Comments Add Comment

एनसेलको जस्तै उपेन्द्र महतोको पनि फाइल खुल्ला ?

२५ माघ, काठमाडौं । काठमाडौंबाट प्रकाशित पत्रिकाहरुले नेकपा कार्यदल विवाद र मेलम्चीको ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडिएको विषयलाई प्राथमिकताका साथ स्थान दिएका छन् । साथै एनसेल कर छली प्रकरणको फरक कोणबाट पनि समाचारहरुको उठान गरिएको छ ।

एनसेल कर छली प्रकरणसँग जोडेर यस्तै प्रकृतिको अर्को खबर नेपाल समाचारपत्रले छापेको छ । सर्वोच्च अदालतले एनसेल र आजियटा कम्पनीबाट कर असुली गर्न फैसला गरेको थियो, तर सोही कम्पनीसँग जोडिएको स्पाइस नेपालले पनि पुँजीगत लाभकर नतिरेको प्रसंग समाचारमा छ । स्पाइस नेपाल गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोको हो ।

डा. उपेन्द्र महतोले कम्पनीको शेयर बिक्री गर्दा पुँजीगत लाभ कर छली गरे पनि यो विषयलाई राजनीतिक पहुँचका आधारमा गुपचुप राख्ने प्रयत्न हुँदै आएको समाचारमा उल्लेख छ ।

उपेन्द्र महतो

नेपाल समाचारपत्र दैनिकले लेखेको छ, ‘व्यापारी महतोको सन् २००८ मेसम्म स्पाइस नेपाल नामक कम्पनीमा ४० प्रतिशत शेयर रहेको थियो । महतोको साइप्रसमा रहेको कम्पनी डेल्टो ट्रेडिङ लिमिटेडको नाममा २० प्रतिशत र नेपालमा रहेको कम्पनी सिनर्जी नेपालको नाममा २० प्रतिशत शेयर रहेको थियो । बाँकी ६० प्रतिशत शेयरचाहिँ टेलियासोनेरा नर्वेको वेस्ट इन्डिजमा रहेको रेनोल्डस् होल्डिङ कम्पनीको नाममा रहेको थियो । उनले २००८ को मे १९ तारिखमा डेल्टो ट्रेडिङमा रहेको २० प्रतिशत शेयर रेनोल्ड्स होल्डिङलाई बेचेको पाइएको छ । शेयर बिक्री सम्झौताको बुँदा नम्बर ३ दशमलव ६ मा महतोको नाममा रहेको डेल्टो ट्रेडिङले लाभ कर तिर्ने कुरा प्रस्ट रूपमा लेखिएको छ । तर, तिरेको प्रमाण कहीँं पनि पाइँदैन । आजिएटा र टेलियासोनेराबीचको कारोबारमा सम्झौतामा दायित्व कस्ले बेहोर्ने भन्ने स्पष्ट नभएकाले आजियटामा दायित्व सरेको थियो ।’

नागरिक दैनिकले ‘एनसेल कर प्रकरणको अन्तरकथा’ शीर्षक दिएर प्रमुख समाचार छापेको छ । एनसेल प्रकरणमा ठूला राजनीतिक दलका नेताहरुले नैतिकता देखाउन नसकेको र उनीहरुले चाहेको भए एउटा विदेशी कम्पनी कर चुक्ता नगरी स्वदेश फर्कन नसक्ने उल्लेख गरेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले मेलम्चीमा नयाँ ठेक्का गर्दा योजना कम्तीमा तीन वर्ष पर धकेलिने समाचार छापेको छ ।

नयाँ पत्रिका दैनिकले कृषिप्रधान देश नेपालमा तरकारी आयात निर्यातको गहिरो खाडललाई प्रस्तुत गरेको छ । ७०० करोडको आयात हुँदा ११ करोडको मात्रै निर्यात हुने गरेको तथ्यांक समाचारमा उल्लेख छ ।

गृह मन्त्रालयले शान्तिसुरक्षा तथा सुव्यवस्थाका लागि नीतिगत निर्णय लिन तीन तहको सुरक्षा समिति प्रस्ताव गरेको विषयलाई कान्तिपुरले प्राथमिकताका साथ स्थान दिएको छ । कान्तिपुरमा प्रदेश १ को रोचक खबर पनि छ, त्यो हो- गाउँठाउँलाई मौलिक चिनारी दिन पूर्वका गाउँ-नगरले घरहरुमा एकैखालको रंग लगाएका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ मा पर्ने खुम्जुङका बासिन्दाले आफ्ना घरहरुमा हरियो रंग लगाएको समाचार तस्वीरसहित प्रकाशित छ ।

राजधानी दैनिकले एनसेलले १७ वर्षदेखि सेयर किनबेच र कर छली गर्दै आएको विषय उठाएको छ । साथै गरिबी निवारण कोषले विश्व बैंकको परामर्शदाता छनोट गर्दा अनियमितरुपमा ३ करोड ७८ लाख ७० हजार ७९४ रुपैयाँको सम्झौता गरेको समाचारलाई प्राथमिकता दिइएको छ ।

कारोबार दैनिकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक माध्यमबाट विप्रेषण (रेमिट्यान्स) पठाउन प्रोत्साहन गर्ने उद्देश्यले बिभिन्न आयोजनाको सेयरमा आरक्षण दिन प्रस्ताव गरिएको समाचार प्रकाशित गरेको छ ।

औपचारिक माध्यमबाट रेमिट्यान्स ल्याउने र उत्पादकत्व बढाउने सम्बन्धमा अध्ययन गर्न बनेको सरकारी कार्यदलले अन्य सेवा सुविधासहित पाँच प्रतिशत प्राथमिक सेयर आरक्षण गर्न सरकारलाई सुझाव दिएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment