 
																			२८ माघ, वीरगञ्ज । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विमानस्थल क्षेत्रमा पर्ने टाँगिया बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढेको छ । आयोजनास्थलमा पर्ने टाँगिया वस्तीका १ हजार ४ सय ७६ परिवारलाई स्थान्तरण गर्न लागिएको हो ।
उनीहरुलाई एकीकृत बस्तीमा स्थानान्तरण गर्न करिब ४ अर्ब रुपैयाँ लाग्ने विमानस्थल निर्माण आयोजना कार्यालयको अनुमान छ । एक हजार बिघामा फैलिएको टाँगिया बस्ती सारेपछि विमानस्थलको एउटा धावन मार्ग बनाउने ठाउँ उपलब्ध हुनेछ ।
जितपुर सिमरा उपमहानगरपालिका– १६ मा पर्ने टाँगिया बस्तीलाई सोही वडाको पिलुवा, वडा नं १७ को रामनगर हरैया र कोल्हवी नगरपालिकाको उत्तर तामागढी क्षेत्रमध्ये एक ठाउँमा सारिने विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।
जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेलले विमानस्थल निर्माणका लागि बस्ती स्थानान्तरण गर्नुको विकल्प नदेखिएको बताए ।
‘झाडी र बुट्यान मात्रै भएको पसाहा, हरैया र कोल्हवी उत्तरको तामागढी क्षेत्र गरी तीन स्थानमा जग्गा खोजेका छौं’, उनले भने ‘संभाव्यता अध्ययन गर्न सरकारले टोली पठाउँदैछ ।’
यी तीनमध्ये एक ठाउँमा एकीकृत नमूना बस्ती निर्माण गरेर टांगियाबासीलाई सारिने मेयर पौडेलले बताए ।
विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले टाँगिया बस्ती स्थानान्तरण नगरी मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढ्ने बताए । ‘त्यसैले बस्ती स्थानान्तरणलाई पहिलो प्राथमिकतामा राखेका छौं’, उनले भने, ‘बस्ती व्यवस्थापनका लागि आवश्यक बजेट भने आएको छैन ।’
त्यसका लागि अनुमान गरिएको ४ अर्ब बजेट विनियोजन भए टाँगिया छेउका रुखहरु काटेर एउटा रन वे बनाउन सकिने उनले बताए । टांगिया बस्तीसहित ८ हजार हेक्टर क्षेत्रफलमा प्रस्ताव गरिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा बढी रुख नकाट्न दबाव छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4