Comments Add Comment

अधुरै रह्यो रुपारानी महाकाव्य ! भाषाशास्त्रीलाई राष्ट्रिय झण्डा ओढाइयो

मंगलबार बिराटनगरमा सार्वजनिक विदा

१२ फागुन, बिराटनगर । अंग्रेजी भाषा राम्रोसँग जान्ने तर नेपाली लेखनमा अंग्रेजी शब्दहरु घुसाउनुहुँदैन भनेर झर्रो लेखनको अभियान चलाउने भाषाशास्त्री बालकृष्ण पोखरेल ८६ वर्ष पुगिसक्दा पनि महाकाव्य लेखिरहेका थिए । बिराटनगरको परोपकार घाटमा आइतबार राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएसँगै पोखरेलको ‘रुपारानी महाकाव्य’ अधुरो बनेको छ ।

शनिबार राति निधन भएका भाषाशास्त्री पोखरेलको आइतबार बिराटनगरमा अन्तिम संस्कार गरिएको छ । राष्ट्रिय सम्मानका साथ बिराटनगरस्थित परोपकार घाटमा पोखरेलको अन्त्येष्टि गरिएको हो ।

नेपाली भाषाक्षेत्रमा महत्वपूर्ण योगदान गरेका पोखरेललाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रिय झण्डा ओढाएका थिए ।

शनिबार मध्यरातमा अस्वस्थ भएपछि नोबेल मेडिकल कलेज लैजाने क्रममा उनको निधन भएको हो ।

गत माघ ६ गतेदेखि मस्तिष्काघातबाट पीडित भएका पोखरेल काठमाडौं र बिराटनगरका अस्पतालमा उपचार गर्दा सुधार भएपछि बिराटनगरस्थित निवास आराम गरिरहेका थिए ।

उमेरले ८६ पुगेका पोखरेल पछिल्लो समय महाकाव्य प्रकाशनको तयारीमा थिए । रुपारानी महाकाव्य लेखन गरिरहेका पोखरेलले ७५ प्रतिशत लेखिसकेको बताउँदै आएका थिए । उनले महाकाव्य नेपाली र अंग्रेजी भाषामा लेख्न सुरु गरेका थिए । उनको निधनसँगै महाकाव्य प्रकाशित गर्ने इच्छा पनि अधुरै भएको छ ।

पोखरेलको योगदान

बालकृष्णको जन्म सन् १९३३ मा मकवानपुरको चिसापानीगढीमा भएको थियो । उनले १३ बर्षको उमेरदेखि साहित्य लेखन सुरु गरेका थिए । कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुसन्धान, शब्दकोश काव्य गरी पोखरेलका एकसय बढी कृति प्रकाशित छन् ।

कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले त्रिभुवन विश्वविद्यालयमा २७ वर्ष अध्यापन गरे । अंग्रेजी शब्द मिसाएर बोल्दा नेपाली शब्द बिगि्रएको प्रति चिन्ता गर्दै पोखरेलको नेतृत्वमा भारत बनारसबाट झर्राेवादी आन्दोलन सुरु भएको थियो ।

सन् १९५६ मा पोखरेलको नेतृत्वमा सुरु भएको नेपाली भाषाको झर्राे बादी आन्दोलन अझै पनि चर्चामा छ । उनीसहित डा. तारानाथ शर्मा, चूडामणि रेग्मी, कोशराज रेग्मी लगायतले झर्रोवादी आन्दोलनको सुरुवात गरेका थिए ।

अनुसन्धानमूलक लेखनमा समेत सक्रिय रहेका पोखरेलको कृति ‘नेपाली भाषा र साहित्य’ ले वि.सं ०२१ सालमा मदन पुरस्कार पाएको थियो ।

मंगलबार बिराटनगरमा सावर्जनिक विदा

यसैवीच नेपाली भाषाको झर्राेवादी आन्दोलनका अगुवा पोखरेलेको मृत्यु शोकमा बिराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।

मंगलबार महानगरमा सार्वजनिक विदा दिने मेयर भीम पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment