Comments Add Comment

बसभित्रै असुरक्षित भएको भन्दै युवतीहरु पुगे अपराध महाशाखा

११ माघ, काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा भाइरल भएको ‘बस काण्ड’ लाई लिएर शुक्रबार युवतीहरुको एउटा समूह प्रहरी समक्ष पुगेको छ । करिब दुई दर्जन युवतीहरु महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा पुगेर यस विषयमा भइरहेको प्रहरी अनुसन्धानबारे जिज्ञासा राखेका हुन् ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरसँग कुरा गर्दै स्वतः स्फूर्त रुपमा जम्मा भएर युवतीहरु आएको बताए । उनले भने, ‘संवेदनशील विषयमा चासो देखाउनु एकदमै राम्रो कुरा हो । हामीले अनुसन्धान गरिरहेका छौं ।’

महाशाखाका पुगेका युवतीहरुले सार्वजनिक सवारीमा चढ्दासमेत महिलाहरु असुरक्षित हुने अवस्था आएको गुनासो गरेका थिए । उनीहरुले ‘बस काण्ड’का दोषीलाई पक्राउ गरेर कानुन बमोजिम कारबाही गर्नु पर्ने माग गरे ।

करिब दुई महिनाअघि एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो, जुन अहिले अत्यधिक चर्चामा आएको हो । भिडियोमा एउटा सार्वजनिक बसभित्र युवकले महिलामाथि घृणित हर्कत गरेको देखिन्छ । युवक र महिला दुवैको अनुहार देखिएका छैन ।

यो पनि पढ्नुहोस सहमतिमा ‘न्यूड’ फोटो सुट, भाइरल भएपछि आपत !

भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि चासो देखाएको हो । प्रहरी प्रधान कार्यालय, नक्सलले पनि शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सवारी साधनभित्र गरिएको अश्लिल हर्कतसम्बन्धी भिडियोमाथि सम्बन्धित इकाइहरुबाट सुक्ष्म अनुसन्धान भइरहेको छ ।’

उनले घटनाबारे स्पष्ट भएपछि सत्य, तथ्य प्रकाशमा ल्याइने जनाएका छन् । महाशाखाका एक अधिकारी भने हालसम्म ती युवकको पहिचान नभएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment