Comments Add Comment

घरमा करेसाबारी, अनेक छन् फाइदा

अहिले हाम्रो भान्सामा भित्रिने अधिकांश सागसब्जी बजारबाट आयत हुन्छ । बजारमा व्यवसायिक तरकारी खेतीबालीबाट । व्यवसायिक ढंगले गरिने खेतीबालीमा रासयनिक मलखाद, किटनाषक औषधी प्रयोग गरिन्छ । खानेकुरामा प्रयोग गरिने यस्ता रसायन सोझै हाम्रो शरीरमा भित्रिन्छ । क्यान्सर, मिर्गौलाको रोग, मुटु रोग जस्ता समस्याको कारण अहिले हामीले खाने यस्तो विषाक्त सागसब्जी नै हो ।

त्यसो भए के गर्ने त ?

खरिद गरेका सागसब्जी केही हदसम्म शुद्धिकरण गरेर खान सकिन्छ । तर, पूर्ण रुपमा विषरहित बनाएर खान सकिंदैन । यस्तो अवस्थामा आफ्नै बारीमा जैविक विधीबाट उत्पादन गरेर सागसब्जी सेवन गर्नु सर्वोत्तम विकल्प हो । यद्यपी सबैसँग खेतीयोग्य जमिन नहुन सक्छ । खेतीपाती गर्ने फुर्सद पनि नहोला ।

जैविक सागसब्जी पाइन्छ

तर, घरको आसपासमा सानो करेसाबारीबाट पनि आफुलाई खाने सागसब्जी उत्पादन गर्न सकिन्छ । बार्दली, छत, कौसी आदिलाई समेत करेसाबारीमा रुपान्तरण गर्न सकिन्छ ।

यसरी करेसाबारी बनाउँदा शुद्ध, ताजा र जैविक सागसब्जी खान पाइन्छ । स्वास्थ्य नै धन हो भन्ने मान्यता राख्छौं भने विषाक्त खानेकुराको विकल्प किन नखोज्ने ?

शारीरिक रुपमा सक्रिय

घरमा करेसाबारी बनाउँदा जैविक सागसब्जी मात्र खान पाइने होइन, यसले अरु थुप्रै फाइदा पुग्छ । जस्तो कि, तपाईं थोरै फुर्सद हुनसाथ करेसाबारीको काममा लाग्नुहुन्छ । अर्थात आफ्नो समयलाई उत्पादनसिल बनाउनुहुनेछ । यदि त्यसो नहुँदो हो त फुर्सदमा मोबाइल चलाएर वा टिभी हेरेरै समय बित्ने थियो ।

आफ्नो करेसाबारीमा काम गर्दा तपाईं शारीरिक रुपले पनि स्वस्थ्य एवं तन्दुरुस्त रहनुहुन्छ । जापानीहरु विश्वमै लामो आयु र स्वस्थ्य जीवन बाच्नेमा गनिन्छन् । उनीहरु लामो उमेरसम्म जवान वा स्वास्थ्य रहनुको पछाडि धेरै खोज अध्ययन भएको छ । यसबाट के देखिएको छ भने, उनीहरु खेतीबालीको काममा बढी नै सक्रिय हुने गरेका छन् । बुढ्यौली उमेरमा समेत उनीहरु आफ्नो खेतीबालीको काम गर्छन् ।

तनावबाट मुक्त

खेतीबालीको कामले शारीरिक व्यायाम हुन्छ, सक्रियता बढ्छ । अर्कोतिर यो आफैमा एक उपचार विधी पनि हो । जब हामी आफ्नो खेतीबालीमा काम गर्छौं, हामी अनावश्यक तनावबाट पनि मुक्त हुन्छौं । सागसब्जी रोप्दा, फलाउँदा पनि हामीमा एक किसिमको उमंग छाउँछ । यसले हामीलाई मानसिक र शारीरिक रुपमै स्वस्थ्य तुल्याउँछ ।

बालबच्चाको रमाउने र जान्ने ठाउँ

अर्कोतिर हाम्रा छोराछोरीलाई यो एक खुला विद्यालय जस्तो हुन्छ । उनीहरुले आफ्नो करेसाबारीमा रमाउने मौका मात्र पाउँदैनन्, सागसब्जीको बारेमा प्रत्यक्ष अध्ययन गर्न पाउँछन् ।

अहिलेका बच्चाहरु घरमै बस्ने, मोवाइलमा गेम खेल्ने, टिभीमा एकोहोरिने गर्छन् । जब तपाईं घरमा सानो करेसाबारी बनाउनुहुन्छ, छोराछोरीलाई त्यहाँ काम गराउन सक्नुहुनेछ । उनीहरुहरुका लागि करेसाबारी एक उपयुक्त ठाउँ बन्छ, जहाँ रमाउन र धेरै कुरा सिक्न सकिन्छ ।

भान्सा र घरको फोहोर मैलाको सदुपयोग

करेसाबारी हुँदाको अर्को फाइदा भनेको घरको फोहोर व्यवस्थापन गर्ने ठाउँ मिल्छ । हाम्रो भान्सामा दिनहुँ यस्ता कुराहरु उत्पादन हुन्छन्, जो फोहोर मैलाको रुपमा हामी डस्बिनमा मिल्काउँछौं । तरकारीको बोक्रा, चिया पत्ती जस्ता सड्ने, गल्ने कुरालाई हामीले मलको रुपमा प्रयोग गर्न सक्छौं । कतिपय कुहिएका खानेकुरा पनि मलको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसले गर्दा एकातिर घरको फोहोर मैलाको व्यवस्थापन हुन्छ । अर्कोतिर करेसाबारीमा मल पनि पुग्छ ।

त्यसैगरी भाँडावर्तन माझेर वा अन्य प्रयोग गरेको फोहोर पानीलाई करेसाबारीमा प्रयोग गर्न सकिन्छ ।

कसरी तयार गर्ने करेसाबारी ?

यदि घरमा बगैंचा वा खाली जमिन छ भने त्यसलाई करेसाबारीको रुपमा प्रयोग गर्न सकिन्छ । करेसाबारीको लागि धेरै ठाउँ चाहिन्छ भन्ने छैन, सानो ठाउँमा पनि राम्ररी व्यवस्थापन गर्न सकियो भने धेरै सागसब्जी उत्पादन गर्न सकिन्छ ।

अहिले बजारमा जति पनि गमला पाइन्छ । गमला, प्लाष्टिकको बोरा आदिमा मल र माटो भरेर पनि सागसब्जी लगाउन सकिन्छ । धनिया, खुर्सानी, गोलभेडा लगायत मौसमी सागसब्जी आफ्नै हातले उत्पादन गरेर खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment