा मात्र निर्भर हुन नहुने भन्दै उनी भन्छन्, ‘हाम्रो कुनै एक पक्ष भन्दा पनि ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा बलियो हुन आवश्यक छ ।’

ब्याट्सम्यान : ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, प्रदिप ऐरी, सन्दीप जोरा, भीम शार्की, रोहित कुमार पौडेल ।

अलराउन्डर : कप्तान पारस खड्का, करण केसी, सोमपाल कामी, पवन सर्राफ, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी ।

बलर  : सन्दीप लामिछाने, बसन्त रेग्मी, ललितनारायण राजवंशी, अभिनाष बोहोरा ।

यो पटकको युएई टुरमा अधिकांश नेपालका युवा खेलाडी छन् । त्यसमाथि पनि कम अनुभव बटुलेका खेलाडी लिएर टिम नेपाल युएई पुगेको हो । कप्तान पारस, ज्ञानेन्द्र, विनोद, करण, प्रदीप, बसन्तबाहेक सबै खेलाडी भरखरका छन् । दीपेन्द्र, ललितनारायण, आरिफ, सोमपाल, रोहित, सन्दीप जोरा, सन्दीप लामिछाने, अभिनाष, भीम र पवन यी सबै २३ वर्ष भन्दा कम उमेरका छन् ।

अझै ओपनिङमा समस्या !

नेपालले शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा युएईको सामना गर्दा ब्याटिङ कस्तो होला ? त्यसमा पनि ओपनिङ जोडी को आउला ? यतिबेला यिनै प्रश्नहरु क्रिकेट समर्थकमाझ चलिरहेको देखिन्छ ।

यसपटक ज्ञानेन्द्र मल्लसँगै कप्तान पारस खड्का नै ओपनिङमा आउने तयारी गरिरहेका छन् । त्यसो त टोलीमा ओपनिङमा ब्याटिङ गर्न सक्ने प्रदीप ऐरी, विनोद भण्डारी र नयाँ खेलाडी पवन सर्राफ पनि छन् ।

यो पनि पढ्नुहोस ओपनिङको चुनौती लिन तयार छु – पारस खड्का

यसअघिका ओपनिङ जोडी चल्न नसक्नु नेपालको टाउँको दुःखाइको विषय बनेपछि कप्तान पारस आफैं आउने पनि सम्भावना बढेको हो । नेपालको मध्यक्रम बलियो बनेकाले आफू ओपनिङमा जाने सम्भावना बढी रहेको उनले अनलाइनखबरसँगको अन्तर्वार्तामा खुलाएका थिए ।

पछिल्लो खेलहरुलाई हेर्ने हो भने नेपाली ब्याटिङ मध्यक्रम र बलरकै खेलले धानेको देखिन्छ । नामिवियामा गत वर्ष सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को तथ्यांकलाई हेर्ने हो भने पनि त्यही देखाउँछ । त्यस प्रतियोगितामा मध्यक्रममा दीपेन्द्र, आरिफ र रोहितले नेपालको शान जोगाएका थिए भने बलर करण, बसन्त र सोमपालको स्मरणीय प्रदर्शन थियो ।

यो पटक टिममा चार जना नयाँ अनुहार देखा पर्नाले केही उत्साह पनि जगाएको छ । पवन, सन्दीप, भीम र अभिनाश उदयमान खेलाडी हुन् । घरेलु लिगमा पनि उनीहरुको प्रदर्शन राम्रै थियो ।

कमजोर छैन युएई

युएईका मुख्य तीन खेलाडी नहुँदा नेपाललाई केही सहज हुने मनिएको छ । युएईका कप्तान रोहन मुस्तफा, रहमद राजा र रहमद शेहजाद प्रतिबन्धमा परेका कारण नेपालविरुद्ध खेल्ने टिममा छैनन् ।

युएईको कप्तानको जिम्मेवारी मोहम्मद नाभिदलाई दिइएको छ । नेपाली खेलाडी सम्बन्धी राम्रोसँग जानकार भएका नाभिदले पोखरा पि्रमियर लिग र एभरेष्ट पि्रमियर लिग खेलेका थिए ।

