Comments Add Comment

राष्ट्रपतिलाई मौसमको धोका, मुख्यमन्त्रीबाटै काम चल्यो

विमानस्थल स्रोत भन्छ– हवाई उडानमा समस्या थिएन

२५ माघ, विराटनगर । विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा राष्ट्रपति, मुख्यमन्त्री र प्रदेश मन्त्रीको ठूलै उपस्थिति हुन लागेका बेला शुक्रबार ‘खराब मौसम’ ले त्यस्तो संयोग जुर्न दिएन । अन्ततः राष्ट्रपतिले उदघाटन गर्ने भनिएको कार्यक्रम मुख्यमन्त्रीबाटै काम चलाइयो ।

स्थापनाको ५० वर्ष पूरा गरेका मोरङका दुई विद्यालयले शुक्रबार स्वर्ण महोत्सव समारोहको आयोजना गरेका थिए । दुबै विद्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम थियो ।

राष्ट्रपति नै आउने भएपछि कानेपोखरी– ६ रमाइलोमा रहेको जनसेवा माध्यमिक विद्यालय र राधिका माध्यमिक विद्यालय उर्लाबारीले स्वागतका लागि धुमधाम तयारी गरेका थिए । राम्रै रकम खर्च गरेर गेट र स्वागतद्वारहरु बनाइएका थिए ।

राष्ट्रपति हेलिकोप्टरमा साढे ११ बजे जनसेवा स्कुलमा सहभागी पुग्ने र त्यसपछि साढे १ बजे उर्लाबारी जाने भनिएको थियो ।

विद्यालयको वार्षिकोत्सवमा राष्ट्रपति नै आउने भएपछि स्वागत गर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसयितसहित सुरक्षानिकायका प्रमुखहरुको टोली जनसेवा माविमा पुगेको थियो ।

भीआइपीहरुलाई पत्यक्ष देख्न पाउने भएपछि विद्यार्थी, स्थानीय अभिभावक र गाउँलेहरुको ठूलो उपस्थिति थियो । पाहुनाको स्वागतका लागि विद्यार्थीहरु तम्तयार थिए ।

तर, उद्घाटनको समय टरेपछि करिब साढे १२ बजे खबर आयो– ‘मौसमको खराबीले राष्ट्रपति विद्यादेवी भण्डारीको मोरङ यात्रा रोकियो ।’ एकाएक भ्रमण रद्द भएपछि सुरक्षा निकायको टोली तत्कालै विराटनगर फर्कियो ।

‘राष्ट्रपतिज्यूको स्वागतका लागि चार वटा स्वागत गेट बनाइएको थियो’ जनसेवा मावि स्वर्ण महोत्सव समारोह समितिका सदस्य भोला अधिकारीले भने ‘साढे १२ बजे नआउने भएपछि एकघण्टा ढिलो कार्यक्रम गर्‍यौं ।’

राधिका मावि उर्लाबारीले पनि राष्ट्रपतिको स्वागतका लागि सडकमा चारवटा स्वागत गेट बनाएको थियो । तर, राष्ट्रपति नआएपछि प्रदेश प्रमुख गोविन्द तुम्बाहाङबाट कार्यक्रमको उद्घाटन गरिएको स्कुलका प्राध्यानाध्यापक कुमार पोखरेलले जानकारी दिए ।

‘राष्ट्रपतिको सवारी साढे १ बजेलाई थियो’ उनले भने ‘तर साढे १२ बजे नआउने खबर आएपछि प्रदेशप्रमुखज्यूको बाहुलीबाट उद्घाटन गर्‍यौं ।’

अन्ततः मुख्यमन्त्री शेरधन राईले जनसेवाको स्वर्ण महोत्सव समारोहको उद्घाटन गरे ।

जनसेवाको कार्यक्रम सकेर राधिकाको महोत्सव पनि मुख्यमन्त्री राईले नै उद्घाटन गर्ने तयारी थियो । तर जनसेवाको कार्यक्रम नै ढिलो सुरु भएपछि प्रदेश प्रमुख डा. गोविन्द तुम्बाहाङले राधिका माविको स्वर्ण महोत्सवको उद्घाटन गरे ।

पश्चिमा वायुको प्रभावका कारण मौसममा बदली भई परेको पानीका कारण राष्ट्रपतिको सवारी रोकिएको खबर आएपछि दुबै विद्यालयले गरेको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपतिलाई हेर्न आएका सर्वसाधारण र विद्यार्थीहरु निराश मुद्रामा देखिए ।

विमानस्थल स्रोत भन्छ– हवाइ सेवा सुचारु थियो

मौसमका कारण राष्ट्रपतिको सवारी हुन नसकेको भनिए पनि त्रुभुवन विमानस्थल स्रोतले चाहिँ शुक्रबार विराटनगरको उडान नरोकिएको अनलाइनखबरलाई जानकारी दियो ।

विमानस्थल स्रोतले भन्यो– ‘मौसममा बदली रहे पनि आज विराटनगरको उडान सुचारु नै थियो । झनै हेलीकोप्टरलाई त समस्या हुने कुरै भएन ।’

तर, राष्ट्रपतिको हेलिकोप्टर सवारी नेपाली सेनाले गर्ने भएकाले यसमा विमानस्थलको भूमिका नहुने र सेनाको निर्णय नै मुख्य हुने विमानस्थल स्रोतको भनाइ छ ।

विमानस्थलका अधिकारीहरुको भनाइअनुसार राष्ट्रपतिको सवारी गराउने वा रोक्ने निर्णय सेनामै भर पर्छ ।

राष्ट्रपति भण्डारी शुक्रबार मोरङ आएर आजको रात पूर्वमै बस्ने कार्यक्रम थियो । शनिबार बिहान कोशी नदीको वीचमा रहेको श्रीलंका टापूको अवलोकन गर्ने र दिउँसो चतराधाम बराह क्षेत्रमा महायज्ञ उदघाटन गर्ने राष्ट्रपतिको कार्यक्रम थियो ।

यो पनि पढ्नुहोस्  : राष्ट्रपतिको देश दौडाहा : ‘श्रीलंका टापु’ देखि बराहक्षेत्रसम्म

शुक्रबार विद्यालयको स्वर्ण महोत्सवमा राष्ट्रपति सहभागी हुन नसके पनि शनिबार महायज्ञको उदघाटनमा बराहक्षेत्र आउन सक्ने स्रोतले बतायो ।

मौसमविदहरुले शनिबार पनि मनसुन जारी रहने बताएका छन् । तर, बराहक्षेत्रको महायज्ञमा विद्यालय सञ्चालक समितिको भन्दा पहुँचवालाहरुको प्रभाव रहेकाले राष्ट्रपतिलाई मौसमले नछेक्ने सूत्रहरुको दाबी छ ।

बराहक्षेत्रको महायज्ञमा स्वदेशी मात्रै नभई भारतका साधुसन्तहरुको सहभागिता हुने कार्यक्रम छ ।

यसैवीच राष्ट्रपति भण्डारीले मोरङको भ्रमण रद्द भएसँगै शुक्रबार दिउँसो ३ जना नवनियुक्त राजदूतहरुलाई शीतल निवासमा सपथ ग्रहण गराएकी छिन् ।

यो पनि पढ्नुहोस् : तीन राजदूतले लिए सपथ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment