Comments Add Comment

राष्ट्रिय आपूर्ति कम्पनी गठनको बाटो खुल्यो

खाद्य संस्थान र नेशनल ट्रेडिङ मर्ज हुने

१७ माघ, काठमाडाैं । खारेजीमा परेको नेशनल ट्रेडिङ लिमिटेडलाई नेपाल खाद्य संस्थानमा मर्ज गरी आपूर्ति कम्पनी निर्माण गर्न सरकारले शैद्धान्तिक सहमति दिएको छ ।

१४ माघमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रिय आपूर्ति कम्पनी निर्माणका लागि सहमति दिएको जानकारी दिए ।

मन्त्रिपरिषदको स्वीकृतिसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेशनल ट्रेडिङलाई खाद्य संस्थानमा गाभेर नयाँ आपूर्ति कम्पनी निर्माण प्रक्रिया थाल्नेछ ।

४५ वर्षअघि विस २०३१ सालमा स्थापित खाद्य संस्थानमा नेशनल ट्रेडिङ समेत मर्ज भई ‘राष्ट्रिय आपूर्ति कम्पनी’का रुपमा रुपान्तरित हुन लागेको हो ।

चालू आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत नै सरकारले यस्तो कम्पनी स्थापना गर्ने घोषणा गरेको थियो । खारेजीमा परेको नेशनल ट्रेडिङको २५ अर्ब बराबरको सम्पत्ति र दायित्व समेत अब यसैमा गाभिनेछ ।

बजेटमा घोषणा गरिएअनुसार संस्थानलाई कम्पनीका रुपमा पुनः संरचना गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कमिटी गठन गरी प्रक्रिया अघि बढाएको थियो ।

मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा गठित कमिटीले संस्थानलाई पुनःसंरचना गरी बन्ने कम्पनीको मोडोलिटी प्रतिवेदन तयार पारेर मन्त्रिपरिषद बैठकमा लगेको थियो ।

कमिटीले कम्पनीको नीति, उद्देश्य, कार्यक्षेत्र, पूँजीकोष र संगठन तथा व्यवस्थापन जस्ता दूरगामी महत्वका विषयमा तालुक मन्त्रालयका विज्ञहरुसँग छलफल गरेको थियो ।

मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै निर्णय कार्यान्वयनका लगि मन्त्रालयले संस्थानमा पठाउनेछ । त्यसपछि संस्थानले कम्पनी रजिस्टारको कार्यालयमा निवेदन दिने छ ।

बजारलाई हस्तक्षेप गर्ने दाबी

अब बन्ने कम्पनीले उपभोग्य वस्तु तथा सेवा आपूर्तिमा निजी क्षेत्रको एकाधिकार तोड्ने सरकारको दाबी छ । ‘आपूर्ति प्रणालीलाई प्रतिस्पर्धी बनाउनुका साथै सबै प्रकारका वस्तु तथा सेवाको एकाधिकार र मूल्य मिलेमतोको अन्त्य गरिनेछ  ।

स्थानीय तहको सहकार्यमा बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाइनेछ,’ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले भनेका थिए,’ खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीका रूपमा पुनःसंरचना गरी नेसनल ट्रेडिङको सम्पत्ति र दायित्व यसैमा गाभिनेछ  ।

यस कम्पनीमार्फत राज्यले तोकेको समर्थन मूल्यमा खाद्य वस्तु खरिद गर्ने र त्यस्ता वस्तुहरूको सुलभ आपूर्ति सुनिश्चित गर्ने प्रबन्ध मिलाइनेछ  ।

प्रतिस्पर्धी बन्न चुनौती !

बजारमा प्रतिस्पर्धाको वातावरण तयार गर्न यस्तो कम्पनी निर्माण गर्न लागिएको मन्त्रालय बताउँछ । नेशनल ट्रेडिङ व्यवस्थापकीय कमजोरीका कारण सरकारलाई आर्थिक भार थप्ने कम्पनी बनेको थियो । गत माघमा सरकारले यो कम्पनी खारेज गर्ने निर्णय गरेको थियो ।

नेशनल ट्रेडिङले चिनी, मल, विभिन्न विद्युतीय यन्त्र उपकरण, सिमेन्ट, छड र एयरपोर्टको ड्युटी फ्रि सपमा विभिन्न खाद्यान्नहरु बिक्री गथ्र्यो ।
नेशनल ट्रेडिङको स्वामित्वमा बिराटनगर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा, पोखरा, धनगढी र काठमाडौंको सिंहदरबार अघि यसको अर्बौं मूल्य पर्ने जग्गा र भौतिक संरचनाहरु छन् ।

खाद्य संस्थान पनि व्यवस्थापकीय शिथिलता र भ्रष्टाचारका कारण कुँजिएर बसेको अवस्था छ । दुर्गममा खाद्यान्न ढुवानी गर्ने बाहेक यसले बजार हस्तक्षेपका लागि कुनै भूमिका निभाउन सकेको छैन ।

यसअघि आपूर्ति मन्त्रालयले नेशनल ट्रेडिङलाई चीनसँग पेट्रोलियम पदार्थ कारोबारमा लगाउनेसहित निर्यात कम्पनी बनाउने, खुऽा वस्तुको कारोबार गराउने र आयल निगमसँग मर्ज गर्ने विकल्प पनि सरकारलाई दिएको थियो ।

आपूर्ति मन्त्रालयका प्रवक्ता ढकाल अब दुबै संस्थानले गरिरहेका काम प्रभावकारी ढंगले गर्ने गरी कम्पनी निर्माण गरिने बताउँछन् ।

तर, यस्ता कम्पनीले अझै पनि काम गर्न सक्छन् भन्नेमा आम सर्वसाधारणले विश्वास गर्न सकेका छैनन् । सार्वजनिक संस्थानहरु अहिले तीव्र राजनीतिकरण, कमिसनको खेल, कर्मचारीको मनलाग्दी, बढ्दो अनियमितता र कमजोर व्यवस्थापनले खोक्रो भएका छन् ।

विगतमा अस्थिर सरकार रहँदा र मन्त्री फेरिएपिच्छे आफन्त र कार्यकर्ताको भर्तिकेन्द्र बनाउने खेलले पनि नेशनल ट्रेडिङ र खाद्य संस्थान धरायायी बन्दै गएको उपभोक्तावादीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment