+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बच्चा बोकेर सरकारी जागिरको लाइनमा !

लोकसेवा नखुल्दा संस्थानमा घुइँचो, ४६ पदमा १५ हजार प्रतिस्पर्धी

रोयल आचार्य रोयल आचार्य
२०७५ माघ २३ गते १८:१४

२३ माघ, काठमाडौं । खाद्य संस्थानले केही दिनअघि ४६ जनाका लागि विभिन्न पदमा रोजगारी खुलाएको थियो । माघ ४ गतेदेखि आवेदन खुलाएको संस्थानले माघ २४ गतेसम्मका लागि आवेदन दिने मिति तोकेको छ । थप ७ दिनसम्म दोब्बर दस्तुर तिरेर जागिरका लागि दरखास्त दिन सकिने समेत संस्थानले जनाएको छ ।

अचम्म त के छ भने ४६ जनाका लागि खुलेको जागिरमा करिब ११ हजारले आवेदन दिइसकेका छन् । आवेदन दिने अन्तिम मितिसम्म १५ हजार पुग्ने अनुमान संस्थानका अधिकारीहरुले गरेका छन् । संस्थानका जागिर खान दरखासत दिनेको भीड यति ठूलो छ कि लाइन मिलाउनका लागि सुरक्षाकर्मी नै परिचालन गर्नु परेको छ ।

संस्थानले खटाएका सुरक्षागार्डलाई पनि लाइन मिलाउन हम्मे–हम्मे परेको दृश्य संस्थान कार्यालय अगाडि बुधबार दिउँसो देखियो ।

संस्थानको जागिरमा किन यति धेरै आकर्षण ? बुधबार संस्थान कार्यालय भद्रकाली प्लाजा पुगेर तयार पारिएको यो विषयमा चर्चा गरौं ।

४६ जनाका लागि १५ हजारको आवेदन !

खाद्य संस्थानले वरिष्ठ अधिकृत, वरिष्ठ सहायक, प्रशासन सहायक, मिलअपरेटर, मिल हेल्पर लगायतका पदका लागि दरखास्त मागेको छ । संस्थानले ६ पदका लागि ४६ जना कर्मचारी माग गरेको छ ।

जम्मा ४६ जना कर्मचारी माग गरिएको भए पनि बुधबार दिउसोसम्म मात्रै पनि १० हजार ६ सय ९७ जनाको आवेदन परिसकेको संस्थानका विभागीय प्रमुख मोतिराम ज्ञवालीले जानकारी दिए ।

विभागीय प्रमुख ज्ञवालीका अनुसार मंगलबार र बुधबार दरखास्त दिनेको अत्यधिक घुइँचो देखिएको छ । त्रवालीले बुधबार साझसम्म ११ हजार नाघ्ने बताए ।

आवेदन दिने म्याद अझै एक दिन बाँकी छ भने दोब्बर दस्तुर तिरेर आदेवन दिन सकिने म्याद थप ७ दिन हुन्छ । यसअर्थ अझै ८ दिनमा आवेदन अझै बढ्ने उनले बताए । अन्तिमदिनसम्म करिब १५ हजारले आवेदन दिने प्रमुख ज्ञवालीको अनुमान छ ।

लोकसेवा नखुल्दा संस्थानमा घुइँचो

जम्मा ४६ जनाका लागि मात्रै कर्मचारी माग गरिएकोमा यति ठूलो संख्यामा दरखास्त पर्नु आश्चर्य नै देखिन्छ । तर, बढ्दो बेरोजगारीपना र लोकसेवा आयोगकै कारण पनि संस्थानमा जागिरका लागि दरखास्त दिनेको अत्यधिक घुइँचो देखिएको विभागका प्रमुख ज्ञवाली बताउछन् ।

‘पछिल्लो समय लोकसेवाले धेरै विज्ञापन पनि निकालेको छैन, फेरि देशमा बेरोजगारीको संस्था पनि बढ्दो छ’ ज्ञवालीले भने, ‘लोकसेवाले विज्ञापन कम खुलाउँदा उतातिर जाने पनि पनि यतै आवेदन दिन आएको हुनुपर्छ ।’

उसो त दरखास्न दिन लाइनमा बसेकाहरु पनि लोकसेवाले अहिले वित्रापन नखुलाएको र खुलेको ठाउँमा भर्दा जागिरे भइहालिन्छ कि भनेर दरखास्त दिन आएको बताए । लाइनमा भेटिएकी भेडेटारकी सुस्मिता सुब्बा भन्छिन्, ‘मैले लोकसेवाको तयारी गरिरहेको छु, अहिले ठ्याक्कै खुलेको छैन खुलेको ठाउँमा कोशिस त गर्नुप¥यो नि ।’

भए भइहाल्ने, नभए अनुभव हुने भएका कारण दरखास्त दिन आएको उनले बताइन् । भीडमा देखिएका धेरैको धारण सुस्मिताको जस्तै थियो ।

आवेदन दिन सास्ती

आवेदन दिन संस्थानको कार्यालय पुगेका हजारौं युवाहरुले निकै सास्ती बेहोर्नु परेको छ । भीडले गर्दा ३ घण्टासम्म लाइन लागेर दरखास्त फारम भर्नु परेको लाइनमा भेटिएका युवाहरु बताउँछन् ।

पहिले गएर राष्ट्रिय वाणिज्य बैंकमा दरखास्त वापतको शुल्क बझुाउनु पर्ने र पुनः संस्थान कार्यालय पुगेर फारम बुझाउनु पर्दा धेरै सास्ती खेप्नु परेको गुनासो युवाहरुको छ ।

कास्की घर भएकी शोभा तिमल्सिनाले संस्थानको व्यवस्थापन फितलो भएका कारण पनि धेरै लाइन बस्नु परेको गुनासो सुनाइन । प्रविधिको बढ्यो प्रयोगमा पनि हस्तलिखित फारम भरेर घण्टौ लागेर दरखास्त दिनु दुखद् भएको भन्दै अनलाइन प्रणाली बनाउन उनले सुझाव दिइन् ।

हेर्नुहोस् भिडियो

सिराहाबाट आएका रामकुमार यादवको भनाइ पनि उस्तै छ । लोकसेवामा आवेदन दिदा समेत अनलाइनबाट दरखास्त दिन पाइने भन्दै अब संस्थानले समेत अनलाइन सुविधा दिनुपर्ने उनले बताए । यसो हुँदा घण्टौसम्म लाइन लाग्नु पर्ने बाध्यता हट्ने उनले बताए । शोभा र रामकुमार जस्तै अन्य युवाहरुको सुझाव पनि उस्तै छ ।

भनसुन हुन्छ भन्ने शंका लाग्दालाग्दै पनि आवेदन

संस्थानमा जागिर खान धेरै भनसुन र घुसपैठ हुने शंका हुँदा हुँदै पनि आवेदन दिनु परेको केहि युवाहरुले सुनाए । लिखितमा घुसपैठ नहुने भए पनि मौखित परीक्षामा घुसपैठ हुने गरेको उनीहरुको आशंका छ ।

मुगु स्थायी घर भएर काठमाडौ बस्दै आएकी पूजा बम भन्छिन्, ‘यतिधेरै आवेदक त्यसमा पनि ठूला मान्छेको भनसुन चल्छ भन्ने मलाई लाग्छ, मेरो त कोही भनिदिने मानछे पनि छैन । लकले कतै जागिर खाइहालिन्छ कि भनेर फारम भरेको ।’

भाग्यमा भए कसैले हराउन नसक्ने उनको सोच छ । भनसुनका भरमामात्रै नभएर भाग्यमा भए जागिर खान सकिने उनले बताए ।

स्याङजाका रोहित सिग्देल भने लिखितमा परीक्षामा उत्तीर्ण भए मौखिकमा कतै भनसुन गराउने सोचमा छन् । ‘लिखितमा परिश्रम गरेर पास गर्न सके मौखित परीक्षामा कसैलाई भनसुन गराउँ कि भन्ने सोचेको छु’ उनले भने, ‘मेरो काका पनि नेता हुनुहुन्छ, भयो भने त भइहाल्यो नि ।’

बाग्लुङकी सिर्जना शर्मा पनि घुसपेठ हुन्छ भन्ने कुरा आफूले सुनेको बताउँछिन् । घुसपैठ हुने सुने पनि आफ्नो भाग्यमा भए उत्तीर्ण हुने अठोटका साथ फारम भरेको उनले सुनाइन् ।

केही युवाहरुले भने पछिल्लो समय लोकसेवा आयोगले नै संस्थानको परीक्षा लिने भएकाले निश्पक्ष हुनेमा विस्वस्त रहेको सुनाए । निजी संस्थाहरुमा जस्तो सरकारी संस्थानहरुमा भनसुन नचल्ने र निश्पक्ष हुने विस्वासका साथ आफूले जागिरका लागि आवेदन दिएको दैलेखका मेघबहादुर महतराले बताए ।

बाजुराका मिथुन विश्वकर्माले आफू आरक्षणमा पनि पर्ने र राम्रो कोशिस गरेर उत्तीर्ण हुने सोचका साथ दरखास्त फारम बुझाएको बताए । ‘भीड धेरै ठूलो त तर म भीड देखेर डराउँदिन किनभने अहिले प्रतिस्पर्धाको जमाना छ’ मिथुनले भने, ‘आरक्षण पनि छ, मेहनत गर्छु पास हुन पनि सक्छु ।’

भीडमा भेटिएका अन्य केही युवाहरुको पनि सोच मिथुनको जस्तै छ । तर, अधिकांशले भने भनसुन र घुसपैठ हुन सक्ने आशंका हुँदाहुँदै दरखास्त दिएको अनलाइनखबरलाई बताए ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?