उनको नेतृत्वमा रहेको युएई यति कमजोर टिम होइन । उनीसँगै मोहमद उस्मान, चिराग सुरी, साइमन अनवर, अस्फाक अहमद, घुलाम शाबर, इमरान हैदर, मोहम्मद बुता, अमिर हायत, जाहुर खान, ताहिर गुघद, सुल्तान अहमद, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर र सिपी रिजवान छन् ।

हेड टु हेड

हेड टु हेडमा नेपालभन्दा युएई निकै अगाडि छ । अहिलेसम्म युएई र नेपालबीच १५ खेलमा भेट भएको छ । जसमा युएईले ११ खेलमा जित हात पारेको छ भने नेपालले तीन खेलमा जित हात पारेको छ ।

एक खेलमा भने दुबै टिमले बराबरी खेलेका छन् । पछिल्लो समय भने नेपाली क्रिकेटको प्रदर्शन पहिले भन्दा फेरिएको पनि छ । विगतदेखि अहिलेसम्मको यात्रालाई हेर्ने हो भने पनि त्यो कुरा प्रष्ट हुन्छ ।

२३ वर्षे क्रिकेट यात्रामा नेपालले पाएका सफलता

सन् १९८८ मा आईसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मा आएर नेपालले एक दिवसीय मान्यता पाएको हो ।

नेपालले सन् २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको तेस्रो स्थान ओगटेको थियो । त्यसबेला अफगानिस्तान विजेता र जर्सी उपविजेता बन्दै डिभिजन फोरमा प्रवेश गर्दा नेपाल डिभिजन फाइभमै रहेको थियो ।

त्यसको करिब दुई वर्षपछि सन् २०१० मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा नेपाल विजेता बन्न सफल भयो । नेपालमै भएको खेलमा फाइनलमा अमेरिकालाई पाँच विकेटले पराजित गर्दै नेपाल विजेताको साथ डिभिजन फोरमा बढुवा भयो ।

त्यही वर्ष इटालीमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरमा भने नेपालको प्रदर्शन सोचे अनुरुप भएन । नेपालले तेस्रो हुँदा अमेरिका विजेता र इटाली उपविजेता बन्दै डिभिजन थ्री मा प्रवेश गरेका थिए ।

सन् २०१२ मा भने नेपाल डिभिजन फोर को विजेता बन्न सफल भयो । मलेसियामा सम्पन्न प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाल विजेता र अमेरिका उपविजेता बन्दै डिभिजन थ्री मा नेपाल पुगेको थियो ।

सन् सन् २०१३ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री को विजेता बन्दै नेपालले विश्वको ध्यान तानेको थियो । आफूभन्दा अब्बल टोलीलाई पराजित गर्दै नेपालले त्यसबेला ऐतिहासिक सफलता पाएको हो ।

फाइनलमा नेपालले युगाण्डालाई पाँच विकेटले पराजित गर्दै डिभिजन टु मा प्रवेश गर्नका साथै सन् २०१४ मा हुने आईसीसी विश्वकप छनोटमा पनि स्थान बनाएको थियो ।

त्यसबाट नै नेपाली क्रिकेटको क्रेज हृवातै बढेको थियो । एकपछि अर्को राम्रो प्रदर्शन गर्दै अघि बढेको नेपालले सन् २०१४ मा डिभिजन थ्री को दोस्रो पटक विजेता बन्यो ।

२०१४ नेपाली क्रिकेटको लागि निकै राम्रो सावित पनि भयो नेपालले टि-ट्वान्टी विश्वकप क्रिकेट पनि खेलेको थियो ।

सन् २०१५ देखि २०१७ सम्म चलेको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने नेपालले अवसर पाएको थियो ।

लड्दै उठ्दै, अनि फेरि अघि बढेको नेपाल २०१८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्न सफल भयो । नामिवियामा सम्पन्न डिभिजन टु मा युएई विजेता बन्दा नेपाल उपविजेता बन्दै विश्वकप छनोटमा प्रवेश गरेको थियो ।

त्यसपछि २०१८ मै जिम्बाब्वेमा सम्पन्न भएको आईसीसी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले एक दिवसीय मान्यता पाउन सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment