+
+
Shares

तिहार पर्व मर्यादित रूपमा मनाउन मुसिकोट नगरपालिकाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते ७:०७

२१ कात्तिक, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले तिहार तथा छठ पर्वलाई मर्यादित, सुरक्षित र व्यवस्थित रूपमा मनाउन नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै चाडपर्वका अवसरमा हुन सक्ने सम्भावित दुर्घटना, आगलागी, ध्वनि प्रदूषण तथा सामाजिक विकृति न्यूनीकरण गर्न सबै नागरिक, व्यवसायी, संघसंस्था तथा सरोकारवालालाई सात बुँदे अनुरोध गरेको हो ।

नगरपालिकाले कानुनले निषेध गरेका पटाका, आतसबाजी लगायतका विस्फोटक पदार्थको खरिद, बिक्री तथा प्रयोग नगर्न आग्रह गरेको छ ।

त्यस्तै, जुवातास तथा नगद र सम्पत्तिको बाजी राखेर खेलिने गतिविधि सञ्चालन नगर्न, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला, झैझगडा तथा अभद्र व्यवहार नगर्न पनि अनुरोध गरिएको छ ।

सूचनामा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा सर्वसाधारणको आवागमन, सार्वजनिक सेवा र शान्ति सुरक्षामा बाधा नपुग्ने गरी कार्यक्रम गर्न तथा राति १० बजेपछि यस्ता कार्यक्रम स्थगित गर्न भनिएको छ ।

त्यसैगरी चाडपर्वका नाममा जबर्जस्ती चन्दा, सहयोग तथा रकम माग नगर्न, प्रतिबन्धित प्लास्टिकका माला, प्लास्टिकका फूल तथा पुनः प्रयोगमा नआउने सामग्रीको प्रयोग नगर्न र आपसी सद्भाव तथा भाइचारामा आँच आउने किसिमका गतिविधि नगर्न नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिकाले तिहार तथा छठ पर्वलाई सभ्य, शान्तिपूर्ण र उल्लासमय वातावरणमा मनाउँदै सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवनलाल खरेलद्वारा जारी सूचनामा सबैलाई पर्वको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?