
२७ माघ, काठमाडौं । २०७२ सालको भूकम्पले भत्किएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको मुख्य काम आइतबारदेखि सुरु भएको छ ।
महाभूकम्पबाट पूर्ण रुपमा ढलेको हनुमान ढोका दरवार क्षेत्रको काष्ठमण्डपका चारवटा मूल थाम आइतबार ठड्याइएपछि मुख्य काम थालिएको हो ।
जेठ ३१ गतेदेखि औपचारिक रुपमा पुनर्निर्माणको काम थालिएको करिब आठ महिनापछि मात्र पुनर्निर्माण समितिले काष्ठमण्डपको चारवटा थाम राखेको हो ।
काष्ठमण्डप पुनर्निर्माणको क्रममा जगको काम सकिएसँगै आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी तथा वसन्तपुरबासीले थाम र निनाको विशेष पूजा गरेपछि ठड्याइएको हो ।
काठमाडौं महानगरपालिकाको साढे पाँच करोड आर्थिक सहयोगमा पुनर्निर्माणको काम भइरहेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत तथा मौलिक र ऐतिहासिक सम्पदा समेत भएकोले यसको पुनर्निर्माण पुरानै ढाचामा तीन तला हुने पुनर्निर्माण समितिले बताएको छ ।
भूकम्प गएको लामो समय सम्म काष्ठमण्डप कस्तो बनाउने र कसले बनाउने विवाद थियो तर अहिले काठमाडौं महानगरपालिका तथा जन स्तरबाटै गर्न लागिएको छ ।
पुनर्निर्माणको लागि समितिको महानगरपालिकासँग सम्झौता भएसँगै गत कात्तिक २२ गते काष्ठमण्डपको शिलान्यास गरिएको थियो ।
हेर्नुहोस् थप तस्वीर
तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4