Comments Add Comment

बिराज भट्ट : निखिललाई टक्कर, कमब्याकमा ठक्कर

निदाउँदा देखेको सपनालाई मानिसहरु झट्टै बिर्सिन्छन् । तर, दिनमा खुल्ला आँखाले देखेको सपनाले उनीहरुलाई हरदम पछ्याइरहन्छ ।

चलचित्रको नायक बन्ने सपना बिराज भट्टले खुल्ला आँखाले देखेका थिए । त्यसैले यो सपना पूरा गर्न उनले निकै मिहेनत र संघर्ष गरे । अन्ततः नेपाली चलचित्रमा आफूलाई स्थापित गराउन सफल पनि भए ।

संघर्षका दिनहरुमा उनलाई रोक्न खोज्ने मान्छेहरुलाई विराजले मूर्ख देख्थे । ‘जसले मलाई कलाकार नबन, यसमा लागेर काम छैन भन्थे, उनीहरु मलाई मूर्ख लाग्थे’, बिराज भन्छन्, ‘मेरो क्षमता मलाई थाहा थियो । अरुको कुरा किन सुन्ने ?’

सानो उमेरमा नै चलचित्रको नायक बन्ने भूत सवार भएको थियो बिराजलाई । तर, चलचित्रसँग सम्बन्धित वा चलचित्र बुझेको मान्छे कोही चिनेका थिएनन् । परिवारले समेत उनलाई कलाकार बन्नका लागि सुरुवाती दिनमा सहयोग गरेको थिएन । उनी आफ्नै जिद्दी यो क्षेत्रमा लागेका हुन् ।

‘बुवाआमाले राम्रो पढेर गतिलो जागिर खाओस भन्ने चाहनुहुन्थ्यो,’ बिराज भन्छन्, ‘उहाँहरु यस क्षेत्रसँग जानकार नभएर पनि मलाई सपोर्ट नगर्नुभएको हो ।’

नायक बन्ने लक्ष्यका साथ बिराजले नृत्य, मार्सल आर्ट्स र जीम सुरु गरे । ट्रेनिङकै क्रममा उनले ‘पासो’ नामक सिरियलमा मुख्य भूमिका निर्वाह गर्ने अवसर पाए । उक्त सिरियल छायांकन भयो, तर प्रशारणमा आएन ।

बिराज सम्झिन्छन्, ‘त्यसमा राम्रो टीम थियो । सुटिङ पनि राम्रो भएको थियो । तर, के भएर हो त्यो प्रशारण नै भएन ।’ महेन्द्रनगरमा छायांकन भएको उक्त सिरियलमा विनोद मानन्धर, रमा थपलिया र विजय थापा लगायतका कलाकार थिए ।

त्यसपश्चात पुनः बिराजको संघर्ष सुरु भयो । उनले चलचित्रमा सा-सानो भूमिकामा काम पाउन थाले । जस्तो रोल पाए पनि खुरुक्क गर्थे ।

भोजपुरी फिल्ममा समेत बेग्लै पहिचान बनाएका एक्सन हिरो बिराज भट्ट अहिले विभिन्न ठक्कर खाइसकेपछि चलचित्र ‘साङ्लो’ को निर्माणमा जुटेका छन् । निखिल उप्रेतीको एक्सन हिरोको साम्राज्यमा जब बिराजको प्रवेश भयो, धेरैले उनीहरुलाई प्रतिस्पर्धी ठाने । बिराज भन्छन्- ‘दुबैले एक्सन चलचित्रमा काम गर्ने भएर होला, मिडिया र दर्शकले प्रतिस्पर्धीका रुपमा हेर्नुभयो ।’

यस्तैमा उनले ‘खुकुरी’ नामक चलचित्रमा फिचर हुने अवसर पाए । सो चलचित्रमा उनी इन्सपेक्टरको भूमिकामा थिए । खुकुरीपछि ‘उनको सम्झनामा’ नामक चलचित्रमा काम गरे । श्रीकृष्ण श्रेष्ठको मूख्य भूमिका रहेको यस चलचित्रमा पनि उनी सहायक पात्र थिए । चलचित्रमा उनी एउटा फाइट, ५ सिन, गीतमा झुलुक्क देखिएका थिए । बिराजले एक थारु भाषाको चलचित्रमा पनि काम गरे ।

त्यस समय ‘एक्सन’ मा निखिल उप्रेतीको राम्रो क्रेज बनिसकेको थियो । बिस्तारै विराजको एक्सन पनि रुचाउन थालियो । त्यस्तैमा विराज र निखिलले सँगै चलचित्रमा काम गरे । निखिलको मुख्य भूमिका रहेको ‘अग्नीपथ’ मा बिराज सहनायक थिए । सो चलचित्रले उनलाई निकै फाइदा मिल्यो ।

‘अग्नीपथ’ बाट चिनिएका विराजले ‘मैदान’ बाट धेरैको मन जिते । तर, मैदानसम्म आइपुग्दा पनि उनी सहायक भूमिकामै सीमित थिए । मैदानमा राजेश हमाल मुख्य भूमिकामा थिए भने विराज एक प्रहरीको भूमिका ।

ब्राजिलियन उपन्यासकार पाउलो कोएल्होको एक भनाइ उनको जीवनसँग मेल खायो । ‘जब तिमी केही कुराको चाहना राख्छौ, त्यो प्राप्तिका लागि ब्रम्हाण्ड नै तिम्रो सहयोगमा हुन्छ ।’ आखिर विराजको चाहना पूरा गर्न पनि धेरै ˆयानहरु उनको समर्थनमा उत्रिए । ‘मैदान’ मा काम गरेपछि उनको चर्चा चुलियो ।

‘जुन गन्तब्य मैले सुरुवाती दिनमा देखेको थिएँ, त्यहाँसम्म पुगेँ,’ अनुहारमा खुशी पोत्दै बिराजले भने ।

एक्सन हिरोको बलियो छवि

बिराजले कुनै समय नेपाली चलचित्रमा राम्रै पकड बनाए । करिअरको सुरुवाती दिनमा ‘हिरो’ बन्दैनस् भन्ने निर्माता-निर्देशकहरुलाई विराजको समय पाउन हम्मेहम्मे पर्नथाल्यो ।

चलचित्रमा पाएको सफलताले उनलाई झनै दबाव थपिदिएको थियो । ‘जब मलाई स्टार भनेर चिन्न थालियो, तब झनै जिम्मेवारी बढेको महसुस भयो । दुःखसुख गरेर कमाएको यो सफलता जोगाउन मलाई निकै गाह्रो भयो ।’

विराजले लगातार धेरै सफल-असफल चलचित्रमा काम गरे । एक्सनमा उनले आफ्नो विशेष छाप बनाउन सफल भए ।

प्रतिस्पर्धी थिए निखिल ?

निखिल उप्रेतीले एक्सन हिरोका रुपमा बनाएको साम्राज्यमा बिराटको प्रवेश भयो । धेरैले उनीहरुलाई प्रतिस्पर्धी भन्ने गर्थे । तर, विराज निखिल र आफू प्रतिस्पर्धी नभएको बताउँछन् । ‘हामीबीच प्रतिस्पर्धाको भावना थिएन । दुवै एक्सन चलचित्रमा काम गर्ने भएर होला, हामीलाई मिडिया र दर्शकले प्रतिस्पर्धीका रुपमा हेर्नुभयो ।’

विराजको भनाइ मान्ने हो भने निखिल र उनीबीच सँधै राम्रो सम्बन्ध छ । विराज निखिललाई आˆनो सिनिअर मान्छन् । ‘निखिलले त मैलेभन्दा पहिले नै केही चलचित्रमा काम गरिसकेको थियो । उसको मुख्य भूमिका रहेको चलचित्र अग्नीपथमा मैले सहायक भूमिका गरेको छु । त्यसैले उ मभन्दा सिनियर हो,’ बिराजको स्वीकारोक्ति छ ।

निखिल र विराजलाई सँगै खेलाउन धेरै निर्माता-निर्देशक आतुर हुन्थे । यस्तो अफर आउँदा उनीहरुले पनि खुशी भएर खेले । यी दुईले अग्नीपथपछि खलनायक, अग्नी ज्वाला, दोस्ती, जय शिव शंकर लगायत चलचित्रमा सँगै काम गरेका छन् ।

भोजपुरी फिल्म यात्रा

बिराज नेपाली चलचित्रमा व्यस्त थिए । यही बीचमा उनलाई भोजपुरी चलचित्रबाट अफर आयो । जबकि त्यतिबेला उनलाई भोजपुरीमा फिल्म बन्छन् भन्नेसम्म थाहा थिएन । अफर आएपछि एकपटक ट्राई गरौँ न त भन्ने सोचेर उनले भोजपुरी चलचित्रमा काम गरे ।

विराजको पहिलो भोजपुरी चलचित्र नै सफल भयो । त्यहाँ उनको लुक्स, अभिनय र एक्सनलाई धेरै दर्शकले रुचाए । अन्ततः उनी भोजपुरी चलचित्रमै व्यस्त हुन थाले ।

उनी भन्छन, ‘म सधै भोजपुरी चलचित्रमा काम गर्छु भनेर त्यहाँ गएको थिइनँ । तर पहिलो चलचित्रबाट नै मेरो माग अत्याधिक भएपछि उतै व्यस्त हुन थालेँ ।’

बिराज भोजपुरी चलचित्रमा पनि स्टार कहलिन्छन् । उनी भन्छन्, ‘त्यहाँ पनि मलाई दर्शकले रुचाइदिनुभएको छ । उताको दर्शकको माया पनि मैले पाएको छु ।’ विराजलाई धेरैले त्यहाँ नेपालको स्टार भनेर सम्बोधन गर्छन् । उनलाई यसमा गर्व छ ।

‘त्यहाँ पनि मैले कुनै न कुनै हदसम्म नेपालको नाम राखेको छु,’ उनले गर्वसाथ भने ।

नेपाली चलचित्रको स्टार भएकाले नै विराजलाई त्यहाँबाट अफर गरिएको थियो । यदि त्यहाँ आफूले क्रेज बनाउन नसकेको भए नेपाली चलचित्रलाई उनीहरुले हेप्ने विराजको बुझाइ छ ।

विराजले ४५ वटाभन्दा बढि भोजपुरी चलचित्रमा काम गरिसकेको बताए ।

सुखद भएन कमब्याक

भोजपुरी चलचित्रमा व्यस्त भएपछि विराजले नेपाली चलचित्रलाई लगभग माया मारे । उनलाई नेपाली दर्शकले पर्दामा देख्न पाएनन् । नेपाली चलचित्रमा दवदवा बनिरहँदा नै उनी भोजपुरीमा लहसिएका थिए ।

लामो समयको अन्तरालपछि बिराजले ‘जय पर्शुराम’ बाट नेपाली चलचित्रमा कमब्याक गरे । लगभग ५ वर्षपछिको उनको कमब्याक भने सुखद बन्न सकेन । जय पर्शुरामबाट दर्शक निराश भए । चलचित्रले बक्स अफिसमा पनि राम्रो व्यापार गर्न सकेन ।

यस चलचित्रको असफलताबारे विराज भन्छन्, ‘चलचित्र सफल हुन सबै तवरबाट राम्रो बन्नुपर्छ । जय पर्शुराममा पनि धेरै कमजोरीहरु थिए । त्यसैले असफल भयो ।’

जय पर्शुरामको कथा र निर्देशकीय पक्ष कमजोर भएका कारण उक्तं चलचित्रले दर्शक नपाएको उनी बताउँछन् ।

तयारी निर्देशनको

बिराज अहिले नेपालमै छन् । उनी यतिबेला नेपाली चलचित्र ‘साङ्लो’को निर्माणमा जुटेका छन् । आफैंले निर्माण गर्ने यस चलचित्रबाट उनले निर्देशकीय यात्रा सुरु गर्दैछन् । चलचित्रमा मूख्य भूमिका पनि उनकै हुनेछ ।

नेपाली चलचित्रको माया सँधै मनमा भएका कारण आफू पुनः नेपाल फर्किएर चलचित्रको निर्माणमा लागेको बिराजले बताए । उनले भने, ‘मलाई विराज भन्ने परिचय नै नेपाली चलचित्रले दिएको हो । यसको माया सधैँ मनमा छ । त्यसैले नेपाली चलचित्र निर्माणमा आएको छु ।’

साङ्लोबाट भने दर्शक निराश नहुने बिराजको आशा छ । उनी भन्छन्, ‘अभिनयमा लामो समयको अनुभवले खारिएको छु । त्यसैले निर्देशक बन्ने आट गरेको छु । यस चलचित्रले दर्शकलाई निराश बनाउने छैन ।’

बिराजका अनुसार ‘साङ्लो’ पूर्णरुपमा मनोरञ्जनात्मक चलचित्र हुनेछ । उनले भने, ‘म यस चलचित्रमा लभ, रोमान्स, एक्सन र सन्देश सबै समावेश गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment