Comments Add Comment

जनयुद्धभन्दा जटिल युद्ध लडिरहेको छु : प्रचण्ड

१४ माघ, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूले जनयुद्धभन्दा जटिल युद्ध लड्नुपरेको बताएका छन् ।

जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको कार्यक्रममा उनले अहिलेको राजनीतिक युद्धलाई पनि भिन्न रुपको जनयुद्ध ठानेको बताए । ‘जनयुद्धको बेला हाम्रा लडाकुहरु हतियार लिएर लडेका थिए, त्यो बेला म लडाकुको सुरक्षापंक्ति भित्र हुन्थेँ,’ उनले भने, ‘तर अहिले म राज्यको सुरक्षापंक्ति भित्र छु, विना हतियार शान्तिपूर्ण रुपमा लडेका छौं, त्यो बेलाको लडाइ भन्दा अहिलेको राजनीतिक लडाइ थप चुनौतीपूर्ण र जटिल रहेछ ।’

सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको प्रचण्डले स्वीकार गरे । ‘वृद्धभत्ता ५ हजार पु¥याउछौ भनेका थियौ तर सकेनौं, अर्काे बजेटमा व्यवस्था गर्नेछौं, त्यसका लागि छलफल भइरहेको छ,’ उनले भने ।

जनयुद्धका प्रथम शहीद रम्तेलको सम्झना गर्दै प्रचण्डले जनयुद्धका शहीद परिवारले उचित क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । क्षतिपूर्तिको नाममा शहस्द परिवारले हाल पाएको नगद दश लाख पर्याप्त नभएको भन्दै उनीहरुलाई प्रमाणपत्र सँगै रोजगारको व्यवस्था हुनुपर्ने बताए । उनीहरुलाई उचित क्षतिपूर्तिसँगै घाइतेको उपचारको व्यवस्था गर्नका लागि अन्तिम तयारी भइरहेको उनले जानकारी गराए ।

प्रचण्डले बारपाक सुलीकोट गाउँपालिकामा २५ शैय्याको सामुदायिक अस्पताल निर्माणका लागि पहल गर्ने आश्वासन दिए ।

शहीद स्मृति पार्क र गाउँपालिका भवन शिलान्यास

स्मृति दिवसको अवसर पारेर बारपाक सुलीकोट गाउँपालिका–८ जराङमा निर्माण हुन लागेको शहीद स्मृति पार्कको शिलान्यास गरिएको छ । जनयुद्धका प्रथम शहीद रम्तेलको स्मृतिमा निर्माण हुन लागेको पार्कको प्रचण्डले शिलान्यास गरेका हुन् ।

पार्क निर्माणका लागि चालु वर्ष १५ लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए । विद्यालय उमेरका रम्तेलको २०५२ साल फागुन १४ गते प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

मंगलबार नै प्रचण्डले गाउँपालिकाको भवनको शिलान्यास गरेका छन् । ताकुकोटमा निर्माण हुने भवनको लागत ६ करोड भन्दा बढी छ । भवन निर्माणका लागि गाउँपालिकाले यस बर्ष ७० लाख रकम विनियोजन गरेको अध्यक्ष भट्टले बताए । जिल्ला समन्वय समितिले एक करोड रोयल्टी रकम दिने प्रतिवद्धता गरेको गाउँपालिकाले जनाएको छ । हाल भाडाको घरबाट गाउँपालिकाले सेवा दिदै आएको छ ।

सोही अवसरमा प्रचडले स्थानीय सूर्यज्योति माविको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा २० कोठे भवन निर्माण भएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ सँगै हेलिकोप्टरमा आएका प्रचण्डले मंगलबार नै गण्डकी गाउँपालिका ७ को वडा कार्यालय भवनसमेत उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment