Comments Add Comment

प्रचण्डको वक्तव्य चिप्लिएकै होः प्रधानमन्त्री

'अमेरिकी राष्ट्रपतिलाई प्रश्नः हाम्रो चाहिँ चित्त हुँदैन ?'

२४ माघ, काठमाडौं । नेपाली राजनीतिमा ‘भेनेजुएला प्रकरण’ अझै गहिरिने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका अर्का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिप्रति खुला असन्तुष्टि जनाउँदै मुख खोलेका छन् ।

टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा सोधिएको प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘आफू नेपालमा भएको भए भेनेजुएलाबारे त्यस्तो विज्ञप्ति नआउने’ प्रतिक्रिया दिए । उनले वक्तव्यमा ‘अलिकति स्लीप भएको’ बताए । प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड भ्रमणमा रहेका बेला प्रचण्डको विज्ञप्ति आएको थियो । त्यसको भोलिपल्टै नेपाल फर्केका ओलीले बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै विज्ञप्तिबारे अनभिज्ञता प्रकट गरेका थिए ।

जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले अन्तिममा भेनेजुएला प्रकरण कोट्याएका थिए । प्रधानमन्त्रीले लगभग साम्य हुन लागेको विषयलाई थप गिजोल्ने गरी जवाफ दिए ।

प्रधानमन्त्री ओलीलाई सोधिएको थियो, ‘हिजो अमेरिकी राजदूतलाई भेट्नुभयो, त्यसमा वक्तव्यको बारेमा छलफल भयो कि भएन ?’

प्रधानमन्त्रीले भने, ‘स्वभाविकरुपमा यो प्रसंग पनि चल्यो । जुन वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ यो त्यस्तो जरुरी छैन । अलिकति स्लिप भएको हो । म भोलिपल्ट आउँदै थिएँ । अघिल्लो दिन वक्तव्य नदिइ नहुने केही कारण परेको थिएन । त्यस्तो जरुरी विषय थिएन त्यो । र, जुन भाषा प्रयुक्त भयो, त्यो उपयुक्त अलि भएन । त्यसले एउटा तरंग ल्यायो ।’

आफ्नै पार्टीका अर्का अध्यक्षको विज्ञप्तिबारे ओलीले अगाडि भने, ‘कोही एकजना साथीले एउटा वक्तव्य दिनुभो । तर, त्यसकै पछाडि देश-देशका बीचका सम्बन्ध अडेका हुँदैनन् । त्यही सुरुवात वा अन्त्य होइन । स-साना घटना कहिले जानेर नजानेर गर्दै जाँदा हुन पनि सक्छन् । त्यस्तै कुरालाई लिएर केही लाइनको एउटा वक्तव्य… युद्धको घोषणा त गरिएको छैन त्यहाँ । अमेरिका यत्रो ठूलो देश, विशाल देश र सवल देश । सानो चिजले छुँदा पनि प्राणै जाने खालका स-साना जीवनहरु हुन्छन् । तर, विशाल जनावरको टाउकोमा केही बस्यो भने थाहा पाउँदैन उसले । त्यत्रो देशले यस्तो स-साना कुरामा अल्झिनु वाञ्छनीय हुन्न ।’

सोही क्रममा प्रधानमन्त्रीले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भारतको भूभाग ठानेको भनेर आएका समाचारका विषयलाई पनि छुन भ्याए ।

प्रधानमन्त्री ओलीले ट्रम्पको नाम नलिइ भने, ‘आफ्नो नाम लिएर बोलिएको प्रसंगमा अमेरिकालाई अलिकति चित्त दुखेको होला । त्यस्तै चित्त दुखाउने कुरा हो भने हामीजस्तो सानो देशलाई अर्को देशको अंग होइन र भनेर कसैले भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र ? अलिक सानो र कमजोर भयो भने चित्त दुखाउन नपाउने, ठूलो भयो भने धेरै चित्त दुखाउनुपर्ने हो र ? त्यसकारण यस्ता स-साना स्लीप भएका कुराहरु… ठूलाहरुका पनि स्लीप हुन्छन्, हामी देखिरहेका छौं, भइरहेका छन् । अरुका पनि स्लीप हुन सक्छन् । त्यसर्थ हामीले तत्सम्वन्धमा आफ्नो दृष्टिकोण अझै स्पष्ट पारिरहेका छौं । जस्तो मान्छेले भयावह चित्रण गर्न खोजेका छन् । त्यस्तो होइन । सम्वन्ध सप्रिएको छ । सप्रिँदै जान्छ ।’

त्यसपछि प्रधानमन्त्रीलाई प्रस्तोताले सोधे, ‘यदि तपाईं नेपालमै हुनुभएको भए यस्तो विज्ञप्ति आउँथ्यो ?’

प्रधानमन्त्रीले उत्तर दिए, ‘आउने थिएन, स्वभाविकरुपमा । हाम्रा सुस्पष्ट नीतिहरु छन् । स्थिर नीतिहरु छन् । त्यसकारणले गर्दा त्यस्तो हुने थिएन । मैले भने नी एउटा त्यो अलिकति स्लीप भएकै हो । त्यसैमा अल्झिराख्नु वाञ्छनीय हुँदैन ।’

यो पनि पढ्नुहोस प्रचण्डको वक्तव्य र भेनेजुएलामा अमेरिकी हस्तक्षेप यो पनि पढ्नुहोस अमेरिकाले ओली र प्रचण्डलाई लडाउन खोज्यो यो पनि पढ्नुहोस भेनेजुएला प्रकरणमा नेकपाको अडान कायमै, बाह्य हस्तक्षेपको विरोध यो पनि पढ्नुहोस भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्यले ओलीमाथि दबाव यो पनि पढ्नुहोस भेनेजुएला प्रकरण : अमेरिकाको पक्षमा उभियो कांग्रेस यो पनि पढ्नुहोस भेनेजुएलाबारे नेपालले भन्यो : बाह्य हस्तक्षेपविना समस्या समाधान हुनुपर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment