Comments Add Comment

टानले भन्यो- भ्रमण वर्ष बिफल पार्न ‘फेक रेस्क्यू’को हल्ला

२१ माघ, काठमाडौं । टे्रकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले ‘अन्तर्राष्ट्रिय मिडिया र केही शक्ति’ले फेक रेस्क्यूको अनर्गल प्रचार गरेर भ्रमण वर्षलाई प्रभावित पार्न खोजेको दाबी गरेको छ ।

सोमबार विज्ञप्ति जारी गरी टानले फेक रेस्क्यूबारे सरकारले कार्यदल गठन गरी नियमन गरिरहेका बेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गलत प्रचार गरेको आरोप लगाएको हो ।

टानका अध्यक्ष नवराज दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखी घोषणा गरेको भिजिट नेपाल २०२० कार्यक्रमलाई प्रभावित गर्न केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पदयात्रा तथा पर्वतारोहण र उद्धार सम्बन्धी कपोकल्पित, भ्रामक समाचारहरु पुनः सम्प्रेषण गरिएको पाइएकाले टानको गम्भीर ध्यानाकर्षण भएको छ ।’

फेक रेस्क्यूको प्रकरण चर्किएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन खोज उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि-२०७५’ बनाएकाे थियाे । यो कार्यविधि कार्यान्वयन गर्न मन्त्रालयले कार्यदल समेत गठन गरेको छ ।

फेक रेक्स्यूबारे रहेको अन्योल निक्र्यौल भइसकेको दाबी गर्दै टानले केही शक्तिले अनर्गल प्रचार गरेर सरकारले घोषणा गरेको भ्रमण वर्षलाई विफल बनाउन खोजेको तर्क गरेको छ ।

सामान्य स्थितिमा पनि पर्यटन व्यवसायीले पदयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापहरुमा पर्यटकलाई झुक्याएर हेलिकोप्टर चार्टर्ड गराई ठूलो रकम असुल्ने गरेका घटना सार्वजनिक भएका थिए ।

आपतकालीन स्थिति भन्दै पर्यटकलाई झुक्याएर अनावश्यक खर्च गराइदिने व्यवसायीको धन्दा कारण कतिपय देशका बीमा कम्पनीले नेपाल आउने पर्यटकको बीमा गर्न छोडेका छन् । यसले पर्यटन क्षेत्र र भ्रमण वर्षलाई समेत प्रभावित गर्ने टानले भनेको छ ।

‘फेक रेस्क्यू’ प्रकरणमा सरकारले गठन गरेको छानबीन समितिले प्रतिवेदन बनाएर बुझाइसकेकाले यो यसलाई पुनः चर्चामा ल्याउनु षणयन्त्रपूर्ण भएको टानको निश्कर्ष पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment